प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

अमेरिकामा गोली प्रहार गरी एकजना प्राध्यापकको हत्या भएको छ। म्यासाचुसेट्समा आफ्नै घरमा गोली प्रहार भएपछि एमआईटीका प्राध्यापकको मृत्यु भएको हो।
मृतक म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का परमाणु विज्ञान तथा इन्जिनियरिङका प्राध्यापक नुनो एफ गोमेस लोरेइरो हुन्। अधिकारीहरूका अनुसार ४७ वर्षीय लोरेइरो पोर्चुगलका नागरिक थिए।
उनलाई आफ्नै अपार्टमेन्टमा “धेरै पटक” गोली लागेको अवस्थामा फेला पारिएको थियो। ब्रुकलाइन प्रहरी र एमआईटीका अधिकारीहरूका अनुसार उनलाई तुरुन्तै एम्बुलेन्समार्फत बोस्टनको अस्पतालमा लगिएको थियो, तर त्यहीँ उपचारको क्रममा उनको मृत्यु भयो।
प्रहरीका अनुसार साँझ गोली चलेको सूचना आएपछि अधिकारीहरू घटनास्थल पुगेका थिए। हालसम्म कसैलाई पनि नियन्त्रणमा लिइएको छैन। नोरफोक काउन्टी जिल्ला अभियोजकको कार्यालयले घटनाको अनुसन्धान भइरहेको बताएको छ।
छिमेकीले गोली पड्किएको आवाज ३ पटक सुनेको र सुरुमा कसैले ढोका फुटाउन खोजेको जस्तो लागेको बताएका छन्। लोरेइरोको सानो परिवार रहेको र उनका बालबालिका नजिकैको विद्यालयमा पढ्ने गरेको बताइएको छ।
लोरेइरोले सन् २००० मा लिस्बनस्थित ‘इन्स्टिच्युटो सुपेरियोर टेक्निको’बाट भौतिकशास्त्रमा स्नातक गरेका थिए। त्यसपछि उनले सन् २००५ मा लन्डनको इम्पेरियल कलेजबाट भौतिकशास्त्रमै पीएचडी गरेका थिए।
उनी एक सैद्धान्तिक भौतिकशास्त्री तथा फ्युजन वैज्ञानिक थिए। चुम्बकीय प्लाज्मा गतिको क्षेत्रमा गरिएको अनुसन्धानका लागि उनले पुरस्कारसमेत प्राप्त गरेका थिए। यो क्षेत्र बाह्य चुम्बकीय क्षेत्रको प्रभावमा आवेशित कणहरूको गतिविधि अध्ययन गर्ने विज्ञान हो।
लोरेइरो सन् २०१६ मा एमआईटीको प्राध्यापक बनेका थिए। सन् २०२४ मा उनलाई एमआईटीको ‘प्लाज्मा साइन्स एण्ड फ्युजन सेन्टर’को निर्देशक नियुक्त गरिएको थियो।
एमआईटीका अनुसार उनको अनुसन्धान “फ्युजन भ्याकुम चेम्बरको केन्द्रमा र ब्रह्माण्डको सीमामा रहेका जटिल समस्याहरू” मा केन्द्रित थियो। उनले जलवायु परिवर्तनसँग जुध्न स्वच्छ फ्युजन ऊर्जा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन गरेका थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्