इन्द्रबहादुर राईसँग लामो वार्ता- मन नपर्ने बानी छन्, परेको बेला निस्किहाल्छ


(नेपाली वाङ्मयका धरोहर इन्द्र बहादुर राई भारतीय नेपाली भए पनि सिङ्गो नेपाली जगतका विशिष्ट विद्वान, विचारक र उच्च कोटीका स्रष्टा थिए । उनको कलम कथामा बेजोड रह्यो । उपन्यासमा बेजोड रह्यो । तेस्रो आयाममा ईश्वर वल्लभ, वैरागी काईंला र उनी तीन प्रतिभा भए पनि तेस्रो आयामका मूल व्याख्याता उनी नै देखिए । पछि तेस्रो आयामको विस्तारको रूपमा लीला लेखनलाई नेपाली वाङ्मयमा विस्तारित गरे एकल नेतृत्वमा । विसं १९८४ माघ २१ का दिन खरसाङ, दार्जिलिङमा जन्मेका उनको देहावसान २०७४ फागुन २२ गते दार्जिलिङमा भएको थियो । उनका प्रमुख प्रकाशनहरूमा कथा सङ्ग्रहहरू बिपना कतिपय, आज रमिता छ, टिपेका टिप्पणीहरू, कथास्था, नेपाली उपन्यासका आधारहरू, सन्दर्भमा ईश्वर वल्लभका कविता, साहित्यको अपहरण, दार्जिलिङमा नेपाली नाटकको अर्ध शताब्दी, कठपुतलीको मन, सामाजिक पहाड र खोला, अर्थहरूको पछिल्तिर, पृष्ट पृष्ठ, समयाङ्कन, लेखहरू र झ्याल, पहेँलो दिन आदि छन् । उनी एक साहित्यिक पुरस्कार ग्रहण गर्ने सिलसिलामा काठमाडौंमा आउँदा वैरागी काईंला निवासमा विसं २०६० जेठ १० गते लिईएको टेप अन्तर्वार्ताको हो ।)

जीवनको यस मोडमा आइ पुग्दा तपाईंले विगतमा गर्नु भएका सिर्जनात्मक कार्यहरु कस्तो लागि राख्या छ ?

हेर्नुस्, सबै अनुभव पाइ सकेर, सबै ज्ञान बटुलि सकेर मात्रै लेखन सुरु गरौं भन्ने हुँदैन । जति अनुभव पाएका हुन्छौं, जति ज्ञान पाएका हुन्छौं, जति कुरा जुन प्रकारले बुझेका हुन्छौं, त्यसैबाटै लेख्दै जानुपर्ने हुन्छ साहित्य लेखन । त्यस कारणले मलाई सामाजिक आवश्यकताले, साहित्यिक संस्थाहरूको आवश्यकताले उनीहरूको माग अनुसार जे जति लेख्न पर्यो, त्यसमा एक प्रकार सन्तुष्टि नै मान्न पर्छ । हुन ता आफ्नो कुरा लेख्न पाउनु हामीले चाहेको कुरा त्यो हो तर समाजले हामीलाई अरू कुराहरू, अरू कुनै विषयमा लेख्न लाउँछ । हुँदैन भन्न सक्तैनौं । र त्यस्ता कुराहरू लेख्दा हाम्रो समय धेरै नै त्यता खर्च हुन्छ, दुःख पनि लाग्छ । तर सामाजिक आवश्यकता भनेर आफूलाई, आफ्नो मनलाई बुझाउँछौं ।

तपाईंले यौटै उपन्यास लेख्नुभयो -“आज रमिता छ” र नेपाली उपन्यास जगतमा रत्नको रुपमा सम्मानित छ त्यो, दोश्रो उपन्यासतिर तपाईं किन लाग्नु भएन ?

अघि नै भनेँ, जे जे लेखाउँछन्, लेख्न भन्छन्, ती कुराहरू लेख्तैमा यतिका वर्षहरू बितेर गए । अब नयाँ कृति के लेखौं भनेर आफैँलाई सोधिरहेको छु । भर्खरै मात्र मेरो यौटा सानो नाटक प्रकाशित भयो । अब त्यसपछि के लेखौं भनेर सोची रहेकोमा फेरि यौटा उपन्यास लेखौं कि पनि सोच्दै छु । तर अब उपन्यास लेखन कहाँदेखि कहाँ पुगि सक्यो । पुरानो किसिमको पुरानो ढङ्गको उपन्यास लेखनले अब हुँदैन र मनमा अब उत्तर आधुनिक ढङ्गको उपन्यास लेख्नु पर्ला कि भन्ने मनमा विचार, मनमा सोच गर्न लागेको छु ।

अनि “बिपना कतिपय” कथाहरूको जुन पाठकीय आकर्षण थियो, समाज र समय त्यहाँ जसरी प्रस्तुत भयो, तेस्रो आयाम आएपछि वा लीला लेखनमा आएपछि पाठकीय दूरी बढेको अनुभव गरिँदैछ बौद्धिकताको चापले गर्दा शायद । यो तपाई कत्तिको मान्नुहुन्छ ?

“बिपना कतिपय” लेख्दा त्यो सामाजिक यथार्थिक लेखन बन्यो । समाजमा जे जति कुरा देख्छौं स्थूल तथ्यहरू ती सबैलाई टिपेर लेख्ने गर्यौं । जस्ता मानिसहरूसँग भेटघाट भयो ती मानिसहरूलाई नै टिपेर सुनेका वा देखेका घटनाहरूलाई नै लिएर लेखिँदा ती पाठकहरूका निम्ति सहजै बुझिने उनीहरूले मन पराउन सक्ने कथाहरू भए । तर पाठकहरूले साधारण स्तरका कथाहरू मात्रै मन पराउँछन् भनेर लेखकले पनि त्यही स्तरमा रोकिनु ठीक नपर्ने लाग्यो आफूलाई । अनि साहित्यको नयाँ विधि, साहित्यले नयाँ थोक दिन सक्ने, समयले मागेको नयाँ थोक दिन पर्ने कशिस गर्दा साधारण पाठकका निम्ति यसले दोस्रो किसिमका लेखनहरू सहजै बुझिने हुँदैनन् र नबुझिने लेख्न लागे भनेर पाठक र लेखक बीच दूरत्व बढ्छ नै, हो । त्यसदेखि भाग्न, त्यो नहोस् भन्न पनि नसकिने रहेछ ।

तपाईंहरुले तेस्रो आयाम सुरु गर्दा त्यस आन्दोलनबाट जे अपेक्षा गर्नु भएको थियो प्रतिफलको सन्दर्भमा त्यो प्राप्ति हात लागेको हो जस्तो लाग्छ कि लाग्दैन ?

हामीले चाहेको कुरा थियो हामीले बुझे अनुसारको लेख्ने गर्नू । लेखकहरू २ किसिमका हुन्छन् । साहित्यिक सिद्धान्तको ज्ञान राखेर लेख्ने लेखक अनि साहित्यिक सिद्धान्तका ज्ञानहरू पनि लिएर लेख्न चाहने, लेख्न कोसिस गर्ने लेखक । त्यसले गर्दा आफूले जानेको, आफूले बुझेको सिद्धान्त अनुसारको लेखन गर्न सक्यौं भने हामीलाई हामीलाई सन्तोष भै हाल्दथ्यो । पाठकहरूले बुझेनन्, त्यसमा एक प्रकारको असन्तोष हामीलाई पनि हुन्थ्यो । तर हामीले जानेको सिद्धान्त अनुसारले लेख्ने हाम्रो जुन प्रयत्न थियो त्यो प्रयत्न सफल भएकोमा हामीलाई पनि सन्तोष थियो ।

तेस्रो आयामलाई पुनर्मूल्याङ्कन, पुनरावलोकन गर्ने क्रममा तपाईंहरु बीच मतैक्य नहुने अवस्था कसरी आयो ?

हेर्नुस्, लेखकहरूले एकै मतो गरेर लेख्न थाले पनि उनीहरू भिन्दाभिन्दै व्यक्तिहरू भएकाले उनीहरूको संस्कार बेग्लाबेग्लै भएकोले उनीहरूको अनुभव, उनीहरूका ज्ञान, उनीहरूको बोध अलग अलग भएकोले एकै सिद्धान्त लिएर लेख्दा पनि केही न केही पार्थक्य हुन्छ नै हो । उदाहरणको निम्ति अर्को क्षेत्रबाट यसरी हेर्न सक्छौं- एकै धर्म मान्नेहरु बीच पनि धेरै पन्थहरूमा उनीहरू बाँधिएका हुन्छन् । के गर्ने ? यसरी यौटा सिद्धान्त लिँदा त्यस सिद्धान्तलाई पछ्याउनेहरू सबै सर्व प्रकारेण एकै हुन्छन् भन्ने छैन । यो भिन्नता आउँछ, हो । तर पनि मूल कुरामा, आधारित कुरामा उनीहरू एकै नै हुन्छन् ।

विश्व साहित्यमा हेर्दा वाद आन्दोलनहरू समयको क्रममा देखा परेका छन् । तर रहने त मौलिक सिर्जना नै हो, हैन र ? वाद आन्दोलन कति आवश्यक छ ?

बादहरू तव जन्मन्छन्, तव बढ्छन्, जब कुनै प्रकारको यौटा सङ्कटको अवस्था हुन्छ । क्राइसिसको अवस्था आइ लाग्छ । लेखनमा भनौं वा समाजमा भनौं वा देशमा भनौं, उदाहरणको निम्ति भनौं अङ्ग्रेजी साहित्य यस्तो साहित्य हो, अघिअघिको अङ्ग्रेजी साहित्य जसमा वादमा हामी त्यति धेरै बाहुल्य पाउँदैनौं । तर दोस्रो विश्व युद्धपछि जब ब्रिटिस साम्राज्यको पतन भयो, त्यो भत्कन थाल्यो, त्यस वेला आएको सङ्कटले यौटा परिणाम भयो, साहित्यमा पनि , अङ्ग्रेजी साहित्यमा पनि वाद सिद्धान्तहरूको त्यहाँ पहुल हुन थाल्यो । दुःख परेको वेला नै मानिसहरूले मैले किन दुःख पाएँ भनेर सोच्न थाल्छन् । सुख पाएको वेलामा मैले कसरी सुख पाएँ, सोच्दैनन् । त्यस्तै नै साहित्यमा पनि सङ्कट आएको बेलामै बादहरु बढ्छन्, त्यस साहित्यमा । र नेपाली साहित्यमा पनि हामीले देख्यौं, यौटा सङ्कट आएको छ, खाली भावमा बगेर जाने । खाली भावमा बगेर गएर हुँदैन । यस किसिमको साहित्यले कहीँ पुर्याउँदैन । समाजलाई डोर्याउँदैन । बौद्धिकता आउनुपर्छ । साहित्यमा बौद्धिक लेखन हुनुपर्छ । यो यौटा सामाजिक आवश्यकता देखेर आयामिक लेखन थालिएको थियो ।

कतिपय व्यक्तिहरू तपाईंले व्यक्त गर्नुभएको भाषालाई अप्ठ्यारो मान्दछन् । उनीहरूलाई के भन्नुहुन्छ ?

यो अप्ठेरो भएको कारण वहाँहरूलाई हामीले बुझाउन सकेनौं । कोसिस त गरेका हौं । हाम्रा सिद्धान्त अनुसार ती लेखिएका छन् । त्यसरी लेखिंदा अप्ठ्यारा बनेका छन् ती लेखनहरू । वहाँहरूले हाम्रो सिद्धान्तको ज्ञान नलिइकन हाम्रो लेखन मात्रै हेरे भने बुझ्न सक्तैनन् । तर हाम्रो सिद्धान्तलाई पनि हेरेर किन यस प्रकारको लेखन गरियो त्यसका कारणहरू पनि बुझेर वहाँहरूले त्यो पढ्नु भयो भने त्यो अप्ठ्यारा हुँदैनन् ।

“तेश्रो आयाम” तीन जनाले मिलेर आन्दोलनको रूपमा गरे पनि “लीला लेखन” मा चाहिँ एक्लो यात्रा गर्ने विचार कसरी आयो ?

लीला लेखनको सम्बन्ध आयामिक लेखनसँग पनि छ । आयामिक लेखनमा हाम्रो यौटा धारणा थियो- वस्तुता । त्यो वस्तुता धारणाबाटै लीला लेखन अघि बढेको हो । हामी तीन तिल विक्रम नेम्वाङ, ईश्वर वल्लभ दार्जिलिङमा सँगै थियौँ । पछि वहाँहरू मध्ये काठमाडौं फर्कनु भयो ईश्वर वल्लभ । तिल विक्रम नेम्वाङ आफ्नो थलो फर्कनुभयो, सारताप । हामी छुट्टियौं । तर छुट्टिनु भन्दा अघि लीला लेखनको सम्बन्धमा, विषयमा, यस धारणा विषयमा हामी माझ बातचित कुराकानी हुन्थ्यो । वहाँहरू नफर्केको भए दार्जिलिङबाट यो लीला लेखन पनि आयामेली लेखनको दोस्रो चरण भएर अघि बढ्ने थियो । तर वहाँहरू यता फर्कि हाल्नु भयो, अनि उता त्यसलाई एक्लै बढाउने काम भयो दार्जिलिङमा । त्यसरी म एक्लो देखिएँ ।

यो लीला लेखन ज्याक डेरिडाको विनिर्माणवाट कति नजिक, कति टाढा छ, अर्थात् यसको मौलिकता के हो ?

लीला लेखन के हो पहिला त्यो बुझेपछि लीला लेखनसँग, लीला लेखनको सिद्धान्तसँग जत्ति कुरा मिल्छन् ती सबै कुरालाई हामी स्वीकार गर्छौं । ग्रहण गर्छौं । लीला लेखनका धारणासँग धर्मका कति शिक्षाहरू मिल्छन्, तिनिहरूलाई पनि लिन्छौं । विज्ञानहरू नव विज्ञान, न्यू साइन्सका कति कुराहरू मिल्छन्, तिनिहरूलाई पनि लिन्छौं । त्यसरी भाषा विज्ञानका कति कुराहरू मिल्छन्, तिनिहरूलाई पनि लिन्छौं । यसरी हाम्रो लीला लेखनको धारणाका अनु सेवी, त्यसका सहायक, जत्ति ज्ञानहरू हुन्छन्, तिनिहरूलाई हामी लिन्छौं । यसरी लिने धेरै ज्ञानहरू मध्येमा वि निर्माण पनि यौटा हो ।

यहाँले २०३८।३९ सालको विराटनगरमा भएको यौटा समारोहमा सबै थोक छोडाएर गुदी सबैमा खोज्दा पाईंदैन, जस्तो प्याज छोडाउँदै जाँदा गुदी भेटिँदैन भन्नु भएको थियो । त्यो चिन्तनको गन्तव्य अहिले पनि त्यही हो ?

प्याजका पत्रहरू उप्काउँदै लैजाँदा प्याज सकिन्छ, अन्तमा त्यहाँ भित्र रहने प्याज भन्ने कुनै ठोस वस्तु हुँदैन । पत्रहरू मात्रै वरपर छरिएका हुन्छन् । यो कुराको सम्बन्ध चैँ लेखनसँग छ । लेखनको फर्मसँग, रूपसँग, लेखनको विषयवस्तुसँग हुन्छ । लेखनका रूपहरू हुन्छन् । र विषयवस्तु भने हुँदैन, रूपहरू मात्रै हुन्छन् भन्ने यौटा साहित्यिक सिद्धान्त छ । अनि त्यसलाई यो सिद्धान्त अनुसारको भनाई त्यो थियो । प्याजका पत्रहरू मात्र हुन्छन्, प्याज भनिने छुट्टै थोक हुँदैन भन्ने । यो रूपलाई लिएको हो । एकेक पत्रहरू, फर्महरू, रूपहरू आखिर जुनै कुरा भन्दा पनि त्यसले यौटा रूप लिएकै हुन्छ । यसरी फर्म लिएकोले, विना फर्म विना रूप यौटा वाक्य पनि यौटा रूप हो । यौटा शब्द पनि यौटा रूप हो । लेखाइको शैली पनि यौटा रूप हो । यी सबहरूको सम्मिलन, सम्मिलन चैँ तव विषयवस्तु बन्दछ । र फर्म भन्दा अलग विषय बस्तु हुँदैन भनेको नै पत्रहरूभन्दा अलग प्याज हुँदैन भनिएको हो ।

जीवन पनि यौटा सुन्दर भ्रम हो जस्तो लाग्छ कि लाग्दैन तपाईंलाई ?

हामीलाई यस्तो छ, यौटा भूल विचार छ कि लीला लेखनले संसार सबै भ्रम हो, जीवन जम्मै भ्रम हो भनेर मान्छ भन्ने यौटा भूल विचार फैलिएको छ । हाम्रो कुरा के छ भने हेर्नुहोस्, लीला लेखनको सम्बन्धमा पहिलो लेख जब रूपरेखामा छापिएको थियो । धेरै वर्ष अघि, २५ वर्ष अघि, त्यसमा भनिएको थियो, कृष्ण सभामा पस्दा भागवत महापुराणमा त्यो वर्णन छ, सभामा पस्दा दुष्टहरूले कृष्णलाई कालको रूपमा देखे, त्यहाँ उपस्थित रमणीहरूले श्याम सुन्दरको रूपमा देखे, त्यहाँ जति योगीहरू थिए, उनीहरूले ईश्वर-महा योगीको रूपमा देखे । यसरी १० रूपमा त्यहाँ उपस्थित भएका व्यक्तिहरूले, नरनारीहरूले कृष्णको १० रूप देखे । त अब लीला लेखनले प्रश्न गर्छ, किन उनीहरूले १० रूप देखे त, भिन्दाभिन्दै रूपका देखे त ! कुरा यहाँ छ । लीला लेखनले यी १० रूप, १० दृष्टि पाइकाहरू मध्येमा कसको दृष्टिचाँहि ठीक, ककसका दृष्टिचाँहि भूल- यो झगडामा लीला लेखन जाँदैन । किन १० किसिमका दृष्टि उनीहरूले पाए त ! यौटा दृष्टि किन पाएनन् त !यो किन ? यो हो लीला लेखनले सोध्ने प्रश्न !वर त्यसले गर्दा कसैले भन्छन् संसार मिथ्या हो । शंकराचार्यले भन्थे, संसार- जगत् मिथ्या । ल उता वल्लभाचार्य उस्तै ठूला सन्त, उस्तै ठूला ज्ञानी, उनले भन्छन्, ईश्वर सत् हुन् । अनि त्यस सतबाट बनेको यो विश्व सत् नै हो । असत्य होइन । यी दुइटा ठूला ठूला ज्ञानी महात्माहरूको विचार पनि किन मिल्दैन ? लीला लेखनले त्यो सोध्छ । तिनिहरू दुईमा को ठीक को भूल नत्यता जाँदैन । यही हो लीला लेखन । यही कुरा नबुझ्दा लीला लेखनले सब कुरा भ्रम हो भनेर भन्छ भन्ने फैलिएको छ । हामी त सोच्छौं, यो किन मतभेद हुन्छ त ! किन यौटै पार्टीभित्र, देशभित्र उन्नती गरौं भन्ने विभिन्न पार्टीहरूमा किन मतभेद । नेपालकै उन्नती गरौं, नेपालका कारिन्दाहरूकै भलाई गरौं, सुख दिउँ भन्ने लक्ष भएका यति भिन्न भिन्न मतका पार्टीहरु किन त ? यौटै पार्टीभित्र पनि फुटेर ससानो दलमा बाँडिन्छन् । किन त ? यो के ले यसरी गराउँछ ? यो कहाँनेर भूल हुन्छ ? यसको खोजी गर्छ लीला लेखनले ।

तपाईंले लीला लेखन सन्देहवादी वा सर्वहारावादी लेखन होइन भन्नु भएको छ, यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?

किन यसरी मतभेद हुन्छ, किन भिन्न भिन्न मानिसको भिन्न भिन्न बोध हुन्छन्, त्यो कुरा खोज्नु लीला लेखनको ध्येय हो । त्यो खोज्दा बोध विज्ञान हामी कसरी बुझ्छौं त भन्ने जुन दर्शन शास्त्रले सिकाएको छ, जुन मनोविज्ञानले सिकाएको छ, ती कुराहरुलाई लिएर त्यहाँबाट लिएर हेर्ने यौटा आँखा, यौटा दृष्टि लिएर त्यहाँ लेख्नपर्छ र यहाँले के सोध्नु भएको थियो ?

यो सन्देहवादी वा सर्वनाशवादी लेखन होइन भन्ने……

त्यसरी खोज्दाखेरि हामी देख्छौं, हामीमा मतभेद यसरी आउँदो रहेछ, मत भिन्नता यसरी हुँदो रहेछ, मूल्याङ्कनमा भिन्नता त्यसरी हुँदो रहेछ, विचारमा विभेद यसरी जन्मँदो रहेछ भनेर देखाउने काम लीला लेखनले गर्छ । त्यसलाई संशयवाद कतिले भन्छन् भने त्यो त वहाँहरूको हेराई हो । एक प्रकारले यसलाई संशयवाद पनि भन्न सकिन्छ । किनभने भिन्नै भिन्नै मानिसले यसरी भिन्दै भिन्दै देख्छन् है भनेर भन्नु यिनिहरू सबै बराबर सही हेराई हुन् भनेर भन्नलाई पनि संशयवाद भनियो भने भन्न पनि सकिएला । यौटै मात्रै ठिक भनेर किट्नु चाहिँ संशयवाद होइन । सबै ठीक भन्नु चाहिँ संशयवाद हो । भने देखि यसलाई संशयवाद पनि भन्न सकिएला ।

लीला लेखनको बीस सूत्रीय घोषणामा यहाँले जेनको सातोरी, युङ्गको मनोविज्ञानको अवचेतनाको विमुक्तिको समकक्षी छ लीला लेखनको शून्य मत भनेर यहाँले भन्नु भएको छ । हामीले यसलाई यहाँको लेखनमा कहाँ पाउने र लीला लेखन अन्तर्गत सबै रचनामा यी सब चिज आउन सक्छ कि सक्दैन ?

यही सबै जतिको उल्लेख गर्नुभयो यहाँले नै प्रश्नमा, ती सबैले लीला लेखनमा सह्यता हुन्छ । त्यस कारणले तिनिहरूलाई हाम्रो लेखनमा प्रयोग गर्नु पर्दा लेख्दा कत्तिको प्रयोग भएको छ, कत्तिको प्रयोग अझसम्म नभएको होला, ती सवैलाई प्रयोग गर्न सक्यौं भने लीला लेखन हुन्छ ।

“कठपुतलीको मन” मा लीला लेखनले एउटा युक्ति समाइयो, अरू पनि बाटो खोज्नेहरूले झिक्ने नै छन्” भनेर ढोका सबैलाई खुल्ला गरि दिनु भयो । तर के अरूले अरूहरू बाटो खोजेको, नयाँ बाटो भेटेको यहाँले पाउनु भा’को छ कि छैन ?

यहाँले प्रश्न गर्दा गर्दै अहिले हाम्रा भाई रत्नमणि नेपाल आउनु भयो । अहिले रत्नमणि नेपालले यौटा कथा सङ्ग्रह निकाल्नु भएको छ “कथा ईन्द्रेनी” । त्यसमा हेर्नुहोस्, ती त्यसमा १५, १६ कथाहरू सङ्कलित छन् । ती १५, १६ कथाहरुमा लीलाको प्रयोग, लीलालाई त्यसमा कसरी त्यहाँ प्रयोग गरिएको छ, त्यहाँबाट देख्नुहुन्छ । अनि त्यसको भूमिका मैले लेखेको छु, प्रस्तावना मैले लेखेको छु, त्यहाँ सवै कुरा बताएको छ । यी कथाहरूमा कसरी लीला देखाइएको छ, लीला आएको छ भनेर ।

एकातिर अहिले उत्तर आधुनिकताको चर्चा छ, अर्कोतिर यो लीला लेखन पनि चलिराखेको छ, यी दुईको बीचमा कस्तो तादात्म्य छ त ?

अघि हामीले जब आयामिक लेखन गर्थ्यौं, आयामिक लेखन गर्दै जाँदा हामीले लेख्नुपर्ने विषय जीवनलाई ठम्यायौं । अनि जीवनमाथि चिन्तन, जीवनमाथि सोच, जीवनमाथि विचार, जीवनको अनुभवलाई लेख्ने प्रविधिमाथि विचार हामीले गर्थ्यौं । हामीले त जीवनमाथि चिन्तन, मनन गरौं भनेर हामी अघि बढ्यौं । तर पछिबाट हाम्रो जीवनमाथिको चिन्तन कत्ती कुरामा अस्तित्ववादसँग मिल्न गएछ । मिल्न जाँदो रहेछ । अस्तित्ववादले पनि जीवनमाथि धेरै विचार गरेको छ । तर हामीले अस्तित्ववादसँग मिलौं भनेर थालेका थिएनौ । तर आखिर आफूले चुनेको विषयमाथि लेख्तै जाँदा अस्तित्ववादसँग मिल्न पुग्यो । त यस्तै यसमा पनि जब हामी लीलामाथि लेख्न थाल्यौं अनि लीला भन्दा हामी के बुझ्छौं –मैले रत्न मणिको अघि उल्लेख गरेको पुस्तकको भूमिकामा प्रस्ट गरेको छु, हामी अरू कत्ति कुरासँग मिल्न पुग्छौं । तर थालनीमै हामी ती कुरासँग मिल्न पुगौं भनेर हैन, हामी लीला लेख्ताखेरि ती कुराहरूमा स्वतः नजानिकनै पनि मिल्न पुग्यौं ।

तपाईंले पछिल्लो समयमा पढ्नु भएको नेपाली साहित्यको उल्लेखनीय कृतिहरू केके होलान् ?

अहिले मैले नेपालीमा लेखिएका २ वटा उपन्यास पढेँ, यौटा मदन मणि दीक्षितले लेख्नुभएको उपन्यास, वहाँको पछिल्लो उपन्यास “भूमि सूक्त” पढि सिध्याएँ । निकै मोटो उपन्यास छ । त्यसलाई ५ दिन जस्तो लगाएर अरू काम पनि गर्दै पढि सिध्याएँ । त्यसपछि हाम्रा झापाका भाई कृष्ण धरावासीको नयाँ उपन्यास “आधा बाटो” पढेँ । धेरै मोटो छ, ५५५ पृष्ठको । सबै काम माया मारेर पढ्न वस्ता मलाई ६ दिन लाग्यो । यसरी पाइएका कृतिहरू पढ्दै जाँदैछु ।

जीवनको उत्तरार्द्ध जस्तो अवस्थामा तपाईंले मृत्युलाई कुन रूपमा चिन्तन गरि राख्नु भएको छ ?

मृत्युलाई त अहिलेसम्म, त्यसमाथी सोच विचार गर्ने आवश्यकता पनि लागेको छैन । मृत्युको सोच विचार टड्कारो रूपमा आफूमाथी आइ लागेको जस्तो पनि लाग्दैन । मृत्यु त हुन्छ नै, हो, हुन पर्छ, तर अहिले नै त्यस विषयमा सोच गर्नुपर्ने आवश्यकता त्यति लागेन । कुनै दिन कुनै रोगले सताइएको खण्डमा त सोच गर्नै पर्छ होला । र पनि अहिले मृत्यु एकदमै नजिक आइ पुगेको आशन्न थोक जस्तो अनुभव अलि हुँदैन ।

इन्द्रबहादुर राईसँग लामो वार्ता- मन नपर्ने बानी छन्, परेको बेला निस्किहाल्छ

यहाँले जति खेर त्यो “साहित्यको अपहरण” भनेर यौटा पुस्तक लेख्नुभयो, त्यति खेर चैं यो प्रगतिवादी लेखन प्रति यहाँले जुन मार्क्सिस्ट लेखनमाथि जुन प्रहार गर्नु’भा छ, त्यसले गर्दा उनीहरूको तपाई प्रति दृष्टि कस्तो पाउनु भयो, त्यो किताबको प्रकाशन पछि ?

अहिले हामी २०।२५ वर्षदेखि लीला दृष्टि राखेर, लीला बोध राखेर लेख्तै छौं । त्यो पुस्तक जो लीला बोध लिनु भन्दा अघिको बेलाको हो, त्यो । आजकाल लीला बोधले हामीलाई खण्डन मण्डनमा नजानू भन्छ । खण्डन मण्डन गर्ने काम व्यर्थ हो । उसको विचार उसको हो । तिम्रो विचार तिम्रो हो । उसको विचारमा, उसको दृष्टिमा उनी ठिकै छन् । तिम्रो विचारमा तिमी ठिकै नै छौ । उसले त्यस्तो विचार राखेको, तिमीले यस्तो विचार राखेको, यो यौटा लीला भित्रको खेल मात्रै हो भनेर आजकाल हामीहरू त्यो ज्ञान, त्यो संयम भनुँ, राख्छौं । तर त्यस वेला त्यो लीला बोध हामीमा थिएन र खण्डन मण्डनमा गयौं । यो खण्डन मण्डन गर्नु चाहिँ आधुनिक साहित्य भित्र पर्छ । मेरो यो विचार ठीक हो, अर्को विचार चाहिँ भूल हो भन्न खण्डन मण्डनमा पुग्यो । त्यो खण्डन मण्डनको बेलामा लेखिएको हो त्यो । अबको बेलामा भए त्यो लेखिने थिएन । तर अब त्यस बेला देखि म त बदलिएँ । त्यस वेला त अरूको कुरा काट्न, मेरो कुरा ठीक हो भन्नेमा म थिए । तर अब त म त्यसमा छैन । म बदलिएँ । तर हामी मानिसमा यौटा सीमा हुन्छ । कुनै व्यक्तिको विषयमा यौटा धारणा मनमा जम्यो भने सदाको निम्ति त्यस व्यक्तिलाई हामी त्यही रूपमा नै हेर्दछौं । र म त बदलिई सकें । तर हाम्रा मार्क्सवादी कवि लेखकहरूले त्यो पुरानो ईन्द्र बहादुर राईलाई आक्रमण गर्दछन् । अहिले म त अर्कै भइसकेको छु र अहिले मलाई त्यो आक्रमणले छुँदैन पनि ।

अहिले दार्जिलिङमा विशिष्ट साहित्यिकको रूपमा लिंदा खेरी ईन्द्र बहादुर राईको नाउँ नलिने हो भने त्यो भन्दा पछाडि चाहीं ठूलो भ्वाङ देखिन्छ भन्ने भनाई छ । यसलाई तपाईंले कसरी अनुभव गर्नु भएको छ ?

उता पनि लेखक कवि भएका छन् । आउँदै छन् र एउटा रिक्तता त्यहाँ छायो भन्ने कुरा होइन । यति मात्रै हो, उनीहरूका कृतिहरू यता नेपालतिर आएर नेपालकाहरुले पढ्न पाएका छैनन् । नेपालकै कृतिहरू पनि हामी दार्जिलिङकाहरूले सवै पढ्न पाउँदैनौं । त्यसै भएर मात्रै हो नत्रभने उता पनि लेख्नेहरु भैसकेका छन्, जस्तो कविताको क्षेत्रमा सिक्किमका राजेन्द्र भण्डारी राम्रो लेख्नुहुन्छ । यसरी राम्रो आउनेहरूमा रेमिका थापा, राम्रो लेख्ने अहिले कवयित्री आउँदैछिन् । यसै गरेर समालोचनामा डा. लख्खिदेवी सुन्दास, उहाँ जीवन नामदुङ अलि अन्वेषणपट्टि पनि उहाँ जानुहुन्छ । त्यसैगरी कथामा सूर्य कुमार सुब्बा, अरू पनि छन् , गुप्त प्रधान, शरद क्षेत्री उनीहरूको लेखाई अहिले नेपालमा जति सङ्ख्यामा पुस्तकहरू दार्जिलिङबाट प्रकाशित हुँदैनन्, त्यत्ति हो, तर गुणको स्तरमा कोसिस प्रयत्न भने दार्जिलिङका जति जना लेखकहरू छन्, उनीहरूले गरिराखेका छन् । फेरि यौटा कुरा यसो हो, कुनै युगको पनि साहित्य बलियो हुन पर्यो भने देखि हजारजना कवि चाहिँदैन । असल कवि ५ जना भए एक युगलाई प्रशस्त हुन्छ । ५ जना उपन्यासकार, ३ जना नाटककार भए देखिन् एक युगलाई प्रशस्त हुन्छ । सङ्ख्या धेरै हुँदै मा मात्रै त्यस युगको साहित्य बलियो हुन्छ भन्ने हुँदैन र उता सङ्ख्यामा धेरै नभए ता पनि स्तरीय कार्य हुन सक्यो भने त्यो सन्तोष प्रद कुरा नै हुनेछ ।

जस्तो नेपालका ठूला ठूला पुरस्कारबाट पनि यहाँ सम्मानित हुनुभा’छ नेपालका असङ्ख्य साहित्यकारहरूको बीचमा यहाँ अत्यन्त सम्मान्य व्यक्तित्वको रूपमा सबैले लिइराखेका छन् । यो सबैलाई हेर्दाखेरि तपाईंलाई कस्तो अनुभव हुन्छ ?

हेर्नुस्, अब यस्तो हुँदो रहेछ, अघि पनि एकपल्ट कुनै अवसरमा हाम्रा वैरागी काईंला भाइसँग एकपल्ट कुरा भएको थियो । मानिसको, जुनै मानिसको पनि “ईमेज” छवि बनेको हुन्छ । दुष्ट मान्छे भनेर भए पनि सज्जन भनेर मानिएर भएर भएको भए ता पनि यौटा ईमेज बनेको हुन्छ । पब्लिक ईमेज चाहिँ आफ्नो हातको काम हुँदैन । हजारजना मान्छेहरूले विचार गरेर केके सुनेर, ठीक सुनेर भए ता पनि भूल सुनेर भए ता पनि उनीहरूको आँखामा यौटा छवि, बिम्ब बनेको हुन्छ । र त्यो बनिएकोमा आफ्नो क्यै लाग्दैन । उनीहरूले त्यस्तो देखे, आफूले चाहिँ, आफूले पनि आफू सम्बन्धमा केही ईमेज आफ्नै पनि हुन्छ । त्यो ईमेज पनि ठीक हुन्छ भन्न सकिँदैन किनभने आफू पनि भूल हुन सकिन्छ र आफूले हेर्दा चाहिँ कता कता मैले ठीक लेखेँ लेखिँन जाँच गर्नाका निम्ति पुराना कुराहरू कहिले कहिले पढेर आफैँले हेर्नुपर्ने हुन्छ । हेर्दा कहीँ कहीँ त अलिकति राम्रै लेखिए छ जस्तो पनि लाग्छ, कतिकति राम्रै लेखिए छ जस्तो पनि लाग्छ । कतिकति चाहिँ त भएन, यो भएन पूरा, यो ठीक भएन, यो अर्कै प्रकारले लेखिनु पर्ने थियो भन्ने पनि हुन्छ । र म ठीक लेखक हुँ भन्न पनि कसैले सक्दैन, अनि बरु धेरै बरु धेरै भूल गरे छु भन्ने जस्तो लाग्नु चैँ स्वाभाविक नै हुन्छ ।

अनि लेखनको यति लामो यात्रा क्रममा आइसक्नु भा’छ, यहाँ उमेरले पनि ७५ वर्ष पूरा गरेर यति अगाडि आइ सक्नुभयो, यहाँले आफ्ना जीवनका सम्पूर्ण अनुभवहरूलाई यौटा कुनै आत्मकथाको रूपमा प्रस्तुत गर्ने कुनै सोच विचार राख्नु भा’को छ कि छैन ?

यो, यौटा कथा लेखेको थिएँ मैले, यहाँ समकालीन साहित्यमा प्रज्ञा प्रतिष्ठानको, त्यसमा छापिएको थियो । त्यो कथाको शिर्षक थियो, “झ्याल” । त्यसमा मैले एक ठाउँमा भनेको छु, जीवन र जगतले हामीलाई धूमधाम कति कुराहरू सिकाउन खोज्छ । तर हामी यति लद्दू छौं कि, क्यै पनि सिक्न सक्तैनौं, जीवन र जगतले सिकाएका कुरा । यसो पनि हो, जीवन र जगत पनि सिकाउन नचाहने यति कन्जुस छ, कुनै कुरा सिकाउन पनि चाहँदैन र हामी क्यै सिक्न पनि पाउँदैनौं भनेपछि जीवन जीवन र जगतले क्यै सिकाउँछ भन्ने पनि छैन । र कसैलाई पनि सोध्नुभयो, तपाईंले जीवनभरि सिकेर के शिक्षा पाउनु भो भने , उसले बताउन सक्तैन । यस कुरालाई सोचियो राम्रो गरेर, यौटा नाटक लेखिएको छ, यनेस्को युजिन भन्नेद्वारा नाटक लेखिएको छ, नाटकको शिर्षक छ, “चियर्स चौकीहरु” । त्यसमा २ बूढाबूढी छन् । १०० वर्ष पुग्न लागेका बूढा, ८९ वर्ष पुगेकी बुढिया, उनीहरूले पनि त्यत्रो वर्ष बाँचेर जीवनमा के सिक्यौं, त्यो भनि राख्छौं भनेर एकजना मान्छेलाई ल्याएर भन्न लाउँछन् ।अनि उनीहरू त पर गएर समुद्रमा फाल हालेर बूढा बूढी मरि हाल्छन् । अनि त्यो आउने मान्छेले उनीहरूको अनुभवलाई, जीवनभर सिकेको शिक्षालाई बताउन बल गर्दा त्यो लाटो रहेछ, बोल्नै नसक्ने । अर्थात् जीवनले क्यै सिकाउँदैन । वा हामी सिक्नै सक्दैनौं । र जीवनले के सिकायो, तपाईंलाई कस्तो लाग्यो भन्दा अहिले मैले ढाँटेर यस्तो लाग्यो, उस्तो लाग्यो भनुँला, अहिलेको लागि मलाई केही लागेको पनि हुन्छ । तर भोलि म त्यै कुरा साटेर अर्को कुरा भन्न थाल्छु । र यसरी मैले दिन दिनै कुरा साटेर नयाँ नयाँ थोक, अरूहरू थोक बताउन थालेँ भने त्यसको अर्थ हो मैले क्यै पनि सिकेको छैन ।

अहिलेसम्म यहाँले जे जति साहित्य लेखन गर्नुभयो, त्यसबाट आफैँले चाहिँ जजमेण्ट गर्दाखेरि कति सन्तुष्ट हुनुहुन्छ ?

यो अघि नै भनें, कैले कैले, कुनै कुनै ठाउँमा त हो ठीकै लेखिएछ जस्तो लाग्छ । कति धेरै ठाउँहरूमा त भएन जस्तो लाग्छ नै ।

तपाईं आफ्नो पुर्खालाई कसरी सम्झना गर्नुहुन्छ ?

आमापट्टिका मेरा बाजे यहाँ धनकुटाबाट मुगलान पसेका । अनि बाबु पट्टीका बाजे चाहिँ चैन पुरबाट उता गएका । यसरी ३ पुस्ता अघि हामी यता नेपालका पहाडबाट मेची तरेर उता लागेका थियौँ । अनि मेरी श्रीमती जो छिन्, उनको बुवा पनि यहाँ नेपालकै वीरगन्जका । उनी पनि उहाँ आमालाई, आमा दार्जिलिङकी, श्रीमतीकी आमा, उहाँ दार्जिलिङबाट बिहे गरेर वीरगन्जमा ल्याइएकी । तर मेरी श्रीमतीको जन्म भएकै २।३ महिनापछि उहाँ बुवाको मरण भैहाल्यो । त्यसो हुँदा उताबाट उहाँ मेरी श्रीमतीका बाजे आएर आफ्नी छोरीलाई र नातिनीलाई लिएर फेरि दार्जिलिङ नै लिएर जानुभयो । श्रीमती पनि जन्म यहाँ वीरगन्जका रायमाझी हुन् अनि दार्जिलिङमा पढेर उतै बढेपछि उता हामीहरू भेट भयौं ।

अनि यहाँको जन्म र बालकालको विषयमा अलिकति बताइ दिनुहोस् न !

जन्मेको विसं १९८४ माघ मैना ३ गते, चिना अनुसार । यता अङ्ग्रेजीमा भनौं १९२७। दार्जिलिङको खर्साङ प्रान्त छ, खर्साङ प्रान्तको मुनी बालासन नदी छ, त्यस नदीमा पुल बनिंदै थियो । सिमेण्टको पुल, त्यही पुल बनाउने काममा ससानो ठेकेदारी लिएर बुवाहरु जानु भएको थियो । त्यहीं मेरो जन्म भएको ।

अनि तपाईंका दाजुभाई, दिदी बहिनीहरु कति हुनुहुन्थ्यो ?

हामी थियौँ २ भाइ । २ भाइमा १ भाई छैनन् । अनि एक भाई छन् दार्जिलिङमै ।

अनि यहाँको बाल्य काल कस्तो रह्यो ? शिक्षा दीक्षा आदि ?

बुवाले पढाउनमा धेरै बल गर्नु भयो । पढ्नका निम्ति खाता, किताब किन्न या स्कूल फिसहरू दिनमा कहिल्यै क्यै कठिनाइ अनुभव गरिँन । बालक कालमा पढाईनको निम्ति कुनै कठिनता सहनु परेन ।

अनि पहिलो रचना चैं यहाँले कहिले गर्नुभयो, साहित्यिक रचना ?

मलाई घरमै आएर मेरा गृह शिक्षक, ट्यूटर कमल कुमार शर्माले शारदाका पुराना प्रतिहरू ल्याएर मलाई पढ्न लाउनुहुन्थ्यो । म पाँचौं वा छैठौँ श्रेणीमा पढ्दै थिए । अनि तैले पनि त्यस्तै लेख अनि मलाई देखा भन्नुहुन्थ्यो । केही कोरेर केही देखाउने काम मैले उहाँलाई गर्थें । ५।६ श्रेणीमा पढ्दा देखि अलि अलि लेखेको थिएँ ।

पहिलो प्रकाशित रचना कुन हो ? सम्झना छ यहाँलाई ?

पहिलो प्रकाशित रचना शायद पारसमणि प्रधानले सम्पादन गर्नुहुने भारतीमा १९४८।४९ सालमा, त्यसैमा हुनुपर्छ । यौटा सानो लेख थियो, “चाख लाग्दो हुनु कसरी ?” शीर्षकको । त्यसमा प्रकाशित भएको जस्तो लाग्छ ।

अनि जान्ने भएर भनौं न साहित्य बुझेर साहित्य यात्रा कहिले शुरु भएको यहाँले ठम्याउनुहुन्छ ?

अघि अघि त रहरले नै लेखिन्थ्यो । तर बुझेर अलि उत्तरदायित्व पूर्वक लेख्न थालेको तेस्रो आयाम हामीले, त्यसको त्यो अभियान थालेपछि हो १९६२।६३ सालतिर । तेस्रो आयाम पत्रिकाका सम्पादक तिल विक्रम नेम्वाङ, हुनुहुन्थ्यो, त्यसैमा हामीले लेख्न थालेपछि अलि सचेत बनेर र उत्तरदायित्व बुझेर लेख्न थालेको जस्तो मलाई लाग्छ ।

तपाईंहरु ३ जनाको भेट चाहिँ कसरी भयो ? मित्रता कसरी भयो ?

उहाँ हाम्रो तिल विक्रम नेम्वाङ दार्जिलिङ कलेजमा पढ्नुहुन्थ्यो । हाम्रो ईश्वर वल्लभ र म दार्जिलिङको टर्नबुल हाइ स्कूलमा दुवै जना सँगै सह शिक्षक थियौँ । त्यसो हुँदा दार्जिलिङमै ३ जना हुन पुगेकाले हाम्रो भेटघाट भयो ।

अनि तेस्रो आयाममा तीनै जना सँगै आउने कुनै त्यस्तो सूत्र थियो ? कसरी त्यो सूत्रको जन्म भयो ?

हामी ३ जना भेटेर सँगै डुल्थ्यौं । सँगै बस्थ्यौं । धेरै दिन सँगसँगै बातचित गर्यौं । अनि त्यसैबाट तेश्रो आयाम थालौं भन्ने यौटा सल्लाह भयो ।

तपाई कुन क्षण अत्यन्त सुखी अनुभव गर्नुहुन्छ ?

सानो छँदा त दुःख भन्ने कुरा बुझिँदैन पनि थियो । अब उमेर पाको भएपछि त सुख भन्ने कुरा, सुखको बेला आयो भने पनि यो सुख भनेर रमाउन पनि पो सकिँदैन । र हाम्रो कृष्ण धरावासीले आफ्नो “आधा बाटो” मा लेख्नु भएको छ, सबै कुरा मिश्रित हुँदो रहेछ । हर्ष मात्रै भएको क्षण हुँदो रहेन छ । हर्ष लाग्दा लाग्दै पनि मनको अर्को पाटामा दुःख लागिरहेको हुँदो रहेछ भनेर यो बुढेसकालमा त्यही छ र सुख मात्रै लागेको, खुसी मात्र लागेको क्षण अब हुँदैन । अब हामीले सुनिराखेका हुन्छौं, लौ हिजो मैले यस्तो कुरा सुनेँ रे । ल मान्नुहोस् मेरो यौटा प्रिय भाइ कसैको मैले चिनेको मेरो परिचितको मृत्यु भएको अनि आज मैले यौटा खुसीको खबर सुनेँ रे ल म सफलता भएको । हिजोको कुरा र आजको कुरा सँगसँगै बसिरहेको हुँदा खुसी मात्रै त हुन सकिँदैन ।

तपाईंलाई सबभन्दा डर लाग्ने कुरा केही छ ?

डर लाग्ने कुरा … डर म कुन कुराको डर हो त्यो नजानेसम्म त डर लाग्छ । यसै भनेर बताउन सकिँदैन । डरहरू धेरै कारणले लाग्छ । भिन्दै भिन्दै किसिमको डरहरू आएको र टरेर गएको भिन्दाभिन्दै अनुभव हुन्छ ।

साहित्य वाहेक तपाईंको सोख वा रुचि के छ ?

अघि त धेरै थियो । खेलकुद पनि । जन कार्यतिर पनि । अलि अलि राजनीतितिरको चासो पनि । अब बागवानी गर्न, फूलहरू अरू पनि धेरै कुराहरू चासो थियो । तर अव चासोका थोकहरू घट्दै आए । र यौटा उदाहरण दिउँ, अघि दैनिक पत्रिका कुन यौटा लिएर पढ्यौं भने त्यसको एकएक अक्षर पढ्थ्यौं । किनभने त्यति विभिन्न कुराहरूमा आफ्नो चासो थियो । अब दैनिक पत्रिका पढ्दा १० मिनेट भन्दा बढ्ता हेर्न आवश्यक लाग्दैन । खेलकुदका पृष्ठहरू हेर्दै हेर्दैनौं । सिनेमाका खबरहरू भएका पृष्ठहरू पढ्दै पढ्दैनौं । यो कता कताको राजनीति भएका कुराहरू यस्तै त हो राजनीति भनेर हेर्दैनौं । र त कुनै दैनिक पत्रिका पढ्न १० मिनेट भन्दा बढ्ता लाग्दैन । यस्तो समय आयो ।

अनि तपाईंको साथमा कहिल्यै नछुट्ने सामान केही हुन्छ ?

त्यस्तो मसँग केही छैन ।

अनि तपाईंलाई आफैंलाई मन नपर्ने आफ्नो वानी ?

आफूलाई मन नपर्ने आफ्नो वानी त धेरै हुन्छ । सबैकै नै । आफ्नो पनि कति त्यस्ता बानीहरू छन्, अब त्यो भन्न खोज्दा निस्कँदैन । परेको बेला निस्किहाल्छ ।

अन्तमा सोधूँ, तपाईंलाई ईश्वर प्रति कत्तिको विश्वास लाग्छ ?

ईश्वरमा विश्वास गर्छु । बिहानै उठेपछि अनि बेलुकी पनि सुत्नु अघि प्रार्थना सधैँ गर्छु । गुम्बाहरूमा जान्छु । क्रिस्चियनहरुको गिर्जाघरहरूमा पनि त्यहाँ बिहा हुँदा, मराउ हुँदा त्यहाँ भित्र पसेर बस्छु । म अत्यन्त धार्मिक विश्वासको व्यक्ति आफूलाई पाउँछु ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School