प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार
अमेरिकी स्वास्थ्य र मानव सेवा मन्त्रालयका मन्त्री रोबर्ट एफ केनेडी जुनियरले १७ सदस्यीय भ्याक्सिन सल्लाहकार समिति बर्खास्त गरेका छन ।
उनले सम्पूर्ण सदस्यलाई बर्खास्त गर्ने निर्णय गरेका हुन । उनले यस कदमलाई जनताको भ्याक्सिनप्रति विश्वास पुनःस्थापना गर्न आवश्यक रहेको बताएका छन् ।
केनेडीले आफ्नो निर्णयलाई औचित्यपूर्ण ठहराउँदै समितिमा रहेका सदस्यहरूमा ‘दृढ हितको टकराव’ रहेको र उनीहरूले भ्याक्सिन उद्योगको पक्षमा काम गरिरहेको आरोप लगाएका छन् ।
यद्यपि एनपीआरका अनुसार २००९ को एक रिपोर्टमा ती सदस्यहरूका वित्तीय हितको टकरावको आरोपहरू प्रशासकीय त्रुटिहरूसम्म सीमित रहेका थिए ।
अमेरिकी मेडिकल एशोसिएसनले मन्त्री केनेडीको कदमलाई ‘जनताको विश्वासलाई कमजोर पार्ने’कदम भनेको छ ।
केनेडीले नयाँ सदस्यहरूको चयनका लागि प्रक्रिया अघि बढाउने बताएका छन् । जसमा भ्याक्सिन उद्योगसँग कुनै सम्बन्ध नभएका र वैज्ञानिक दृष्टिकोणमा निष्पक्ष रहेका व्यक्तिहरूलाई प्राथमिकता दिनेछन् ।
यो निर्णयले अमेरिकी भ्याक्सिन नीति र सार्वजनिक स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
स्वास्थ्य मन्त्री केनेडी जुनियरले स्वास्थ्य एजेन्सीहरूका सिफारिशहरू पूर्वाग्रहरहित विज्ञानद्वारा निर्देशित हुनुपर्ने बताए । यसले अमेरिकी जनतालाई सबैभन्दा सुरक्षित खोपहरू सुनिश्चित गर्ने अपेक्षा व्यक्त गरेको बताएका छन ।
केनेडीले खोपसम्बन्धी सल्लाहकार समितिका ९७ प्रतिशत सदस्यहरूमा वित्तीय हितको टकराव रहेको बताएका थिए । तर यो तथ्यांक २००९ को एक प्रतिवेदनमा आधारित थियो । पछि भएको पुनरावलोकनमा त्यस्तो पाइएको थिएन ।
फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनका सल्लाहकार डा पॉल अफिटले आर एफ के जुनियर षड्यन्त्र सिद्धान्तको समर्थक हुन्, र यो अभिव्यक्ति पनि त्यसकै प्रतिविम्ब हो भनेका छन ।
स्वास्थ्य तथा मानव सेवा विभागका प्रमुखको रूपमा केनेडीसँग एसीआईपीका सदस्यहरू नियुक्त वा हटाउने अधिकार छ ।