प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार

अमेरिकी यातायात सुरक्षा प्रशासन टीएसएसले रियल आईडी वा पासपोर्टजस्ता स्वीकार्य परिचयपत्र बिना विमानस्थल चेकपोइन्टमा पुगेका विमान यात्रुहरूका लागि ४५ डलर नयाँ शुल्क लगाउने भएको छ। फेब्रुअरी १, २०२६ देखि सुरु हुने यस कार्यक्रम अन्तर्गत यात्रुहरू शुल्क तिरेपछि वैकल्पिक पहिचान स्थापित गर्ने प्रक्रिया पार गरेर विमान चढ्ने गेटतिर प्रवेश पाउन सक्छन्।
नोभेम्बर २० र डिसेम्बर ३, २०२५ मा प्रकाशित फेडरल रजिस्टर सूचनाअनुसार पहिचान स्थापित गर्नका लागि आवश्यक आधुनिक उपकरण र प्रविधिमा आधारित प्रणालीको लागत समेटेर ४५ डलर शुल्क तोकिएको हो। सुरुवाती रूपमा १८ डलर शुल्क प्रस्ताव गरिएको भए पनि डिसेम्बर २ मा गरिएको अपडेटपछि अनुमानित जनसंख्या, प्रयोग दर, तथा कार्यक्रम कार्यान्वयन खर्चका आधारमा शुल्क वृद्धि गरिएको छ।
यो शुल्क एक व्यक्तिका लागि १० दिनसम्म मान्य हुन्छ। सो अवधिमा पहिचान सफलतापूर्वक प्रमाणित भएमा पुनः प्रयोग गर्न सकिनेछ। यसमा सहभागिता ऐच्छिक रहेको छ भने शुल्क फिर्ता नहुने प्रष्ट पारिएको छ । पहिचान प्रमाणित सफल हुने ग्यारेन्टी पनि नहुन सक्ने टीएसएले स्पष्ट गरेको छ। टीएसएले अतिरिक्त जाँच तथा ढिलाइ हुनसक्ने चेतावनी पनि दिइएको छ।
टीएसएका वरिष्ठ अधिकारी एडम स्टलले यात्रु सुरक्षा सुनिश्चित गर्न पहिचान स्थापित गर्नु अनिवार्य भएको र यसले आतंककारी, अपराधी, र अवैध आप्रवासीहरूलाई हवाई तथा अन्य भित्री यातायात प्रणालीबाट टाढा राख्ने बताएका छन् । अधिकांश यात्रुहरूले रियल आईडी वा पासपोर्टजस्ता स्वीकार्य परिचयपत्र प्रस्तुत गर्नसक्ने भएपनि आफ्नो लाभका लागि यो सेवा प्रयोग गर्नेहरुले त्यसको लागत यात्रु स्वयंले व्यहोर्नुपपर्ने उनको भनाई छ ।
एजेन्सीका अनुसार ९४ प्रतिशतभन्दा बढी यात्रुहरू पहिले नै स्वीकार्य परिचयपत्र कागजात प्रयोग गर्छन्। स्वीकार्य परिचयपत्र बिना विमानस्थल पुगेका यात्रुहरूलाई चेकपोइन्टमै नयाँ प्रक्रियातर्फ निर्देशित गरिनेछ। अनलाइन वा केही विमानस्थलमा प्रत्यक्ष रूपमा शुल्क तिर्न सकिनेछ। टीएसएले यस्तो डिजिटल भुक्तानी प्रणालीलाई निजी क्षेत्रसँग साझेदारीमा अझ छरितो बनाउन लागेको छ।
रियल आईडी नहुने वा नबनाउनेहरुले अन्य प्रकारका कागजातका आधारमा समेत विमान चढ्न सक्छन् । अमेरिकी पासपोर्ट, अमेरिकी पासपोर्ट कार्ड, ग्लोबल एन्ट्री, नेक्सस, सेन्ट्री, फास्टजस्ता ट्रस्टेड ट्राभलर कार्डहरू, अमेरिकी रक्षा मन्त्रालयबाट जारी आईडी, ग्रिनकार्ड, बोर्डर क्रसिङ कार्ड, संघीय मान्यता प्राप्त आदिवासी कार्डहरू, विदेशी सरकारद्वारा जारी पासपोर्ट, क्यानाडाली प्रान्तीय चालक लाइसेन्स, यातायात कार्यकर्ता पहिचान प्रमाण पत्र, अमेरिकी वर्क परमिट लगायतका कार्डहरु आन्तरिक उडानका लागि परिचयपत्रका रुपमा स्वीकार गरिन्छ । अस्थायी चालक अनुमतिपत्र भने मान्य हुने नहुने टीएसएले प्रष्ट पारेको छ ।
सन् २००५ मा सेप्टेम्बर ११ को आयोगका सिफारिसपछि पारित रियल आईडी ऐनले संघीय प्रयोजनका लागि प्रयोग हुने राज्यबाट जारी परियचपत्रमा कडा सुरक्षा मापदण्ड अनिवार्य गरेको थियो। लामो ढिलाइपछि यस ऐनको कार्यान्वयन ट्रम्प प्रशासनका गृहमन्त्री क्रिस्टी नोएमको नेतृत्वमा मे ७, २०२५ देखि सुरु भएको हो।
केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकाको झण्डा भएको आईडी समेत जारी गरिन्छ ।
कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।
तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।
त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।
सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्