अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आदेशहरू अस्वीकार गर्न सैनिकहरूलाई आग्रह गर्ने डेमोक्र्याट सांसदमाथि कडा आक्रमण गर्दै उनीहरूलाई देशद्रोही को संज्ञा दिएका छन् । उनले मृत्युदण्ड सम्मको सजायको समेत माग गरेका छन्।
ट्रम्पले मंगलबार सार्वजनिक गरिएको एक भिडियोसम्बन्धी समाचारलाई ट्रुथ सोसलमा पुनःसियर गर्दै डेमोक्र्याट नेताहरूको व्यवहारलाई “सिडिसियस बिहेभियर” अर्थात् विद्रोही गतिविधि भएको आरोप लगाए।
“विद्रोही व्यवहार, जसको सजाय मृत्युदण्ड !” ट्रम्पले आफ्नो पोस्टमा लेखे।
अर्को पोस्टमा उनले भने, “यो अत्यन्त खराब र देशका लागि खतरनाक छ। उनीहरूको भनाइलाई स्वीकार गर्न मिल्दैन। देशद्रोहीहरूको विद्रोही व्यवहार ! तिनीहरूलाई थुन्नुपर्छ”
भिडियो जारी गर्ने डेमोक्र्याट सांसदहरूमा सेनटर एलिसा स्लटकिन (पूर्व सीआईए विश्लेषक तथा इराक युद्धकी पूर्व सैनिक) र सेनटर मार्क केली (पूर्व अन्तरिक्षयात्री तथा नेभीका पूर्व सैनिक) समेत छन्। त्यस्तै, प्रतिनिधिसभाका सदस्य जेसन क्रो, म्यागी गुडल्याण्डर, क्रिस डेलुजियो र क्रिस्सी हूलाहान पनि सामेल छन्।
