प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार
Photo: Centre for Ageing Better/ Unsplash
अमेरिकीहरूले सोचेभन्दा चाँडै रिटायर भइरहेका छन् र अधिकांश सेवानिवृत्तहरूले आफ्नो सक्रिय उमेरमै राम्रो बचत गर्न नसकेकोमा पश्चात्ताप व्यक्त गरेका छन्।
निवृत्तिभरण तथा वित्तीय सेवा प्रदायक संस्था ‘टिया’को अनुसन्धान शाखा ‘टिया इन्स्टिच्युट’ ले सार्वजनिक गरेको एक नयाँ प्रतिवेदनले यस्तो देखाएको हो। संस्थाका अधिकारीहरूका अनुसार यी दुवै कुराहरू आपसमा सम्बन्धित छन्। समयभन्दा अगावै कामबाट अवकाश लिनेहरूसँग बचत गर्ने समय कम हुन्छ, जसले गर्दा उनीहरूको सीमित बचतले लामो सेवानिवृत्त जीवन धान्नुपर्ने बाध्यता आउँछ।
सर्वेक्षणमा सहभागी करिब तीन-चौथाई सेवानिवृत्तहरूले आफ्नो जीवनको सुरुआती चरणमै बचत नगरेकोमा दुःख व्यक्त गरेका छन्। साथै, सोही सङ्ख्याका मानिसहरूले अझ बढी रकम बचत गरेको भए हुने भन्दै पश्चात्ताप प्रकट गरेका छन्।
मानिसहरू पश्चात्ताप व्यक्त गरिरहेका छन्, जुन एक गम्भीर अनुभूति हो, टिया इन्स्टिच्युटका प्रमुख सूर्या कोलुरीले भने, हामी यो पश्चात्ताप र अनुभवलाई अझै कार्यक्षेत्रमै रहेका मानिसहरूका लागि पाठका रूपमा प्रयोग गर्न सक्छौँ।
टिया इन्स्टिच्युटको “ब्रिजिङ द ग्याप्स इन रिटायरमेन्ट एक्सपेक्टेसन्स“ शीर्षकको प्रतिवेदन अनुसार, औसत अमेरिकी सेवानिवृत्त व्यक्तिले ५७ वर्षको उमेरमा अवकाश लिएका थिए। जसमध्ये ५२ प्रतिशतले आफूले सोचेभन्दा अगावै अवकाश लिनुपरेको बताएका छन् भने ६ प्रतिशतले मात्र सोचेभन्दा ढिलो अवकाश लिएका छन्।
यसको विपरीत, हाल कार्यरत औसत अमेरिकीहरूले भने ६२ वर्षको उमेरमा मात्र सेवानिवृत्त हुने अपेक्षा गरेका छन्। यो सर्वेक्षण २२ देखि ७५ वर्ष उमेर समूहका १,५९१ जना वयस्कहरूमा गरिएको थियो।
अधिकांश मानिसहरूले ६२ वर्ष सामाजिक सुरक्षा भत्ता प्राप्त, ६५ वर्ष मेडिकेयर स्वास्थ्य बीमा पाइने उमेर वा ६७ वर्षलाई आधार मानेर सेवानिवृत्तिको योजना बनाउँछन्। तर, व्यवहारमा धेरैजसोले आफ्नो इच्छाले नभई अप्रत्यासित परिस्थितिका कारण अवकाश लिनुपर्ने हुन्छ। कम्पनीबाट हुने निष्कासन, स्वास्थ्य समस्या, पारिवारिक हेरचाह वा प्रविधिको विकास जस्ता कारणले मानिसहरूलाई अचानक सेवानिवृत्त हुन बाध्य पार्छ।
सूर्या कोलुरीका अनुसार कामदारहरूले ५७, ६२ र ६५ वर्ष गरी तीनवटै उमेरका सम्भावित परिदृश्यहरूलाई ध्यानमा राखेर वित्तीय योजना बनाउनुपर्छ। यसका लागि विज्ञहरूले मुख्य रूपमा तीनवटा व्यावहारिक उपायहरू अपनाउन सुझाव दिएका छन्।
पहिलो, सम्भव भएसम्म ‘४०१(के)‘ वा ‘आइआरए‘ जस्ता कर छुट पाउने अवकास खाताहरूमा अधिकतम रकम जम्मा गरेर त्यसको पूर्ण उपयोग गर्नुपर्छ। दोस्रो, सेवानिवृत्तिलाई केही महिना वा १-२ वर्ष मात्र पछाडि धकेलेर भए पनि सकेसम्म कामलाई निरन्तरता दिनुपर्छ, जसले अवकासपछिको बचतमा ठूलो सकारात्मक प्रभाव पार्छ। र तेस्रो, सेवानिवृत्त हुने समय नजिकिँदै गर्दा कम्तीमा एक वर्षको जीवनयापन खर्च बराबरको रकम बचत खाता वा तरल सम्पत्तिका रूपमा सुरक्षित राख्नुपर्छ।