आगामी निर्वाचनको रणनीति र योजनाका विषयमा सौराहामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा घनीभूत छलफल भइरहेको थियो। त्यसको पाँच किलोमिटर वर भेटिएका धनीराम चौधरी भने सरकारले तोकेकै मितिमा निर्वाचन गर्छ भन्नेमा विश्वस्त देखिँदैनन्। ‘अहिले एमाले, कांग्रेसलगायत दलहरु आन्तरिक प्रक्रियामा रुमलिएका छन्। यही कानुन, यही दल र यस्तो संरचनामा निर्वाचन हुन्छ नै भन्न सक्ने अवस्था छैन,’ चिया पसलमा भेटिएका चौधरीले भने, ‘अहिलेसम्म चुनावको माहोल पनि त्यति देखिएको छैन।’
युवा पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन तोकेको छ। सरकारले घोषणा गरेको समयमा निर्वाचन हुनेमा अधिकांशले आशंका व्यक्त गरेका छन्। चितवन जिल्लामा सक्रिय राजनीतिक दलले भित्रभित्र निर्वाचनको तयारी गरिरहे पनि उनीहरू स्वयं निर्वाचन हुनेमा विश्वस्त छैनन्। ‘पार्टीका तर्फबाट मतदाता नामावली दर्ताका लागि वडा वडामा सर्कुलर गर्ने काम गरिराखेका छौं तर निर्वाचनको वातावरण अझै बनिसकेको छैन,’ नेपाली कांग्रेसका जिल्ला सचिव ध्रुव पोखरेलले भने, ‘निर्वाचनका लागि सरकारका तर्फबाट सुरक्षाको ग्यारेन्टी हुनु आवश्यक छ।’
पोखरेलले लुटिएका हतियार र कैदीबन्दी बाहिर हुँदा सुरक्षामा चुनौती थपिएको बताए। निर्वाचनको पक्षमा रहेको कांग्रेसले आफ्नो पार्टीभित्रको महाधिवेशनलाई प्राथमिकता दिएको छ भने नेकपा एमालेले यो सरकारले निर्वाचन गराउन नसक्ने चेतावनी दिँदै आइरहेको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकारले निर्वाचन नगराउने अभिव्यक्ति पटक पटक दिँदै आएका छन्। एमाले चितवनका जिल्ला सचिव प्रकाश ढुंगाना मतदातामा निर्वाचनको अन्योल रहेको बताउँछन्। ‘हामी वडा, पालिका, क्षेत्र तथा जिल्लामा भेला गरिरहेका छौं। यसबाट निर्वाचन गराउन दबाब पनि दिन्छ,’ उनले समयमा निर्वाचनको हुने कुरामा आशंका व्यक्ति गर्दै भने, ‘अहिलेसम्म निर्वाचनको वातावरण बन्न सकेको छैन।’
एमालेले समेत प्रतिनिधिसभा पुन:स्थापनाको माग गरेको छ। निर्वाचन हुन करिब चार महिना बाँकी छ। चितवनमा नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत केही दलले जसरी भए पनि निर्वाचन हुनुपर्छ भनिरहेका छन्। रास्वपाका सचिवालय सदस्य शिशिर खनाल निर्वाचन समयमै हुनेमा ढुक्क देखिन्छन्। यद्यपि रास्वपा चितवनका अध्यक्ष कृष्णप्रसाद भुसाल नागरिकहरू समयमै निर्वाचन हुन्छ भन्नेमा ढुक्क नभएको बताउँछन्। ‘अहिले संसद् पुन:स्थापना गर्ने होइन, जेनजीका माग पूरा गर्नुपर्छ। त्यसतर्फ हामी लागेका छौं,’ उनले भने, ‘निर्वाचन नहुने हल्ला फैलिरहँदा नागरिकहरु ढुक्क चाहिँ देखिँदैनन्।’
अहिले नवगठित नेकपाले जेनजीका मागहरू आफ्ना भएको भन्दै निर्वाचनमा होमिने बताएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रका चितवनका जिल्ला इन्चार्ज घनश्याम दाहाल निर्वाचन जसरी पनि गराउनुपर्ने बताउँछन्। ‘निर्वाचनको विकल्प छैन। जसरी पनि गराउनुपर्छ। नगराए देश ठुलो समस्यामा पर्न सक्छ,’ उनले भने, ‘लोकतन्त्र भनेकै निर्वाचन प्रक्रिया हो। यद्यपि अहिलेको वातावरण हेर्दा जनतामा चुनाव हुने नहुने भन्ने अन्योलचाहिँ देखिएको छ।’
निर्वाचनको प्रमुख स्टेक होल्डर भनेका यहाँका राजनीतिक दलहरू नै हुन्। फागुन २१ मा निर्वाचन भएन भने देश झन् ठुलो समस्यामा पर्ने देखिन्छ। त्यसकारण निर्वाचनमा हुनेमा पूर्ण विश्वस्त देखिन्छन् लेखक डाक्टर जीवन क्षेत्री। ‘निर्वाचन पक्का हुन्छ। खिलराज रेग्मीको सरकारको पालामा भन्दा अहिले सहज छ। त्यो बेला संविधान पनि थिएन। अहिले निर्वाचन हुँदैन भनेर शंका गर्नुहुँदैन,’ डा. क्षेत्रीले रेग्मी सरकारको अवस्था बारे बताउँदै भने, ‘त्यतिखेर मधेसमा सशस्त्र समूह थिए। जातिय, क्षेत्रीय नारासहित नागरिकहरू सडकमा उत्रिँदै आएका थिए। अहिले निर्वाचन गराउन त धेरै सहज छ नि।’ प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ। समयमा निर्वाचन नभए देशमा संवैधानिक अड्चन आउने उनले बताए।
थपिएका सबै अधिकांश नयाँ मतदाता
चितवन देशको केन्द्रबिन्दुमा पर्छ। यहाँका अधिकांश मतदाताले अघिल्लो निर्वाचनमा मत परिवर्तन गरेको देखिन्छ। २०७९ सालको निर्वाचनमा भर्खर उदाएको रास्वपा पहिलो शक्ति बनेको थियो। प्रतिनिधिसभाअन्तर्गतको समानुपातिक निर्वाचनमा ९९ हजार ३७ मतका साथ रास्वपा पहिलो दल बनेको थियो। एमालेले ५५ हजार तीन सय १२ र नेपाली कांग्रेसले ३९ हजार तीन सय ५१ मत ल्याएर दोस्रो र तेस्रो भएका थिए। त्यसैगरी माओवादी केन्द्र २९ हजार चार सय ६२ मत ल्याएर चौथो स्थानमा सीमित भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २५ हजार ५५ मत प्राप्त गरेको थियो। तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको चितवनमा दुई वटा निर्वाचन क्षेत्रमा रास्वपा र एउटामा राप्रपाले जितेका थिए।
प्रदेशसभामा रास्वपाका उम्मेदवार थिएनन्। चितवनका ६ वटा प्रदेश क्षेत्रमा भएको प्रत्यक्ष निर्वाचनमा एमाले दुई ठाउँमा विजयी भयो र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक ठाउँमा चित्त बुझाउनुपरेको थियो। प्रदेशसभाको पनि एउटा क्षेत्रमा राप्रपा विजयी भएको थियो। चितवनमा प्रदेशसभाको समानुपातिक निर्वाचनमा एमालेले ७४ हजार दुई सय ७३, कांग्रेसले ५७ हजार दुई सय २३, राप्रपाले ५२ हजार तीन सय २० मत ल्याएका छन्। माओवादी केन्द्रले ३६ हजार नौ सय २८ र एकीकृत समाजवादीले सात हजार दुई सय २० मत प्राप्त गरेको थियो।
२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा चार लाख आठ हजार तीन सय ४२ मतदाता थिए। त्यसयता चितवनमा प्रतिनिधिसभाको निर्वाचनपछि १६ हजार ५० मतदाता थपिएका छन्। असोज १० यता मात्र चार हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। उनका अनुसार अघिल्लो निर्वाचनभन्दा ३० देखि ३५ हजार मतदाता चितवनमा थपिएका छन्। थपिएका मध्ये ९० प्रतिशत २५ वर्ष मुनिका मतदाता छन्।
अलमलमा पुराना दल
भदौ २३ र २४ गतेको आन्दोलनमा कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालयमा नै आगजनी भएको थियो। अहिले जेनतेन कार्यालय स्थापना गरेर पार्टीका गतिविधिलाई अगाडि बढाइएका छन्। उनीहरूले भित्री रूपमा निर्वाचनको तयारी पनि गरिरहेका छन्। पार्टीको आन्तरिक कामको तयारीमा लागेको कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र (अहिले नेपाली कम्युनिस्ट पार्टी), एकीकृत समाजवादी (अहिले नेपाली कम्युनिस्ट पार्टी) ले निर्वाचनको तयारीस्वरूप मतदाता नामावली दर्तामा ध्यान दिएको पाइन्छ। माओवादी केन्द्रका तत्कालीन इन्चार्ज दाहाल विकट गाउँका नागरिकलाई ल्याएर मतदाता नामावलीमा नाम दर्ता गराउने तयारीमा रहेको बताउँछन्। ‘प्रशासनलाई शिविर नै राख्नुपर्यो भनेका छौं,’ उनले भने, ‘गाउँमा मतदाता नामावलीमा नाम नै नभएका व्यक्ति धेरै हुनुहुन्छ। यसपटक उनीहरूलाई सहभागि बनाउनुपर्छ।’ नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको निर्देशनसमेत कुरिरहेको छ।
निर्वाचन होला जस्तो छैन : डिआर पोखरेल, लेखक
कतिले निर्वाचन हुन्छ भनेका छन्। कसैले भाग नलिने पनि भनेको सुनिन्छ। तर भित्रभित्र निर्वाचनको तयारी पनि गरिरहेको देखिन्छ। प्रधानमन्त्रीलाई दलहरूको पनि सहयोग छ भन्ने सुनिन्छ। तर निर्वाचन होला त ? फागुन २१ मा निर्वाचन होला जस्तो त लाग्दैन। पछाडि धकेल्छन् कि। अहिले यिनै पार्टीहरू विभिन्न रूप लिएर आएका छन्।
नयाँ पुस्ताले खासै दल पनि खोलेको देखिन्न। उनीहरूले सबल नेतृत्व खोजेका छन् तर भेटेका छैनन्। पुराना पार्टीका नेतालाई घृणा गर्न लागेको जस्तो देखिन्छ। मान्छेलाई गाली गर्दा पनि बिग्रेको नेताजस्तो भन्न थालिएको छ। मतदाता नामावलीमा नो भोटको व्यवस्था गरे पार्टीहरू बढारिनेछन्। अझै पनि जनताले मासुभातमा मत दिने गरेका छन्।
जेनजीले पनि गर्ला जस्तो छैन : कुमार तामाङ, पूर्वप्रहरी
हामी विश्लेषक त होइनौं। केपी ओली पनि शक्तिशाली व्यक्ति हो। उनले सरकारलाई हाहु गरिरहेका छन्। कांग्रेस पनि त्यस्तै अवस्थामा हो कि जस्तो देखिन्छ। हार्नेजस्तो भए उनीहरू निर्वाचनमा आउँदैनन्। नेताले आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन्। सधैंका लागि पार्टी एकता गरेका उनीहरू एक–दुई वर्षमा फुट्छन्। युवा नै आउनुपर्छ भन्ने होइन, राम्रो भए जो आए पनि हुन्छ। तर यी नेताहरूले स्वार्थका लागि जे पनि गर्छन्। भ्रष्टाचारीलाई संरक्षण गरेर समस्या आइरहेको छ। जेनजीले पनि गर्ला जस्तो लागेन। उनीहरू तीनचारतिर भए भन्ने छ।

युवा आउनुपर्छ : मनीषा कोइराला, विद्यार्थी
म २४ वर्षकी भएँ। आन्दोलनमा पनि सहभागी भएकी थिएँ। मैले अहिलेसम्म भोट दिएकी छैन। यसपटक सहभागी हुने योजना छ। एक भोटले पनि फरक पार्छ। परिवर्तन हामी युवाबाटै सम्भव छ। देशले नयाँ दिशा खोज्दै छ। हाम्रो लागि राम्रो होला भन्ने अपेक्षा गरेका छौं। निर्वाचनको वातावरण बनाएर जसरी पनि गराउनुपर्छ। देश बनाउने युवाले नै हो। अब राजनीतिमा युवा आउनुपर्छ। हरेक नागरिकले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ।

निर्वाचन भए भोट हाल्ने : रघुनाथ भण्डारी, सर्वसाधारण
अहिले कुरा सुन्दा निर्वाचनको माहोल अझै बनेको छैन। फागुनमै निर्वाचन हुन कठिन होला कि। निर्वाचन भए त भोट हाल्न जाने हो। भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुँदैन। युवाको आन्दोलनमा नेताहरूले विवाद गरिरहेका छन्। सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्छ।

निर्वाचनको विकल्पै छैन : नारायण अधिकारी, सर्वसाधारण
युवाहरू अभिभावकलाई सुझाव दिन सडकमा गएका थिए तर सोचेभन्दा फरक भयो। सशस्त्र युद्ध कुनै पार्टीले घोषणा गरेको छैन। यस्तो अवस्थामा फागुन २१ मै निर्वाचन पक्का हुन्छ। कांग्रेस, एमालेले पनि चुनाव हुनुपर्छ नै भनेका छन्। चुनाव भएन भने अर्कै दुर्घटना हुन सक्छ। संविधान मासिन्छ। अवसरवादीहरूलाई मौका मिल्छ। निर्वाचनको वातावरणका लागि सबैले दबाब दिनुपर्छ। सुशासन कायम गर्न जनताले सरकारलाई सहयोग गर्नुपर्छ।

भ्रष्टाचारीलाई कारबाही गरेर मात्र निर्वाचनमा जानुपर्छ : शारदा पौडेल, व्यवसायी
चुनाव गराएर मात्र केही हुँदैन। भ्रष्टाचारीलाई कारबाही गरेर मात्र निर्वाचन गर्नुपर्छ। नभए उनीहरू नै जितेर आउनेछन्। यही अवस्थामा निर्वाचन गर्न देलान् जस्तो लागेको छैन। निर्वाचनमा राम्रो व्यक्ति आउनुपर्छ। चुनाव भए पनि एक जना प्रधानमन्त्री होलान्, कोही मन्त्री होलान्। जनताको समस्या उही नै हुने हो। नेपालको प्रणालीमा नै सुधार आउनुपर्छ। निर्वाचनले त राज्यको ढुकुटी सकाउने मात्र हो भन्ने लाग्छ।

आशा गर्ने ठाउँ छैन : निर्मला कँडेल, गृहिणी
भ्रष्टाचार सहन नसक्ने गरी भएको थियो। बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था छैन। अहिलेको आन्दोलन पनि एउटा गर्न खोजेको अर्को भइदियो। घुसपैठ नै भएको होला। अहिले पनि नयाँ र पुराना कुनै पार्टीले केही गर्लान् जस्तो लागेन। कलिला केटाकेटी मरेका छन्। निर्वाचन होलाजस्तो छैन। अन्योल नै छ। निर्वाचन गर्ने हो भने ठुला नेता र जेनजीले वातावरण मिलाउनुपर्छ।

प्रकाशित: २५ कार्तिक २०८२ ०६:३८ मंगलबार
