बहुपक्षीयतालाई जीवन दिने एक मोडल


पछिल्ला वर्षमा बहुपक्षीय सहकार्यबाट विश्व पछि हट्दै गरेको तथ्यलाई अस्वीकार गर्न सकिन्न। अहिले विश्व बहुध्रुवीय हुँदै गइरहेको छ, भूराजनीतिक तनावले साझा समस्याको समाधान खोज्ने प्रयासलाई अवरुद्ध गरिरहेको छ। अधिकांश परम्परागत दातृ राष्ट्रमा बढ्दो राष्ट्रवाद र आर्थिक संकटले बहुपक्षीयतामा आधारित संस्थाहरूलाई संकटमा धकेलिरहेको छ।

एक यथार्थवादीको रूपमा म स्विकार्छु, वर्तमान विश्व केही दशकअघि मैले बसोबास गर्दै आएको विश्वभन्दा बढी खतरनाक बनेको छ तर म अझै पनि विश्वस्त छु,  दीर्घकालीन विश्वव्यापी सहकार्यको सम्भावना अझै कायम छ।

मैले प्रत्यक्ष रूपमा देखेको छु कि बहुपक्षीय सहकार्यले प्रायः त्यस्तो नतिजा दिन्छ, जुन अन्य अवस्थामा सम्भव हुँदैन। खोपसम्बन्धी अन्तर्राष्ट्रिय अलायन्स गाभीको अध्यक्षका रूपमा हासिल गरेको मेरो आफ्नै अनुभवका आधारमा यसो भनिरहेको छु। यो संस्थामा मेरो पाँच वर्षे कार्यकाल समाप्त हुँदै गर्दा विगत २५ वर्षमा गाभीको सफलताको आधार र छिटो छिटो  परिवर्तन भइरहेको विश्वमा बहुपक्षीयतालाई अनुकूल बनाउन हामीले के सिक्न सक्छौं भन्ने विषयमा मैले अहिले सोचिरहेको छु।

अधिकांशलाई सरल लाग्ने पहिलो पाठ हो -सधैं लक्ष्यकेन्द्रित हुनुहोस्। विश्वका कम आय भएका देशमा खोपको पहुँच बढाएर जीवन जोगाउने र स्वास्थ्यको संरक्षण गर्नु गाभीको विशिष्टीकृत उद्देश्य हो। यही स्पष्ट उद्देश्यले यो संस्थाले विश्वका ७८ देशमा बाल मृत्युदर आधा घटाएको छ र हरेक व्यक्तिलाई संक्रामक रोगको जोखिमबाट बचाएको छ। हाम्रो सफलतामा त्यस्तो कुनै रहस्य छैन। सार्वजनिक र निजी क्षेत्रका कैयन् सरोकारवालाले बोकेको साझा उद्देश्यलाई एकत्रित गरेर यो सफलता हासिल गरेका हौं।  

गाभी सधैं इच्छुकहरूको गठबन्धन रह्यो, जसले राष्ट्रिय सरकार, संयुक्त राष्ट्र निकाय, परोपकारी  संस्था, खोप निर्माता, नवप्रवर्तक, विकास बैंक, अनुसन्धान संस्था र नागरिक समाजलाई एकै ठाँउमा  ल्याएको छ। यसको विविध सिप, विशेषज्ञता र राजनीतिक प्रभावका कारणले, यसले हरेक वर्ष विश्वका आधाभन्दा बढी बालबालिकालाई रोकथामयोग्य रोगबाट सुरक्षित राखेको छ र कोभिड-१९ महामारीजस्ता संकटमा विश्वव्यापी खोप उपलब्ध गराउन नेतृत्व गरेको छ।

अझ बहुध्रुवीय विश्वमा अन्य क्षेत्रमा समेत यसप्रकारको समान दृष्टिकोण आवश्यक  देखिएको छ। विवाद समाधान, शिक्षा, स्वास्थ्य सुरक्षा, एआईमा समान पहुँच जस्तो सार्वजनिक सरोकारका विषयलाई प्रतिस्पर्धात्मक राजनीति र क्षेत्रीय स्वार्थको बन्धक बन्न नदिनु अति आवश्यक र महत्त्वपूर्ण छ।

यसले मलाई दोस्रो महत्त्वपूर्ण पाठमा पुर्‍याउँछ– मिसन–केन्द्रित त हुनुहोस् तर सम्बद्ध देशका आफ्नै नेतृत्वमा। यसको अर्थ गाभीले सम्बद्ध देशलाई कसैका आदेश वा नियन्त्रणमा होइन, उसको आत्मनिर्भरता र साझेदारीको भावना बढाउँदै काम गर्छ।

यसरी, विश्वमा देशहरूले आफ्नो राष्ट्रिय आय बढेसँगै आफ्नो खोप कार्यक्रमको लागतमा बढी योगदान दिन्छन् र अन्ततः आफ्नै खोप सेवाहरू पूर्ण रूपमा कायम गर्न सक्षम हुन्छन्। विश्वका केही देश त सुरुमा प्राप्तकर्ताबाट पछि गएर दातामा समेत रूपान्तरित भएका छन्।

सम्बद्ध देशको आवश्यकताअनुसार गरिएको यस प्रतिक्रियाका कारण हामीलाई नवप्रवर्तनमा लगातार केन्द्रित बनाएको छ।  विश्वका कैयन् देश, विशेष गरी अफ्रिकी देशहरूमा सन् २०२४ मा गाभीले मलेरियाका खोपको ऐतिहासिक सुरुवात गर्‍यो।

यो कार्यका लागि यी देशहरूले लामो समयसम्म पर्खनुपर्नु साच्चिकै अन्यायपूर्ण थियो। त्यसै वर्षमा गाभीले वित्तीय नवप्रवर्तन, ‘फर्स्ट रिस्पोन्स फन्ड’ सुरु गर्‍यो, जसले एमपक्स खोपको खरिदका लागि आकस्मिक वित्तीय सहयोग प्रदान गर्‍यो र यसका लागि उनीहरूले यो कोष जुटाउन खर्चिनुपर्ने अतिरिक्त समय बच्यो।

अहिले गाभीले त्यही नवप्रवर्तनशील उत्साहलाई क्षयरोगजस्तो विश्वको सबैभन्दा घातक संक्रामक रोगविरुद्ध खोप उपलब्ध गराउने विषयमा केन्द्रित छ। यही नयाँ पहलअन्तर्गत हाल ‘अफ्रिकी खोप उत्पादनमा तीव्रता (अफ्रिकन भ्याक्सिन म्यानुभ्याक्चरिङ एक्सलेरेटर) पनि अभियान अघि बढाएको छ।

यो अभियानमा युरोपेली संघ र अन्य दाताबाट बलियो समर्थन र साथ छ। यसले अफ्रिकी संघको क्षेत्रीय उच्च मूल्य उत्पादनको महत्त्वाकांक्षालाई सहयोग गर्नेछ। भविष्यमा क्षेत्रीय आर्थिक र राजनीतिक ब्लकहरूबिच बहुपक्षीयताले एक प्रमुख उत्प्रेरकका रूपमा ठुलो भूमिका र सहकार्य गर्ने म आशा गर्छु।

त्यसो त हरेक गठबन्धनलाई बलियो शासन र नेतृत्व आवश्यक हुन्छ। त्यसैले नेल्सन मन्डेला गाभीको पहिलो अध्यक्ष बनेका थिए। तर हरेक सरोकारवालाको हितलाई सन्तुलित राख्न सजिलो कार्य  होइन।

सन् २०२० मा मलाई यो निकायको अध्यक्षको चयन गर्दा मैले त्यही महसुस गरेँ। यो जिम्मवारीबाट मैले सम्मानित महसुस गरेँ। जसरी युरोपेली आयोगको अध्यक्ष हुँदा मैले सन्तुलित भूमिका निर्वाह गर्न खोजेको थिएँ, त्यसरी नै २८ जना सञ्चालक समिति सदस्य रहेको गाभीमा पनि समान भूमिका निर्वाह गरेँ र सबै सदस्य राष्ट्रहरूको हितलाई केन्द्रमा राखेँ।

गाभीमा मेरो कार्यकालभर म युरोपेली एकता अभियानको अग्रगामी पैरवीकर्ता जेन मोनेटको भनाइबाट मार्गदर्शित रह्यो। उनको भनाइ थियो, ‘मानिसबिना केही सम्भव छैन तर संस्थाबिना केही टिक्दैन।’

गाभी साँच्चिकै अद्वितीय संस्था हो। यो केवल राष्ट्रिय र अन्तर्राष्ट्रिय, सार्वजनिक र निजी संस्थाहरूको व्यापक, समावेशी गठबन्धन मात्र होइन, यो अन्तर्राष्ट्रिय संस्था पनि हो। अनेक संकटबाट गुज्रिरहेको विश्वका अन्य ठुला अन्तरसरकारी निकायहरूभन्दा यो फरक छ। बालबालिकाको सुरक्षा र संरक्षणमा केन्द्रित रहेर यो सफलता सम्भव बनेको हो। विश्वका कतिपय युद्ध क्षेत्रमा जारी रहेको लडाइँसमेत बालबालिकालाई खोप प्रदान गर्ने बेला रोकिन्थे।

देशहरूले असहमत हुन अनेक कारण कारक बन्छन्। तर कुनै विषयले चरम राष्ट्रिय स्वार्थ वा विचारधाराभन्दा शान्तिको उद्देश्यलाई माथि उठाउन सक्छ भने त्यो बालबालिकाको सुरक्षाको विषय हो।

जीवनभर म  धेरै ऐतिहासिक परिवर्तनको साक्षी रहँदै आएको छु।  सन् १९७० को दशकमा मेरो जन्मभूमि पोर्चुगलमा भएको कार्नेसन क्रान्तिदेखि युरोपमा शान्ति, मेलमिलाप र लोकतन्त्र प्रवर्धन गर्ने प्रयासलाई मैले योगदान गर्न पाएको छु। यही भूमिकाका लागि मैले इयुका तर्फबाट नोबेल शान्ति पुरस्कारसमेत पाएको थिएँ।

यी हरेक मोडमा भएका ऐतिहासिक परिवर्तनका लागि एउटा उत्प्रेरणा आवश्यक थियो। गाभीले सार्वजनिक स्वास्थ्य प्रवर्धनमा त्यही  भूमिका खेलेको छ।

जसरी हामी बहुध्रुवीय विश्वमा प्रवेश गर्दै छौं, म सबैलाई आग्रह गर्छु कि गाभीजस्ता मिसन–केन्द्रित सार्वजनिक–निजी साझेदारीको आवश्यकता सबैले बुझ्न आवश्यक छ। वर्तमान युगका चुनौतीहरू सामना गर्ने उत्तम तरिका यही हो।

–युरोपेली आयोगका पूर्व अध्यक्ष तथा पोर्चुगलका पूर्वप्रधानमन्त्री बारोसो गाभी, भ्याक्सिन अलायन्स बोर्डका वर्तमान अध्यक्ष हुन्।

(प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: १३ पुस २०८२ ०९:२६ आइतबार





Source link

Leave a Comment