आन्तरिक पर्यटन प्रवर्धन


देश विकासमा सहयोगी आधारहरू धेरै हुन सक्छन्, तर नेपालजस्तो प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण देशका लागि पर्यटन उद्योग एक वरदानसाबित हुन सक्छ। सामान्यतया पर्यटन भन्नेबित्तिकै बाह्य पर्यटकहरूलाई मात्र ध्यान दिइन्छ, तर आन्तरिक पर्यटनको भूमिकालाई कम आँक्न सकिँदैन। जबसम्म आन्तरिक पर्यटकहरूको आवागमन बढ्दैन, तबसम्म पर्यटन उद्योग पूर्ण रूपमा फस्टाउन सक्दैन। यसका लागि राज्यले विभिन्न प्रोत्साहन कार्यक्रमहरू लागु गर्नुपर्छ। उदाहरणका लागि चीन र भारत जस्ता छिमेकी देशहरूले आन्तरिक पर्यटनलाई मजबुत बनाउन सफल भएका छन्, जसबाट नेपालले सिक्न सक्छ तर के नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदालाई आन्तरिक पर्यटकहरूका लागि आकर्षक बनाउन सक्छ? यस लेखमा हामी यस विषयमा गहन छलफल गर्नेछौं, साथै आर्थिक, स्वास्थ्य र सामाजिक लाभहरूबारे पनि विस्तारमा कुरा गर्नेछौं।

अन्य देशहरूबाट सिक्न सकिने उदाहरण

आन्तरिक पर्यटन प्रवर्धनको उदाहरण खोज्न टाढा जानुपर्दैन। चीनमा ‘गोल्डेन विक’ जस्ता राष्ट्रिय बिदाका अवसरहरूले घरेलु पर्यटनलाई प्रोत्साहित गर्छन्। सन् २०२५ को पहिलो तीन त्रैमासिकमा मात्र चीनमा ४.९९८ अर्ब घरेलु पर्यटकीय यात्राहरू भएका थिए, जसले पर्यटन खर्चमा १८.६ प्रतिशत वृद्धि गरेको छ।

यसका साथै ‘गोल्डेन विक’ २०२५ मा आठ सय ८८ करोड यात्रा भएका थिए, जसले आठ सय नौ अर्ब युआन (अन्दाजी एक सय १४ अर्ब अमेरिकी डलर) राजस्व उत्पन्न गरेको थियो। यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाएको छ।

विशेषगरी ग्रामीण क्षेत्रहरूमा, जहाँ यात्राहरू २५ प्रतिशत बढेका थिए। यसबाट नेपालले सिक्न सक्छ कि राष्ट्रिय बिदाहरूलाई पर्यटनसँग जोडेर आन्तरिक यात्रालाई प्रोत्साहित गर्न सकिन्छ।

त्यसैगरी भारतमा आन्तरिक पर्यटन प्रवर्धनका लागि विभिन्न योजनाहरू छन्, जस्तै ‘देखो अपना देश’ अभियान, जसले भारतीयहरूलाई आफ्नो देशका विविध ठाउँहरू घुम्न प्रोत्साहित गर्छ। यसका साथै ‘स्वदेश दर्शन’ र ‘मार्केट डेभलपमेन्ट असिस्टेन्स’ (एमडिए) जस्ता योजनाहरूले पर्यटन सेवा प्रदायकहरूलाई आर्थिक सहयोग प्रदान गर्छन्। राज्यहरूले आफ्नै स्तरमा फरक योजना लागु गरेका छन्, जसको मुख्य उद्देश्य नागरिकलाई देश दर्शन गराएर सांस्कृतिक र प्राकृतिक विविधताको ज्ञान दिलाउनु हो।

सन् २०२५ मा भारतको घरेलु पर्यटनले २.२ अर्ब यात्राहरू पार गरेको अनुमान छ, जसले पर्यटन राजस्वलाई २६.२४ अर्ब अमेरिकी डलर पु¥याएको छ। यसबाट नेपालले पनि यस्ता योजनाहरू अपनाएर आन्तरिक पर्यटनलाई बढावा दिन सक्छ।

 थाइल्यान्डको ‘अमेजिङ थाइल्यान्ड’ अभियानजस्ता कार्यक्रमले स्थानीयलाई आफ्नो देशका कम ज्ञात ठाउँहरू घुम्न प्रेरित गर्छन्, जसले पर्यटनलाई दिगो बनाएको छ। नेपालले पनि ‘घुमौं आफ्नै नेपाल’ जस्ता अभियान चलाउन सके आन्तरिक पर्यटन प्रवर्धनका लागि निकै उपयोगी हुन सक्छ।

नेपालमा पूर्वाधार विकास र अवसर

नेपालमा सडक सञ्जाल र यातायातका साधनहरूमा उल्लेखनीय प्रगति भएको छ। २००७ सालअघि सवारी साधनहरू सीमित थिए, तर अहिले स्थिति फेरिएको छ। सन् २०२४ को मध्यसम्म नेपालमा करिब ५५ लाख सवारी साधनहरू दर्ता भएका थिए, जसमध्ये अधिकांश (लगभग ८० प्रतिशत) दुईपांग्रे (मोटरसाइकल र स्कुटर) छन्।

सन् २०२५ मा थप तीन लाखभन्दा बढी सवारी थपिएका छन्, जसले यात्रालाई सहज बनाएको छ। यद्यपि, धेरै नेपालीहरूलाई कहाँ घुम्ने र कसरी पुग्ने भन्ने जानकारीको कमी छ। नेपाल पर्यटन बोर्डजस्ता संस्थाहरूले यस विषयमा लगानी गर्न वा अरूलाई लगानी गर्न प्रोत्साहित गर्न छोडेर विदेशी पर्यटकहरूलाई मात्र प्राथमिकता दिएको देखिन्छ, यो नीतिलाई परिवर्तन गर्नु आवश्यक छ। सन् २०२५ मा नेपालको पर्यटन राजस्व ५१६.३१ मिलियन अमेरिकी डलर पुग्ने अनुमान छ, तर यसमा आन्तरिक पर्यटनको योगदान न्यून छ।

हाइकिङ, ट्रेकिङ, साइटसिइङ र मठमन्दिर, गुम्बा–विहारहरूको भ्रमणजस्ता क्रियाकलाप गर्न उपयुक्त ठाउँहरू नेपालमा प्रशस्त छन्। विदेशीहरू नेपालमा आउनु भाग्य ठान्छन् तर नेपालीले आफ्नै देशका यी आकर्षणबाट लाभ लिन चुकेका देखिन्छन्।

आन्तरिक पर्यटन बढ्दा देशको अर्थतन्त्र, स्वास्थ्य र सांस्कृतिक जागरणमा चौतर्फी फाइदा पुग्छ। उदाहरणका लागि चितवन राष्ट्रिय निकुञ्ज, पोखरा वा लुम्बिनी जस्ता ठाउँमा स्थानीय पर्यटक बढ्दा होटल, यातायात र स्थानीय उत्पादनको माग बढ्छ। यस्ता क्रियाकलापले देशको अर्थतन्त्रलाई माथि उकास्न मद्दत गर्छ।

आर्थिक प्रभावहरू

आन्तरिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पु¥याउँछ। सन् २०२५ मा नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या बढ्दै गएको छ (जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार सात सय १६ पर्यटक आएका थिए), तर आन्तरिक पर्यटनलाई बढावा दिँदा यो संख्या थप बढ्न सक्छ। आन्तरिक पर्यटकहरूले स्थानीय होटल, रेस्टुराँ र यातायातमा खर्च गर्छन्, जसले रोजगारी सिर्जना गर्छ।

विश्व पर्यटन तथा यात्रा परिषद्का अनुसार नेपालको पर्यटनले ४० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ, तर आन्तरिक पर्यटन बढाउँदा यसलाई दोब्बर बनाउन सकिन्छ। यसले ग्रामीण क्षेत्रहरूमा आर्थिक असमानता घटाउँछ र दिगो विकासमा योगदान दिन्छ।

शारीरिक स्वास्थ्य लाभहरू

आन्तरिक पर्यटनले स्वास्थ्यलाई पनि फाइदा पु¥याउँछ। हिँडाइ र पदयात्राले शरीरलाई स्वस्थ राख्छ। नेसनल जिओग्राफिकका अनुसार हाइकिङले हृदय, मांसपेशी र सन्तुलन सुधार्छ, साथै कोलेस्टेरोल घटाउँछ र मोटोपन नियन्त्रण गर्छ। घरभित्रको व्यायामभन्दा हाइकिङ चार गुणा बढी प्रभावकारी हुन्छ, जसले मधुमेह र क्यान्सरको जोखिम कम गर्छ। भारी झोला बोकेर हिँड्दा हड्डीको घनत्व बढ्छ र मांसपेशीहरू बलिया हुन्छन्।

दैनिक १५ मिनेट हिँडाइ मात्रै स्वास्थ्यका लागि पर्याप्त भए पनि लामो पदयात्राले मुटु, फोक्सो र मस्तिष्कलाई थप लाभ पु¥याउँछ।

२०२५ को एक अध्ययनका अनुसार पदयात्राले हृदय रोगको जोखिम ३० प्रतिशत घटाउँछ। अतीतमा हाम्रा पुर्खाहरूले यसलाई ‘तीर्थयात्रा’ का रूपमा जोडेका थिए, यसलाई अब स्वास्थ्य र पर्यटनसँग जोडेर बहुउपयोगी बनाउन  सकिन्छ।

मानसिक स्वास्थ्य लाभहरू

पदयात्राले मानसिक शान्ति र ऊर्जा प्रदान गर्छ। साइकोलोजी टुडेका अनुसार हाइकिङले कोर्टिसोल (तनाव हर्मोन) घटाउँछ, ध्यान बढाउँछ र डिप्रेसन कम गर्छ। समूहमा हाइकिङ गर्दा सामाजिक सम्बन्ध मजबुत हुन्छ र एक्लोपन हट्छ। वनजंगलमा हिँड्दा चिन्ता कम हुन्छ, स्मरणशक्ति बढ्छ र खुसीका हर्मोनहरू सक्रिय हुन्छन्।

वरिष्ठ मनोचिकित्सक प्रा. सरोजप्रसाद ओझाले भनेका छन्– ‘प्रकृतिमा हिँड्दा तनाव घट्छ र खुसीका हर्मोनहरू सक्रिय हुन्छन्।’

तनावग्रस्त बिरामीलाई दैनिक एक घण्टा हिँड्न सुझाव दिन्छन् उनी। पहाडी, नदी वा जंगल क्षेत्रमा पदयात्राले आत्मविश्वास बढाउँछ र मानसिक स्वास्थ्य सुधार्छ। २०२५ का अध्ययनहरूले देखाएका छन् कि प्रकृतिसँगको सम्पर्कले रक्तचाप घटाउँछ र आन्तरिक शान्ति ल्याउँछ।

प्रकृति, संस्कृति र देश दर्शनसँगको मिलन

लामो पदयात्राले प्रकृतिसँग सामीप्य बढाउँछ, स्थानीय संस्कृति, वनस्पति र वन्यजन्तुबारे ज्ञान दिन्छ। यसले शारीरिक र मानसिक स्वास्थ्य लाभ त दिन्छ नै, साथै देशको विविधताबारे जागरण ल्याउँछ। विज्ञहरूका अनुसार नयाँ ठाउँहरू घुम्दा इन्डोर्फिन हर्मोन सक्रिय हुन्छ, जसले तनाव घटाउँछ र ऊर्जा बढाउँछ।

घरभित्र थुनिएर बस्नेभन्दा बाहिर घुम्नेहरूमा स्फूर्ति र जाँगर बढी हुन्छ। अर्कातिर आफ्नो देश घुम्न नचाहने तर विदेश जान मरिहत्ते गर्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक छ। उदाहरणका लागि नेपालका गुरुङ, थकाली वा शेर्पा संस्कृतिहरूबारे जान्नुले सांस्कृतिक एकता बढाउँछ।

चुनौती र समाधान

आन्तरिक पर्यटन प्रवर्धनमा नेपालले सामना गरिरहेका चुनौती पनि छन्। पूर्वाधारको कमी, सडकको खराब अवस्था, राजनीतिक अस्थिरता र दक्ष जनशक्तिको अभाव मुख्य समस्या हुन्। साथै, पर्यटकका लागि विविध गन्तव्यको कमी र महामारीजस्ता जोखिमले असर पारेका छन्। यी चुनौतीको समाधानका लागि–

–पूर्वाधार विकासमा लगानी बढाउने

–पर्यटन बोर्डले आन्तरिक अभियान चलाउने

–स्थानीय समुदायहरूलाई तालिम दिने

–दिगो पर्यटन नीति लागु गर्ने, जसले पर्यावरण संरक्षण गर्छ।

प्रकाशित: २ पुस २०८२ ०८:२६ बुधबार





Source link

Leave a Comment