सभामुख अर्यालको सांसदलाई सुझाव : मीठो कुरा मात्र होइन, सत्य बोल्न सिक्नुपर्छ (सम्बोधनको पूर्णपाठ)


प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसदहरूलाई संसद्‌भित्रको भूमिका थप जिम्मेवार, अध्ययनशील र प्रभावकारी बनाउन आग्रह गरेका छन्।

संघीय संसद् सचिवालयद्वारा प्रतिनिधि सभाका सदस्यहरूका लागि आयोजित ‘संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०८३’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले सांसदहरू जनताको विश्वासबाट निर्वाचित प्रतिनिधि भएकाले उनीहरूको व्यवहार, प्रस्तुति र कामकारबाहीलाई देश–विदेशबाट नजिकबाट नियालिने बताएका हुन्।

उनले सांसदहरूलाई सिकाउनुपर्नेभन्दा पनि यो कार्यक्रम अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा आयोजना गरिएको उल्लेख गरे। सभामुख अर्यालले प्रतिनिधि सभा तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले कानुन निर्माण, संशोधन र संविधान कार्यान्वयनका विषयमा सांसदहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए।

बदलिँदो विश्व र तीव्र गतिमा विकास भइरहेको प्रविधिसँग सांसदहरू पनि आफूलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले आफ्ना व्यवहार, बोली, प्रस्तुति र सार्वजनिक जीवनका हरेक गतिविधि जनताले निरन्तर मूल्यांकन गरिरहेको उल्लेख गरे।

उनले सांसदहरूलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै जानेर वा नजानेर हुने कमजोरी सच्याउनुपर्ने बताए। सभामुख अर्यालले संसद् सदस्य हुनुअघिको निजी जीवन र अहिलेको सार्वजनिक जीवनबीच ठूलो अन्तर हुने भन्दै त्यसअनुसार व्यवहारमा परिवर्तन आवश्यक रहेको धारणा राखे। उनले संसद् सचिवालयका अभ्यास, संसदीय प्रक्रिया र प्रभावकारी प्रस्तुति सम्बन्धी अनुभव आदानप्रदानका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा अपेक्षाअनुसार सांसदहरूको उपस्थिति नभएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे। उनले समयपालन र अनुशासनमा सांसदहरू अझ गम्भीर हुनुपर्ने बताए। सांसदहरूबीच कानुन निर्माण, व्यवहार र प्रस्तुतिमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रमले आगामी प्रतिनिधि सभा बैठकहरूमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे।

उनले सांसदहरूलाई कार्यक्रम अवधिभर मोबाइलमा अनावश्यक समय नबिताई पूर्ण ध्यानका साथ सहभागी हुन आग्रह गर्दै यस कार्यक्रमबाट सिकेका कुरा आगामी संसदीय अभ्यासमा देखिनुपर्ने बताए।

सभामुखको सम्बोधनको पूर्णपाठ पढ्नुहोस्  

साथीहरू, तपाईंहरू सबै प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ। त्यसकारण तपाईंहरूलाई सिकाउनुपर्छ जस्तो मलाई लाग्दैन। तपाईंहरू आफैंमा धेरै बुझ्ने, जान्ने र सक्षम हुनुहुन्छ, त्यसै कारणले जनताले विश्वास गरेर सांसदका रूपमा यहाँ पठाउनुभएको हो भन्ने कुरा हामी सबैलाई थाहा छ। त्यसैले यो कार्यक्रम सिकाउने–सिक्नेभन्दा पनि अनुभव आदानप्रदान गर्ने अवसर हो।

संघीय संसद, त्यसमा पनि प्रतिनिधि सभा, जहाँ करिब ३ करोड नेपालीले २७५ जना प्रतिनिधि छानेर पठाउनुभएको छ। यो देशमा निर्माण हुन बाँकी कानुन बनाउने, निर्माण भइसकेका कानुनलाई समयानुकूल संशोधन गर्ने, संविधान कार्यान्वयनका विषयलाई अघि बढाउनेलगायतका जिम्मेवारी पूरा गर्न हामी यहाँ आएका छौँ। ती सम्पूर्ण नागरिकको हितका लागि काम गर्न नेपालको संसदीय अभ्यास, संसद् सचिवालयको कार्यशैली, विगतका अनुभव र अभ्यासहरू, तिनका सबल पक्षलाई कसरी निरन्तरता दिने र अझ प्रभावकारी बनाउने भन्ने विषय अत्यन्त महत्त्वपूर्ण छ।

आगामी दिनमा प्रविधिको तीव्र विकाससँगै बदलिँदो विश्वसँग हामीले आफूलाई कसरी समायोजन गर्ने? आफ्ना कमजोरी र त्रुटिहरूलाई कसरी कम गर्ने? त्रुटि कहिलेकाहीँ हुन सक्छन्, तर स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले हाम्रो व्यवहार, हाम्रो काम, हाम्रो बोली, हाम्रो पहिरन र सार्वजनिक जीवनका हरेक गतिविधिलाई नजिकबाट नियालिरहनुभएको हुन्छ।

त्यसकारण, साधारण नागरिकबाट सार्वजनिक जीवनमा आएका जिम्मेवार सांसदका रूपमा हामीले गरिरहेका व्यवहारमा कतै कमी–कमजोरी त छैन? जानेर वा नजानेर गल्ती त गरिरहेका छैनौँ? आफूलाई ठीक लागेको काम व्यवहारमा पनि त्यत्तिकै सही भइरहेको छ कि छैन? यी सबै विषयमा हामीले आत्मसमीक्षा गर्न आवश्यक छ। हामी कानुन निर्माण गर्न आएका हौँ, र त्यो कानुन देश तथा देशका सम्पूर्ण नागरिकका लागि बन्छ।

संसारले पनि नेपालले कस्तो कानुन बनाइरहेको छ भनेर हेरिरहेको हुन्छ। हामीले बनाएका कानुनप्रति हामी सबै बराबर जिम्मेवार छौँ। अहिलेको प्रतिनिधि सभा र सांसदहरूले कस्तो काम गरिरहेका छन्, विगतका राम्रा अभ्यासलाई अझ कसरी परिष्कृत गरिरहेका छन्, कति अध्ययनशील छन् र आधुनिक प्रविधिअनुकूल आफूलाई कसरी विकास गरिरहेका छन् भन्ने कुरा नेपालीले मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले पनि नियालिरहेको हुन्छ। हाम्रो प्रत्यक्ष सम्पर्कभन्दा बाहिर रहेका धेरै विद्वान नेपालीहरूले समेत हाम्रा गतिविधिलाई निरन्तर अवलोकन गरिरहनुभएको हुन्छ।

प्रतिनिधि सभाको सदस्य हुनुअघिको हाम्रो जीवन र अहिलेको सार्वजनिक जीवनबीच धेरै फरक छ। त्यो फरकलाई हामीले कति बुझेका छौँ? व्यवहारमा कति उतार्न सकेका छौँ? यही विषयमा आज र भोलि खुला संवाद गरौँ, छलफल गरौँ। संसद् सचिवालयका कर्मचारी साथीहरूबाट भएका अभ्यासबारे जानकारी लिऔँ। आगामी दिनमा कसरी अझ प्रभावकारी रूपमा संवाद गर्ने, उत्कृष्ट प्रस्तुति दिने, विषयवस्तुमा केन्द्रित रहने भन्ने विषयमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

मैले स्पष्ट रूपमा भन्नुपर्दा, आजको उपस्थिति मलाई पूर्ण रूपमा चित्तबुझ्दो लागेको छैन।

हामी प्रायः टिप्पणी गर्न डराउँछौँ। सबैलाई मीठो मात्रै बोल्न खोज्छौँ। मीठो बोल्ने व्यक्ति सबैको प्रिय हुन सक्छ, तर आवश्यक बेला सत्य कुरा नबोल्दा समाज गलत दिशातर्फ पनि जान सक्छ। त्यसैले यहाँहरूलाई लागेको कुरा स्पष्ट रूपमा राख्नुस्, प्रश्न गर्नुस्, कहाँ त्रुटि छ भनेर खुला रूपमा छलफल गरौँ।

धेरै माननीय सदस्यहरू नयाँ हुनुहुन्छ। नयाँ भन्नुको अर्थ नेपाल, नेपालको कानुन वा विधि नबुझ्नु होइन। तर संघीय संसद्, विशेषगरी प्रतिनिधि सभाको प्रक्रिया र अभ्यासमा हामी अझै अभ्यस्त हुँदैछौँ। त्यस अर्थमा हामी नयाँ हौँ।

त्यसैले आज हामीले अझ बढी उपस्थिति र समयमै, अर्थात् बिहान १० बजे नै उपस्थितिको अपेक्षा गरेका थियौँ। हामी संघीय संसद्का सदस्य हौँ। लाखौँ जनताको मतबाट निर्वाचित जिम्मेवार प्रतिनिधि हौँ। त्यसकारण हाम्रो व्यवहार, समयपालन र अनुशासनदेखि लिएर हरेक गतिविधिलाई जनताले निरन्तर मूल्याङ्कन गरिरहेका हुन्छन्।

अब हाम्रो मूल्याङ्कन संसद् सचिवालय, प्रधानमन्त्री वा राजनीतिक दलका नेतृत्वले मात्र गर्ने होइन, अन्ततः जनताले गर्ने हो। त्यसैले जनताको मूल्याङ्कनमा हामी कसरी उत्कृष्ट बन्न सक्छौँ? कानुन निर्माणमा, व्यवहारमा र प्रस्तुतिमा सांसद–सांसदबीच सकारात्मक प्रतिस्पर्धा कसरी हुन सक्छ? आज र भोलिको यो कार्यक्रम त्यही सिकाइको अवसर बनोस् भन्ने मेरो अपेक्षा छ।

कार्यक्रमको सूचना धेरैअघि नै जारी गरिसकिएको थियो। त्यसैले अब हामी यहाँ आइसकेपछि हतार नगरी, अनावश्यक साइड–टक नगरी, मोबाइलमा धेरै समय नबिताई पूर्ण ध्यानका साथ सहभागी बनौँ। करिब ४५–४५ मिनेटमा विश्राम हुने नै छ। त्यसैले समय र स्रोत खर्च गरेर यहाँ आइसकेपछि केही नयाँ कुरा सिकेर जाने प्रयास गरौँ।

आज र भोलिको यस अभिमुखीकरणबाट आगामी प्रतिनिधि सभा बैठकहरूमा सकारात्मक परिवर्तन देख्न पाइयोस्। सभामुखका रूपमा मैले पनि त्यो अनुभूति गर्न पाऊँ, संघीय संसद् सचिवालयले पनि गर्न पाओस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंहरूका मतदाताले त्यसको अनुभूति गर्न पाऊन्।

यही अपेक्षा र शुभकामनासहित आज र भोलिको कार्यक्रम सफल रहोस् भन्ने कामना व्यक्त गर्दछु।

प्रकाशित: १५ असार २०८३ १४:३७ सोमबार





Source link

Leave a Comment