अन्तिम समयमा ट्रम्पले किन रोके एआईसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर ?



प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार

अन्तिम समयमा ट्रम्पले किन रोके एआईसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी एक महत्त्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना अन्तिम समयमा स्थगित गरेका छन्। आदेशका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै उनले अमेरिकाको चीनसँगको एआई प्रतिस्पर्धामा देशको अग्रता कमजोर पार्ने कुनै पनि कदम आफूले नचाल्ने बताएका हुन्।

ट्रम्पले बिहीबार दिउँसो एआई कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा उक्त आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका थिए। तर अन्तिम समयमा निर्णय रोकिएपछि अमेरिकी प्रविधि र राजनीतिक वृत्तमा यसको व्यापक चर्चा सुरु भएको छ।

अमेरिकी सञ्चारमाध्यम सेमाफोर र वाशिंगटन पोस्टका अनुसार एलन मस्क, मार्क जुकरबर्ग तथा ट्रम्पका पूर्व एआई सल्लाहकार डेभिड स्याक्सले उक्त आदेशका विषयमा चासो र दबाब बढाएपछि प्रशासनले योजना रोक्ने निर्णय गरेको थियो।

तर, एक्समा यसबारे आएको पोस्टमा प्रतिक्रिया दिँदै मस्कले उक्त रिपोर्टलाई “गलत” भन्दै खण्डन गरेका छन्। उनले लेखेका छन्, “मलाई अझै पनि त्यो कार्यकारी आदेशमा के थियो भन्ने थाहा छैन। राष्ट्रपतिले हस्ताक्षर नगर्ने निर्णय गरिसकेपछि मात्र मसँग कुराकानी भएको थियो।”

मेटा र स्याक्सको लगानी कम्पनी क्राफ्ट भेन्चर्सले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी चीनभन्दा अगाडि छौँ, अरू सबैभन्दा अगाडि छौँ। त्यो अग्रतालाई असर गर्ने कुनै काम म गर्न चाहन्नँ।”

रोयटर्ससँग कुरा गरेका आदेशबारे जानकार दुई स्रोतका अनुसार प्रस्तावित आदेशले उन्नत एआई मोडल सार्वजनिक रूपमा सार्वजनिक गर्नुअघि एआई विकासकर्ताहरूले अमेरिकी सरकारसँग स्वेच्छिक रूपमा समन्वय गर्ने व्यवस्था ल्याउने थियो।

त्यसअन्तर्गत एआई कम्पनीहरूले नयाँ र शक्तिशाली मोडल सार्वजनिक गर्नु अघि सरकारसँग सुरक्षा, सम्भावित जोखिम र प्रयोगसम्बन्धी विषयमा छलफल गर्नुपर्ने ढाँचा तयार गर्ने प्रस्ताव थियो।

यद्यपि ट्रम्पले आदेशका कुन प्रावधानप्रति असहमति थियो भन्ने खुलाएका छैनन्। तर प्रविधि उद्योगसँग सम्बन्धित पक्षहरू भने यस्तो प्रावधानले कम्पनीहरूको व्यावसायिक स्वतन्त्रतामा असर पुग्ने र नयाँ एआई उत्पादन बजारमा ल्याउने प्रक्रिया ढिलो हुन सक्ने चिन्तामा छन्।

विशेषगरी सुरक्षा जोखिम कम गर्न कम्पनीहरूलाई आफ्ना मोडलको कार्यशैली परिवर्तन गर्नुपर्ने अवस्था आए त्यसले नाफा र प्रतिस्पर्धात्मक क्षमतामा असर पुर्‍याउन सक्ने उनीहरूको भनाइ छ।

अर्का एक स्रोतका अनुसार ट्रम्प प्रशासनले सरकारी साइबर सुरक्षा प्रणाली मजबुत बनाउन पनि उन्नत एआई प्रयोग गर्ने योजना बनाएको थियो। बैंक, अस्पतालजस्ता अर्थतन्त्रका संवेदनशील क्षेत्रका नेटवर्क सुरक्षामा एआई प्रयोग गर्ने तयारीसमेत थियो।

शक्तिशाली एआई प्रणालीका कारण उत्पन्न हुन सक्ने साइबर जोखिमबारे अहिले अमेरिकी सरकार र निजी क्षेत्र दुवैमा चिन्ता बढिरहेको छ। विशेषगरी एन्थ्रोपिकको मिथोस नामक प्रणालीलाई लिएर बहस तीव्र बनेको छ।

एन्थ्रोपिकले मिथोसले जटिल साइबर आक्रमणलाई थप शक्तिशाली बनाउन सक्ने चेतावनी दिएको छ। तर साइबर सुरक्षा विज्ञहरूले भने अनियन्त्रित ह्याकिङको जोखिमलाई केही हदसम्म बढाइचढाइ गरिएको दाबी गरेका छन्।

सत्तामा फर्किएपछि ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनको तुलनामा ठूला प्रविधि कम्पनीहरूप्रति तुलनात्मक रूपमा नरम नीति अपनाएको देखिएको छ। एआईले अमेरिकी शेयर बजार र प्रविधि क्षेत्रमा बढ्दो प्रभाव जमाइरहेका बेला ट्रम्प समर्थक केही प्रभावशाली समूहले भने एआई विकासका लागि थप सुरक्षा मापदण्ड र नियमन आवश्यक रहेको बताएका छन्।





Source link

Leave a Comment