डिसेम्बर महिना लाग्नासाथ विश्वभर रातो लुगा, सेतो दाह्री र हँसिलो अनुहार भएका ‘सान्ता क्लज’ को चर्चा सुरु हुन्छ।
नर्थ पोल (उत्तरी ध्रुव) को हिउँमा बस्ने, रेन्डियरको बग्गीमा उड्ने र बालबालिकालाई सुटुक्क उपहार दिने यि पात्रबारे हामीले सुन्दै आएका कथाहरू कति काल्पनिक हुन् र कति यथार्थ ?
आयरल्याण्डको हरियाली उपत्यका र पुराना भग्नावशेषहरूका बीचमा एउटा गाउँ छ। जसलाई इतिहासले ‘हराएको शहर’ को उपमा दिएका छन्। त्यही सुनसान खण्डहरको बीचमा एउटा चिहान छ। जहाँ विश्वलाई उपहार बाँड्ने तिनै ‘सेन्ट निकोलस’ (सान्ता क्लज) चिरनिद्रामा सुतिरहेको मानिन्छ।
आयरल्याण्डको किलकेनी शहरबाट करिब २० किलोमिटर दक्षिणतर्फ लागेपछि एउटा फराकिलो फाँट आउँछ। जेरपोइन्ट पार्क। बाहिरबाट हेर्दा यो सामान्य कृषि फार्मजस्तो देखिन्छ। तर यसको गर्भमा १२ औं शताब्दीको एउटा सिङ्गो सभ्यता पुरिएको छ।
यहाँ पुग्दा आँखा ठोक्किन्छन्, १३ औं शताब्दीमा निर्मित सेन्ट निकोलस चर्चको अग्लो टावर र भग्नावशेषहरूमा। समयको कालखण्डमा भत्किएका पर्खालहरू र हरियो लेउ लागेका ढुङ्गाहरूले यहाँको प्राचीनताबारे बोलिरहेको छ।
यही चर्चको प्रांगणमा, घाँसे मैदान र होचा पहाडहरूको काखमा एउटा पुरानो चिहान छ। त्यहाँ रहेका दर्जनौं चिहानमध्ये एउटा चिहानले आगन्तुकको ध्यान खिच्छ। सो चिहानमा एउटा अनौठो ढुङ्गाको आकृति कुँदिएको छ।

यस जमिनका वर्तमान मालिक मेभ ओ कोनेल र जो ओ कोनेल हुन्। उनीहरूका अनुसार यो चिहान सामान्य व्यक्तिको होइन। ‘यो मायराका सेन्ट निकोलसको चिहान हो,’ मेभ ओ कोनेल विश्वासका साथ भन्छिन्।
यो दाबी सुन्दा जो कोहीलाई सुरुमा पत्याउन मुस्किल पर्छ। टर्कीमा जन्मिएका र आधुनिक सान्ता क्लजको प्रेरणा स्रोत मानिने निकोलसको चिहान आयरल्याण्डको यो कुनामा कसरी हुन सक्छ ? यो प्रश्नको उत्तर इतिहास, धर्मयुद्ध र मानवीय बसाइँसराइको रोचक कथासँग जोडिएको छ।
१२ औं शताब्दीको ‘हराएको शहर’ को कथा
यो स्थानको इतिहास बुझ्न हामीले आठ सय वर्ष पछाडि फर्कनुपर्ने हुन्छ। ओ कोनेल परिवारको स्वामित्वमा रहेको यो १२० एकड जमिन कुनै समय न्युटाउन जेरपोइन्ट नामक एक व्यस्त शहर थियो। नोर र लिटिल एरिंगल नदीको संगममा अवस्थित यो शहर सन् ११६० को दशकमा आयरल्याण्ड प्रवेश गरेका नोरमन्सहरूले बसालेका थिए।
आयरल्याण्डको हेरिटेज काउन्सिलका अनुसार १५ औं शताब्दीसम्म आइपुग्दा यो शहर विकासको चरम उत्कर्षमा थियो। पुरातात्त्विक अध्ययनहरूले यहाँ व्यवस्थित घरहरू, कोलाहलपूर्ण बजार, पानी घट्ट, पक्की पुल र ढल निकासको व्यवस्था समेत रहेको देखाएको छ। नजिकै रहेको भव्य जेरपोइन्ट एबीले त्यतिबेलाको धार्मिक र सामाजिक महत्त्वलाई दर्शाउँछ।
तर, १७ औं शताब्दीमा यो शहरमाथि बज्रपात आइपर्यो। इतिहासकारहरूको अनुमान अनुसार कुनै भीषण हिंस्रक आक्रमण वा त्यो समयमा युरोपमा फैलिएको माहामारीका कारण यहाँका बासिन्दाहरू सखाप भए वा भाग्न बाध्य भए।
त्यसपछि यो शहर रित्तियो। मानिसहरू हराए, घरहरू भत्किए, र एउटा सिंगो सभ्यता जमिनमुनि पुरियो। बाँकी रह्यो त केवल किम्बदन्ती र सेन्ट निकोलसको चिहान रहेको भनिएको त्यो चर्चको खण्डहर।
आज ओ कोनेल परिवार मात्र यो ऐतिहासिक थलोको एक्लो बासिन्दा हो। उनीहरू आफूलाई यो रहस्यमय इतिहासको संरक्षक ठान्छन्।

को थिए वास्तविक सान्ता क्लज ?
हामीले चिन्ने रातो लुगा लगाएका सान्ता क्लजको मिथक चौथो शताब्दीका एक वास्तविक क्रिश्चियन बिशप, सेन्ट निकोलसको जीवनमा आधारित छ। उनको जन्म अहिलेको टर्कीमा पर्ने ‘मायरा’ भन्ने ठाउँ नजिकैको प्राचीन रोमन शहर पतारामा भएको थियो।
सानैमा आमाबुवा गुमाएका निकोलसले आफ्नो पैतृक सम्पत्ति आफैंले उपभोग गरेनन्। भेटिकन न्युज र ऐतिहासिक दस्तावेजहरूका अनुसार उनले आफ्नो सम्पूर्ण सम्पत्ति गरिब, रोगी र असहायहरूलाई दान दिएका थिए। उनको यही उदारता र सुटुक्क उपहार दिने बानीले कालान्तरमा सान्ता क्लजको रूप धारण गर्यो।
सन् ३२५ मा काउन्सिल अफ नाइसियामा सहभागी भएर ईसा मसीहलाई ईश्वरपुत्रको मान्यता दिलाउन भूमिका खेलेका निकोलसको मृत्यु ६ डिसेम्बर ३४३ मा भयो। तर, मृत्युपछि उनको पार्थिव शरीरले कहिल्यै शान्ति पाएन। उनको शव र अवशेषहरूमाथि स्वामित्व जमाउन विभिन्न देश र धार्मिक समूहबीच शताब्दीयौं लामो हानथाप चल्यो।
सेन्ट निकोलसको वास्तविक चिहान टर्की, इटाली वा आयरल्याण्डमध्ये कहाँ छ भन्ने विषयमा इतिहासकारहरू एकमत छैनन्। धेरैको विश्वास छ कि उनको शवलाई ११ औं शताब्दीमा इटालीका नाविकहरूले टर्कीबाट चोरेर इटालीको ‘बारी’ शहरमा ल्याएका थिए। तर, आयरल्याण्डको यो सानो गाउँको दाबी भने अलिक फरक र रोचक छ।
मेभ ओ कोनेलले चिहानको ढुंगामा कुँदिएको एक विशेष आकृतिलाई प्रमाणको रूपमा पेश गर्छिन्। त्यो ढुंगामा एक सन्तको आकृति छ। काँध पछाडि दुईजना अन्य व्यक्तिहरूको टाउको देखिन्छ। मेभका अनुसार ती दुई व्यक्ति सामान्य मानिस नभएर ‘क्रुसेडर’ (धर्मयुद्ध लड्ने फ्रान्सेली वा नोरम्यान योद्धाहरू) हुन्।

किम्बदन्ती अनुसार मध्यकालमा जेरपोइन्ट शहरमा बसोबास गर्ने एक धनी फ्रान्सेली परिवारले धर्मयुद्धका क्रममा सेन्ट निकोलसको शव वा अस्थिपञ्जरको केही भाग टर्की वा इटालीबाट आफ्नो साथमा ल्याएको थियो।
उनीहरूले ती पवित्र अवशेषहरूलाई सुरक्षित राख्न आयरल्याण्डको यो चर्चमा ल्याएर गाडेका थिए। चिहानमा कुँदिएको सन्तको आकृतिले दान दिइरहेको मुद्रा देखाउनु र पछाडि रक्षकका रूपमा योद्धाहरू देखिनुले यो दाबीलाई बल पुर्याएको स्थानीयहरूको विश्वास छ।
इतिहासकारको नजरमा : आस्था कि यथार्थ ?
के साँच्चै सान्ता क्लजको अस्थिपञ्जर आयरल्याण्डको माटोमुनि छ त ? यो प्रश्नमा आयरल्याण्डको इमिग्रेसन म्युजियमका प्रदर्शनी प्रमुख न्याथन मेनियनले विश्लेषणात्मक जवाफ दिएका छन्।
किलकेनीमै हुर्किएका मेनियन सानैदेखि यो चिहानबारेका कथाहरू सुन्दै आएका हुन्। उनी भन्छन्, ‘यो चिहान अहिले जहाँ छ, त्यो यसको मौलिक स्थान होइन। सन् १८३९ मा यसलाई स्थानान्तरण गरेर अहिलेको ठाउँमा ल्याइएको हो।’
मेनियनका अनुसार सेन्ट निकोलसका अवशेषहरू यहाँ छन् भन्ने कुरालाई शतप्रतिशत नकार्न वा स्वीकार्न सकिँदैन। ‘मध्यकालीन युरोपमा सन्तहरूका शरीरका अवशेषहरूको खोजी र संकलन गर्ने ठूलो होडबाजी चल्थ्यो। त्यसैले उनका केही अवशेष यहाँ आइपुगेको हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न,’ उनी भन्छन्।
तर, अर्को सम्भावना के पनि छ भने, यो चिहान कुनै स्थानीय पादरीको हुन सक्छ। जसलाई पछि सेन्ट निकोलससँग जोडेर प्रचार गरियो।
यद्यपि, मेनियन पनि स्वीकार्छन् कि विना कुनै ठोस कारण यति ठूलो र विशिष्ट चिहानको प्रतिमा बनाइँदैन। ‘त्यहाँ पक्कै पनि केही न केही विशेष कुरा लुकेको छ,’ उनी भन्छन्।
‘हामी चिहान खनेर हेर्न चाहन्नौँ’
आजको विज्ञान र प्रविधिको युगमा चिहानभित्र के छ भनेर पत्ता लगाउन डीएनए परीक्षण सबैभन्दा भरपर्दो उपाय हुन सक्छ। तर, ओ कोनेल परिवार र स्थानीयहरू यसलाई खनेर सन्तको शान्ति भंग गर्ने पक्षमा छैनन्।
‘यो आस्थाको कुरा हो,’ मेभ भन्छिन्, ‘हामीलाई यहाँ खनेर हेर्ने कुनै योजना छैन। यहाँको प्रतिमा र इतिहासले नै धेरै कुरा बोल्छ। मानिसहरू यहाँ आउँछन्, प्रार्थना गर्छन् र एउटा सकारात्मक ऊर्जा लिएर फर्कन्छन्। हाम्रो लागि त्यही नै ठूलो कुरा हो।’
मेनियन पनि यसमा सहमत छन्। ‘म ठोकुवा गरेर भन्न सक्दिन कि सान्ता आयरल्याण्डमै छन्, तर म यो चिहान खनेर हेर्न पनि चाहन्न। केही रहस्यहरू रहस्यकै रूपमा रहनु सुन्दर हुन्छ,’ उनले भने।
जेरपोइन्ट पार्क अहिले पूर्ण रूपमा पर्यटकीय गन्तव्य बनिसकेको छैन। यो ओ कोनेल परिवारको निजी सम्पत्ति भएकाले यहाँ जतिबेला पनि प्रवेश पाइँदैन। तर, इतिहास र पुरातत्वमा रुचि राख्नेहरूले सम्पर्क गरेर विशेष भ्रमण गर्न सक्छन्। वार्षिक रूपमा करिब १० हजार पर्यटक यहाँ पुग्ने गरेको तथ्यांक छ।
डिसेम्बर महिनामा यहाँको वातावरण बेग्लै हुन्छ। ६ डिसेम्बर, अर्थात् ‘सेन्ट निकोलस फिस्ट डे’ का दिन ओ कोनेल परिवारले विशेष पूजा र प्रार्थनाको आयोजना गर्छ। मेभ भन्छिन्, ‘मलाई क्रिसमससँग प्रेम छ। यो ठाउँमा क्रिसमस मनाउनुको मज्जा नै बेग्लै छ। यो साँच्चै जादुमयी लाग्छ।’
अहिले यो क्षेत्र खेतीपातीका लागि प्रयोग भइरहेको छ। मेभ यसलाई भर्जिन साइट भन्छिन्, किनकि यहाँको जमिनमुनि पुरिएको १२ औं शताब्दीको शहर अझै उत्खननको पर्खाइमा छ।
कसलाई के थाहा ? भोलि कुनै दिन यहाँको माटो पन्छाउँदा सान्ता क्लजको मात्र होइन, एउटा सिंगो युगको कथा बाहिर आउन सक्छ।
सान्ता क्लज नर्थ पोलमा हुन् वा आयरल्याण्डको यो चिहानमा। उनले दिने सन्देश भने एउटै हो- प्रेम, त्याग र खुसी। आयरल्याण्डको यो ‘हराएको शहर’ ले त्यही सन्देशलाई शताब्दीयौंदेखि आफ्नो छातीमा जोगाएर राखेको छ।
प्रकाशित: १० पुस २०८२ २०:४१ बिहीबार
