सुरक्षा सर्तमा निर्वाचनमा भाग लिन ‘ठूला दल’ तयार : RajdhaniDaily.com


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी हुन प्रमुख दलका शीर्ष नेतासंग आग्रह गरेकी छन् । प्रमुख दलका शीर्ष नेताहरुले पनि चुनावमा सहभागी हुन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै शान्ति सुरक्षाको व्यवस्था बलियो बनाउने सर्त अघि सारेका छन् ।

३ महिनापछि वालुवाटारमा ओलीको इन्ट्री

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री कार्कीसहित प्रमुख दलका शीर्ष नेताहरुका बीचमा छलफल भएको हो । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता सहभागी थिए ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि ओली पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । जेनजी आन्दोलनका कारण हेलिकप्टरमा भागेर ज्यान बचाएका ओली राजीनामा गरेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । ओलीसंगै पूर्वप्रधानमन्त्रीद्धय देउवा र प्रचण्ड पनि कार्की सरकार गठन भएपछि पहिलो पटक बालुवाटार पुगेका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री कार्की, देउवा, ओली, प्रचण्डका बीचमा छलफल भएको थियो । निर्वाचन सफल बनाउने बिषयमा केन्द्रित भएको सोही छलफल पश्चात पुनः निर्वाचनको ’boutमा छलफल गर्ने वातावरण बनेको थियो । प्रधानमन्त्री भएपछि प्रमुख दलका नेताहरुको मुख नै नहेर्ने अभिव्यक्ति कार्कीले दिएपछि शीर्ष नेता उनीबाट थप चिढिएका थिए ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले बोलाएको छलफलमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा सहभागी हुने सामुहिक प्रतिबद्धता व्यक्त गरेको बताए । निर्वाचनमा सहभागिताका लागि प्रतिबद्धता व्यक्त गरेका तीन नेताले उठाएका केही बिषयका ’boutसमेत प्रधानमन्त्री सचेत रहेको बताइन्छ ।

‘तीनवटै पार्टीका प्रमुख नेताहरूले फागुन २१ को चुनावमा जान तयार रहेको सन्देश दिनुभएको छ । कांग्रेस पनि तयार छ, एमाले पनि तयार छ । अरू दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ बैठकमा कांग्रेस सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले भने ।

यसैगरी बैठकपछि देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि तयार छ, एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’

छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको निर्वाचन सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् । करिब २ घण्टा भएको छलफलमा नेकपाका संयोजक प्रचण्डले २१ फागुनमा निर्वाचन नभए मुलुक थप दुर्घटनामा पर्न सक्ने भएकाले देउवा र ओलीलाई चुनावबाट भाग्न नहुने आग्रह गरे ।

बैठकमा देउवाले मौसमका कारण २१ फागुनमा केही हिमाली जिल्लामा हिउँ पर्ने भएकाले ती जिल्लाका क्षेत्रहरूको निर्वाचनबाहेक अरू सबै क्षेत्रमा २१ फागुन मै चुनाव गराउनुपर्ने धारणा राखेका छन् । साथै तराई मधेसमा निर्वाचनकै बेला होली भएकाले त्यसलाई ध्यान दिनुपर्ने हुन्छ । तराई मधेसमा फागुन १९ मा होली हो । तर सो दिन मंगलबार भएकाले बुधबार अर्थात २० फागुन मात्रै तराई मधेसमा होली मनाइन्छ ।

‘हुम्ला लगायत हिमाली जिल्लामा मौसमका कारण चुनाव हुन नसक्ने अवस्था छ । अर्को तिर तराई मधेसमा निर्वाचनको अघिल्लो दिन होली परेकाले यसलाई मिलाउनुपर्छ । बाँकी बिषयमा हामी अलमलमा पर्नुहुदैन,’ देउवाले छलफलमा भनेका छन् ।

छलफलमा ओलीले एमाले निर्वाचनको विपक्षमा नभएको बताउदै शान्ति सुरक्षाको वातावरण सरकारले बनाउनुपर्ने धारणा राखेका छन् । आफूलाई स्थान हद तोकेर कसरी निर्वाचन गर्ने तयारी गरेको भन्दै ओलीले प्रधानमन्त्रीसंग प्रश्न समेत गरे ।

‘एमाले निर्वाचनको विपक्षमा छैन । एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हो । निर्वाचनमा एमाले सहभागी हुन तयार छ तर प्रमुख नेतालाई कतै जान नदिने, स्थान हद तोक्ने अनि निर्वाचन गर्नेहरुले कस्तो निर्वाचन गर्न खोज्नुभएको प्रधानमन्त्रीज्यू ?’ ओलीले प्रश्न गरे ।

ओलीको यस्तो प्रश्नपछि प्रधानमन्त्री कार्कीले यस्ता अप्ठयाराहरुलाई फुकाउने भन्दै छिटै नै स्थान हद पनि फुकुवा गर्ने आश्वासन दिएकी छन् । निर्वाचनमा सहभागी हुने प्रतिवद्धता गर्नुपर्ने आश्य व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले देखिएका अप्ठयारा पनि फुकाउदै जान सरकार तयार रहेको बताएकी छन् ।

सरकारका प्रवक्ता खरेलले प्रधानमन्त्रीसहित ३ दलका नेताबिचको छलफलमा हिउँ र तराई मधेसको होली’bout सामान्य कुरा उठेको स्विकार्दै स्थान हद लगायतका अरू वातावरणका कुरामा लक्ष्य प्राप्तिका लागि प्रस्ट पार्दै सरकार र दलहरू अघि बढ्ने सहमति भएको बताए । १९ फागुनमा तराई–मधेसमा होली पर्व र फागुनमा हिमाली जिल्लामा हिउँ पर्न सक्ने सम्भावनाले चुनाव प्रभावित हुने त्रास छ ।

समानुपातिक उम्मेदवारमा नेतृत्वकै ‘हालीमुहाली’

राजनीतिक दलहरु २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची अन्तिम टुंगो लगाउने गृहकार्यमा छन् । समानुपातिक तर्फको उम्मेदवार टुंगो लगाउन ठुलादेखि साना दलहरुमा पार्टी अध्यक्षको ‘हालीमुहाली’ छ ।

निर्वाचन आयोगले बन्दसूची बुझाउने समय १३ र १४ पुस (आइतबार र सोमबार)लाई तोकेको छ । समानुपातिक तर्फको उम्मेदवारसहित आवश्यक कागजात तयार गर्न राजनीतिक दल लागिपरेका छन् । केही राजनीतिक दलले जिल्लाबाट सिफारिस माग गर्दै केन्द्रबाट टुंग्याउदैछन् भने केही दलले सिफारिस माग नगरी नेतृत्व तहबाटै टुंग्याउने गृहकार्यमा छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित मधेसवादी दलहरु र नयाँ खुलेका राजनीतिक दलहरुमा समानुपातिक तर्फको उम्मेदवार चयन गर्नमा अध्यक्षकै हालीमुहाली र मोनोमानी चलेको गुनासो सोही दलका नेताहरुले गर्दै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’ गर्ने भए पनि अन्तिम टुंगो भने सभापतिसहितको केन्द्रीय नेतृत्वबाट हुने गरेको छ ।

कांग्रेसले जिल्ला हुदै प्रदेशबाट समानुपातिकसहित प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो । सोही अनुसार जिल्ला र प्रदेशले गरेको सिफारिसका आधारमा केन्द्रबाटै अन्तिम टुंगो लगाउदै निर्वाचन आयोगमा बुझाउने तयारी कांग्रेसले गरेको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवाले नै अन्तिम टुंगो लगाउने छन् । तर त्यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट नामावली अनुमोदन गराउने तयारी कांग्रेसमा छ । यसअघि कांग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवारको अन्तिम टुंगो लगाउदै आएको थियो ।

एमालेले जिल्लाबाट सिफारिस माग गरेको छ । जिल्ला, प्रदेश हुदै आएका सिफारिसका आधारमा उम्मेदवारको नामावली अन्तिम टुंगो केन्द्रबाटै लगाउने गृहकार्यमा एमाले छ । एमालेले समानुपातिक तर्फको अन्तिम नामावली टुंगो लगाउने ’boutमा छलफल गर्नका लागि आईतबार सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले नै एमालेको अन्तिम नामावली टुंगो लगाउने एमाले नेताहरु बताउँछन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपाले पनि जिल्ला, प्रदेशबाट समानुपातिक तर्फको उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । उम्मेदवार चयन गर्दा मापदण्ड तोकेर निर्देशन दिएको नेकपाको भने जिल्ला र प्रदेश कमिटीको टुंगो नै लागेको छैन् ।

विभिन्न पार्टी र समूहसंग एकीकरण गर्दै हालै घोषणा भएको नेकपाको जिल्ला र प्रदेश कमिटीको अझै टुंगो लागेको छैन । नेकपामा सहमतिकै आधारमा जिल्ला र प्रदेशबाट सिफारिस भएका उम्मेदवारको नामावली अन्तिम टुंगो लगाउने काम प्रचण्ड र नेपालले गर्नेछन् । नेकपामा सहमति र भागबण्डाकै आधारमा समानुपातिक तर्फको उम्मेदवार चयन हुँदैछ । यहाँ पनि कांग्रेस र एमाले जस्तै संयोजक प्रचण्ड र सहसंयोजक नेपालकै हालीमुहाली छ ।

रास्वपा र राप्रपाले पनि मापदण्ड तोकेरै जिल्लाबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएका छन् । सोही अनुसार प्राप्त नामावलीको अन्तिम टुंगो रास्वपामा सभापति रवि लामिछाने र राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेनले नै अन्तिम टुंगो लगाउने छन् ।

मधेसवादी दलहरुमा भने पार्टी अध्यक्षले कसलाई समानुपातिक तर्फको उम्मेदवार बनाउने र कसलाई हटाउने सम्पूर्ण अधिकार राखेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल सहितका दर्जनभन्दा बढी मधेसवादी दलका पार्टी सभापतिले नै समानुपातिको तर्फको उम्मेदवार टुंगो लगाउदैछन् ।

कांग्रेस, एमाले, नेकपादेखि मधेसवादी दलका साथै नयाँ खुलेका राजनीतिक दलहरुमा समेत पार्टी अध्यक्षकै हालीमुहाली र मनोमानी छ । नयाँ खुलेका दलहरुले समेत केन्द्रबाटै अध्यक्षले नै अन्तिम नामावली टुंगो लगाउने र निर्वाचन आयोगमा बुझाउने तयारीमा छन् ।

(Visited 68 times, 1 visits today)





Source link

Leave a Comment