प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन वकिलहरूमाथि कडा निगरानी र कारबाही बढाउन मातहतका निकायलाई मंगलबार कडा निर्देशन जारी गरेको छ। झुटा विवरण र नक्कली कागजातका आधारमा एसाइलमका मुद्दा दर्ता गर्ने वकिल र उनीहरूका ग्राहकमाथि अब कडा कानुनी कारबाही गर्ने ट्रम्प प्रशासनले चेतावनी दिएको छ।
आइसका सरकारी वकिलहरूलाई एक गोप्य मेमो जारी गर्दै प्रशासनिक जालसाजी सम्बन्धी मुद्दाहरू आक्रामक रूपमा अगाडि बढाउन होमल्याण्ड सेक्युरिटीले निर्देशन दिएको छ। उक्त आन्तरिक निर्देशन अनुसार अब एसाइलम आवेदन दिँदा झुटो बोल्ने आप्रवासी मात्र होइन, उनीहरूको मुद्दा हेर्ने र झुटो बोल्न सिकाउने वकिलहरू समेत मुख्य निसानामा पर्नेछन्।
वर्षौंदेखि लाखौँ कागजातविहीन आप्रवासीहरूले अमेरिकाको अध्यागमन प्रणालीमा जालसाजी गर्दै आएका र यो बेथिति सबैभन्दा बढी अध्यागमन अदालतहरूमा मौलाएको आन्तरिक मेमोमा उल्लेख छ। यो मेमोले वर्षौंदेखि निष्क्रिय जस्तै रहेका विद्यमान कडा कानुनहरूलाई पूर्ण रूपमा ब्युँताएर वकिलहरूमाथि प्रयोग गर्न आइसलाई बाटो खोलेको छ। एसाइलम दाबी दुर्लभ र संकुचित परिस्थितिमा मात्र पाउनुपर्ने व्यवस्था भए तापनि अचेल वकिलहरूले प्रायः प्रत्येक कागजातविहीन आप्रवासीलाई देशमा राजनीतिक वा जातीय जोखिम रहेको भन्दै झुटो कथा बुन्न सिकाउने गरेको प्रशासनको दाबी छ।
झुटो विवरण भरेको प्रमाणित भएमा सरकारले सुरुमा जरिवाना गर्ने आशयको सूचना जारी गर्नेछ। यस प्रक्रिया अन्तर्गत दोषी पाइएमा सजाय निकै कडा हुनेछ। पहिलो पटकको गल्तीमा प्रति नक्कली कागजात वा झुटो विवरण बापत ४ हजार ७ सय ३० डलर सम्म जरिवाना लाग्न सक्छ। पटक-पटक गल्ती दोहोर्याएमा यो जरिवाना प्रति कागजात ११ हजार ८ सय २३ डलर सम्म पुग्नेछ।
दोषी पाइएका वकिलहरूलाई अध्यागमन अदालतमा बहस गर्न नपाउने गरी निलम्बन वा स्थायी प्रतिबन्ध लगाइनेछ र उनीहरूको लाइसेन्स खारेजीका लागि सम्बन्धित बार एशोसिएशनमा सिफारिस गरिनेछ। गम्भीर प्रकृतिका जालसाजी धन्दा चलाउने वकिलहरूमाथि सिधै फौजदारी मुद्दा चलाएर जेल पठाइनेछ।
यसअघि पनि न्युयोर्क, फ्लोरिडा र क्विन्समा नक्कली एसाइलम केस बनाएर शरणार्थी ठगी धन्दा चलाउने कैयौँ वकिल र दलालहरूलाई ५ वर्षदेखि २० वर्षसम्मको जेल सजाय भइसकेको इतिहास छ। यो नयाँ कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिकालाई आप्रवासीहरूको अतिक्रमणबाट जोगाउने” नारा र नीतिकै एउटा पाटो हो। गत मार्च महिनामा राष्ट्रपति ट्रम्पले गृह प्रशासनलाई अदालतमा “वाहियात, अनुचित र झन्झटिलो” मुद्दा हालेर सरकारलाई दुःख दिने वकिल तथा ठूला ल फर्महरूमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए।
अध्यागमन वकिलहरू र ठूला ल फर्महरूले प्रायः आफ्ना ग्राहकहरूलाई उनीहरूको विगत लुकाउन वा एसाइलम दाबी बलियो बनाउन झुटो बोल्न तालिम दिने गरेको होमल्याण्ड सेक्युरिटीको दाबी छ। यो नयाँ कडा निर्देशनसँगै अब अमेरिकामा एसाइलमको मुद्दा लडिरहेका नेपाली लगायत अन्य मुलुकका आप्रवासी र उनीहरूका वकिलहरूले कानुनी कागजात र बयान पेस गर्दा अत्यधिक सावधानी अपनाउनुपर्ने देखिन्छ।