अबकी बार किसकी सरकार?


माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियान जनकपुरबाट सुरु गर्‍यो। नेपाली कांग्रेसको फागुन ६ गते ‘भिजन १०’ सहितको प्रतिज्ञापत्र जनकपुरबाट जारी भयो। काठमाडौंबाट मधेस झरेर सर्लाही क्षेत्र नं. ४ बाट नवनिर्वाचित कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवारी दर्ता गरे। मधेसको चुनावी राजनीति एकाएक चर्चामा आयो। यसबाट चुनावी माहोल मधेसमा बढी भएको देखियो।

‘म मधेसमा नेता होइन, बेटा हुन आएको’ गगनको कथनले मधेसमा उत्साह जगाएको छ। नेताप्रतिको दृष्टिकोण बदल्ने सन्देश दिएको छ, मधेसको राजनीतिलाई उत्साह, ऊर्जा तथा शक्ति प्रदान गरेको छ। राष्ट्रिय राजनीतिमा गोलाकार गर्ने बलियो आधार बनाएको छ। मधेसवादी दलको मात्र वर्चस्व हुने विगतको भाष्य चिरेको छ। ‘अबकी बार अमुककी सरकार’ गुन्जिएका नाराले फागुन २१ पछि राष्ट्रको नेतृत्व कसको हातमा जाने हो? मुलुकले समन्वयकारी विश्वसनीय एवं शालीन नेतृत्व पाउनेछ वा भएको राजनीति गरेर उदाएका कार्यकारी प्रमुख चुनिने छन्? प्रतीक्षाको विषय छ।

यतिबेला देश निर्वाचनले तातेको छ। कुन दल वा व्यक्तिका पक्षमा चुनावी लहर छ? उम्मेदवारका नाटक, घरदैलो कार्यक्रम, धम्की, प्रचारप्रसार, व्यवहार, दौडाहा, भिड तथा भाषण आकर्षण र समर्थकका प्रचारशैली कस्ता छन्? यसबाट ठिक वा बेठिक छुट्याउने गरिएको छ । देखेको, सुनेको वा भनेको कुराले भोट दिने चलन छ।  

मतदाताको क्षणिक सोचको प्रतिविम्ब हो यो। दूरदर्शिताबिना क्षणिक आवेगबाट गरिने मतदानले मुलुकको काँचुली फेर्न सक्दैन। यसो गर्नुलाई विगतका गल्तीबाट पाठ नसिकेको मानिन्छ। विवेक नपुर्‍याए दुःख–सास्ती, अन्याय–अत्याचार, कुशासन, भ्रष्टाचार, ढिला–सुस्ती, हिंसा, आगजनी, गैरन्यायिक हत्या, दण्डहीनता, मानव अधिकार हनन र आन्दोलनमा जाने बाध्यतामा फेरि पुगिन्छ । ‘जस्तो जनता त्यस्तै नेता’ भाष्य बन्ने छ । विश्वसनीय र इमानदार व्यक्तिलाई मौका नदिए ‘न्याउरी मारी पछुतो’ हुनेछ।

यो आलेख कसैका पक्ष–विपक्षमा लेखिएको होइन। यसको उद्देश्य नेता मात्र होइन, मतदात पनि जवाफदेही हुनुपर्छ भन्ने छ। गलत आँकलनबाट ‘भोटको शक्ति’ खेर नफाल्न सचेत गराएका छ। मतदाताका दूरदर्शिता तथा विवेकी मतले मात्र असल नेता जन्मने हुन्। यो निर्वाचन दलको परीक्षा मात्र होइन, मतदाता पनि कसीमा पर्नेछन्। दिगो शान्ति र स्थिर लोकतन्त्र देशको अपरिहार्यता भएको निर्वाचनले सम्झाएको छ।

‘दिगो लोकतन्त्र’को जग मानव अधिकार हो। यसका प्रमुख स्रोत विधिको शासन र भ्रष्टाचारमुक्त राज्य हुन् र संवाहक सुशासन हो । पारदर्शिता, समानता, समावेशिता, दक्षता, प्रभावकारिता एवं जवाफदेहिता परिवर्तनका प्रमुख आधार हुन्। यस सिद्धान्तमा सम्झौता नगर्ने दक्ष तथा संवेदनशील नेतृत्वको खोजी हो। आवेग, घृणा, हिंसा तथा दम्भको राजनीतिबाट मुक्त मुलुक बनाउने यो सुनौलो मौका हो।

शान्तिपूर्ण भेला तथा प्रदर्शन नागरिकको मौलिक हक हो। तथापि फागुन २१ को चुनावपछि सडकमा असन्तुष्टि प्रदर्शन नदेखियोस्। नागरिकसँग प्रत्यक्ष संवादबाट तिनका पीडा–व्यथा सुन्ने, बुझ्ने र समाधान दिने दृढ संकल्प र सिद्धान्तनिष्ठ कार्यकारी प्रमुख मुलुकले पाओस्। अत्याचार र दमनविरुद्ध अन्तिम उपाय विद्रोह गर्न मानिसले नपरोस् भनी ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८’ ले आत्मसात गरेको बुझ्ने जवाफदेही प्रधानमन्त्री देशले देखोस्।

भ्रष्टाचार र कुशासन रोक्ने र परिवर्तन खोज्ने भदौ विद्रोहको आदेश हो। प्रतिनिधिसभामा जसले बहुमत पुर्‍याउँछन्, तिनले सरकारको नेतृत्व गर्छन्, यो सत्य हो। जादुयी नम्बरले नबिथोलेमा एमालेका केपी शर्मा ओली, रास्वपाका बालेन्द्र साह र कांग्रेसका गगन थापा प्रधानमन्त्रीको प्रतिस्पर्धामा छन्। योग्यता मापन तिनका अनुभव, विचार, योजना, व्यवहार, कार्यशैली तथा नैतिक धरातल हुन्। परिवर्तन ल्याउन कुन नेता सक्षम होलान्? जवाफ मतदाताले खोज्ने हो।

बहुदलीय प्रतिस्पर्धामा दलको भूमिका अहम् हुन्छ। भावी प्रधानमन्त्री घोषणा भएका छन्। यसमा दल र व्यक्तिलाई अलग्याएर हेर्न मिल्दैन। सरकारको नेतृत्व गर्दा पार्टीको असहयोग भएकै कारण गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार २०५१ सालमा ढलेको इतिहास भुल्नु हुँदैन। चुनाव जित्नलाई पार्टीबिच चुनावी तालमेल वा गठबन्धनले राजनीति दूषित बनेको थियो। राष्ट्रिय सहमतिका बहानामा भ्रष्टाचार, दण्डहीनता र भागबन्डाको राजनीतिले देश आक्रान्त थियो।

समानुपातिकका मतले एमाले २०७९ को संसदीय निर्वाचनमा सबैभन्दा ठुलो दल बन्यो । यसका स्थायी मतदातामा खास फेरबदल भएको देखिँदैन। कम्युनिस्ट पार्टीको मूलधारको छवि यसले बनाएको छ। संगठन बलियो छ। अनुशासन कडा एवं अध्यक्षकेन्द्रित छ। प्रतिस्पर्धालाई निरुत्साहित गरिन्छ। समग्रमा एमालेको आन्तरिक लोकतन्त्र स्वस्थ्यकर भएको देखिँदैन।

यसका अध्यक्ष ओली जेनजी विद्रोहका बेला करिब दुईतिहाइसहित मुलुकको प्रधानमन्त्री थिए। उनी राष्ट्रवादी छवि बनाएका व्यक्ति हुन्। भदौ २३ को घटनामा १९ युवाको ज्यान गएपछि उनको राजनीति तङ्ग्रिने देखिएको थिएन तर पार्टीको महाधिवेशनबाट अत्यधिक मतले अध्यक्षमा निर्वाचित भएबाट आत्मबल बलियो भएका नेता देखिए। विकासप्रेमी भए पनि मानव अधिकारप्रति संवेदनशील देखिएनन्। द्वन्द्वपीडितलाई धोका दिए। परम्परागत राजनीतिकोे प्रतिनिधित्व उनले गरेका देखिन्छन्।

रास्वपा २०७९ सालको चुनावमा अप्रत्यासित रूपमा संसद्मा चौथो ठुलो दल बन्यो। वैकल्पित शक्तिका रूपमा उदायो। व्यक्तिकेन्द्रित यो दल संसद्को तीन वर्ष विवादित सभापति रवि लामिछानेको प्रतिरक्षामा खर्चियो। यसको राजनीतिमा पुराना दलको विरोध र भड्काउ रणनीति देखियो। रास्वपा ‘साइबर’ सेनाको आतंक मच्चाएर डर–त्रास फैलाउने पार्टी बनेको छ। ‘सहकारी ठगी प्रकरण’ले दल थला परे पनि बालेनको नयाँ ‘इन्ट्री’ले उत्साह जगाएको छ।

बालेन काठमाडौं महानगरको प्रमुखमा विजय भएपछि चर्चा पाए । महानगरको बैठक ‘लाइभ’ गरेबाट प्रशंसा कमाए। नेवारी संस्कृति तथा धार्मिक सम्पदामा विशेष ध्यान दिए तर ‘डोजर आतंक’ फैलाए। अधिकांश चुनावी वाचा पूरा गरेनन् । साना व्यापारीमाथिको दमन, अत्याचार र अमानवीय क्रियाकलापले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार विराधी छवि बनाए। ‘रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा हालेर हुन्छ, बाटो बन्नुपर्‍यो’ सुर्खेतको भाषणले पनि मानव अधिकारप्रति उनको दृष्टिकोण स्पष्ट हुन्छ।

नेपाली कांग्रेसको इतिहास आठ दशकभन्दा बढीको छ। मुलुकको लोकतन्त्रको संघर्षमा यसको अतुलनीय योगदान छ। लोकतन्त्रको पर्याय बनेको छ कांग्रेस। लोकतान्त्रिक मूल्य तथा मान्यतासँग यसले कहिल्यै सम्झौता गरेन। नेता एवं कार्यकर्ता सहिद हुन तयार भए, निरंकुशतासमक्ष घुँडा टेकेनन्।

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा प्रधानमन्त्रीका प्रत्यासी छन्। उनी एक लोकप्रिय र ‘भिजन’ भएका नेता हुन्। सुशासनको प्रत्याभूतिका लागि कानुन संशोधनको कुरा उठाउँछन्। दमन र दबाबबाट नभई विधि तथा प्रक्रियाबाट शासन चलाउने उपाय खोज्छन्। निडर, साहसी, विवेकी, जोखिम मोल्ने, मानव अधिकार मैत्री, वेदागी, आलोचनालाई शक्तिमा बदल्ने र प्रश्नदेखि नभाग्ने व्यक्ति हुन्। सफल स्वास्थ्य मन्त्री भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसमा परिवर्तन ल्याए। अब देश बदल्ने योजना र संकल्पसाथ अघि बढेका छन्। प्रा. कृष्ण खनालका शब्दमा ‘लामो राजनीतिक प्रक्रिया तथा संघर्षका उपज हुन् गगन थापा।’

प्रकाशित: ११ फाल्गुन २०८२ ११:०४ सोमबार





Source link

Leave a Comment