शल्यकक्षभित्रको एउटा अदृश्य भार


आजको उपभोक्तावादी समाजमा अस्पताल र चिकित्सकमाथि ‘शतप्रतिशत त्रुटिहीन नतिजा’ को ठूलो दबाब छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालका शहरी अस्पतालहरूमा सुरक्षित प्रसवको नाममा सिजेरियन दर ४० प्रतिशतभन्दा बढी हुनुमा कानुनी झमेला र सामाजिक डर मुख्य जिम्मेवार देखिएको छ।

‘वैद्यराज नमस्तुभ्यं यमराजसहोदर ।
यमस्तु हरति प्राणान् वैद्यः प्राणान् धनानि च ।’

प्राचीन ग्रन्थहरूमा वैद्य अर्थात चिकित्सकलाई यमराजको दाजुका रूपमा सम्मान र व्यंग्य दुवै गरिएको छ । यमराजले त केवल प्राण मात्र लिन्छ । तर एउटा कुशल वैद्यले त बिरामीलाई नयाँ जीवन दिएर उसको परिवारको सर्वस्व रक्षा गरिदिन्छ ।

मेरो व्यावसायिक जीवनको डायरीमा केही दिनअघि एउटा यस्तो पाना थपियो, जसको मसी कहिल्यै फिक्का हुने छैन ।

चिकित्सा सेवाको यो लामो यात्रामा मेरा हातले एकै दिनमा १४ वटासम्म शल्यक्रियाबाट गरिने प्रसूति गरेका छन् । संख्याकै हिसाबले हेर्ने हो भने त्यो साझँका तीनवटा शल्यक्रिया सामान्य लाग्न सक्छ । तर त्यो साँझ मेरो स्मृतिमा सधैँका लागि अविस्मरणीय बनेर कोरिएको छ ।

त्यो कुनै योजनाबद्ध तालिका थिएन, एउटा विरलै हुने संयोग थियो । ती तीनै जना सुत्केरी आमाहरू अरू कोही नभएर हाम्रै सहरका स्थापित विशेषज्ञ चिकित्सकका श्रीमतीहरू हुनुहुन्थ्यो । संयोगको त्यो श्रृंखला त्यतिमै रोकिएन, हिजोअस्ति मात्रै फेरि अर्को एउटा शल्यक्रिया गर्ने अवसर जुर्यो । जहाँ शल्यक्रियाको टेबलमा सुत्ने बिरामी स्वयं एक चिकित्सक हुनुहुन्थ्यो ।

जब एक चिकित्सकले अर्को चिकित्सकलाई आफ्नो वा आफ्नो परिवारको जीवन सुम्पिन्छ, त्यो केवल एउटा प्राविधिक भरोसा मात्र होइन । त्यो त एउटा सहकर्मीले अर्को सहकर्मीको ज्ञान, कौशल र अन्तस्करणमाथि गरेको ‘परम विश्वास’ हो । यो मेरो पेसागत जीवनको जति ठूलो अहोभाग्य थियो, मेरो मानसपटलका लागि त्यति अदृश्य मनोवैज्ञानिक दबाब पनि थियो ।

यहाँनिर म एउटा कटु सत्य र मेरो मनभित्र गुम्सिएको एउटा यथार्थ पनि खोल्न चाहन्छु । म एउटा पुरुष स्त्रीरोग तथा प्रसूति विशेषज्ञ हुँ । हाम्रो नेपाली समाजको बनावट र सोच यस्तो छ, जहाँ महिलाहरू आफ्ना भित्री स्वास्थ्य समस्याहरू, गर्भ र प्रसवका पीडाहरू पुरुष चिकित्सकसँग साझेदार गर्न निकै धक मान्छन् । धेरैका लागि पुरुष गाइनोकोलोजिस्टकहाँ जानु केवल एउटा ‘बाध्यता’ मात्र हुने गर्छ, र पहिलो रोजाइ सधैँ महिला चिकित्सक नै हुन्छन् ।

त्यो चिसो स्टिलको टेबलमा केवल एउटा जीवित शरीर मात्र हुँदैन । त्यहाँ एउटा परिवारको सिंगो हाँसो, एउटा सन्तानको भविष्य र असंख्य सपनाहरू सँगै सुतिरहेका हुन्छन् ।

प्रसव वेदना भोग्ने महिलाको पीडा महिलाले नै बढी बुझ्छन् भन्ने सामाजिक मनोविज्ञान छ । अनि विराटनगरमा पर्याप्त र दक्ष महिला चिकित्सक उपलब्ध छन् । यस अवस्थामा बिरामीहरूले र त्यसमा पनि स्वयं विशेषज्ञ चिकित्सकहरूले आफ्नी अर्धाङ्गिनीको जीवन मेरो हातमा सुम्पिनु ? यो मेरो लागि केवल बिरामी पाउनु मात्र थिएन ।

यो त मेरो पेसागत मर्यादा, मेरो क्लिनिकल दक्षता र वर्षौँदेखि मैले कमाएको कुशलताको सबैभन्दा ठूलो र अकाट्य प्रमाण थियो । जब विकल्पहरूका चाङबीच कसैले तपाईंलाई रोज्छ, तब काँधको जिम्मेवारी झन् दोब्बर भएर आउँदो रहेछ।

त्यस साँझ जब म हात ‘स्क्रब’ गरेर शल्यक्रिया कक्ष (ओटी) भित्र पस्दै थिए । बाहिरको दृश्यले मेरो छाती गर्वले जुरुक्क फुलेर आयो । फेरि लगत्तै एउटा अज्ञात जिम्मेवारीको भारीले थिचियो । हिजोसम्म अस्पतालका वार्डहरूमा कडा निर्देशन दिने विज्ञ डाक्टर साथीहरू आज कोठाको ढोकाबाहिर ‘कुरूवा’ का रूपमा बस्नुभएको थियो ।

उहाँहरूको आँखामा कुनै चिकित्सा शास्त्रका जटिल सिद्धान्तहरू थिएनन् । त्यहाँ त केवल एउटा श्रीमानको मुक चिन्ता, छटपटी र एउटा निरीह प्रार्थना मात्र नाचिरहेको थियो । ती आँखासँग जुध्दा मलाई महसुस भयो– आज म केवल एउटा शल्यक्रिया मात्र गरिरहेको छैन, म त मेरा आफ्नै साथीहरूको संसार सम्हाल्दै छु ।’

चिकित्सा विज्ञान जतिसुकै आधुनिक र सटिक किन नहोस्, शल्यक्रिया कहिल्यै सोचेजस्तो सरल रेखामा हिँड्दैन । मानवीय शरीरका आफ्नै रहस्य र जटिलता हुन्छन् । यसलाई विज्ञानले स्वाभाविक माने पनि मनले सहजै स्वीकार्न सक्दैन ।

सबै कुरा लयमै हिँडिरहेका बेला पनि अचानक आउने सानो प्राविधिक व्यवधानले शल्यकक्षको तापक्रम ह्वात्तै बढाइदिन्छ । नेपालीमा भनिन्छ नि, ‘हुने हार दैव नटार’ । चिकित्सा विज्ञानमा सबै पूर्वतयारी हुँदाहुँदै पनि कतिपय जटिलताहरू अनपेक्षित रूपमा आइपर्छन् ।

मलाई सम्झना छ, तीमध्ये एक विशेषज्ञकी श्रीमतीको त्यो दोस्रो पटकको सिजेरियन थियो । उनको पहिलो प्रसव पनि सिजरियन नै थियो । उनको शल्यक्रियाकै क्रममा अपेक्षाभन्दा अलि बढी रक्तस्राव हुन थाल्यो । चिकित्सकीय र प्राविधिक हिसाबले त्यो मेरो नियन्त्रण र व्यवस्थापनकै दायराभित्र थियो । तर त्यो पल मेरो मनभित्र एउटा भीषण आँधी चल्यो । शल्यकक्षको त्यो ह्यालोजन बत्ती अचानक अलि बढी चम्किलो र तीखो भए जस्तो लाग्यो । एनेस्थेसिया मोनिटरको प्रत्येक ‘बीप… बीप…’ को आवाज मेरो आफ्नै मुटुको धड्कनभन्दा ठूलो सुनिन थाल्यो ।

बाहिर कुरिरहेका साथीको अनुहार मेरो बन्द आँखामा पनि झल्झली आयो । हातले औजार समाइरहँदा, मनले तीव्र गतिमा गणितीय हिसाब गरिरहेको थियो, ‘कति रक्तस्राव भयो ? अर्को कदम के हुने ? कतै यो विश्वासको अग्निपरीक्षामा म चुक्ने त होइन ?’ त्यो केही मिनेटको मानसिक तनाव यति भारी थियो कि लाग्यो समयको सुइँ नै ठप्प रोकिएको छ । तर दशकौँको अनुभव र टिमको तदारुकताले अन्ततः स्थिति नियन्त्रणमा आयो ।

जब एउटा नयाँ जीवनको पहिलो रोदनले ओटीको त्यो स्तब्ध सन्नाटालाई चिर्यो, तब मात्र मैले बल्ल लामो र हलुका सास फेर्न सकेँ । चिकित्सकका लागि सर्जरी एउटा विज्ञान र कला मात्र होला, तर त्यो क्षण मेरा लागि मेरो काँधमा सुम्पिएको एउटा परिवारको सिङ्गो भविष्य र भरोसाको रक्षा थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार, चिकित्सा विज्ञानको दृष्टिले आदर्श सिजेरियन दर १० देखि १५ प्रतिशत हुनुपर्ने हो । तर आज विश्वभर यो आँकडा २०–३० प्रतिशत नाघिसक्यो र हाम्रा सहरिया अस्पतालहरूमा त यो संख्या ४० प्रतिशत भन्दा बढी छ ।

सतही रूपमा हेर्नेहरूलाई लाग्न सक्छ, यो अस्पतालको ‘बिल’ बढाउने व्यापारिक खेल मात्र हो । तर सत्य त्योभन्दा धेरै गहिरो, मानवीय र मनोवैज्ञानिक छ । यो वृद्धिको चुरोमा एउटा महाशत्रु लुकेको छ । र, त्यो हो ‘डर’ ।

पहिलो डर त स्वयं बिरामी र परिवारकै हुन्छ । आधुनिक जीवनशैली र प्रसवको त्यो प्रलयकारी वेदनाप्रतिको घट्दो सहनशीलताले आज ‘पेनलेस डेलिभरी’ को चाहना बढाएको छ । यसले सिजेरियनलाई एउटा अन्तिम ‘विकल्प’ भन्दा पनि एउटा सहज ‘छनोट’ बनाइदिएको छ ।

दोस्रो डर, अस्पताल र चिकित्सकको हो । आजको उपभोक्तावादी समाजमा अस्पताल र चिकित्सकमाथि ‘शतप्रतिशत त्रुटिहीन नतिजा’ को ठूलो दबाब छ । प्राकृतिक प्रसवको बाटोमा सानो पनि जोखिम लिनु भनेको कानुनी झमेला र सामाजिक आक्रोशको शिकार हुनु हो ।

जटिलता आएपछि ‘किन ढिलो गर्र्यौ ?’ भन्ने कठोर प्रश्नको सामना गर्नुभन्दा ‘समयमै शल्यक्रिया गरेर बच्चा सुरक्षित निकालौँ’ भन्ने मानसिकता आज धेरै चिकित्सकमा हाबी हुँदै गएको छ । हिजोको ‘उपचार’ आज एउटा ‘डिफेन्सिभ मेडिसिन’ (सुरक्षात्मक चिकित्सा) मा परिणत भएको छ ।

निजी क्षेत्रमा त बिरामीका आफन्तहरू आफैँ भन्छन्, ‘डाक्टर साब, हामी कत्ति पनि जोखिम लिँदैनौँ, बरू अपरेसन नै गरिदिनुस् ।’ यस्तो अवस्थामा चिकित्सकसँग प्राकृतिक प्रक्रिया पर्खिने धैर्य र विकल्प दुवै बाँकी रहँदैन ।

जब ती डाक्टरका श्रीमतीहरूको सिजेरियन गर्दै थिएँ, मैले उहाँहरूको आँखामा पनि त्यही आम मानिसकै जस्तो डर देखेको थिएँ, ‘केही नराम्रो त हुँदैन ?’ विडम्बना कस्तो भने, जब चिकित्सक आफैँ बिरामी वा बिरामीको आफन्त बन्छ, उसले चिकित्सा शास्त्रका किताबमा पढेका संसारका सबै सम्भावित जटिलताहरू एकैपटक सम्झिन थाल्छ ।

त्यो ‘अति–चेतना’ (हाइपर अवार्नेस्) ले अन्ततः प्राकृतिक बाटो छोडेर शल्यक्रियाकै सुरक्षित गल्ली रोज्न बाध्य बनाउँछ ।

शल्यक्रिया एउटा सर्जनका लागि दैनिक कार्यतालिकाको एउटा हिस्सा मात्र हुन सक्छ । तर त्यो टेबुलमा सुत्ने हरेक आमाका लागि त्यो एउटा नयाँ जन्म हो । त्यो चिसो स्टिलको टेबलमा केवल एउटा जीवित शरीर मात्र हुँदैन । त्यहाँ एउटा परिवारको सिंगो हाँसो, एउटा सन्तानको भविष्य र असंख्य सपनाहरू सँगै सुतिरहेका हुन्छन् । र, जब ती सबै सपनाहरू सुरक्षित रूपमा नयाँ जीवनको मुस्कान बनेर ब्युँझिन्छन्, तब मात्र एउटा सर्जनको मन हलुका हुन्छ ।

शल्यकक्षभित्रका ती केही मिनेटका मौन डर, निधारबाट चुहिएका अदृश्य पसिना र मुटुको उच्च धड्कन नै हामी चिकित्सकहरूले जीवनभर बोक्ने ‘अदृश्य भार’ हो । शल्यकक्षभित्रका ती केही मिनेटहरूमा मैले केवल तीनवटा सिजेरियन गरेको थिइन ।

मैले तीन परिवारको विश्वास बोकेको थिए । र, सायद चिकित्सकको जीवनमा पुरस्कार, पदक वा प्रशंसापत्रभन्दा ठूलो उपलब्धि ‘कसैले आफ्नो संसार निःसंकोच तपाईंको हातमा सुम्पिनु’ नै हो । र समाजको चरम अविश्वास र पुरुष/महिला चिकित्सकको परम्परागत घेराभन्दा माथि उठेर, कसैको ‘परम विश्वास’ को भार सम्हाल्न पाउनु र त्यो परीक्षामा खरो उत्रिनु नै मेरो सेतो कोट र मेरो सीपको सबैभन्दा गर्विलो प्राप्ति हो ।





Source link

Leave a Comment