मिर्चैया र गोलबजार नगरपालिकाको साझा खोला घुर्मीमा पछिल्लो समय जोतेर खोलाजन्य पदार्थ निकाल्ने क्रम बढेको छ। पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टि खोलाभरि ट्याक्टरको कारेसोले जोतेर ढुंगा, गिट्टी निकाल्ने गरिएको हो। यसरी निकालिने बोल्डर साइजका ढुंगा तथा गिट्टी खोलामै अवैध रुपमा सञ्चालित क्रसर र यस भेगका विभिन्न क्रसर उद्योगमा पुर्याउने गरिएको छ।
तर यसबारे नियमनकारी निकाय मौन बसेको गोलबजार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुरेन्द्र सिंह बताउँछन्। उनले भने, ‘खोला जोतेर ढुंगा निकालेको निकाल्यै छन्। खोलाको किनार सबै खनिसक्यो। बस्ती, विद्यालय, सामुदायिक वन, खेत धरापमा परेको छ। तर न प्रहरीले रोक्छ न प्रशासनले।’ उनका अनुसार घुर्मी खोलाको निकै तलसम्म बगर जोतिएको छ। ट्याक्टरको कारेसोले जोतेर निकालिने ढुंगालगायतका खोलाजन्य पदार्थ एक्स्काभेटरबाट ट्याक्टर र टिपरमा लोड गरी खोलामै अवैध रुपमा सञ्चालित क्रसरमा थुपारिएको छ, थुपारिँदै छ।
दुई नगरपालिकाको साझा खोला घुर्मीको गिट्टी, बालुवा, ढुंगा बर्दिवासको श्री दिव्यान्शु इन्टरप्राइजेजलाई दुवै नगरपालिकाले संयुक्त रुपमा ठेक्का दिएका छन्। गोलबजार नगरपालिकाकाले २०८२ असोज ५ गते सो इन्टरप्राइजेजको बोलपत्र स्वीकृत गरी ठेक्का दिएको हो। मूल्य अभिवृद्धि करसहित ४८ लाख ३३ हजार पाँच सय ४९ पैसामा यो इन्टरप्राइजेजसँग ठेक्का सम्झौता भएको हो। सम्झौतामा उपकरण प्रयोग गरी खोलाजन्य पदार्थ उत्खनन गर्ने उल्लेख छैन।
घुर्मी खोलामा अहिले बाहिर देखिनेगरी ढुंगा नै छैनन्। यसैकारण ढुंगा व्यवसायीहरूले ढुंगा निकाल्नका लागि खोला जोत्नाका साथै वन, विद्यालय, बगर र चुरे संरक्षित क्षेत्रसमेत उत्खनन गरिरहेका छन्। दैनिक सयभन्दा बढी ट्याक्टर खोलाजन्य पदार्थ घुर्मी खोलामै सञ्चालित क्रसर उद्योगमा पुर्याउने गरिएको स्थानीय बताउँछन्।
बेरोक भइरहेको यो विनासलिला रोक्न कुनै निकायले चासो नदेखाएपछि स्थानीयहरु राती राती खोलामा पहरा दिन्छन्। ‘म आफैँ स्थानीय युवाहरुसँग राती राती खोलामा पहरा दिने गरेको छु ’वडा अध्यक्ष सिंहले नागरिकसँग भने, ‘न प्रहरी आउँछन् न अरु कुनै नियामक निकायले नै वास्ता गर्छन्। गाउँलेहरुको गुनासो सुन्ने नजिकको प्रतिनिधि म नै भएकोले आफैँ खोलाको पहरा गरिरहेको छु, उनले भने।
‘दुर्भाग्यको कुरा त के छ भने यस भेगका किसानको खेत सिँचाइका लागि जडान गरिएको ट्रान्सफरमरबाटै घुर्मी खोलामा सञ्चालित अवैध क्रसरलाई थ्रि फेज लाइन जडान गरिदिएको छ’ वडा अध्यक्ष सिंहले भने,‘एक वर्ष भयो मैले यो क्रसरलाई आफ्नो कागज प्रमाण लिएर वडा कार्यालय आउन पत्राचार गरेको तर अझसम्म प्रमाण बुझाएको छैन। क्रसर सञ्चालकले वडा कार्यालयलाई गन्दै गन्दैन।
राती राती युवाहरु लिएर खोलामा पहरा दिन थालेपछि घुर्मी खोलामा सञ्चालित अवैध क्रसर सञ्चालकले गाउँलेलाई ‘ज्यानको परवाह भए राती खोलातिर नआउनु’ भन्दै धम्क्याएको वडा अध्यक्ष सिंहले बताए। ज्यानको डर त सबैलाई हुन्छ नि उनले भने,‘अहिले गाउँलेहरु डराएर पहरा दिन आउन मान्दैन। म एक्लै जान्छु। उपकरण प्रयोग गरेर खोला खनिरहेको देखेर प्रहरीलाई खबर गर्छु तर प्रहरी आउन घण्टौँ लगाउँछन्। त्यतीबेलासम्म उनीहरु खोलाबाट क्रसरतिर गइसकेका हुन्छन्, वडा अध्यक्ष सिंहले सुनाए।
कृषकको खेत सिँचाई गर्न जडान गरिएको ट्रान्सफरमरबाट क्रसरलाई लाइन दिएदेखि किसानको बिजोग भएको वडा अध्यक्ष सिंहले बताए। क्रसर चलेपछि किसानको खेतमा मोटर चल्दैन। खेत सिँचाई गर्न नपाएर किसान परेसान छन्। बस्तीतिर खोला मोडिएको छ। विद्यालय, वन सबै मासिने, नासिने अवस्था छ। तर, कसैले यहाँका जनताको दुःख दूर गर्नेतर्फ ध्यान दिएको छैन उनले भने,‘सबै दोहनकर्ता, अवैध क्रसरकै पक्षपोषणमै लागेको जस्तो आभास भइरहेको छ।’
क्रसर व्यवसायी, ठेकेदार, प्रहरी, प्रशासन र स्थानीय तहसँग ‘सेटिङ’ मिलाएर अवैध तरिकाबाट खोलाजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरिरहेको स्थानीय बासिन्दाको आरोप छ। एक स्थानीय भन्छन्, ‘खोला जोतेर, चुरे,बस्ती, वन क्षेत्र,विद्यालय क्षेत्र खोस्रेर ढुंगा गिट्टीको धन्दा तीव्र भइरहँदा पनि तैं चुप मै चुपको अवस्थाले यो पुष्टि गर्छ।’
खोला खनेर अवैध क्रसरमा भण्डारण गरिएको ढुंगा स्टकको हो भन्दै क्रसरवालाले निर्धक्क भन्छन्। तर, घाटगद्दी प्रमाणित भएको प्रमाण वडा अध्यक्ष समेतलाई दिँदैनन्। उल्टै धम्क्याउँछन्।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आफू यो विषयमा जानकार नभएको बताए। ‘म डिटेल नबुझी बोल्न मिल्दैन’ उनले भने, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा उपसमिति छ उसले अनुगमन गरेर दिएको प्रतिवेदनको आधारमा कारबाही हुन्छ।’खोला र क्रसर माफियाहरु अवरोध गर्ने जोकोहीलाई ज्यान लिने सम्मको आँट जुटाएका छन्।
मंसिर १ गते सिरहा र धनुषाको साझा कमला नदीमा उपकरण प्रयोग गरेर अवैध रूपमा उत्खनन गरिरहेको स्थानीयको सूचना पछ्याउँदै रोक्न पुगेका धनुषाको पोर्ताहा प्रहरी चौकीका असई विरेन्द्र यादव माफियाहरुबाट आक्रमणको सिकार हुन पुगे। उनी गम्भीर घाइते नै भए।कमला नदीमा अवैध उत्खनन भइरहेको सूचना पाएपछि चार जना प्रहरीको टोलीसहित राति ९ बजे पुगेका असई यादवमाथि माफियाहरुले आक्रमण गरे। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले यो घटना पुष्टि गरेका छन्।
दुवै खुट्टामा चोट लागि गम्भीर घाइते भएका यादवलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार पछि थप उपचारका लागि लालगढ पठाइएको थियो। उनलाई खोलामा अवैध उत्खनन गरिएको नदीजन्य पदार्थ लोड गरिएको ट्याक्टरले ठक्कर दिएको थियो। असाई यादवमाथि सात वटा भन्दा बढी ट्याक्टरसहित २५ जना भन्दा बढीको समूहमा रहेकाहरूले आक्रमण गरी जिउमै ट्याक्टर चढाउने प्रयास गरेका थिए।
एक्स्काभेटर प्रयोग गरी जथाभाबी खोला दोहन भइरहेको भन्दै विरोध गर्दै आए पनि कुनै सुनवाइ नभएको स्थानीयको व्यापक गुनासोपछि आईस यादव रोक्न कमला नदी पुगेका थिए।
अवैध क्रसरको रजगजमधेस प्रदेशको गोलबजार नगरपालिका–९, मारुती सिमेन्ट उद्योगको पश्चिम छेउमा घुर्मी खोला र पूर्व–पश्चिम राजमार्गमा टाँसेर कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) सञ्चालन भइरहेको छ। यो उद्योग २ वर्षभन्दा बढी समयदेखि बिना दर्ता चलिरहेको छ।
दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आएको छ। यो क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा समेत छैन।
यस उद्योगले सरकारी नियम लत्त्याएको मात्र छैन राजस्व समेत छलिरहेको छ। स्थानीय तह, स्थानीय प्रशासन र प्रहरी मूकदर्शक बनेर उद्योगको मनपरीलाई धाप दिँदै आएको छ।
गोलबजार नगरपालिका–९ स्थित घुर्मी पुलमै टाँसिएको शिवम् क्रसर उद्योगले पनि कानुनको धज्जी उडाउन थालेको ७ वर्ष बढी समय भइसक्यो। तर नियामक निकायले यसलाई कानुनी दायरामा ल्याउन कुनै कदम चालेको छैन।
गोलबजार–९, घुर्मी खोलाको पूर्वी किनारमा पुष्पदिप गिट्टी बालुवा प्रशोधन केन्द्र (क्रसर) सञ्चालनमा छ। खोलाको पूर्वी किनारमा सञ्चालित यो उद्योगले पनि कानुनको खिल्ली उडाउन थालेको ३ वर्ष भन्दा बढी समय भइसक्यो।
कर्जन्हा नगरपालिकास्थित जानकी क्रसर उद्योग चुरेको फेदमै सञ्चालित छ। यो उद्योग कानुन मिचेर सञ्चालनमा आएको दशक नाघिसक्यो। जिल्लाका प्रशासक र यो क्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखको इच्छाअनुसार यो उद्योग चल्ने र बन्द हुने गरेको छ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि क्रसर उद्योग सबैभन्दा बढ्ता फस्टाएको पालिका कर्जन्हा र धनगढीमाई हुन्। जनप्रतिनिधि आएपछि जिल्लामा १० वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र दर्ता भएका छन्। जसमध्ये ६ वटा धनगढीमाई नगरपालिकामा दर्ता भई सञ्चालनमा छन्। बिना दर्ताका त कति छन् कति। दर्ता भएकाहरु पनि कानुनी हैसियत गुमाइसकेको वर्षौँ भइसक्दा पनि चलेकै छन्।
ढुंगा, रोडा उद्योग (क्रसर) स्थापनासम्बन्धी ऐनअनुसार यी उद्योग कानुन विपरीत सञ्चालन भइरहेका छन्। यहाँका क्रसर उद्योग मात्र कानुन विपरीत छैनन्, सरकारी निकायले समेत कानुन मिचेर दर्ता अनुमति दिएको पाइएको छ। क्रसर वा बालुवा प्रशोधन उद्योगको दर्ता अनुमति दिने क्रममा स्थानीय तहदेखि घरेलु कार्यालयसम्मले कानुन मिचेको पाइएको छ।
२०७५ भदौ ३ गते घरेलु तथा साना उद्योग कार्यालय लहानले गोलबजार नगरपालिका–९ मा पुष्पदिप बालुवा–गिट्टी प्रशोधन केन्द्रलाई दर्ता अनुमति दिएको छ। त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय लहानले २०७५ साउनमा गोलबजार नगरपालिका–८ स्थित गोलबजार गिट्टी–बालुवा उद्योगलाई अनुमति दिएको छ।
सोही अवधिमा धनगढीमाई नगरपालिका–९ मा भीम बालुवा गिट्टी प्रशोधन केन्द्र र धनगढीमाई नगरपालिका–१३ मा लरुख भगवती गिट्टी बालुवा प्रशोधन उद्योगलाई अनुमति दिएको छ। धनगढीमाई–८ स्थित तिरुपति बालुवा प्रशोधन उद्योगलाई कानुन मिचेर कसहा खोलाको पश्चिमी किनारमै सञ्चालन अनुमति दिइएको छ। यो उद्योगको पश्चिमतिर बाक्लो मानव बस्ती छ।
अनुमति नै कानुन विपरीत दिएपछि यस भेगका क्रसर उद्योगको सञ्चालन पनि कानुन विपरीत हुनु स्वाभाविक ठान्छन् स्थानीय। चार किल्ला प्रमाणित गर्ने बेला स्थानीय निकायबाट कानुन मिच्न सुरु हुन्छ र दर्ता गर्ने घरेलु तथा साना उद्योग कार्यालयमा यो प्रक्रिया सकिन्छ। त्यसपछि स्थानीय प्रशासन र प्रहरीलाई मिलाएर मनपरी ढंगबाट क्रसर सञ्चालन हुन्छ।फोटो:घुर्मी खोलामा भइरहेको अवैध उत्खनन। तस्बिर :मिथिलेश यादव
प्रकाशित: १५ मंसिर २०८२ १२:१० सोमबार
