प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई फेसबुक, इन्स्टाग्राम र थ्रेड्सजस्ता सामाजिक सञ्जालका प्लेटफर्मबाट हटाउन सुरु गरिएको छ।
सामाजिक सञ्जाल कम्पनी मेटा ले देशको आधिकारिक सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुनु एक हप्ताअघि नै यो कदम चालेको हो।
मेटाले गत महिनामा १३ देखि १५ वर्षका प्रयोगकर्ताहरूलाई डिसेम्बर ४ (२०२५) देखि क्रमशः खाता बन्द हुनेबारे सूचना दिन सुरु गरेको थियो।
यस कदमबाट फेसबुकका करिब १.५ लाख र इन्स्टाग्रामका ३.५ लाख खाताहरू प्रभावित हुनेछन्। थ्रेड्समा पहुँच इन्स्टाग्राम खातामार्फत मात्र हुने भएकाले त्यो पनि प्रभावित हुनेछ।
अस्ट्रेलियाको यो प्रतिबन्धलाई विश्वमै पहिलो मानिएको छ र यो डिसेम्बर १० देखि सुरु हुँदैछ। यदि कम्पनीहरूले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता खोल्न दिएमा उनीहरूले ४९.५ मिलियन अस्ट्रेलियन डलरसम्मको जरिवाना तिर्नुपर्नेछ।
मेटाका प्रवक्ताका अनुसार कानुनको पालना निरन्तर र बहु-स्तरीय प्रक्रिया हुनेछ। कम्पनीले सरकारलाई एप स्टोरमै उमेर प्रमाणीकरण गर्ने प्रणाली लागू गर्न आग्रह गरेको छ। यसो गर्दा किशोर-किशोरीहरूलाई प्रत्येक एपमा छुट्टाछुट्टै उमेर पुष्टि गर्ने आवश्यकताबाट जोगाउन सकिने उसको तर्क छ।
गत महिना मेटाले १६ वर्षभन्दा कम उमेरका रूपमा पहिचान गरिएका प्रयोगकर्ताहरूलाई खाता बन्द हुनुअघि नै आफ्ना पोस्ट, भिडियो र सन्देशहरू डाउनलोड गर्न पाउने सूचना दिएको थियो।
यदि कुनै किशोर-किशोरीले आफूलाई १६ वर्षभन्दा कम उमेरको भनेर मेटाले वर्गीकरण गरेकोमा चित्त बुझाएनन् भने, उनीहरूले समीक्षा का लागि अनुरोध गर्न सक्नेछन्। त्यसका लागि भिडियो सेल्फी, ड्राइभर लाइसेन्स वा सरकारी परिचयपत्र पेस गर्न सकिने मेटाले बताएको छ।
मेटाका तीन प्लेटफर्मसँगै यूट्युब, एक्स, टिकटक, स्न्यापच्याट, रेडिट, किक र टुइच पनि यो प्रतिबन्धको दायरामा पर्नेछन्।
सरकारी अधिकारीहरूका अनुसार यो कदम बालबालिकालाई सामाजिक सञ्जालका हानिकारक प्रभावहरूबाट जोगाउन चालिएको हो। तर आलोचकहरूका अनुसार यसले विभिन्न समुदायलाई एक्ल्याउन सक्छ। बालबालिकालाई कम नियमन भएका अनलाइन प्लेटफर्मतिर धकेल्न सक्ने जोखिम रहेको छ।
अस्ट्रेलियाको सरकारले यसअघि गरेको अनुसन्धानले देखाएअनुसार १०-१५ वर्षका ९६ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका थिए। १० मध्ये ७ जनाले हानिकारक सामग्री (जस्तै: महिलाविरुद्ध हिंसा, हिंसात्मक सामग्री, आत्महत्या प्रवर्द्धन गर्ने सामग्री) हेर्ने गरेका थिए। आधाभन्दा बढीले साइबर-बुलिङ को अनुभव गरेका थिए।
यो प्रतिबन्ध बालबालिकामा सामाजिक सञ्जालको बढ्दो लत र त्यसका नकारात्मक असरहरूलाई नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
