जलवायु परिवर्तनले निम्त्याइरहेका विश्वव्यापी समस्याको सामना गर्न करीब दुई राष्ट्रका विज्ञहरू भर्खरै अजरबैजानको राजधानी बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२९मा भेला भएका छन्। यस वर्षको सम्मेलनमा गत वर्ष कोप–२८ मा चर्चा पाएको जलवायुजन्य हानि–नोक्सानी सम्बन्धी कोषको अवधारणा¸ आकार¸ स्रोत तथा कार्यान्वयन लगायत अनेकौं विषयमा छलफल भयो। विशेष रूपमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ का विषयमा छलफल भएकाले पनि कोप–२९ लाई ‘फाइनान्स कोप’ समेत भनिएको हो।
नेपाल जलवायु परिवर्तनमा न्यून योगदान पुर्याउने अल्पविकसित मुलुकहरुको सूचीमा परे पनि जलवायु परिवर्तन जोखिममा विश्वमै शीर्ष पंक्तिमा (१०औं स्थानमा) पर्छ। यसबाट हामीले सहजै अनुमान लगाउन सक्छौं¸ तीव्र तथा अनियन्त्रित गतिमा बढिरहेको हरित गृह ग्यास उत्सर्जन, बढ्दो पृथ्वीको तापक्रम¸ यसले निम्त्याइरहेका जलवायु सम्बन्धी जोखिमहरु नेपालका लागि कति घातक हुनसक्दछन्। अर्को बुझ्नुपर्ने कुरा के छ भने यो विश्वसँग जोडिएको ग्लोबल विषय हो¸ न हाम्रा एकल प्रयासहरुबाट समाधान निस्कन्छ न त विश्वव्यापी जलवायु परिवर्तनका असरहरुबाट अछुतो नै बस्न सकिन्छ।
कोप–२९ मा जलवायु परिवर्तन सम्बन्धी चुनौतीको सामना गर्न आर्थिक स्थिति कमजोर भएका र जलवायु परिवर्तनमा न्यून योगदान पुर्याइरहेका देशहरूले कसरी जलवायु परिवर्तनका असरहरुसँग जुझ्ने¸ समानता र समता कायम गर्दै जलवायुजन्य हानि–नोक्सानी सम्बन्धी कोषमा वित्तीय सुनिश्चितता कायम गर्ने जस्ता विषयमा छलफल भयो। गरिब राष्ट्रहरूले प्रति वर्ष १३ खर्ब अमेरिकी डलर बराबरको रकम वार्षिक रूपमा विकसित राष्ट्रहरूबाट उपलब्ध हुनुपर्छ भन्ने माग गरे पनि सम्मेलनमा सन् २०३५ सम्म वार्षिक ३ खर्ब डलर उपलब्ध गराइने सहमति भयो।
नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (न्यु कलेक्टिभ क्वाटिफाइड गोल वा एनसीक्युजी नाम दिइएको यो आर्थिक स्रोत परिचालनको लक्ष्य पेरिस सम्झौताको एक प्रमुख अवयव हो । यसले सन् २००९ मा व्यवस्थापन गर्ने भनिएको १ खर्ब अमेरिकी डलरको कोषलाई थपेर तीन खर्ब बनाइएको हो । यो कोष खडा गर्न र परिचालनमा पर्याप्त प्रश्न र बहस गर्ने ठाउँ रहे पनि हाल हामी सकारात्मक हुनुपर्छ। निकट भविष्यमा जलवायु परिवर्तनको प्रभावसँग लड्न पक्कै पनि अझै खर्बौं डलर छुट्नेछन् र कार्यविधि र प्राथमिकता अनुरुप परिचालन समेत हुनेछन् तर यस पूर्व हामीले पनि हाम्रा प्रमुख जोखिम क्षेत्र पहिचान र प्राथमिकीकरणसँगै योजनाहरु बनाउनु त्यतिकै आवश्यक छ।
जलवायु परिवर्तनमा विभिन्न क्षेत्रको फरक–फरक योगदान हुन सक्दछ तर असर भने एकै किसिमको हुन्छ। प्राकृतिक रुपमा उत्सर्जन हुने हरित गृह ग्यास भन्दा पनि मानव क्रियाकलापले उत्सर्जन हुने ग्यासले समस्या बढेको हो। विश्वभरिमा उत्सर्जन भइरहेको हरित गृह ग्यासको मात्रा १.३% ले वृद्धि भई २०२३ मा ५७.१ गिगा टन पुगेको छ। कृषि¸ वन तथा भूमि प्रयोगबाट ६.५ गिगाटन हरित गृह ग्यास उत्सर्जन हुन्छ जुन २०२३ को कुल उत्सर्जनको ११% हो।
यसलाई अझै केलाउँदा ६% पशुपालनबाट र ५% धान खेती सहित अन्य भूमि प्रयोग तथा बिरुवाका अवशेष प्रज्वलनबाट हरित गृह ग्यास उत्सर्जन हुन्छ। युएनईपीको इमिसन ग्याप रिपोर्ट २०२४ का अनुसार वार्षिक रुपमा सन् २०३० सम्मको आकलनमा ३१ गिगाटन र २०३५ सम्म ४१ गिगाटन हरित गृह ग्यास उत्सर्जनमा नियन्त्रण गर्न सकिन्छ भनी उल्लेख छ।
नेपालको कृषि क्षेत्रको हरित गृह ग्यास उत्सर्जनमा भूमिका हेर्दा सबैभन्दा बढी पशुपालनबाट (जनावरहरुको पाचन प्रक्रियाबाट ५६% र पशु मलबाट २३%), र धान खेती (१४%) भइरहेको क्लाइमेट ट्रान्सपरेन्सी नेपाल रिपोर्टले बताएको छ। धान उत्पादनले मानव क्रियाकलापले उत्सर्जन गर्ने हरितगृह ग्यासमध्ये १ देखि २ प्रतिशत हिस्सा ओगट्छ। हिल्याएर गरिने परम्परागत खेतीमा झनै बढी मिथेन ग्यास उत्पादन हुन्छ। मिथेन ग्यास कार्बन डाइअक्साइडभन्दा बढी खराब हरितगृह ग्यास हो। यसका साथै बाली भित्र्याएपछि परालका ठुटा जलाउने प्रचलनले वायुमण्डलमा कार्बन डाइअक्साइड उत्सर्जनमा समेत योगदान पुर्याउँदछ। पर्यावरण मैत्री कृषि प्रवर्धनबाट यसरी निस्किरहेको हानिकारक हरित गृह ग्यासहरुको उत्सर्जनमा कटौती गर्न सकिन्छ तर यसका लागि सामूहिक क्षेत्रगत पहल र ऐक्यबद्धता आवश्यक छ।
विश्वका आधाभन्दा धेरै जनसङ्ख्याले प्रमुख आहाराका रूपमा चामलको उपभोग गर्छन्। १ केजी चामल उत्पादन गर्न औसतमा करीब ३ हजार लिटर पानी आवश्यक पर्छ। नेपालमा दैनिक खपत गर्ने अनाजमा ६७ प्रतिशत योगदान रहेको धान नेपालको प्रमुख खाद्यान्न बाली मात्र नभएर खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने प्रबल आधार स्तम्भ समेत हो। हामीले वर्षभरि औसतमा करिब १३८ किलोग्राम चामल उपभोग गर्दछौं। नेपाललाई प्रति वर्ष लगभग ७० लाख मे.ट धान आवश्यक पर्छ जसमध्ये करीब ५५ लाख मे.ट धान स्वदेशमै उत्पादन हुन्छ भने कुल उत्पादनमा अपुग करीब १५-२० मे.ट धान हामी वर्षेनि आयात गरेरै भए पनि उपभोग गर्छौं। धान नेपालका लागि जसरी खाद्य तथा पोषण सुरक्षाका लागि महत्त्वपूर्ण छ त्यति नै यसको जलवायु परिवर्तनमा समेत महत्त्व र भूमिका छ।
अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (ईरी) धानमा आधारित खेती प्रणाली विकास र सुधारका निम्ति निरन्तर अनुसन्धान गर्ने एक अगुवा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता संस्था हो। द इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युट ईरीले सन् १९६६ देखि नै नेपाललाई धान बालीमा आधारित खाद्य प्रणाली सुधारका लागि सहयोग गर्दै आएको छ र नेपालमा विकसित तथा सिफारिस गरिएका धानका ईनब्रेड जातहरुमध्ये ७० प्रतिशतमा भन्दा बढीमा ईरीको योगदान छ। धान क्षेत्रको विकासमा ईरीको सहयात्रा निरन्तर छ। हाल नेपालमा ईरीले स्केल डेरेक्ट परियोजना मार्फत जलवयु मैत्री कृषि प्रविधि प्रवर्धन गर्दै र विस्तार कार्य गरिरहेको छ। ईरीले नेपालमा अनुसन्धान र प्रवर्धन गरिरहेको महत्वपूर्ण जलवायु मैत्री प्रविधि मध्ये एक छरुवा धान खेती पनि हो¸ जसबारे केही महत्त्वपूर्ण जानकारी समेट्ने प्रयास गरेको छु।
मेसिन विधिबाट (सिड ड्रिल) छरुवा धान खेती
छरुवा धान खेती नेपालका लागि नौलो प्रविधि नभए तापनि समय अनुरूप प्राविधिक रूपमा परिमार्जन र परिष्कृत भएर आएको मेसिन विधिबाट (सिड ड्रिल) गरिने छरुवा धान खेती प्रविधि थुप्रै किसानका लागि नयाँ विषय नै हो। परम्परागत पद्धतिबाट धान खेती गर्दा सुरुमा नर्सरी ब्याडमा तयार गर्नुपर्ने हुन्छ। २० देखि २५ दिनको स्वस्थ बिरुवा हिल्याई तयार पारेको खेतमा रोपिन्छ। ब्याड तयार पार्नका लागि किसानले जमिनलाई २–३ पटक जोतेर¸ मलजल गरी हिल्याएर पाटा लगाएको खेतमा नर्सरी तयार पार्दछन्। यसरी तयार भएका बेर्नालाई उखेलेर फेरि ब्याड तयार गर्दा सरह हिल्याई तयार पारिएको खेतमा रोप्नुपर्ने हुन्छ।
यस समग्र प्रक्रियामा समय¸ जनशक्ति¸ परिश्रम र अधिक लागत लाग्ने गर्दछ जसले परम्परागत खेती प्रणाली झन्झटिलो र बढी खर्चिलो बनेको छ। यसका साथै वैदेशिक रोजगारी र शिक्षा आर्जनका लागि युवायुवतीको बढ्दो बहिर्गमनले दक्ष तथा अदक्ष दुवै जनशक्तिको अभाव हुनथालेको छ र परम्परागत धान खेती पद्धतिप्रति किसानको आकर्षण कम हुँदै गएको छ।
पछिल्लो समय कृषि ज्यामी कम र बाली स्थापना गर्न लाग्ने खर्च पनि थोरै हुने छरुवा धान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ। यस पद्धतिमा ट्रयाक्टरबाट परिचालित सिड ड्रिल मेशिनको प्रयोग गरी निश्चित दूरी कायम गरी बीउ छर्ने गरिन्छ। छरुवा धान खेती प्रविधिमा धानको बेर्ना उमारेर रोप्नुको साटो सीधै खेतमा गहुँ छरे जस्तै बिउलाई छरेर खेती गरिन्छ। मेसिनबाट छरुवा धान खेती विधि सुरुमा जटिल लागे पनि अभ्यास गर्दै जाँदा किसानहरूले सहजै अपनाउन सक्छन्।
केही प्राविधिक जटिलता भए पनि फाइदा बढी हुने भएकाले किसानलाई यो विधि अपनाउन सल्लाह दिइएको हो। यो प्रविधिबाट धान खेती गर्दा २५ प्रतिशतसम्म लागत घट्दछ। यस विधिमा माटो नहिल्याई बाली स्थापना गरिने हुँदा परम्परागत पद्धतिमा भन्दा कम पानी खपत हुने साथै ३० देखि ४० प्रतिशत कम कार्बन उत्सर्जन हुन्छ। यो प्रविधि महिला मैत्री तथा कम खर्चिलो हुनुका साथै कम झन्झटिलो छ। यस कारण पछिल्लो समय तराईका विभिन्न जिल्लामा किसानले छरुवा धान खेती गर्न थालेका छन्। छरुवा धान खेती दुई तरिकाले गर्न सकिन्छ– हिले र सुक्खा छरुवा धान खेती।
हिले छरुवा धान विधि
हिलो वा पानी जमेको जमिनमा ट्रयाक्टर प्रयोगबाट छरुवा गर्न सम्भव हुँदैन। यस्तो अवस्थामा छरुवा गर्नु परेमा हिले छरुवा धान विधि उपयोगी हुन्छ।यस्तो अवस्थामा ब्याड राख्ने गरी हिल्याएर तयार पारिएको खेतमा सिड ड्रमको प्रयोग गरेर धान छर्न सकिन्छ। यस विधिबाट खेती गर्दा हिल्याई तयार पारेको खेतमा पानीमा भिजाएर हल्का अंकुरन गरेको बीउलाई सिड ड्रिल मेसिनको सहायताले छरिन्छ।
ताजा तयार गरिएको खेतमा लगत्तै बीउ छरिहाल्नु भने हुँदैन किनकि ब्याडको माटो विस्तारै बस्दै जाँदा बीउ गहिराइमा पुग्छ र अंकुरन प्रभावित हुन्छ। सिंचाइ गरिएको जमिनभित्र हावाको स्थान पानीले लिने हुँदा यसलाई वेट डीएसआर अर्थात् एनएरोबिक (हावा रहित खेती विधि) भनिएको हो। यस विधिबाट बीउ छर्दा करीब ८० केजी बीउ एक हेक्टर जमिनका लागि पर्याप्त हुन्छ। त्यसका साथै बीउ छर्नुपूर्व जमिन राम्रोसँग लेबल भएको र बीउ हल्का अंकुरन भएको सुनिश्चित गर्नुपर्छ।
सुक्खा छरुवा धान खेती
सुक्खा माटोमा छरुवा गर्दा बीउ पनि सुक्खा नै छर्नुपर्ने हुन्छ। सुक्खा माटोमा भिजाएको बीउ छर्दा बीउको चिस्यान माटोले सोस्ने हुँदा अंकुरनमा समस्या हुन्छ। प्रि-मनसुन वर्षा भए पश्चात् वा मौसम पूर्वानुमानको जानकारी सहित यो विधि अपनाउँदा लाभदायक हुन्छ। यसरी छरिएको बीउ वर्षा वा सिंचाइ उपलब्ध भएपछि मात्र उम्रन्छ। त्यसैले सुरुको केही समय बीउ नउम्रिउन्जेल र झारनाशक विषादीको प्रभावकारी प्रयोग सुनिश्चित गर्न किसानसँग सिंचाइको पहुँच हुन जरूरी हुन्छ।
माटोको किसिम तथा जमिनको तयारी
परम्परागत पद्धतिबाट धान खेती गर्न सकिने बलौटे¸ दोमट तथा चिम्ट्याइलो माटो सबैमा छरुवा पद्धतिबाट पनि धान खेती गर्न सकिन्छ तर बलौटे माटोमा सिंचाइ गरेको वा परेको पानी तुरुन्तै सुक्ने हुँदा यस्तो माटोमा छरुवा धान खेती गर्नुहुँदैन।
चिम्ट्याइलो माटो भएको खेतमा रोटोभेटरले जोत्दा माटो बढी धुलो हुने, बढी खाँदिने र पानी लगाएपछि बढी धाँजा फाट्ने हुन्छ र बाली स्थापनामा प्रतिकूल असर पर्ने हुनाले चिम्ट्याइलो माटो भएको खेतमा पनि छरुवा धान रोप्नका लागि रोटोभेटरले जोत्न सिफारिस गरिंदैन। पानी सजिलै निकास गर्न नसकिने खेतमा छरुवा धान खेती गर्नुहुँदैन। दोमट माटो यसका लागि उत्तम मानिन्छ।
रोप्ने समय
प्रि–मनसुनको प्रथम वर्षा पछि वा हप्ता दश दिन अगाडि नै छरुवा धान रोप्ने उत्तम समय हो। मध्य पहाडको लागि छरुवा धान रोप्ने उत्तम समय असार १ गते आसपास हो भने पहाडको बेंसी र तराई क्षेत्रमा जेठ १० देखि १५ गते देखि जेठ अन्तिमसम्म छरुवा धान रोप्न सकिन्छ। उपयुक्त समयभन्दा ढिलो गरेर रोपाइँ गर्दा कहिलेकाहीं रोप्ने बित्तिकै लगातार भारी वर्षा हुने र वर्षाले बाली स्थापना खत्तम हुने खतरा बढी रहन्छ। चाँडो रोप्दा पटक–पटक सिंचाइ गर्नुपर्ने आवश्यकता भने हुन्छ।
छरुवा धान खेती विधिमा ब्याड राखेर रोपाइँ गरेको धानभन्दा झन्डै १० देखि १५ दिन अगावै उत्पादन लिन सकिन्छ र यस विधिमा अगौटे जातका धानहरूले राम्रो प्रतिफल दिन्छन्। यो प्रविधिलाई एकै पटकमा किसानले विश्वास भने गर्न गाह्रो हुन सक्छ त्यसैले हामीले किसानलाई प्रथम पटक छरुवा विधिबाट धान खेती गर्दा सानो क्षेत्रफलबाट सुरु गरी अनुभव सँगै अगाडि बढ्न सुझाव दिन्छौं।
बीउ दर तथा दूरी
इनक्लाइन्ड प्लेट बीउ रोप्ने संयन्त्र भएको सिड ड्रिलमा २० देखि ३० किलो बीउ प्रति हेक्टर र फ्लुटेड रोलर बीउ रोप्ने संयन्त्र भएको सिड ड्रिलमा ३५ देखि ४५ किलो बीउ प्रति हेक्टरका दरले प्रयोग गर्नुपर्दछ। परम्परागत रूपमा किसानहरुले हातले छरुवा गर्दा बीउको मात्रा करिब ६० देखि ८० किलो प्रति हेक्टर लाग्न सक्छ। सिड ड्रिल मेसिनबाट धानको बीउ छर्दा लाइनदेखि लाइनको दूरी २० देखि २५ सेन्टीमिटर राखिन्छ तर यसलाई बढाएर ३५ सेन्टीमिटर कायम गरी किसानहरुले मिनी टिलरको सहायताले (रोटरी वा पुस् विडर) गोडमेल र झार व्यवस्थापन समेत गर्दछन्।
झार व्यवस्थापन
छरुवा धान खेतीका लागि मुख्य चुनौती भनेको झार व्यवस्थापन हो। सुरुको ४५ दिन हामीले झारको नियन्त्रण गर्न सकेमा राम्रो उत्पादन लिन सकिन्छ। यसका लागि धान छरेको ४८ घण्टाभित्र सिफारिस मात्रा र विधिबाट प्रि–इमर्जेन्स अर्थात् झार उम्रनुपूर्व प्रयोग गरिने झारनाशक विषादीको प्रयोग गरिन्छ जसले करीब दुई हप्तासम्म झारलाई नियन्त्रण गर्दछ।
यस पश्चात् फेरि पनि उम्रेर आएका झार नियन्त्रण गर्न पोष्ट–इमर्जेन्स अर्थात् झार उम्रेपश्चात् प्रयोग गरिने झारनाशक विषादीको प्रयोग गरिन्छ। यसो गर्दा अधिकतम झारको नियन्त्रण हुन्छ भने केही झार अझै रहेमा हातैले उखेलेर वा प्राविधिकको सिफारिसमा फेरि झारनाशक विषादी छर्न सकिन्छ।
मेसिन छनोट
हाल छरुवा खेती प्रवर्धन गर्न विभिन्न किसिमका सिड ड्रिल मेसिनहरूको विकास भइसकेको छ। फ्लुटेड रोलर भएको मल्क्रिप प्लान्टर र इनक्लाइन्ड प्लेट भएको मल्टिक्रप प्लान्टर दुवैले बीउ र मल एकैसाथ खसाल्ने गर्छन्। ईनक्लाइन्ड प्लेट भएको मल्टिक्रप प्लान्टरले एकनासले बीउ र मल खसाल्दछ। पुरानो फ्लुटेड रोलर भएको मल्क्रिप प्लान्टरले भने बीउ समान दूरीमा खसाल्दैन¸ बीउको मात्रा पनि बढी लाग्छ र यसले बीउ फुटाउन सक्ने जोखिम समेत हुन्छ।
धान रोपिसकेपछि घामबाट सुक्न र अन्य शत्रुहरु जस्तै चरा, मुसा आदिबाट बचाउन बीउलाई राम्रोसँग छोप्नुपर्दछ। टाइनको पछाडि चेन वा कुनै लतार्ने वस्तु जोड्नाले बीउ राम्रोसँग पुर्न मद्दत पुग्छ।
उत्पादन
छरुवा र परम्परागत रोपाइँ खेती पद्धतिबाट हुने उत्पादनमा खासै फरक छैन तर नाफाको हिसाब किताब गर्ने हो भने छरुवा धान खेती पद्धतिमा तुलनात्मक रूपमा बढी लाभ सुनिश्चित गर्न सकिन्छ। यस प्रविधिले किसानको धान खेतीमा २० देखि २५ प्रतिशत लागत घट्ने अध्ययनहरुले देखाउँछ।
अन्य ध्यान दिनुपर्ने कुरा
- सिंचाइको सुनिश्चितता वा सिंचाइमा पहुँच अनिवार्य हुन्छ।
- न्यूनतम विषयगत प्राविधिक ज्ञान हुनुपर्छ। झारनाशक विषादीको उपलब्धता र सिफारिस मात्रा र समयमा प्रयोग हुनुपर्छ।
- बीउ छरेको प्रथम महिनामा बढी हेरविचार र अनुगमन आवश्यक पर्छ।
- कम उम्रेको वा समान रूपमा नउम्रेका स्थानहरुमा धेरै बीउ उम्रेका ठाउँबाट उखेलेर हातैले रोप्नुपर्ने हुन्छ।
- जमिन लेभल मिलेको हुनुपर्छ र बीउ रोप्ने गहिराइ १ देखि २ से.मी. भन्दा बढी हुनुहुँदैन।
- छरुवा धान रोप्ने बेला बीउलाई युरिया मलसँग कहिल्यै मिसाउनुहुँदैन। रोप्ने वित्तिकै सिंचाइ दिन सक्ने प्रावधान नमिलाइकन प्राइमिङ्ग गरेको बीउ वा पूर्व अंकुरण भएको बीउ सुक्खा माटोमा रोप्नुहुँदैन। पूर्व अंकुरण भएको बीउ फ्लुटेड रोलर बीउ रोप्ने संयन्त्र भएको सिड ड्रिल मेसिनबाट रोप्नुहुँदैन।
- छरुवा धान रोप्ने बीउ ढुसीनाशक विषादीबाट उपचार गर्नुपर्दछ र झारनाशक र कीटनाशक विषादीहरु प्रयोग गर्दा सधैं सुरक्षात्मक सतर्कता अपनाउनुपर्दछ।
निष्कर्ष
परम्परागत तरिकाले धान खेती गर्दा पानीको खपत धेरै हुन्छ। भविष्यमा हुनसक्ने जलवायु परिवर्तनका जोखिम¸ पानी तथा कामदारको अभाव बीच धान खेती गर्न छरुवा धान खेती प्रविधिबारे अहिलेबाटै अभ्यस्त हुन जरूरी छ। यस खेती प्रविधिमा क्रमिक अनुसन्धान¸ सुधार र अनुकूल प्रविधिको विकास गर्दै जानु अहिलेको माग हो।
यसका साथै जलवायु परिवर्तनका असर, परिवर्तनशील वर्षाको ढाँचा र परम्परागत धान खेतीमा घट्दो नाफा जस्ता चुनौतीलाई सम्बोधन गर्न डीएसआर प्रविधि महत्त्वपूर्ण छ। छरुवा धान प्रविधि नेपालको लागि अपेक्षाकृत नयाँ प्रविधि भए पनि, प्रसार कार्यकर्ता र नीति निर्माताहरूसँग यस प्रविधिबारे सीमित ज्ञान छ।
डीएसआर प्रविधिको प्रवर्धन गर्न स्थानको विशिष्ट परीक्षण र अनुसन्धान, किसानका खेतमा प्रशिक्षण र सचेतना वृद्धि, व्यावसायिक ढाँचा विकास र विस्तार जस्ता कार्यक्रमहरू आवश्यक छन्।