प्रकाशित मिति : १५ असार २०८३, सोमबार

फोटो: एपी/रासस
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वतन्त्र संघीय निकायका प्रमुखहरूलाई बर्खास्त गर्ने अधिकार दिँदै राष्ट्रपतीय शक्तिमा नाटकीय रूपमा विस्तार गरेको छ। अदालतले यो ऐतिहासिक फैसला सुनाए पनि देशको केन्द्रीय बैंक, ‘फेडरल रिजर्भ’ लाई भने यसबाट अपवादको रूपमा बाहिर राखेको छ।
अदालतले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई उनको पदमा बहाल रहन अनुमति दिएको छ। रिपब्लिकन राष्ट्रपति ट्रम्पले उनीमाथि धितोपत्र जालसाजीको आरोप लगाउँदै बर्खास्त गर्न खोजेका थिए, जसलाई कुकले अस्वीकार गर्दै कानुनी लडाइँ लडिरहेकी छन्।
ब्याजदर निर्धारण गर्ने महत्त्वपूर्ण भूमिका भएको केन्द्रीय बैंकबाहेक अन्य सबै निकायका प्रमुखहरूलाई राष्ट्रपतिले आफ्नो इच्छाअनुसार जुनसुकै बेला हटाउन सक्ने अदालतले ठहर गरेको छ। यसअघि त्यस्ता बर्खास्तगीका लागि स्पष्ट कारण हुनुपर्ने कानुनी प्रावधान र कार्यकारी अधिकारलाई सीमित गर्ने ९१ वर्ष पुरानो न्यायिक नजिरलाई अदालतले उल्ट्याइदिएको छ।
नौ सदस्यीय सर्वोच्च अदालतका ६ जना कन्जर्भेटिभ न्यायाधीशहरूको बहुमतले सन् १९३५ को ‘हम्फ्रेज एक्जुक्युटर’ सम्बन्धी सर्वसम्मत निर्णयलाई खारेज गरिदिएको छ। उक्त पुरानो निर्णयले राजनीतिक प्रभावभन्दा बाहिर रहेर स्वतन्त्र निर्णय लिन सकोस् भन्नका लागि एजेन्सीका बोर्ड सदस्यहरूलाई राष्ट्रपतिले सिधै हटाउन पाउने अधिकारमा बन्देज लगाएको थियो।
प्रधानन्यायाधीश जोन रोबर्ट्सले फैसला लेख्दै भनेका छन्, त्यस्ता पदहरूलाई बर्खास्तगीबाट सुरक्षा दिनु संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुन्छ।
अदालतले यो फैसला पूर्व संघीय व्यापार आयोगकी सदस्य रेबेका स्लोटरको मामिलामा सुनाएको हो, जसलाई ट्रम्पले कुनै ठोस कारणबिना नै बर्खास्त गरेका थिए। यस फैसलाको प्रभाव अब अन्य सरकारी निकायहरू जस्तै: राष्ट्रिय श्रम सम्बन्ध बोर्ड, मेरिट सिस्टम्स प्रोटेक्सन बोर्ड, र उपभोक्ता उत्पादन सुरक्षा आयोगमा पनि पर्नेछ, जहाँ ट्रम्पले यसअघि नै बोर्ड सदस्यहरूलाई हटाइसकेका छन्।
यस निर्णयप्रति खुसी व्यक्त गर्दै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्, “राष्ट्रपतीय शक्तिका सन्दर्भमा अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक फैसला जित्ने बहालवाला राष्ट्रपति बन्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो।
अर्कोतर्फ, उदारवादी न्यायाधीश सोनिया सोटोमायरले यस फैसलाप्रति कडा असहमति जनाउँदै अदालत कक्षमै भने, यस निर्णयले प्रणालीमा अस्थिरता र दमन निम्त्याउन सक्छ। राष्ट्रपति अब पहिलेभन्दा बढी शक्तिशाली हुनुभएको छ, तर यो शक्ति उहाँलाई जनता वा संविधानले नभई यस अदालतका ६ जना न्यायाधीशले दिएका हुन्।
गभर्नर कुकको मामिलामा भने अदालतले ५-४ को बहुमतले ट्रम्प प्रशासनको तत्कालै हटाउने प्रयासलाई अस्वीकार गरिदिएको छ। प्रधानन्यायाधीश रोबर्ट्स, न्यायाधीश ब्रेट काभानो र तीनजना उदारवादी न्यायाधीशहरू कुकको पक्षमा उभिएका थिए।
प्रधानन्यायाधीश रोबर्ट्सले कुकलाई प्रक्रिया नपुर्याई तुरुन्तै हटाउनुले राष्ट्रपतीय स्वेच्छाचारिता बढाउने उल्लेख गरे पनि, एउटा सानो टिपोटमा ट्रम्पले ‘पुनः प्रयास गर्न सक्ने’ बाटो खुला राखेका छन्। त्यसका लागि कुकलाई उचित सूचना र आफ्नो बचाउ गर्ने अवसर दिनुपर्नेछ।
ट्रम्पका आलोचकहरूका अनुसार कुकलाई हटाउन खोज्नुको मुख्य उद्देश्य अमेरिकी ब्याजदर नीतिमाथि नियन्त्रण कायम गर्नु हो। यदि ट्रम्पले कुकलाई हटाउन सकेमा उनले केन्द्रीय बैंकको बोर्डमा आफ्ना मान्छे नियुक्त गरेर बहुमत हासिल गर्न सक्नेछन्। यो मामिलालाई वाल स्ट्रिटका लगानीकर्ताहरूले नजिकबाट नियालिरहेका छन्, किनकि यसले वित्तीय बजार र अमेरिकी अर्थव्यवस्थामा ठूलो प्रभाव पार्न सक्छ।
आफूमाथि लागेको घरजग्गा कर्जा सम्बन्धी आरोपलाई अस्वीकार गर्दै कुकले भनेकी छिन्,यो मलाई पदबाट हटाउन रचिएको एउटा बहाना मात्र हो, किनकि मैले राजनीतिक दबाबमा नझुकी अमेरिकी जनताको हितका लागि मात्र ब्याजदर तय गर्ने अडान लिएकी छु।
