माया र खुसीका बेला शरीरमा उत्पादन हुने डोपामिन, अक्सिटोसिन, सेरोटोनिनजस्ता रासायनिक तत्त्वहरूले भूमिका खेल्छन्। नसालु पदार्थले झैँ डोपामिनले दिमागलाई एकाग्रता दिएर हर्षित बनाउँछ। पीडाका कारण पैदा हुने अन्य हर्मोनको तुलनामा डोपामिनले अग्रता पाउने भएकाले दुःखबिच पनि व्यक्ति प्रसन्न बन्छ। कुनै कुरा पाउँदा, चिताएअनुसार व्यवहार चल्दा दिमागमा प्रसन्न हर्मोन पैदा हुन्छ। मानिस खुसी हुन्छ, सन्तुष्टि पाउँछ।
केही भेट्दा अनि गुमाउँदा व्यक्तिले हर्ष र विस्मात प्रकट गर्नु अस्वाभाविक होइन। तर अरूको सफलता वा असफलतामा व्यक्ति विपरीत कित्तामा पुगेर भावुक बन्छ। अनुसन्धानले एउटा ठुलो समूह अन्यको सफलतामा दुःखी हुने अनि विनाशमा हर्षित हुन्छन् भन्छ। आफूले चिनेको मात्र होइन, बरु जीवनमा कहिल्यै नभेटेका व्यक्तिको सफलता अनि विनाशमा पनि मानवीय दिमाग किन संवेदनशील बन्छ ? आफ्नो व्यक्तिगत मेहनत र पसिना बगाएर सफलता हासिल गरेका व्यक्तिको विनाशमा आखिर मानिसहरू किन खुसी हुन्छन् त ? के मानवीय मस्तिष्कको बनोट अर्काको पीडामा रम्ने गरी बनेको छ ?
विज्ञको विचारमा ईर्ष्या, दुःख, रिस, प्रसन्नतालगायत सबै किसिमका संवेदनशीलता मानिसका लागि आवश्यक तत्त्व हुन्। भगवान्ले खुसी, दयाजस्ता सकारात्मक ऊर्जा मात्र मानवलाई दिएको भए सभ्यता अहिलेको अवस्थामा पुग्दैनथ्यो। अर्काको प्रगतिमा लोभ र ईर्ष्या गर्ने बानीले आधुनिक आविष्कार र समुन्नत समाज बन्यो। डाह गर्ने बानीले व्यक्तिमा मेहनत गर्ने बानी बसाल्यो, अर्कोभन्दा स्वयं अघि बढ्नुपर्छ भन्ने सोच आयो। शीत युद्धको समय पुँजीवादी र साम्यवादी धारमा देखिएको ध्रुवीकरणले वैज्ञानिक आविष्कार आकासियो, विश्व अझ समुन्नत बन्यो। देशहरूबिचको प्रतिस्पर्धाले संसार सबल बन्यो। मानिसले जंगली युगबाट आधुनिक समाजमा ठुलो फड्को मार्नुमा लोभ, लालचले भूमिका निर्वाह गर्यो भन्ने ठानिन्छ।
जेनजी आन्दोलनका क्रममा धेरै धनजनको क्षति भयो। दर्जनौँ निहत्था बालबालिका मारिए। सिंहदरबार, सर्वोच्च अदालतलगायतका सयकडौँ सरकारी कार्यालय जले। व्यापारिक भवन मात्र होइन, व्यक्तिगत घरदेखि नेताका महलसमेत ध्वस्त भए। तत्कालीन अवस्थामा फर्कँदा भिडले चाहेका जति सबै संरचना क्षतविक्षत भए। अर्बौँको सम्पत्ति धुवाँमा उड्यो। विध्वंस केवल पैसाको गणनासँग मात्र सीमित रहेन। सरकारी गोप्य दस्ताबेज तथा महत्वपूर्ण ऐतिहासिक कागजात नासिए। व्यक्तिगत भवन जल्दा पारिवारिक स्मृतिहरू मेटिन पुगे। नेपालको सुरक्षा व्यवस्थाको दयनीयता उदाङ्गियो। भदौ २४ को घटनापछि स्वदेशी, विदेशी तथा गैर आवासीय नेपालीले कदाचित नेपालमा लगानीको सोच मात्र बनाएका भए पनि उक्त अभियानलाई पक्कै पूर्णविराम लगाए होलान्।
जर्मनमा एउटा शब्द छ ‘स्याडनफ्रेउडा’। ठ्याक्कै मिल्ने अर्को नभएकाले अंग्रेजले पनि यही शब्द सापटी लिए। ‘स्याडनफ्रेउडा’को अर्थ हुन्छ– अर्काको पीडामा महोत्सव गर्ने। अर्काको उन्नतिमा बेचैन बन्ने ईर्ष्या, डाहभन्दा निकै निम्न स्तरको विशेषण हो यो। जेनजी आन्दोलनको दोस्रो दिन धेरै मानिसको घर जलिरहेको थियो। देश स्तब्ध बन्यो। राष्ट्रको ढुकुटी रित्याएर आलिसान महल बनाउने भ्रष्ट नेताको बंगला जल्दा सायदै कसैका आँखा रसाए, बरु प्रसन्नता नै व्यक्त गरे। तर, सरकारी नियम कानुनको परिधिमा बसेर व्यवसाय गरी व्यापारिक बादसाह बनेका उद्यमीहरूको घर जलेको हेरेर आनन्द मान्ने समूह ठुलो देखियो। त्यस्तो सोचलाई के विशेषण दिने ? नेपालको पहिलो डलर अर्बपति विनोद चौधरीसँग कहिल्यै साक्षात्कार नभएको अनि भाटभटेनीको मुख नै नदेखेकाहरूले मीनबहादुर गुरुङको पसल र सिजी ग्रुपमा आगलागी हुँदा किन झाँकी गरे होलान् भन्ने प्रश्नको जवाफ सहज छैन। उत्तरका लागि मानवीय मस्तिष्कको जटिलता र सामाजिक परिवेशको संश्लेषणको दरोकार पर्छ।
हार्वर्ड विश्वविद्यालय बिजनेस स्कुलका डा. माइकल नोर्टब नेतृत्वको टोलीले क्षणिक असमानताको बोधले मात्र पनि व्यक्तिलाई कसरी हिंस्रक बनाउँछ भन्ने अध्ययन प्रकाशित गरे सन् २०१६ मा जर्नल ‘पिएनएएस’मा। उक्त आलेखमा फस्ट क्लास र सामान्य दुवै श्रेणीका सिट भएका प्लेनमा यात्रुलाई कसरी जहाजभित्र हालियो, उक्त कुराले यात्रालाई निर्देशित गर्छ भन्ने प्रस्तुत गरिएको छ। प्रथम श्रेणीको बाटो भएर सामान्य टिकटबाहकलाई उसको सिटमा बसाउँदा भन्दा जहाजको पछिल्लो भागबाट उनीहरूलाई सिधै मितव्ययी क्लासमा आसन ग्रहण गराउँदा प्लेनमा झैँ झगडाको सम्भाव्यता कम हुने आँकडा दर्साइएको छ उक्त आलेखमा।
मितव्ययी टिकट भएका यात्रुलाई प्रथम श्रेणीको बाटोमार्फत प्लेनमा पसाउँदा उनीहरूले बिजनेस क्लासमा बस्नेहरू आफूभन्दा धनी भएको महसुस मात्र गर्दैनन्, बरु स्वयंले हीनताबोध पनि गर्छन्। परिणामस्वरूप उनीहरूमा आवेगलाई हौस्याउने हर्मोन पैदा हुन्छ। ईर्ष्याले यात्रुलाई आक्रामक बनाउने भएकाले हवाई झमेलाको सम्भाव्यता बढ्ने देखियो। तुलनात्मक अध्ययनले फस्ट क्लास र सामान्य श्रेणी दुवै भएको जहाजका यात्रुहरू जेनरल क्लास मात्र भएको मितव्ययी जहाजका यात्रुभन्दा बढी आक्रामक देखायो। आफूभन्दा अरू सक्षम छन् भन्ने कुराको क्षणिक पुनरावृत्तिले मात्र पनि व्यक्तिलाई कसरी अधैर्य बनाउँछ भन्ने देखियो। क्षणिक असमानताको आभासले त अधैर्य बनाउँछ भने दीर्घकालीन आर्थिक विषमतालाई मानवले कसरी सामना गर्छ ?
सामाजिक समानताको वकालत गर्नेहरू एक धनीको सत्यानाशपछि मानिसले स्वयं र सम्भ्रान्त वर्गबिचको सेतु भत्किएको महसुस गर्ने भएकाले व्यक्तिले प्रसन्नता महसुस गर्ने ठान्छन्। त्यस्तै धेरैले अज्ञानतावश गरिब र धनीबिचको खाडललाई एकले हार्दा अर्काले जित्ने जुवाको खालजस्तो सोच्छन्। एउटा व्यापारिक घराना विफल हुँदा उक्त पुँजी अन्ततः आफूमा आउने ठान्छन्, आनन्दित हुन्छन्। कुनै व्यक्ति राज्य दोहन गरेर मात्र धनी बन्छ भन्ने तेस्रो धार पनि उत्तिकै बलियो छ। आफूसँग सम्बन्ध र सरोकार नभएकै भए पनि व्यापारिक घराना तहसनहस हुँदा उल्लिखित तीन मान्यतामा विश्वास गर्ने मानिसको दिमागको रिवार्ड सेन्टर क्रियाशील हुने भएकाले उनीहरू हर्षित हुन्छन्।
व्यापारीले व्यापार गर्नुपर्छ भन्ने मान्यता हो। आफ्नो धर्म पालना गर्नुको साटो उद्योगी राज्यको दोहनमा लागेको भान मात्र भए पनि जनता आक्रोशित हुन्छन्। अमेजनका संस्थापक जेफ बेजोसको घरमा अमेरिकी नागरिकले ढुंगामुढा गरेको धेरै भएको छैन। अनैतिक कार्यमा संलग्नता देखिएका व्यापारीले जनताको सहानुभूति पाउँदैनन्। मीनबहादुर गुरुङ र चौधरी घरानाबारे विभिन्न प्रशंगमा प्रश्न उठेपछि तिनका विरुद्ध सन्देश सञ्चारित भयो। व्यापार र राजनीति सँगै जान सक्दैन भन्ने उदाहरणका लागि संसारकै सबैभन्दा धनी एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धलाई हेर्दा पुग्छ। टेस्लाको सेयर भाउ खस्केपछि मस्कले ह्वाइटहाउससँग सम्बन्धविच्छेद गरे।
नेपालमा भने उद्योगपतिलाई सांसद बन्ने नसा चढेको देखिन्छ। विनोद चौधरीको संसदीय चुनावमार्फत सांसद बन्ने सपना अनि गुरुङको एमालेको कार्यालय बनाउन एक अर्ब रुपैयाँको प्रतिबद्धतापछि जनताको नजरमा उनीहरूको व्यवहार थप सन्देहास्पद बन्यो। पार्टीसँग अनैतिक सम्बन्ध स्थापित गरी राज्य संयन्त्रको दोहन गरी आफ्नो अभीष्ट पूरा गर्न उद्यत वर्गका रूपमा जनताले चिने। व्यावसायिक घरानाले व्यापारभन्दा अन्यत्र गई आर्जन गर्न खोज्नु अनि व्यवसाय र राजनीतिसँगै जान सक्दैन भन्ने कुरा बुझ्न नसक्नु नै समस्याको जड देखियो।
जेनजी आन्दोलनका क्रममा हजारौं नेपालीलाई रोजगार दिने भाटभटेनी, चौधरी ग्रुपलगायतका व्यावसायिक घरानामा भएको धनजनको क्षति हुनुमा मानवीय दिमागको जटिलता र व्यावसायिक धर्मको पालना समस्याको जड देखियो। व्यापारिक प्रतिष्ठानले पारदर्शितासाथ आफ्नो पेसागत धर्म पालन गरेको भए सम्भवतः जेनजी आन्दोलनले भ्रष्ट नेताहरूको घर जलाए पनि व्यापारिक भवनहरूमा धावा बोल्ने थिएनन् होला। हुन त ‘स्याडनफ्रेउडा’ सोच भएका मानिसको दिमागमा कस्ता रासायनिक तत्त्व उत्पन्न हुन्छन् अनि के सोच्दै छन् भन्ने थाहा पाउन पनि कहाँ सजिलो छ र ?
