प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार

पोखराको सराङकोट डाँडाबाट सूर्योदय एवं माछापुच्छ्रेलगायत अन्य हिमशृङ्खला अवलोकन गर्न आएका विदेशी मूलका पर्यटकहरू।
तस्वीर : प्रदीपराज वन्त/रासस
नेपाली पर्यटन क्षेत्रले कोरोना महामारीको छायाँलाई पूर्ण रूपमा पन्छाउँदै नयाँ रेकर्डतर्फ पाइला बढाएको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को पहिलो पाँच महिना (जनवरी–मे) मा मात्रै ५ लाख २९ हजार ९० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
गत मे महिनामा मात्रै १ लाख २ हजार ६२६ विदेशी पर्यटक नेपाल आएका छन्, जुन गत वर्ष (२०२५) को मे महिनाको ८६ हजार २१६ को तुलनामा १९ प्रतिशतले बढी हो । सन् २०१९ को मे महिना (महामारी अगाडि) को ७८ हजार ३२९ को तुलनामा समेत यो सङ्ख्या झन्डै ३१ प्रतिशतले बढी हो, जसले नेपाली पर्यटन क्षेत्रमा उत्साहजनक पुनरुत्थान भएको सङ्केत गरेको छ ।
अमेरिकी पर्यटकको आकर्षण
नेपालको पर्यटन क्षेत्रमा भौगोलिक रूपमा टाढा रहेको अमेरिकाबाट हुने आगमन निकै बलियो र निर्णायक बन्दै गएको छ । सन् २०२६ को पाँच महिनामा मात्रै ४४ हजार ८४५ जना अमेरिकी नागरिक नेपाल भ्रमणमा आइसकेका छन् । छिमेकी मुलुक भारत र चीनपछि नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने मुलुकमा अमेरिका तेस्रो स्थानमा पर्न सफल भएको छ । विशेष गरी नेपालको पदयात्रा, पर्वतारोहण र सांस्कृतिक सम्पदामा अमेरिकी पर्यटकहरूको रुचि उच्च देखिएको छ ।
मे महिनामा छिमेकी देश कै वर्चस्व
मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । जेठमा भारतबाट मात्र ४० हजार ७८२ पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, दोस्रोमा चीनबाट ११ हजार ५१४ जना आउँदा तेस्रो स्थानमा रहेको अमेरिकाबाट मात्रै ९ हजार १ जना पर्यटक नेपाल भित्रिएका छन् ।
मे महिनामा बङ्गलादेशबाट पाँच हजार २९८ र संयुक्त अधिराज्यबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन् । त्यस्तै, अस्ट्रेलियाबाट दुई हजार ८७०, मलेसियाबाट दुई हजार ८५७, जापानबाट एक हजार ७५६, रुसबाट एक हजार ५५० र जर्मनीबाट एक हजार ५४८ जना नेपाल भित्रिएका हुन् ।
क्षेत्रगत रूपमा विश्लेषण गर्दा नेपाल भित्रिने विदेशी पर्यटकमा सबैभन्दा बढी सार्क मुलुकका ४७.२ प्रतिशत रहेका छन् । त्यस्तै, अन्य एसियाली मुलुकबाट १९ दशमलव ९ प्रतिशत, युरोपबाट १३ दशमलव १ प्रतिशत, अमेरिका क्षेत्रबाट १० दशमलव ३ प्रतिशत र ओशिनिया क्षेत्रबाट ३ दशमलव १ प्रतिशत रहेका छन् । बोर्डका अनुसार मे महिनामा नेपाल भित्रिनेमा मध्यपूर्वबाट एक दशमलव पाँच प्रतिशत, अफ्रिकाबाट ० दशमलव ३ प्रतिशत र अन्य मुलुकबाट ४ दशमलव ५ प्रतिशत रहेका छन् ।

तस्वीर : फुर्ते शेर्पा/एएफपी-रासस
जनवरीदेखि अप्रिलसम्म भित्रिएका थिए ४ लाख बढी पर्यटक
सन् २०२६ को ४ महिना (जनवरी–अप्रिल)मा ४ लाख २६ हजार ४ सय ६४ विदेश नागरिक नेपाल भित्रिएका थिए । अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ विदेशी पर्यटक नेपाल आएका थिए । जसमा भारतबाट २५ हजार १९६, चीनबाट ११ हजार ७२२, अमेरिकाबाट ८ हजार ७२४, अस्ट्रेलियाबाट ५ हजार ३२७, बङ्गलादेशबाट ५ हजार २३१ जना रहेका थिए । साथै, संयुक्त अधिराज्यबाट ४ हजार ८८६, जर्मनीबाट ३ हजार १४३, मलेसियाबाट ३ हजार ८५, रुसबाट २ हजार ६३७ र म्यानमारबाट २ हजार ६२६ जना नेपाल भित्रिएका थिए ।
बोर्डले दिएको जानकारी अनुसार मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका थिए । जसमा भारतबाट सबैभन्दा धेरै २५ हजार ७ सय २८ आएका थिए । त्यस्तै, चीनबाट ११ हजार २ सय २०, श्रीलङ्काबाट १० हजार ७ सय ५९, अमेरिकाबाट ७ हजार ९ सय ७४ र म्यानमार ६ हजार २० जना रहेका थिए ।
त्यस्तै, फेब्रुअरीमा एक लाख ५ हजार ४४१ जना विदेशी पर्यटक नेपाल आएका थिए । फेब्रुअरी महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतीय थिए । भारतबाट फेब्रुअरीमा २२ हजार ७४५ जना नेपाल आएका थिए भने चीनबाट १० हजार ८१६ जना नेपाल भित्रिएका थिए । सो महिनामा अमेरिकाबाट ९ हजार ७१०, श्रीलङ्काबाट ७ हजार ५१५ जना, म्यानमारबाट ६ हजार ३५ जना, बेलायतबाट ५ हजार ६१८ जना, अस्ट्रेलियाबाट ४ हजार १२६ जना र थाइल्यान्डबाट ३ हजार ६३८ जना विदेशी पर्यटक फेब्रुअरी महिनामा नेपाल आए ।
बोर्डका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५ सय ७३ जना विदेशी नागरिक नेपाल भित्रिएका थिए । जनवरीमा नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका थिए । सो महिनामा मात्रै भारतबाट २६ हजार ६२४ जना नेपाल आएका थिए । यस्तै, चीनबाट ९ हजार १०१, अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ जना नेपाल भित्रिएका थिए ।
सन् २०२६ को ५ महिनाको ‘ट्रेन्ड’ र अमेरिकी पर्यटक
| महिना | कुल आगमन | अमेरिकी पर्यटक | अमेरिकाको स्थान |
| जनवरी | ९२,५७३ | ८,४०६ | तेस्रो |
| फेब्रुअरी | १,०५,४४१ | ९,७१० | तेस्रो |
| मार्च | १,२०,५१६ | ७,९७४ | चौँथो |
| अप्रिल | १,०७,९३४ | ८,७२४ | तेस्रो |
| मे | १,०२,६२६ | ९,००१ | तेस्रो |
| कुल | ५,२९,०९० | ४४,८४५ | तेस्रो |

तस्वीर : रत्न श्रेष्ठ/रासस
गत वर्ष र कोभिड महामारीको सो अवधिमा कति पर्यटक नेपाल आएका थिए ?
गत वर्ष (सन् २०२५) को पाँच महिना (जनवरी–मे)मा ५ लाख एक हजार २६४ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । जसमा जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९० र मे महिनामा ८६ हजार २१६ थिए ।
त्यस्तै, कोभिड महामारीअघि सन् २०१९ को ५ महिनामा (जनवरी–मे)मा ४ लाख ९८ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जसमा जनवरीमा ८१ हजार २७३, फेब्रुअरीमा एक लाख २ हजार ४२३, मार्चमा एक लाख २७ हजार ३५१, अप्रिलमा एक लाख ९ हजार ३९९ र मे महिनामा ७८ हजार ३२९ जना थिए ।
सन् २०१९, २०२५ र २०२६ को पर्यटक आगमन तुलना (जनवरी–मे)
| महिना | सन् २०१९ (महामारीअघि) | सन् २०२५ (गत वर्ष) | सन् २०२६ (यस वर्ष) |
| जनवरी | ८१,२७३ | ७९,९९१ | ९२,५७३ |
| फेब्रुअरी | १,०२,४२३ | ९६,८८० | १,०५,४४१ |
| मार्च | १,२७,३५१ | १,२१,६८७ | १,२०,५१६ |
| अप्रिल | १,०९,३९९ | १,१६,४९० | १,०७,९३४ |
| मे | ७८,३२९ | ८६,२१६ | १,०२,६२६ |
| कुल (५ महिना) | ४,९८,७७५ | ५,०१,२६४ | ५,२९,०९० |
५ लाख पर्यटक आए पनि किन उत्साहित छैन नेपालको पर्यटन क्षेत्र ?
पछिल्ला पाँच महिनामा नेपालमा झण्डै ५ लाख ३० हजार विदेशी पर्यटक भित्रिए पनि पर्यटक आगमनको यो तथ्यांकले पर्यटन क्षेत्रलाई अपेक्षित उत्साह दिन सकेको छैन।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी भविश्वर शर्मा पर्यटकको संख्या मात्रै बढ्दैमा पर्यटन क्षेत्र उत्साहजनक अवस्थामा पुगेको निष्कर्ष निकाल्न नमिल्ने बताउँछन्।
उनका अनुसार नेपालको वर्तमान पर्यटन पूर्वाधार, सेवा क्षमता र व्यवसायिक सम्भावनाको तुलनामा पर्यटक आगमन अझै पर्याप्त छैन। पछिल्लो एक वर्षयता पर्यटन क्षेत्रमा स्पष्ट रूपमा ‘सिजन’ महसुस हुन नसकेको उनको गुनासो छ ।
“पहिला सिजन र अफसिजन छुट्याउन सकिन्थ्यो, तर अहिले पर्यटन व्यवसायीलाई सिजन कहिले सुरु भयो र अफसिजन कहिले आयो भन्ने नै थाहा हुन छाडेको छ,” शर्माले भने।
शर्माका अनुसार पाँचतारे होटलमा बस्ने, अग्रिम भुक्तानी गर्ने तथा ठूला समूहमा आउने उच्च खर्च गर्ने पर्यटकको संख्या केही बढेको देखिए पनि त्यसको प्रत्यक्ष लाभ समग्र पर्यटन क्षेत्रले पाउन सकेको छैन। ट्रेकिङ र पदयात्रा क्षेत्रमा पर्यटकको उपस्थिति सन्तोषजनक देखिए पनि सिटी टुर, हाइकिङ, पर्वतारोहण तथा अन्य पर्यटन गतिविधिमा सहभागी हुने पर्यटकको संख्या अपेक्षाकृत न्यून रहेको उनी बताउँछन्।
“पर्यटन क्षेत्रलाई सबै प्रकारका पर्यटक चाहिन्छ। अहिले त्यस्तो अवस्था देखिँदैन। पर्यटकको समग्र भोल्युम अझै न्यून छ,” उनले भने।
पर्यटन व्यवसायीहरूमा अपेक्षित उत्साह नदेखिएको उल्लेख गर्दै शर्माले धेरै व्यवसायी अझै आर्थिक दबाबमा रहेको बताए। उनका अनुसार बैंकको किस्ता तिर्न, कर्मचारीलाई नियमित तलब खुवाउन तथा दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्न समेत धेरै व्यवसायी संघर्षरत छन्।
“वास्तवमा भन्ने हो भने पर्यटन क्षेत्रको अवस्था अझै सन्तोषजनक छैन। धेरै व्यवसायी आर्थिक दबाबमा छन् र क्षेत्र अझै पूर्ण रूपमा लयमा फर्किन सकेको छैन,” उनले भने।
