जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रदर्शनकारीहरूका तर्फबाट सर्वाधिक रुचाइएका पात्र थिए–काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह। तर, जटिल परिस्थिति देखेरै हुनुपर्छ, उनी अगाडी सरेनन्।
व्यवहारकै कुरा गर्दा बालेनले प्रदर्शनपछिको अवस्थामा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनाउन सघाउनुबाहेक बाँकी सबैलाई बेवास्ता गरिदिए। जेन–जी आन्दोलनका मृतकको दाहसंस्कारमा गएनन्, अस्पतालमा उपचाररत घाइतेलाई भेटेनन्। मृतकका परिवारले एकसरो शब्दमा सान्त्वना समेत दिने जमर्को देखाएनन्।
भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भए लगत्तै सुशीला कार्कीले प्रतिनिधिसभा विघटन र फागुन २१ गते चुनावको घोषणा गरिन। त्यसपछि सरकार र निर्वाचन आयोग चुनावी तयारीमा लाग्यो।
त्यसपछिका तीन महिनासम्म चुनावको तयारी, नयाँ राजनीतिक दल स्थापना लगायतबारे बालेनले खुलस्त कुनै पनि काम गरेको देखिएन।
यस क्रममा धेरैले लख काटे–बालेनलाई राजनीतिमा चासो छैन। निकटस्थ पात्रहरूले पनि कुरा फेरी फेरी सार्वजनिक सञ्चारमाध्यममा छरिरहे। कतिपय बेला महानगरकै कार्यकाल पूरा गर्ने भनियो, कतिपय बेला नयाँ राजनीतिक दल खोल्न सघाउने भनेर चर्चा चलाइयो।
तर, कुनै पनि भूमिकामा बालेन सतहमा देखिएनन्। बालेन सधैँ रहस्य रहिरहे। जसको परिणाम उनी सार्वजनिक संवाद गर्न नसक्ने नेताका रूपमा पनि सार्वजनिक गसिपका पात्र बने।
तर एकाएक..
यी कुराहरूलाई बिर्साउँदै यो साता बालेन मुलुकको राजनीतिमा ठुलै चर्चाको पात्र बनेका छन्। चर्चा हुनुका पछाडि उनको तीव्र सक्रियता मूल कारण छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने गत शुक्रबार धरौटीमा छुटे। उनी छुटेर आएदेखि राजनीतिक सक्रियता तीव्र पार्न थाले। सोही सक्रियतामा उनले आइतबार बालेनलाई पनि भेटेका थिए। तर, त्यो भेटबारे धेरै कुरा बाहिर आइसकेको छैन।
सोही भेटको विकसित स्वरूप दोस्रो दिनसम्म चल्यो। सोमबार राति कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको घरमा रवि र बालेनले झन्डै साढे पाँच घण्टा बिताए। उक्त भेटपछि मूलतः वैकल्पिक राजनीतिको वकालत गर्ने पक्ष हौसिएको थियो। रास्वपाका नेताहरूले सो भेटलाई ठुलै ‘ब्रेक थ्रु’को रूपमा अर्थ्याएर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा प्रस्तुत गरेका थिए।
भेटका बालेनलाई भावी प्रधानमन्त्री र रविलाई रास्वपा सभापति बनाएर जाने गरी एकीकरण गर्ने र सोहीअनुसार अगाडी बढ्नेबारे छलफल भएको बताइन्छ। सो कुराको आशय स्वयं भेटका समन्वयकर्ता रास्वपा नेता असीम शाहले दिँदै आएका छन्।
मध्यरात १ बजे दुवै जना बैठकबाट बाहिरिएका थिए। बाहिरिँदा रवि र बालेन एउटै गाडीमा देखिएको तस्बिर पनि भाइरल भयो। त्यो तस्बिर बालेन–रवि एकताको प्रतीककै रूपमा रास्वपावृत्तले प्रचार गरेको थियो।
तर, बालेन बिच्किएपछि….?
रास्वपा वृत्तले चर्चा गरे जसरी बालेन भने रविको कुरामा ‘कन्भिन्स’ भइनसकेको त्यसपछि विकसित घटनाक्रमले देखाउँछ। उनले बालेनलाई रास्वपामा प्रवेश गराउनेमा मात्रै आशय देखाएको स्रोत बताउँछ। रविले बालेनसँग शक्ति समीकरणका विषयमा सन्तुष्ट हुने गरी कुनै प्रस्ताव पनि राखेनन्। स्रोतको भनाई अनुसार फेरि मंगलबार बस्ने कुरा तय भएर त्यो दिन दुवै बाहिरिएका थिए।
तर मंगलबार रविले बालेनसँग भेटको चाँजोपाँजो मिलाएनन्। बरु तारेखका लागि रुपन्देही हिँडे। चितवन पुगेर पत्रकारसँग फरक कुरा गरिदिए। उनले ‘बालेनलाई प्रधानमन्त्री बनाउनेसम्मको चरणमा कुरा पुगिनसकेको’ भनिदिए।
त्यसपछि बालेन झस्किएका थिए। उनले आफ्ना निकटस्थसँग ‘रवि विश्वास गर्न लायक पात्र रहेनछन्’ भन्न थालेका थिए। त्यसपछि उनी आफ्नै पार्टी बनाएर जाने सोचमा पुगेको स्रोतको भनाई छ।
बालेन निकट पात्रहरूले ‘लौरो’ चुनाव चिन्ह राखेर पहिल्यै हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा बालेन स्वतन्त्र उम्मेदवार भएर मेयरमा लड्दा चुनाव चिन्ह लौरो नै थियो। अहिले उक्त पार्टीले नाम फेरेर देश विकास पार्टी राखेको छ। चुनाव चिन्ह लौरो नै छ।
त्यही पार्टी अगाडी बढाउने सोचका साथ बालेनले बुधबारबाट एकाएक सक्रियता बढाए। पहिलो दिन आफ्ना सहयोगी कुमार व्यञ्जनकार(बेन)को ललितपुरको ज्वागलमा रहेको घरमा करिब ९ घण्टा विभिन्न व्यक्तिसँग भेटेर सल्लाह गरेका थिए। सो क्रममा बालेनले चिकित्सक डा. भगवान् कोइराला, उद्यमी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरी, राप्रपा नेता ज्ञानेन्द्र शाही, रेसम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत, पूर्व सचिव भीम उपाध्याय, वैकल्पिक अभियन्ता मिलन पाण्डेलगायतका ३० जना भन्दा बढीसँग भेटेका थिए।
सोही क्रम बालेनले बिहीबार(दोस्रो दिन) पनि जारी राखेका छन्। दोस्रो दिनसम्म आइपुग्दा ज्वागलस्थित कुमार बेनको घर चर्चाको केन्द्र बनेको छ। बिहान सबभन्दा पहिला ऊर्जा मन्त्री कुलमान घिसिङलाई भेटेका थिए। घिसिङले उज्यालो नेपाल पार्टी खोलेका छन्। सो भेटपछि बालेन र कुलमान मिलेरै जाने लगभग टुंगो लागेको दाबी छ। कुलमानले बालेन संलग्न हुने देश विकास पार्टीमै मिलेर जानेमा सहमत देखिएको स्रोत बताउँछ। त्यसपछि बालेनले कांग्रेस नेता सुनिल शर्मालाई पनि भेटे।
बालेन आफूसँग असन्तुष्ट रहेर अलग्गै सक्रियता बढाएपछि रास्वपा सभापति रवि पनि उनलाई भेट्न पुगेका छन्। उनीहरूबिच दुई घण्टाभन्दा बढी संवाद भएको थियो। भेटमा फेरि सबै कुरा टुंगो लागिसकेको छैन। रविले बालेन र कुलमानगरी तीन जनाको छुट्टै भेट गर्ने प्रस्ताव राखेका छन्। त्यसका लागि बालेनले प्रयोग गरिरहेको ठाउँ नभई ‘न्युट्रल भेन्यु’ हुनुपर्ने सर्त छ।
बालेनलाई भेटेर फर्किएका रविलाई बाहिर पत्रकारले ‘वार्तामा के भयो?’ भनेर सोध्दा प्रस्ट जवाफ नै दिएनन्। उनले ‘मेरो अनुहार हेरेर के लाग्छ?’ भन्दै अमूर्त जवाफ दिएर निस्किएका थिए।
यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि बालेनलाई सोही ठाउँमा पुगेर भेटेका छन्। उनले वैकल्पिक भनिने शक्तिहरूलाई एक ढिक्का बनाएर लैजान बालेनलाई सुझाव दिएका छन्। स्रोतको भनाई अनुसार बालेनले ‘रास्वपासँग मिलेर जाँदा के हुन्छ?’ भनेर बाबुरामलाई सोधेका थिए।

यस्तै बालेनले दिउँसो नै विभिन्न चरणमा रक्षा बमदेखि सुदन गुरुङसम्मका जेन–जी अगुवासँग एक्ला एक्लै र समूहमा पनि भेटेका थिए।
उनीहरूबाहेक विभिन्न कलाकार, पत्रकार, उद्यमी, राजनीतिज्ञहरूसँग बालेनले एकाएक संवाद बढाएका छन्। जुन उनको पछिल्ला ‘ट्र्याक रेकर्ड’ भन्दा भिन्न देखिन्छ। बालेन यसअघि यो स्तरमा राजनीतिक संवाद गर्ने र रुचाउने पात्रका रूपमा नदेखिएका सेलिब्रिटी राजनीतिकर्मी मानिन्छन्।
बालेनले चलाएका यी वार्ता तथा संवादका शृङ्खलाले कस्तो निकास दिन्छन्? त्यसको नतिजा हेर्न जेन–जी देखि वैकल्पिक राजनीतिका वकालतकर्ता र स्थापित राजनीतिक दलहरूले व्यापक चासो छ।
प्रकाशित: १० पुस २०८२ १९:१७ बिहीबार
