प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ९ महिनामा इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस)ले गिरफ्तार गरेका करिब २ लाख २० हजार व्यक्तिमध्ये एक तिहाइभन्दा बढीको कुनै आपराधिक इतिहासै नभएको नयाँ तथ्याङ्कले खुलासा गरेको छ। क्यालिफोर्निया विश्वविद्यालय बर्क्लीको ‘डिपोर्टेशन डेटा प्रोजेक्ट’ ले दायर गरेको मुद्दापछि प्राप्त यी तथ्याङ्कले प्रशासनको आप्रवासन नीति र वास्तविक कार्यान्वयनबीचको ठुलो अन्तर देखाएको छ।
२० जनवरीदेखि १५ अक्टोबरसम्मका गिरफ्तारी अभिलेखअनुसार करिब ७५ हजार जना कुनै पनि आपराधिक रेकर्ड नभएका आप्रवासीहरूलाई समेत व्यापक रूपमा चलाइएको आप्रवासन धरपकडमा समेटिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वरिष्ठ अधिकारीहरूले हत्या गर्ने, बलात्कारी र ग्याङ सदस्यलक्षित अभियान मात्र सञ्चालन भइरहेको दाबी गर्दै आएका छन् ।
माइग्रेशन पोलिसी इन्स्टिच्युटका वरिष्ठ नीति विश्लेषक एरियल रूइज सोटोका अनुसार, “यसले प्रशासनका दाबीहरूलाई नै खण्डन गर्छ। उनीहरू ‘सबैभन्दा खराब अपराधी’ मात्र समातिने बताउँछन् । तर, तथ्याङ्कले फरक तस्वीर देखाउँछ।”
तथ्याङ्कले ट्रम्प प्रशासनको कडा आप्रवासन कारबाहीबारे अहिलेसम्मको सबैभन्दा प्रस्ट झलक दिएको छ। यी अभिलेख आइसको आन्तरिक डेटा कार्यालयले सङ्कलन गरेको हो, जसले गिरफ्तारी, थुनुवा र डिपोर्टेशनसम्बन्धी सूचना व्यवस्थित गर्छ।
जनवरीदेखि प्रशासनले यस्ता विस्तृत रिपोर्टहरू नियमित रूपमा सार्वजनिक गर्नु बन्द गरिसकेको बताइन्छ।
तथ्याङ्कले पक्राउ परेकामध्ये करिब ९० प्रतिशत पुरुष रहेको देखाउँछ। सबैभन्दा धेरै मेक्सिकन नागरिक (करिब ८५,०००) छन् भने त्यसपछि ग्वाटेमाला (३१,०००) र हन्डुरासका (२४,०००) नागरिकहरू छन् । समातिएका मध्येको ६० प्रतिशत भन्दा बढी २५–४५ वर्ष उमेर समूहका छन्, जसले अमेरिकी श्रम बजारमा ठुलो खाडल सिर्जना भएको व्यवसायीहरू बताउँछन् ।
हिस्पैनिक कन्स्ट्रक्सन काउन्सिलका प्रमुख कार्यकारी जर्ज करिओ भन्छन्, “हामी अहिले कामदार अभावको सीधा असर महसुस गरिरहेका छौँ। सीमा सुरक्षाका प्रयास सबैले समर्थन गरे पनि कडा धरपकडले आप्रवासी मजदुरमा निर्भर व्यवसायहरूलाई ठुलो धक्का दिएको छ।”
गत मे महिनामा ह्वाइट हाउसका डेपुटी चीफ अफ स्टाफ स्टिफन मिलरले वरिष्ठ आइस अधिकारीहरूलाई दिनमा कम्तीमा तीन हजार आप्रवासी समात्न नसके जागिर गुम्ने चेतावनी दिएका थिए। तर, तथ्याङ्कले जनवरीदेखि अक्टोबरसम्म आइसले दैनिक औसत ८२४ पक्राउ मात्र गरेको देखाउँछ, यो लक्ष्यको चौथाइभन्दा पनि कम हो।
यो सङ्ख्या २०२४ मा बाइडेन प्रशासनअन्तर्गतको दैनिक औसत ३१२ भन्दा बढी भए पनि, ट्रम्प प्रशासनले चाहेको कडाइको स्तरसम्म पुग्न सकेको छैन।
गिरफ्तारी तथ्याङ्कमा बोर्डर पेट्रोलद्वारा गरिएका धरपकड समावेश छैनन्। बोर्डर पेट्रोलले हाल शिकागो, लस एन्जलस, शार्लोट तथा न्यू ओर्लिन्ससहित विभिन्न शहरमा आक्रामक अभियान चलाइरहेको छ। कति पक्राउ परे, कति डिपोर्ट भए भन्नेबारे स्पष्ट गरिएको छैन ।
तथ्याङ्कले कति डिपोर्ट भए भन्ने स्पष्ट नभए पनि २२,९५९ जना ‘स्वैच्छिक प्रस्थान’ श्रेणीमा छन् । अर्थात्, उनीहरूले आफैँ देश छाडेका हुन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
