जुम्ला चिनाउने अल्ट्रा धावक सुनमाया बुढा


जुम्लाको भौगोलिक रूपमा विकट मानिने पातारासी गाउँपालिकाको- २  पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्। सानै भए पनि छोरीले सरकारी जागिर गर्नुपर्छ भन्ने उनका बुबाआमाको चाहना थियो रे। सामान्य परिवारमा जन्मिएकी सुनमायाका बाबुआमाले कक्षा १० को परीक्षा दिइसकेपछि गाउँभन्दा बाहिर गएर पढाउन नसक्ने बताइसकेका थिए। बरु पढाइको साटो उनलाई बुबाआमाले बिहे गर्ने सुझाव दिएका थिए रे। बुबाआमाको भनाइ थियो, ‘बिहे गरेर पनि पढ्दा हुन्छ, हामीसँग आर्थिक अवस्था राम्रो छैन।’

तथापि इच्छा र चाहना भएपछि कसैको केही लाग्दो रहेनछ। उनी बिहे गर्ने प्रस्ताव अस्वीकारेर सदरमुकाम खलङ्गा लागिन्।

पढ्छु भनेर सदरमुकाम आएकी उनको ध्यान कलेजभन्दा खेलतिर केन्द्रित हुन थाल्यो। जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ भनेझैँ सुनमायाको जीवनमा पनि इच्छा अनुसारको बाटो खुल्यो। ९ बर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङ मार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन्।

अल्ट्रा धावक भएर उनले कर्णालीको मात्र होइन, सिङ्गो देश चिनाइरहेकी छन्।

‘सुरुमा मलाई गेम नेखेल, पैसा आउँदैन भन्थे सबैले तर मैले खेलप्रतिको चाहना त्याग्न सकिनँ। जसका कारण आज यहाँसम्म आइपुगेको छु।’

सुनमायाले २०७८ मा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएर कीर्तिमान बनाएकी थिइन्। सुनमाया उक्त कीर्तिमानसँगै विश्वभर छाइन्।

जुम्लामा जन्मिएर पनि सुनमायाको उक्त कीर्तिमानले अन्तर्राष्ट्रियस्तरसम्म चर्चा भयो। उमेरले २६ नाघेकी उनी अहिले पनि निरन्तर आफ्नो खेल कर्ममा अग्रसर भइरहेकी छन्।

स्वीटजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगायतका देशमा आयोजित दौड प्रतियोगितामा उनी सहभागी भइसकेकी छन्।

थाइल्याण्डपछि सन २०२२ मा फ्रान्समा भएको युटीएमबी सीसीसीमा उनले दोस्रो स्थान हासिल गरिन् भने २०२३ मा हङकङमा आयोजित नर्थ फेस हङकङ १०० रेसमा उनले पहिलो स्थान हासिल गरिन्। सेकेण्ड रेसमा पनि उनी पहिलो भइन्।

दुई वर्षअघि फ्रान्समा वर्ल्ड च्याम्पियनसीप गेम थियो।सुनमायाले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेकी छन्। उनले यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराधन, व्रेथलेस रनिङ, एसएसआइजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएर पदक जितेकी छन्।

यस्तै विश्व ट्रेल मेजर्स सिजनको समापनमा आयोजित यो दौड प्रतियोगिता संसारकै सबैभन्दा चुनौतीपूर्ण र प्रतिष्ठित अल्ट्रा-ट्रेल प्रतियोगितामध्ये एक मानिन्छ।

यिनै विकट मार्गहरू पार गर्दै सुनमायाले महिलातर्फ च्याम्पियन बन्नुअघि १ घण्टा ८ मिनेटभन्दा बढीको अविश्वसनीय अग्रता बनाइन्।

एक यस्तो अन्तर जसले प्रतिस्पर्धाको कठोरता मात्र होइन, उनका तयारी, धैर्य र मानसिक शक्तिको असाधारण स्तरलाई पनि उजागर गर्छ।

महिलातर्फको जित हात पारेकी सुनमाया पुरुष प्रतिस्पर्धी सहित समग्रमा ८औं स्थानमा रहेर संसारलाई देखाइदिइन्। त्यो पनि यस्तो अन्तरमा, जसले दौडको हरेक किलोमिटरमा उनका कदम कति शक्तिशाली थिए भन्ने कुराको प्रमाण दियो।

उनी भन्छिन्, ‘जुम्लाका ती उच्च पहाडी भेगमा उकालीओराली गरेकी मलाई जसरी पनि प्रतियोगिता जितेर गाउँठाउँ, जिल्लामा मात्र होइन, देशको नाम चिनाउनुपर्छ भन्ने उद्देश्य हुन्छ।

सुनमायालाई यसरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम आउला भन्ने कहिल्यै लागेको थिएन। उनीभन्दा पहिला जुम्लाकै हरि रोकायाले पनि विश्वकीर्तिमान कायम गरेका थिए। जो सुनमायाका गुरु हुन्।

उनको संघर्ष गेम खेल्दा गाह्रो हुन्छ नै। जुनसुकै रेसमा पनि सजिलो भन्ने हुँदैन। यद्यपि तालिम लिइरहेको छ भने सहन सक्ने क्षमताको विकास भइरहेको हुन्छ। जसले प्रतियोगितामा सहजता हुन्छ।

‘अहिलेसम्मको यात्रामा भुल्न नसक्ने क्षण कति छन् कति, गाउँबाट काठमाडौंसम्मको यात्रा नै हाम्रा लागि निकै ठुलो संघर्ष हो,’ उनी भन्छिन्, ‘खानादेखि लगाउने जुत्तासम्मको कुरामा सबै मिलाउन गाह्रो हुन्थ्यो। तालिम गर्दा डाइट खान पाउँदैनथ्यौं, पैसा हुँदैनथ्यो। राम्रो जुत्ता हुन्थेन। भए पनि साइज नमिल्ने। ठुल्ठुलो साइजको जुत्ता लगाएर पनि दौड्नुपरेको छ।’ सुनमायाका लागि यी कुरा भुल्नै नसकिने क्षणका रूपमा मानसपटलमा बसेका छन्।

सानैदेखि खेलतर्फ रुचि। आर्थिक अभाव र परिवारको असहयोग तैपनि चाहनाले उनलाई डोर्याइरह्यो। ७ कक्षामा पढ्दै गर्दादेखि गेम खेल्न सुरु गरिन्। विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट उनको खेल करिअरको सुरुवात भयो।

खेलप्रतिको रुचि, लगाव र निरन्तर संघर्षले आज एक सफल धावक बनिन् उनी। गुरु हरि रोकायालाई श्रेय दिन भुल्दिनन् सुनमाया। ‘गुरु जस्तै बन्न सक्नुपर्छ भन्ने सोचिरहन्थेँ, गुरुकै प्रेरणाले आँट आउँथ्यो,’ उनी भन्छिन्।

सुनमायाले सन् २०१६ देखि रनिङ गर्न थालेकी हुन्। उनले पहिलोपटक ‘ट्रेल रेस’ मा सहभागी भएको काठमाडौंको गोदावरीमा हो। जहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ जितेकी थिइन्।

उनी भन्छिन्, ‘खेल खेल्न सुरु गर्दाको चार वर्षसम्म पनि परिवारबाट मलाई गेम नखेल्न आग्रह आइरहन्थ्यो तर अहिले परिवारको सपोर्ट निकै छ तर आमाले अब घरबार सम्हाल्नुपर्छ भन्नुहुन्छ।’

अझै खेलहरू खेल्ने र देशलाई नै चिनाउने सपना सुनमायाको छ। अझै यात्राका माइलहरू बाँकी नै रहेको उनी बताउँछिन्।

को हुन् सुनमायाका गुरु धावक हरिबहादुर रोकाया?

जुम्लाको चन्दननाथ नगरपालिका–४ जुम्लाका हरिबहादुर रोकाय उमेरले ६४ वर्षका भए। बुढ्यौलीमा पनि उनी युवा अवस्था जस्तै जोसिला छन् । ४० वर्ष खेलकुदमा सक्रिय भएर नेपालको नाम राखेका उनी अहिले पनि बिहान ५ बजे नै उठेर दौडिन थाल्छन्। सानोमा उनका बाबुआमाको इच्छा थियो, छोराले सरकारी जागिर खाओस्  तर उनी भने कक्षा ९ उत्तीर्ण भएपछि खेल्न थाले । तीनपल्टसम्म एसएलसीको फारम भरे तर परीक्षा दिने बेला कुनै न कुनै प्रतियोगितामा जानुपर्ने भएपछि एसएलसी उत्तीर्ण गर्न सकेनन्।

राम्ररी पढ्न नपाए पनि खेलमा भने आफूले उत्कृष्ट काम गरेकामा सन्तुष्टि पोख्छन्। खेलबाटै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन पाएँ, त्योभन्दा ठूलो गौरव के छ र ? अब उनको धोको छ,आफू जस्तै कम्तीमा ५० खेलाडी उत्पादन गर्ने।

हरिबहादुर भने खेल क्षेत्र छोड्न नसक्दा जुम्लामा बस्दै आएको छु। उनका जेठा छोरा पाइलट हुन् भने कान्छा डाक्टर। श्रीमती, बुहारी र नातिनातिनी काठमाडौंमै बस्छन्। म परिवारसँग बसेपछि खेलाडीलाई कसले उत्प्रेरणा र प्रशिक्षण दिने हो भन्ने पीर लाग्छ, उनले भने, म चल्न र हिँड्न सक्ने बेलासम्म खेलाडीहरूलाई प्रशिक्षण दिनेछु, हरिबहादुरले प्रशिक्षण दिएका दुर्गा बुढा, विश्वरुपा बुढा, लक्ष्मी न्यौपाने, राजन रोकाय, रेजिना भण्डारी, लोकबहादुर भण्डारी, सीता न्यौपाने लगायत खेलाडी राष्ट्रियस्तरका राम्रा खेलाडी हुन्।

रोकायले २०४५ सालमा नेपालको सर्वोत्कृष्ट खेलाडीको रूपमा स्वर्ण पदक प्राप्त गरेका थिए। २०५२ सालयता उनी प्रशिक्षक छन्। उनले अहिले पनि दैनिक २१ खेलाडीलाई प्रशिक्षण दिन्छन्। सन् १९८७ को नोभेम्बर २७ मा भएको एभरेस्ट म्याराथनमा प्रथम भएर उनले विश्व कीर्तिमान कायम गरे।

उनले २०४४ देखि ४६ सम्म लगातार तीन वर्ष पदक हात पारे। उनी ५ हजार र १० हजार मिटरमा दौडिएर कीर्तिमान बनाउँदै वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

सन् १९८८ मा सोल ओलम्पिक (दक्षिण कोरिया) र १९९२ मा बार्सिलोना ओलम्पिक स्पेन खेलेका उनले १९९३ र १९९५ मा भएको विश्वव्यापी एभरेस्ट म्याराथनमा भाग लिएर दुवैमा दोस्रो भए।

सन् १९९७ मा स्वर्ण पदक हात पारे भने १९९९ मा ३ घण्टा ५९ मिनेट ५६ सेकेन्डको विदेशी खेलाडीले राखेको कीर्तिमानी समय भंग गर्दै ३ घण्टा ५६ मिनेट ५६ सेकेन्डबाट विश्व कीर्तिमान कायम गरेका थिए।

त्यसको अर्को वर्ष सन् २००० मा ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा दुरी पूरा गर्दै एभरेस्ट म्याराथनमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे।

दुई ओलम्पिक, ४ दुई दक्षिण एसियाली खेलकुद, १३ राष्ट्रिय र २९ अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाएपछि उनले आफ्नो खेलजीवन टुंग्याएका थिए।

उनले झन्डै २७ वर्ष ट्र्याकमा दौडिए, २०३९ सालमा जुनियर राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट भएर खेल्न सुरु गरेका उनी खेलाडी जीवन धेरै कठिन हुने बताउँछन्। जुम्लाका धावक हरिबहादुर रोकायले सन् २००० मा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका थिए।

प्रकाशित: ८ मंसिर २०८२ १३:२३ सोमबार





Source link

Leave a Comment