अमेरिकाको कोलोराडोस्थित क्रोसियर माउन्टेन ट्रेलमा माउन्टेन लायनको आक्रमणबाट पदयात्रीको मृत्यु



प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

अमेरिकाको कोलोराडोस्थित क्रोसियर माउन्टेन ट्रेलमा माउन्टेन लायनको आक्रमणबाट पदयात्रीको मृत्यु

माउन्टेन लायन । फाइल तस्वीर : अनस्प्लासबाट

अमेरिकाको कोलोराडो राज्यको लारिमर काउन्टीस्थित क्रोसियर माउन्टेन ट्रेलमा माउन्टेन लायन (पहाडी सिंह)को आक्रमणबाट एक महिला पदयात्रीको मृत्यु भएको छ। राज्य अधिकारीहरूका अनुसार घटना बिहीबार भएको हो।

पीडितको पहिचान सार्वजनिक गरिएको छैन। कोलोराडो पार्क्स एन्ड वाइल्डलाइफ (सीपीडब्ल्यू)ले सन् १९९९ पछि राज्यमा माउन्टेन लायनको आक्रमणबाट भएको यो पहिलो घातक घटना भएको जनाएको छ।

सीपीडब्ल्यूका अनुसार, घटनापछि ट्रेलमा रहेका पदयात्रीहरूको एक समूहले पीडितको शव नजिकै माउन्टेन लायन देखेपछि ढुंगा फ्याँकेर तर्साएका थिए, त्सपछि उक्त जनावर भागेको थियो। मानवमाथि आक्रमण गर्ने वन्यजन्तुलाई मार्नुपर्ने नीतिअनुसार अधिकारीहरूले सो क्षेत्रमा भेटिएका दुईवटा माउन्टेन लायनलाई मारेका छन्। घटनासँग सम्बन्धित हुन सक्ने तेस्रो माउन्टेन लायनको खोजी जारी रहेको बताइएको छ।

अधिकारीहरूले जाडो याममा हरिण र एल्कको खोजीमा माउन्टेन लायनहरू तल्लो क्षेत्रमा झर्ने भएकाले मानव–वन्यजन्तु मुठभेडको जोखिम बढ्ने चेतावनी दिएका छन्। माउन्टेन लायन देखिएमा ठूलो आवाज निकाल्ने, आफू ठूलो देखिने गरी हातमा भएका वस्तु टाउकोमाथि उठाउने र बिस्तारै पछाडि हट्न सुझाव दिइएको छ। घरपालुवा जनावरलाई डोरीमा बाँधेर राख्न पनि आग्रह गरिएको छ।

घटनापछि एस्टेस पार्क प्रहरी विभागले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। अमेरिकी वन सेवाले सुरक्षा कारण देखाउँदै उक्त पहाडका ट्रेलहरू हाल बन्द गरिएको जनाएको छ।

सीपीडब्ल्यूका अनुसार, माउन्टेन लायनलाई कुगार, प्यूमा वा प्यान्थर पनि भनिन्छ । हाल कोलोराडोमा करिब ३,८०० देखि ४,४०० सम्म माउन्टेन लायन जंगलमा रहेको अनुमान गरिएको छ।





Source link

Leave a Comment