मधेसको बदलिँदो मुड र भाष्य


पहिलो मधेस आन्दोलन भएको १८ वर्ष पूरा भएको छ। २०६३ माघ ५ गतेका दिन पहिलो मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए। उनको सहादतसँगै पूरा मधेस आन्दोलनको ज्वालामा प्रज्वलित भई इतिहासमा पहिलो पटक मधेसी समुदायले आफ्नो हकअधिकारका लागि विद्रोह गरेका थिए। मधेसी शक्तिहरूले प्रथम सहिदको सम्झनामा माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँदै आएको छ।

२०६३ मा तत्कालीन सामाजिक संस्थाको रूपमा रहेको मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादव लगायतका नेताहरूले माइतीघर मण्डलामा अन्तरिम संविधानको प्रतिलिपि जलाएपश्चात् प्रहरीद्वारा पक्राउ परेपछि मधेसका जिल्लामा आन्दोलन चर्केको थियो। त्यसयता, बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले माघ ५ गतेका दिन सार्वजनिक बिदा दिने गरेको छ।

मधेस केन्द्रित दलहरूले सहिदहरूको सम्झनामा सांकेतिक कार्यक्रमहरू गर्ने गरेका छन्। वर्षमा एक दिन सहिद परिवारका सदस्यहरूलाई मञ्चमा बोलाई फूलमाला र दोसल्ला लगाएर सम्मान गर्ने गरेका छन्। त्यो पनि पछिल्लो समय केवल औपचारिकतामा सीमित भएको छ।

तीन चरणमा भएको मधेस आन्दोलनमा करिब एक सय १७ जनाले सहादत दिएका थिए। २०६४ मा ५४ जना, २०७२ मा ५६ जना, २०७३ मा पाँच जना र २०७४ मा दुई जनाले सहादत प्राप्त गरेका थिए। तीन पटकसम्म आन्दोलन हुँदा पनि मधेसका माग अझै पूरा नभएको मधेसी नेताहरूले सार्वजनिक रूपमा भाषणबाजी गर्दै आएका छन्।

सरकारमा सहभागी हुँदा मुद्दा बिर्सने नेताहरूले सत्ताबाट बाहिरिनेबित्तिकै यस्ता विषयवस्तु उठाउने गरेका छन्। उनीहरूले मधेस आन्दोलनले उठाएका मुख्य मागहरू अझै पूरा नभएको तर्क गर्दै मधेसलाई सबैभन्दा पछाडि पारिएको, विभेद र असमानता अझै कायम रहेको तर्कना गरे तापनि स्वयं आफ्नै पार्टीका कार्यकर्ताले पत्याउने आधार छैन। यति भन्दैगर्दा मधेस आन्दोलनबाट केही पनि प्राप्त भएन भन्नु पनि ठिक छैन।

कतिपय विषयवस्तुहरू जुन मधेस आन्दोलनको जगमा उठाइएका थिए, ती मागहरू थोरै भए पनि सम्बोधन भएका छन्। तीन पटक भएको भीषण मधेस आन्दोलनमा सफल हुने तर मागहरू किन पूर्ण हुन सकेनन्? बारम्बार मधेसी जनताले अहिले उठाउने सबाल यही नै हो।

पहिलो मधेस आन्दोलनमा २२ बुँदे सम्झौता र दोस्रो मधेस आन्दोलनमा आठ बुँदे सम्झौता भए तापनि तेस्रो आन्दोलन कुनै पनि सम्झौताबिना नै समाप्त भयो।

अब देशभित्र मधेसको नयाँ भाष्य निर्माण गर्ने बेला आएको छ। के मधेसी समुदायमा जन्मेका मान्छे मात्रै मधेसी हुन् वा मधेस भूगोलमा बसोबास गर्ने सबै समुदायका मान्छे मधेसी हुन् ? समयक्रमसँगै यसको दायरा फराकिलो बनाउनु जरुरी देखिन्छ।

के मधेसको स्वामित्व केवल मधेसी समुदायले मात्रै लिएर पर्याप्त होला त ? मधेसलाई समृद्ध बनाउने हो भने नयाँ पुस्तालाई नयाँ भाष्यमार्फत अगाडि बढाए मात्रै सम्भव हुने देखिन्छ।

मधेसमा सबैको अपनत्व बढाउन ढिलो गर्नुहुँदैन। पहिलो मधेस विद्रोहका बखत आन्दोलनको पक्षमा मधेसमा बसोबास गर्ने पहाडी समुदायले साथ नदिएको कतिपय गुनासा यदाकदा सुनिन्छ तर राजविराज र वीरगन्जमा बस्ने नेवार समुदायले आन्दोलनको पक्षमा समर्थन गर्दै जुलुस निकालेको कुरा बिर्सिनु हुँदैन। काठमाडौंमा बसोबास गर्ने धेरै अभियन्ताहरूले खुलेरै मधेस आन्दोलनलाई समर्थन गरेको कुरा मधेसले सम्झिनैपर्छ।

केही समयअघि नेपालमा पहिलो पटक एनपिएल क्रिकेट लिगको भव्य आयोजना सम्पन्न भएको छ। तर, यसले फेरि पनि मधेसप्रतिको कुण्ठा, नासमझ र मधेसी समुदायले विभेद, नश्लीय चिन्तन र अपमानको सिकार हुनुपर्‍यो। खेलका लागि खडा गरिएका आठ वटा टिममध्ये जनकपुर टिमले एनपिएलको उपाधि जिते तापनि अपमान र गालीगलौजसँगै जनकपुर बोल्टका समर्थकहरू कुटपिटको सिकार हुनुपर्‍यो।

खेललाई खेल भावनाले भन्दा पनि फरक तरिकाले बुझ्ने प्रयास गरियो। टिमको समर्थक हुनु र समर्थन गर्नु स्वाभाविक भए तापनि जनकपुर टिमका समर्थकमाथि जसरी आक्रमण भयो, त्यो कुनै पनि दृष्टिकोणमा उचित थिएन। जब कि जनकपुर टिमका मालिक पनि कुनै मधेसी नभई पहाडी समुदायबाट सिग्देल थर भएका एक गैरआवासीय नेपाली हुन्।

जनकपुर टिममा सबै मधेसी खेलाडी नभई अन्य समुदायका खेलाडीहरू पनि सहजतापूर्वक अटाएका छन्। तर, जनकपुर नाम राखेकै भरमा जसरी सम्पूर्ण मधेसीहरू अपमानित हुनुपर्‍यो, यसको चौतर्फी आलोचना र विरोध पनि सुरु भयो। प्रहरी प्रशासन र गृह प्रशासनले सक्रियतापूर्वक यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कारबाहीको दायरामा ल्याउन अग्रसरता देखाए। केहीमाथि कारबाही प्रक्रिया पनि अघि बढाइयो।

यति हुँदाहुँदै पनि यसपटकको दृश्य भने अलिक फरक थियो। पहिले पहिले मधेसी समुदायमाथि हुने यस्ता किसिमका गतिविधिको विरोध, आलोचना र प्रतिवाद गर्नेमा मधेसी समुदायकै बाहुल्य हुने गथ्र्यो। यसपटक जब सुदूरपश्चिमका समर्थकबाट मधेसी समुदायमाथि सामाजिक सञ्जालमार्फत उग्ररूपमा आरोप, गालीगलौजसहितका भिडियो बनाएर मिम, रिल, टिकटकमा आरोप प्रत्यारोप, अपशब्द सुरु गरे, यसको सबैभन्दा पहिले पहाडी समुदायका पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, नागरिक समाज, आम बौद्धिक वर्गले स्वतस्फूर्त रूपमा प्रतिवादमा आफ्ना विचारहरू सामाजिक सञ्जालमार्फत व्यक्त गरे। कतिपयले त पहिले आफूहरू जनकपुर टिमको समर्थक नभए तापनि गालीगलौज गरेपछि जनकपुर टिम जसरी पनि विजेता हुनुपर्ने बोल्न र लेख्न थाले।

नेपालको इतिहासमा सम्भवतः यो पहिलो पटक यसरी मधेसी समुदायमाथि प्रहार हुँदा काठमाडौंका बौद्धिक, पेसाकर्मी, नागरिक समाज, आम नागरिकले एकसाथ कडा रूपमा प्रतिवाद गरेको हुनुपर्छ। त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा पूर्वराजदूत विजयकान्त कर्णले यसलाई सकारात्मक परिवर्तनका रूपमा लिनुपर्ने सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्नुभयो। र उहाँको तर्कसँग असहमति जनाउने ठाउँ छैन।

मधेसले खोजेको सहअस्तित्व, सम्मान र समानता यही हो। मधेसलाई दुख्दा देशलाई दुख्नुपर्छ। यही हो भाइचारा, सद्भाव र देश एकसूत्रमा बाँधिने कडी। पहिलो मधेस आन्दोलनको १८ वर्ष व्यतीत हुँदै गर्दा मधेसले कम्तीमा काठमाडौंलाई केही हदसम्म मधेसको भावना बुझाउन सक्नु नै मधेसको नयाँ भाष्यसहितको स्वर्णिम युगको सुरुवात हो। मधेसको स्वीकारोक्तिको दायरा फराकिलो हुँदैछ।

अब मधेसले आन्दोलन होइन, अभिमान चाहेको छ। मधेस समाप्तीको दिशामा होइन, समृद्धिको दिशामा अग्रसर हुन लालायित छ। मधेस भिक्षा होइन, शिक्षामा छलाङ मार्न व्यग्र छ। मधेस दानमा भन्दा बलवान् हुन चाहेको छ। मधेसका युवा बेरोजगार होइन, स्वरोजगार हुन चाहेका छन्। मधेसका छोरीहरू देशको सान बढाउन तयार छन्। देशभित्र मधेसले सकारात्मक ऊर्जा भर्न चाहेको छ।

मधेसले विगतमा भोगेका सबै तिरस्कार, अपमान, पीडा र आफ्नै भूमिमा विदेशी परस्तको आरोप बिर्सेर मधेसलाई समृद्ध बनाउँदै देश निर्माणमा जुट्न चाहेका छन्। मधेसका नयाँ पुस्ता पुरानाभन्दा निकै आक्रामक र विद्रोही छन्। समयमा नै तिनीहरूको भनोभावना समेट्न सकिएन भने भोलि चर्काे मूल्य चुकाउनुपर्ने हुन सक्छ। तसर्थ, मधेसलाई माया गरौं। मधेस देशभित्रै छ। यो कुरा खुला हृदयले स्वीकार गरौं।

मधेस विविध समुदाय, वर्ग, जातजाति, धर्मसंस्कृति भएको बहुसांस्कृतिक, बहुभाषिक साझा फूलबारी हो। मधेस सबैको हो र भूगोलका हिसाबले सबै मधेसी हुन्। अहिले फेरि पनि मधेसी दलहरू एकता, सहकार्य र मोर्चाबन्दीका लागि तातिएका छन्। तिनीहरू मधेस मुद्दाका लागि तातिएका हुन् या कुनै पार्टी वा अमुक नेताको राजनीतिलाई जोगाउन तातिएका हुन्, जनतासामु प्रस्ट हुनु जरुरी छ।

दुई ठुला दलले निर्वाचनका लागि राष्ट्रिय दल हुन थ्रेसहोल्ड बढाउने कसरत गर्ने तयारी गरेको छनक पाएपछि मधेस केन्द्रित दल पुनः एकपटक एकीकरण, कार्यगत एकता र साझा मोर्चाका लागि तम्सिएका छन्। तर, तिनीहरूले विगतमा गरेका गल्ती र सत्ताकेन्द्रित पद प्राप्तिको राजनीतिबाट मधेसले गुमाएको साख र मुद्दा कमजोर गर्न खेलेको भूमिकाप्रति अझै पनि खुलेर आम जनतासामु क्षमा माग्न तयार छैनन्।

विचार, सिद्धान्त, मनोभावना र एकअर्काको नेतृत्व स्वीकार गर्नै नसकिने हो भने एकताको नौटंकी गर्नु कदापि पनि उचित छैन। एकता हुनुपर्छ तर तार्किक एवं मुद्दामा एकता हुनुपर्छ। बलियो धरातल निर्माण नगरी सतही रूपमा गर्ने एकताबाट मधेस केन्द्रित दलको नेतृत्वमाथि झनै जनताको विश्वास गुम्ने खतरा छ।

विगतमा मधेसी जनताका नाममा राजनीति गर्ने तर दलको नामबाट मधेस शब्दलाई हटाउने हर्कत माफीयोग्य छैन। मधेसी जनताको भोट चाहिने तर मधेस र मधेसी शब्दबाट यतिविधि घृणा किन लागेको होला बुझिनसक्नु छ। अर्कातर्फ मधेसी दलभित्र पार्टी नेतृत्वपंक्ति लोकतान्त्रिक पद्धतिको कुरा गर्ने तर चरित्र चाहिँ तानाशाही प्रवृत्ति देखाउने गरेका छन्।

 पार्टीभित्र फरक मत उठाउनै नपाउने, अध्यक्षले गरेको गलत कामको विरोध गर्नै नहुने, यदाकदा फरक मत राखेकै भरमा पार्टीभित्र कारबाहीको डन्डा चलाउने, पार्टीबाट निष्कासन गर्नेजस्ता हर्कत विगतमा बारम्बार गरेका छन्।

पार्टी इमानदार, सक्रिय, योगदान दिने कार्यकर्ताभन्दा मालदार, चाप्लुस र स्वार्थ समूहबाट घेरिएका छन्। मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेकाहरू अहिले गुमनाम भएका छन्। तर, पनि नेतृत्वको चेत खुलेको छैन। त्यसो त मधेसको नयाँ पुस्ताले नयाँ नेतृत्व खोजिरहेको छ। उनीहरूको मुद्दा र समस्या बुझ्ने नेतृत्व वर्तमान मधेसको आवश्यकता पनि हो। मौजुदा नेतृत्वले नयाँ पुस्ताको विचार र मागलाई बोक्न असम्भवजस्तै छ। तसर्थ, मधेसमा नेतृत्व परिवर्तनको बहस पनि एकसाथ अगाडि बढाउनुपर्छ।  

प्रकाशित: १२ माघ २०८१ ०८:५१ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School