प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार

Photo: Lucas Alexander/ Unsplash
स्ट्यानफोर्ड विश्वविद्यालयबाट मात्र एक माइल टाढा रहेको ज्येष्ठ नागरिक आवासीय क्षेत्र ‘चानिङ हाउस’ वैज्ञानिक, प्रविधि क्षेत्रका पूर्व कार्यकारी तथा आविष्कारकहरूको थलो हो। तर हालै आयोजित एक बैठकमा, त्यहाँका बासिन्दाहरूले आफूले समाधान गर्न नसकेको एउटा गम्भीर समस्याबारे छलफल गरे-अध्यागमन नीतिका कारण आफ्ना केयरगिभरहरूको अचानक भइरहेको अभाव।
चानिङ हाउसकी मुख्य कार्यकारी रोन्डा बेकेडालले जुन महिनामा बोलाएको उक्त भेलामा २५० मध्ये करिब आधा बासिन्दा सहभागी थिए। उनले भनिन्, हाम्रो कार्यबल गम्भीर रूपमा प्रभावित भएको छ। वर्षौंदेखिका सम्बन्धहरू टुट्दै छन् र मानिसहरूको जीवन अस्तव्यस्त भइरहेको छ।
अमेरिकी सरकारको अध्यागमनसम्बन्धी कडा नीतिका कारण ज्येष्ठ नागरिक स्याहार क्षेत्र सङ्कटमा परेको छ। एकातिर अमेरिकामा ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र रूपमा बढिरहेको छ भने अर्कातिर यो क्षेत्र पहिल्यैदेखि श्रमिकको चरम अभाव झेलिरहेको छ। अमेरिकामा ६५ वर्ष वा सोभन्दा माथिका मानिसहरूको सङ्ख्या करिब ७ करोड पुगिसकेको छ र सरकारी प्रक्षेपण अनुसार ७० प्रतिशत ज्येष्ठ नागरिकलाई जीवनको कुनै न कुनै मोडमा स्याहारको आवश्यकता पर्छ।
अमेरिकामा कानुनी रूपमा काम गर्न पाउने लाखौँ प्रवासीहरूले नर्स, डाइटिसियन, फिटनेस प्रशिक्षक र मर्मत प्राविधिकका रूपमा ज्येष्ठ नागरिक सेवा क्षेत्रमा काम गरिरहेका छन्। त्यसैगरी, अनौपचारिक क्षेत्रअन्तर्गत असङ्ख्य कागजातविहीन प्रवासीहरूले घर-घरमा पुगेर वृद्धवृद्धाहरूको हेरचाह गर्दै आएका छन्। तर, हालको अध्यागमन नीतिको कडा कार्यान्वयनले यी दुवै क्षेत्रमा श्रमिकको अभाव सिर्जना गरिदिएको छ।
चानिङ हाउसले बाल्यावस्थामा अमेरिका आएका कागजातविहीन युवाहरूलाई दिइने ‘डाका’ सुविधा पाएका केही कर्मचारीलाई हटाउनु परेको छ, किनकि सरकारले उनीहरूको कार्य अनुमति नवीकरण प्रक्रिया ढिलो गरिदिएको छ। साथै, सिरिया र हाइटीका नागरिकहरूका लागि दिइँदै आएको टिपीएस अन्त्य गर्ने सर्वोच्च अदालतको निर्णयपछि त्यस्ता थप कर्मचारीहरूले पनि जागिर गुमाउने जोखिम बढेको छ।
वर्षौंदेखि वृद्धवृद्धाहरूलाई खाना खुवाउने, नुहाइदिने, लुगा लगाइदिने र औषधि खुवाउने काम गर्दै आएका केही ‘डाका’ र ‘टीपीएस’ सुविधाभोगी कर्मचारीहरूले बैठकमा आफ्ना दुखेसो पोखेका थिए। २० वर्षदेखि डाइनिङ निर्देशकका रूपमा कार्यरत टीपीएस धारक ग्लोरिया कास्टेलानोसले भनिन्, म कुनै विशेष सुविधा मागिरहेकी छैन, म केवल निरन्तर काम गर्ने अवसर चाहन्छु।
त्यहाँका बासिन्दाहरूले लामो समयदेखि सेवा गर्दै आएका कर्मचारीहरूलाई देश छाड्न बाध्य पारिनु दुःखद भएको भन्दै आक्रोश व्यक्त गरे। कतिपयले सांसदहरूलाई पत्र लेख्न र कानुनी सहायता कोष खडा गर्न सुझाव दिएका छन्।
अमेरिकामा ‘डाका’ र ‘टीपीएस’ जस्ता कार्यक्रमहरूमा कडाइ गरिएपछि देशभरका नर्सिङ होम र ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत हजारौँ प्रवासी श्रमिकहरूले काम छाड्नु परेको छ। यसले गर्दा ज्येष्ठ नागरिकहरूको हेरचाह र सेवाको गुणस्तरमा प्रत्यक्ष असर परिरहेको छ।