अमेरिकाका लागि नेपाली राजदूत खुला प्रतिस्पर्धाबाट छनोट हुने, दरखास्त आह्वान



प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार

अमेरिकाका लागि नेपाली राजदूत खुला प्रतिस्पर्धाबाट छनोट हुने, दरखास्त आह्वान

नेपालले अमेरिकाका लागि राजदूत खुला प्रतिस्पर्धाका आधारमा चयन गर्ने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले रिक्त रहेको राजदूत पदमा आवेदन वा सिफारिसका लागि खुला आह्वान गरेको हो।

मन्त्रालयले राजदूत पदका लागि योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त र सिफारिस आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि खुला छनोट प्रक्रियामा जोड दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको सूचनाअनुसार, नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले आफैँ पनि दरखास्त पेस गर्न सक्नेछन्। साथै, अन्य कुनै व्यक्ति वा निकायले पनि योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ को अधीनमा रही तयार गरिएको र मन्त्रालयको वेबसाइटमा उपलब्ध कार्यशर्त बमोजिम आवश्यक योग्यता पुगेका उम्मेदवारहरूको सिफारिस गर्न सकिनेछ। दरखास्त वा सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ।

राजदूतका लागि आवेदन दिन उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ भने मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन देखिने फौजदारी कसुर वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ।

त्यस्तै, विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायताप्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि यस पदका लागि अयोग्य ठहरिनेछन्।

मन्त्रालयले परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा अनुभव, अङ्ग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ।

परराष्ट्र मन्त्रालयले अमेरिका, भारत, चीन र बेलायतसहित झन्डै डेढ दर्जन देशमा रिक्त रहेका राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढाउँदै यो खुला आवेदन आह्वान गरेको हो।





Source link

Leave a Comment