प्रकाशित मिति : २३ असार २०८३, मंगलबार

अमेरिकाले इरानमाथि शक्तिशाली हमला गरेको छ। होर्मुज जलमार्गमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानका विभिन्न सैन्य लक्ष्यहरूमा “शक्तिशाली” हवाई आक्रमण गरेको अमेरिकाले दाबी गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणमा ८० भन्दा बढी इरानी सैन्य लक्ष्यहरू ध्वस्त पारिएको छ। तीमध्ये इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना सैन्य डुङ्गासहित मिसाइल प्रक्षेपण केन्द्र र कमाण्ड सेन्टरहरू पनि रहेका छन्। सेन्टकमले आक्रमण गरिएका स्थानहरूको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
इरानका उपविदेशमन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना अमेरिका र इरानबीच भएको समझदारी (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) को स्पष्ट उल्लङ्घन भएको बताएका छन्। उनले तेहरानले आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न “निर्णायक कदम” चाल्ने चेतावनी दिएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। आक्रमणका क्रममा उडेका छर्राले केही सर्वसाधारण घाइते भएका जनाइएको छ। यद्यपि, तीन तेल ट्याङ्करमाथिको आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन।
अमेरिकाले यसअघि नै अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजमाथि भएको आक्रमणलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो। सेन्टकमले जारी गरेको विज्ञप्तिमा निर्दोष चालक दलसहितका व्यापारिक जहाजलाई अन्तर्राष्ट्रिय जलमार्गमा निशाना बनाइएकाले त्यसको “भारी मूल्य चुकाउन बाध्य पार्न” यी आक्रमण गरिएको उल्लेख गरिएको छ।
सैन्य कारबाहीअघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथिको तेल प्रतिबन्धमा दिइएको अस्थायी छुट खारेज गरेको थियो। उक्त छुट अमेरिका–इरानबीच गत महिना भएको समझदारीको एक हिस्सा थियो। इरानको विदेश मन्त्रालयले अमेरिकाको यो निर्णयलाई सम्झौताको उल्लङ्घन भएको भन्दै अमेरिकाको “खराब नियत, असङ्गति र अविश्वसनीयता” को प्रमाण भएको आरोप लगाएको छ।
घटनापछि कतार र साउदी अरबले पनि ट्याङ्करमाथिको आक्रमणको निन्दा गरेका छन्। दुवै देशले आफ्ना तेल ट्याङ्करहरू होर्मुज जलमार्ग वा त्यस आसपासबाट यात्रा गरिरहेका बेला निशाना बनाइएको दाबी गरेका छन्।