एच-१बी भिसा कार्यक्रमको बचाउ गर्दै ट्रम्पले भने – ‘अमेरिकामा सबैसँग आवश्यक सीप छैन’



प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार

एच-१बी भिसा कार्यक्रमको बचाउ गर्दै ट्रम्पले भने – ‘अमेरिकामा सबैसँग आवश्यक सीप छैन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-१ बी भिसा कार्यक्रमको बचाउ गर्दै विदेशी दक्ष कामदारहरूको आवश्यकता औँल्याएका छन्। मंगलबार राति फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भने, “कहिलेकाहीँ हामीलाई विदेशबाट सीप र प्रतिभा ल्याउनै पर्छ । किनकि, यहाँका सबैसँग आवश्यक सीप हुँदैन।”

फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहामले “हामीकहाँ पनि पर्याप्त प्रतिभाशाली मानिसहरू छन्” भनेर प्रश्न गर्दा, ट्रम्पले जवाफ दिए, “छैन, तपाईँहरूसँग केही विशेष प्रतिभा छैन। मानिसहरूले त्यो सिक्नुपर्छ।”

ट्रम्पले सवारीसाधन र कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगमा विदेशी लगानी बढाउने आफ्नो प्रयासबारे गर्व व्यक्त गर्दै भने, “तपाईँ बेरोजगारको लाइनबाट मानिसहरू लिएर भन्न सक्नुहुन्न कि ‘अब तिमीहरू मिसाइल बनाउन थाल’, यो यति सजिलो होइन।”

एच-१बी भिसा कार्यक्रमको बचाउ गर्दै ट्रम्पले भने – ‘अमेरिकामा सबैसँग आवश्यक सीप छैन’

उनले थपे, “एउटा देशले १० अर्ब डलर लगानी गरेर कारखाना खोल्न आउँछ । तर, पाँच वर्षदेखि बेरोजगार रहेका मानिसहरूले त्यहाँ गएर तुरुन्तै उत्पादन सुरु गर्न सक्दैनन्।”

ट्रम्पका यी भनाइहरूले अमेरिकी अर्थतन्त्र र नवप्रवर्तनमा आप्रवासीहरूको भूमिकालाई स्वीकार गरे पनि उनको प्रशासनकालीन कठोर आप्रवासन नीतिसँग केही हदसम्म विरोधाभास देखिएको छ।

गत सेप्टेम्बरमा उनले एच-१बी भिसा लिन कम्पनीहरूले तिर्नुपर्ने शुल्क १ लाख अमेरिकी डलर पुर्‍याउने निर्णय गरेका थिए। यो कदमले कडा आप्रवासन नीति समर्थकहरूलाई खुसी पारे पनि दक्ष कामदार खोज्ने अमेरिकी टेक कम्पनीहरूका लागि ठुलो चुनौती बनेको छ।

यसअघि ट्रम्पले आप्रवासी कृषक कामदारहरूका लागि अस्थायी पासको प्रस्ताव पनि अघि सारेका थिए। उनले भनेका थिए, “खेती गर्न गाह्रो काम हो, धेरैले गर्न चाहँदैनन् । सबै कामदार हटाउँदा किसानहरू बरबाद हुन्छन्, यो ठुलो समस्या हो।”





Source link

Leave a Comment