प्रकाशित मिति : २३ असार २०८३, मंगलबार
Photo: Obi/Unsplash
सन् २०२६ को पहिलो त्रैमासिकमा अमेरिकामा नयाँ गाडीको औसत मासिक किस्ता अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। देशको अर्थतन्त्रमा बढ्दो आर्थिक भार र महँगीका कारण अमेरिकी परिवारहरूले गाडी खरिद गर्न निकै सास्ती भोग्नुपरिरहेको एक प्रतिवेदनले देखाएको छ।
लेन्डिङट्रीले इक्सपेरियनको तथ्याङ्कलाई उद्धृत गर्दै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नयाँ गाडीको औसत मासिक किस्ता गत वर्षको तुलनामा २.९ प्रतिशतले बढेर ७७० डलर पुगेको छ।
नयाँ गाडीको लीज किस्ता ३.२ प्रतिशतले बढेर औसत ६१९ डलर पुगेको छ भने पुराना गाडीको मासिक किस्ता १.५ प्रतिशतले बढेर ५३१ डलर पुगेको छ।अचम्मको कुरा के छ भने, सबैभन्दा धेरै मासिक किस्ता मध्यम वा कमजोर क्रेडिट स्कोर (६०१ देखि ६६०) भएका ‘नन्-प्राइम’ ग्राहकहरूले तिरिरहेका छन्, जसको औसत किस्ता ८११ डलर छ। यसको विपरीत, उत्कृष्ट क्रेडिट स्कोर (७८१ देखि ८५०) भएका ‘सुपर-प्राइम’ ग्राहकहरूको औसत किस्ता सबैभन्दा कम अर्थात् ७५३ डलर मात्र छ।
नयाँ गाडीका लागि औसत ऋण रकम ४३,९२५ डलर र पुराना गाडीका लागि २७,०७० डलर पुगेको छ।अमेरिकामा हाल अटो लोनको कुल आकार १.६८५ ट्रिलियन डलर पुगेको छ, जुन देशको कुल उपभोक्ता ऋणको ९ प्रतिशत हो। यो रकम विद्यार्थी ऋण भन्दा पनि बढी हो र आवास ऋण पछि दोस्रो ठूलो ऋण क्षेत्र बनेको छ।
उमेर समूहको हिसाबले हेर्दा, ३० र ४० वर्षको उमेरका अमेरिकीहरूले पहिलो त्रैमासिकमा सबैभन्दा धेरै गाडीको ऋण ३८.६ बिलियन र ४० बिलियन डलर लिएका छन्। गाडीको मूल्य वृद्धि र छुटहरू पाउन छाडेका कारण उपभोक्ताहरूमाथि यो आर्थिक भार थपिएको विज्ञहरू बताउँछन्।