प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

Photo by Tingey Injury Law Firm
अमेरिकाको टेक्ससस्थित यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टको हिरासत केन्द्रमा गत वर्ष भएको गोलीकाण्डमा संलग्न नौ जनालाई शुक्रबार एक अदालतले दोषी ठहर गरेको छ। अमेरिकी न्याय विभागका अनुसार, झण्डै १२ दिनसम्म चलेको सुनुवाइपछि जुरीले उनीहरूलाई विभिन्न गम्भीर अपराधमा दोषी फेला पारेको हो।
दोषी ठहरिएका मध्ये आठ जनालाई आतंकवादीहरूलाई भौतिक सहयोग उपलब्ध गराएको, दंगा फैलाएको, विष्फोटक पदार्थ बोक्ने र प्रयोग गर्ने षडयन्त्र गरेको जस्ता अभियोगहरू लगाइएको छ। गत वर्ष जुलाई ४ का दिन अल्भाराडोस्थित अध्यागमन केन्द्रमा भएको उक्त आक्रमणमा एक प्रहरी अधिकारीलाई गोली हानिएको थियो, यद्यपि उनी जीवितै रहेका थिए।
एन्टिफा समूहमाथि पहिलो पटक आतंकवादको मुद्दा ,यो मुद्दा अमेरिकी न्यायिक इतिहासमा निकै चर्चाको विषय बनेको छ। डोनाल्ड ट्रम्प प्रशासनले ‘एन्टिफा’ आन्दोलनलाई आन्तरिक आतंकवादी संगठनको रूपमा वर्गीकृत गरेपछि सो समूहका सदस्यहरूमाथि आतंकवादको मुद्दा चलाइएको यो पहिलो पटक हो। अधिकारीहरूका अनुसार, आक्रमणको समयमा अभियुक्तहरूले कालो रङको सैन्य शैलीका लुगा लगाएका थिए भने उनीहरूको टाउको र अनुहार ढाकिएको थियो।
अभियुक्तहरूमा क्यामरून आर्नोल्ड, ज्याकरी एभेट्स, बेन्जामिन सोङ, साभन्ना ब्याटेन, ब्राडफोर्ड मोरिस, मारिसेला रुएडा, एलिजाबेथ सोटो, इनेस सोटो र ड्यानियल रोलान्डो सान्चेज–इस्ट्राडा रहेका छन्।
दोषी ठहरिएपछि अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले ट्रम्प प्रशासनको नेतृत्वमा यस्ता खाले घटनामा संलग्नलाई नछोडिने र यो नै अन्तिम मुद्दा नहुने चेतावनी दिएकी छिन्। यस्तै, आइसका निर्देशक टोड एम. लायन्सले पनि अदालतको फैसलाको स्वागत गर्दै एन्टिफाको उक्त हिंस्रक गतिविधिलाई घृणित विरोधको संज्ञा दिएका छन्।
यता, मुख्य प्रतिवादी आर्नोल्डका वकिल कोडी कोफरले भने सरकारले ‘एन्टिफा एम्बुसको डराउने खालको भाष्य सिर्जना गरेको आरोप लगाएका छन्। उनले जुरीको फैसलाप्रति असन्तुष्टि जनाउँदै आफ्ना ग्राहकको व्यक्तिगत आचरणलाई सही ढंगले मूल्याङ्कन नगरिएको दाबी गरेका छन्। अन्य आठ प्रतिवादीका वकिलहरूले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।