News Summary
Generated by OK AI. Editorially reviewed.
- अधिवेशनबाट नयाँ आउँछ भनेर भ्रम दिइएको छ, त्यस्तो हुँदैन ।
- संसद पुनर्स्थापनातिर कांग्रेस लाग्दैन, सर्वोच्चको फैसला मान्छौं ।
- भनाइ र गराइ फरक भएका पार्टीका केही साथीले भ्रम सिर्जना गरेका छन् ।
- क्रियाशील सदस्यता नवीकरण नगरेर ४ वर्षसम्म महामन्त्रीले के हेरेर बसे ?
- कांग्रेस महाधिवेशनको कन्फ्युजनमा छैन, पूरै शक्ति निर्वाचनमा लगाउँछ ।
२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि २८ असोजबाट नेपाली कांग्रेसको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । खड्काको अध्यक्षमा ३० असोजबाट शुरु कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन चुनाव अघि कि पछि बन्ने बहस भइरहेको छ ।
यसबारे केन्द्रीय कार्यसमिति बैठकमा तीनथरि आवाजहरू सुनिँदै आएका छन् । पहिलो– २१ फागुनको चुनावपछि महाधिवेशन, दोस्रो– आगामी पुस भित्रै महाधिवशेन गरेर नयाँ नेतृत्व र संगठनसहित चुनावमा जानुपर्ने र तेस्रो– चुनावअघि नियमित नसके विशेष महाधिवेशन आयोजना गर्नुपर्ने ।
शुक्रबार बसेको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले आगामी २४ पुसमा विशेष महाधिवेशन आयोजना गर्नुपर्ने प्रस्ताव राखेका छन् । त्यसअघि १८ कात्तिकमा महामन्त्री गगनकुमार थापाले पुस १६–१९ सम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका बैठकमा प्रस्ताव गरेका थिए ।
महामन्त्री थापाले चुनावअघि महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेपछि संस्थापन पक्षमा उभिँदै आएका सहमहामन्त्री महेन्द्र यादवले ‘काउन्टर’ प्रस्ताव ल्याए– चुनावपछि अर्को वर्ष वैशाख २७–३० महाधिवेशन गर्ने ।
केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षीय प्राय: नेताहरूले समर्थन गरिरहे पनि यादवको प्रस्तावलाईकार्यवाहक सभापति खड्काले व्यक्तिगत प्रस्ताव भनिदिएको चर्चा कांग्रेसवृत्तमा छ । यही पृष्ठभूमिमा अनलाइनखबरका लागि केशव सावदले सहमहामन्त्री यादवसँग गरेको कुराकानी :
तपाईं र महामन्त्रीले महाधिवशेनको फरक–फरक कार्यतालिका प्रस्ताव पेस गर्नुभयो । कार्यवाहक सभापतिले तपाईंको प्रस्तावलाई व्यक्तिगत हो भन्नुभयो भनेर मिडियामा आइरहेको छ नि ?
जुन दिन मैले आफ्नो प्रस्तावसहित धारणा राखेँ, महामन्त्रीजीले पनि आफ्नो प्रस्तावसहित आफ्नो धारणा राख्नुभएको थियो । त्यही दिन कार्यवाहक सभापतिले दुवै जनाको धारणा व्यक्तिगत हो भन्नुभएको थियो ।
तर,कार्यवाहक सभापतिलेमेरो प्रस्ताव मात्र व्यक्तिगत हो भन्नुभयो भनेर मिडियामार्फतबाहिर आयो । पछि केन्द्रीय कार्यसमितिकै साथीहरूले बैठकमासोध्दा उहाँले दुवैजनाको प्रस्ताव व्यक्तिगत हो भन्नुभयो ।
अब कसले के लेख्छ, लेख्नेले नै जानून् । तर, केन्द्रीय कार्यसमितिका लागि हामी दुवैको धारणा र प्रस्ताव व्यक्तिगत हो ।
जेनजी आन्दोलनपछि चुनावमा जानुपर्ने अवस्था छ। नयाँ नेतृत्व र संगठनसहित चुनावमा जाँदा नयाँ मतदातालाई बढी अपिल गर्न सकिएला ।यहाँहरूले किन चुनाव अगाडि महाधिवेशन नगर्ने सोच बनाउनु भएको ?
जेनजीसहितको पार्टी बनाएर उनीहरूकै सहभागितामा उनीहरूको मागलाई सम्बोधन गराएर महाधिवेशन गर्ने हो।
तर, खाली भन्ने मात्रै कि गर्ने पनि ? यो कुराअन्तर्वार्तामा मात्रै भन्ने कि त्यसअनुसार विधान संशोधन गरेर उनीहरूलाई समेट्ने कार्यक्रमहरू बनाउने ?
देशमा फागुन २१ गतेका लागि आम निर्वाचन घोषणा भइसकेको छ । माघ ११ गते राष्ट्रियसभाको निर्वाचन छ । फेरि पुस १६ गते समानुपातिक निर्वाचनको ‘नोमिनेसन’ छ।
अब निर्वाचनका लागि चार महिनामात्रै बाँकी छ । हामीले गर्नुपर्ने तीन कामहरू छन् । यस्तो अवस्थामा हामीले निर्वाचनमा लाग्ने कि महाधिवेशन गर्ने ? हतार–हतारको महाधिवेशन गर्ने ?
विधानको व्यवस्थाअनुसार, कसलाई क्रियाशील सदस्यता दिने भनेर वडा कार्यसमितिले निर्णय गनुपर्नेछ । त्यसलाई पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्छ । यी सात वटा तहमा प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यता केन्द्रमा आउँछ । त्यसमा पनि केही विवाद भयो भने क्रियाशील छानबिन समिति बन्छ । यही नै अहिलेसम्म चलिआएको परम्परा हो।
भनाइ र गराइ फरक भएका पार्टीभित्रका केही साथीहरू बाहिर भ्रम सिर्जना गरिरहनुभएको छ । त्यही कुरा पार्टीका साथीहरूलाई बुझ्न हामी आग्रह गरिरहेका छौँ कि हाम्रो मनसाय अधिवेशन नगर्ने हैन, गर्ने हो ।
क्रियाशील सदस्यताको जिम्मा पनि वास्तवमा महामन्त्री कै हो, उहाँकै अध्यक्षतामा समिति छ । चार वर्षसम्म बसेर के हेर्नुभयो? अहिले केन्द्रीय कार्यसमितिको बैठकमा त्यही कुराहरू चलिरहेको छ।
चार वर्षसम्म नगर्ने, अहिले चुनावको मुखमा महाधिवेशनको कुरा ल्याएर कहीँ निर्वाचनलाई कम महत्व त दिन खोजेका छैनौँ ? वा निर्वाचनलाई सार्न बाध्य बनाइरहेका त छैनौँ ?
जारी केन्द्रीय कार्यसमिति बैठकमा जेनजीका मागहरू ल्याएर, छलफल गरेर हाम्रो घोषणा पत्रमा राखे त भइहाल्छ नि ! निर्वाचन परिचालन समिति, घोषणापत्र लेखन समिति बनाउनुछ । घोषणा पत्र समिति बनेको एक महिनाभन्दा घटीमा लेख्न सकिंदैन ।
विशेष महाधिवेशनका लागि झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएर पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको लागि दबाब दिइएको छ । संस्थापन पक्ष किन त्यसलाई स्वीकार्न डराइरहेको छ ?
हामी डराएका होइनौँ । विशेष महाधिवेशनको पनि प्रक्रिया हुन्छ । खासगरी महामन्त्रीले नै हस्ताक्षर गराउनुभयो । जारी केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन बारे केही न केही निर्णय गर्छ । विशेष महाधिवेशनको पक्षमा निर्णय गर्यो भने हस्ताक्षरहरूको सनाखत गर्नुपर्ने हुन्छ ।
४० प्रतिशत पुग्यो भने केन्द्रीय कार्यसमितिले विशेष महाअधिवेशनको आह्वान गर्छ। पुगेन भने विशेष महाधिवेशन त्यहीँ खारेज हुन्छ। काठमाडौंबाट फोनको भरमा ‘सिग्नेचर’ गरेर पठाइएको चर्चा छ । केही मान्छेहरूको घरमा गएर तपाईंलाई टिकट दिन्छु, यो गर्छु, त्यो गर्छु भनेर विभिन्न किसिमका आश्वासन बाँडिएको छ, किर्ते हस्ताक्षर गरिएको भन्ने सुनिएको छ । कतिपयसाथीहरूले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता पनि लिइरहनुभएको छ ।
विशेष महाधिवेशन विशेष कार्यका लागि हुनुपर्छ र त्यो पनि नियमित महाधिवेशनभन्दा पहिला हुनुपर्छ । तर नियमितै महाधिवेशनको समय आइसक्यो । सँगै, संसदीय निर्वाचनको समय पनि तोकिएको अवस्था छ । अहिले निर्वाचन हाम्रो लागि पहिलो प्राथमिकता हो, जुन कुरा सबै केन्द्रीय सदस्यहरूले भनिरहनुभएको छ ।
सँगै, अहिलेको सरकार हाम्रो संविधानभन्दा बाहिर गएको छ। संविधानमा छेडछाड भएको छ । त्यसैले अहिले संविधानलाई ट्रयाकमा ल्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मकशासन व्यवस्थालाई कायम गर्न निर्वाचनमा भाग लिनु अति जरूरी छ । त्यसबाहेक कुनै उपाय छैन।
देश र पार्टीलाई पनि निकास दिने सम्भावना भएकाले कांग्रेसलेपूरै शक्ति निर्वाचनमा लगाउनुपर्छ । आधा शक्ति महाधिवेशनमा लगाउने, आधा शक्ति निर्वाचनमा लगाउने अनि ‘कन्फ्युज’ दिमागले गयो भने न महाधिवेशन स्वच्छ, स्वस्थ र विवादरहित बन्न सक्छ न सफल हुन सक्छ । न निर्वाचनमा हामी राम्रो परिणाम ल्याउन सक्छौँ ।
आम चुनाव अघि महाधिवेशन गर्दा पार्टी कमजोर हुन्छ भन्ने तर्क गरिरहनु भएको छ । यो तर्क पुरानै नेतृत्वलाई निरन्तरता दिने अनि सडकको आवाजलाई नसुन्ने चाहना त होइन ?
हेर्नुस, यो तर्क हामीले गरेका छैनौँ । हामीसँग समय नभएका कारणले मात्रै हो । निर्वाचन घोषणा नभएको भए त हामीले पहिलेदेखि महाधिवेशन गर्थ्यौं, गर्ने भनेर त भनेकै हो नि !
महाधिवेशन गर्न चाहँदैनौं वा महाधिवेशन नगरेर कमजोर नेतृत्वलाई अगाडि बढाइरहेका छौँ भनेर झुटो तर्क दिइएको छ । कांग्रेसमा विशेष महाधिवेशनको जुन प्रस्ताव आएको छ,त्यो खाली सभापतिमाथि मात्रै हो र ?
त्यहाँ उहाँहरूले केन्द्रीय नेतृत्व र केन्द्रीय कार्यसमिति भनेर लेखेर दिनुभएको छ ।यो केन्द्रीय कार्यसमिति माथिको पनि अविश्वास हो। केन्द्रीय कार्यसमिति माथि अविश्वास हो भने यो सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सिंगै केन्द्रीय सदस्यमाथिको अविश्वास भएन ?यो विशेष महाधिवेशनबाट वानियमित महाधिवेशनबाट अहिलेको केन्द्रीय कार्यसमितिका सबै सदस्य फेरिन्छन् ? यही मध्येबाट कोही न कोही सभापति, पदाधिकारी आउने हैन? अनि के परिवर्तन आउँछ त ?त्यसैले यो भन्ने मात्रै हो।जुन महाधिवेशन भए पनि अहिलेकै केन्द्रीय कार्यसमिति मध्येबाट आउनेहुन् ।
सभापतिले कार्यवाहक दिइसक्नु भएको छ । केही मान्छेको आक्रोश थियो वा केही मान्छेले बढाइ–चढाइ गरेर भने । सभापतिले कार्यवाहक दिइसकेपछि नयाँ नेतृत्व त आइसक्यो नि !
कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुभएको छ । महामन्त्री छँदै छन् । अब केन्द्रीय कार्यसमितिभन्दा बाहिरको नेतृत्व आउँछ ? आउँदैन । यही नेतृत्व हो। यही महामन्त्री हो । यही सहमहामन्त्री हो, यही कोषाध्यक्ष हो, यही केन्द्रीय कार्यसमितिका सदस्यहरू मध्येबाट कोही आउँछ।
शेरबहादुर देउवा उपचारको लागि सिंगापुर हुनुहुन्छ । उहाँले सिंगापुरबाटै तपाईंहरूलाई चुनाव अगाडि महाधिवेशन नगर्नू भनेर दबाब दिइरहनु भएको भन्ने समाचार आइरहेका छन् नि ?
त्यस्तो छैन । केही मान्छेहरू आफ्नो पक्षमा तर्क गर्नका लागि, आफ्नो पक्षलाई मजबुत बनाउनका लागि बेलाबेलामा यस्ता फन्डाहरू दिन्छन् । अनि मिडियाहरू पनि कोही न कोही नेतासँग नजिक छन्, निष्पक्ष छैनन् ।
उहाँ (सभापति) अहिले पूर्ण स्वास्थ्य लाभका लागि बस्नुभएको छ । उपचार गराइरहनु भएको छ । उहाँले त तपाईंहरू मिलेर जेसुकै गर्नुस् भन्नुभएको छ । महाधिवेशन चुनाव अघि वा पछि जहिले गरे पनि मिलेर गर्नुस् भनिसक्नुभएको छ ।
उहाँको कुनै किसिमको हस्तक्षेप छैन । उहाँमाथि आरोप लगाउने, उहाँलाई बदनाम गर्ने काम पार्टीभित्रर बाहिरका मान्छेले षडयन्त्रपूर्वक तरिकाले हुँदै आएको हो । अहिले पनि भ्रम फैलाउने काम भइरहेको छ ।
संस्थापन पक्षले महाधिवेशन टार्दा पार्टी भित्रको असन्तुष्ट समूहले वैकल्पिक संगठनात्मक अभ्यास सुरू गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
हामीले महाधिवेशन टारेकै छैनौँ, चुनावमा सबै शक्ति लगाउनुपर्छ भनेका हौं । मैले नै पुस १५ सम्म क्रियाशीलको फाइनल गर्ने, त्यसपछि अढाई महिना चुनावमा केन्द्रित हुने र चैत्र १ गतेदेखि फेरि महाधिवेशन गर्ने प्रस्ताव गरेको छु ।
कहाँ हामीले महाधिवेशन टारेका छौँ ? यो झुट हो, भ्रम हो। कार्यकर्ता र जनताको बीचमा संस्थापनले महाधिवेशन टारिरहेको छ भनेर भ्रम फैलाउन खोजिएको छ । पार्टी विधानअनुसार नै एक वर्ष त म्याद थप्न पाइन्छ नि ! त्यसो गर्दा, ०८३ मंसिरसम्म जान्छ । हामीले मंसिरसम्म म्याद थपौँ भनेका छैनौं। हामीले त निर्वाचन भएकोले अढाई महिना निर्वाचनमा केन्द्रित बनौँ भनिरहेका हौँ ।
प्रचार–प्रसारदेखि जुलुस–प्रदर्शन, मतदाताहरूको बीचमा जानेदेखि लिएर उम्मेदवार चयन गर्नुछ । हामीसँग समयै छैन । त्यसैले यो टार्न खोज्यो भन्ने आरोप झुटो हो ।
विधानमा त ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ त । किन आनाकानी गरिरहनुभएको छ ?
विधानमा धेरै कुराहरू छ । विधानमा हरेक वर्ष क्रियाशीलको नवीकरण गर्नु पर्छ भनिएको छ । महामन्त्रीकै अध्यक्षतामा क्रियाशील नवीकरण व्यवस्थापन समिति छ ।अनि त्यहाँ विधान किन लागू भएन ? महामन्त्री के गरेर बसिरहनुभएको छ ?महामन्त्रीले विधान मिच्दा हुने हो ?
नेविसंघको विधानमा ७०० सदस्यीय समिति कहाँ छ ? नेपाल तरूण दलको विधानमा ४०० को समिति कहाँ छ ?सभापति, महामन्त्री सबै मिलेर बनाएको हैन ?
त्यसैले यतिबेला कांग्रेस सर्वसम्मत रूपमा हिंड्नुपर्छ ।एक ठाउँमा उभिएर, एउटा निर्णय गएर कांग्रेस हिँड्नु पर्छ । अनि आफूलाई अनुकूल हुँदा विधान मिच्दा पनि ठीक, अनुकूल भएन भने विधानको कुरा गर्ने?
महाधिवेशनलाई चुनावपछि धकेल्दा नयाँ नेतृत्व, नयाँ विचारका साथ आम चुनावमा जाने अवसर गुम्छ होला नि ? पुरानै संरचना र पुरानै नेतृत्वका साथ चुनावमा जाँदा जनतामा कस्तो सन्देश जान्छ ? यसले पार्टीलाई चुनावी लाभ हुन्छ कि नोक्सान ?
संरचना त त्यही रहन्छ नि ! कांग्रेसमा कुन संरचना हुन्छ ? त्यो झुटो कुरा हो । नेपाली कांग्रेसको संरचना भनेपछि वडा कमिटी हो। पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र कमिटी हो। त्यसपछि जिल्ला, प्रदेश र केन्द्रीय कमिटी हो ।
चुनाव अघि अधिवेशन गर्दा कुन नयाँ संरचना आउँछ ? विभागहरू छन्, कुन नयाँ संरचना आउँछ । झुटो भ्रम दिइएको छ कार्यकर्ताहरूलाई । म चुनौती दिन चाहन्छु– यो सात वटाबाहेक कुन संरचना आउँछ । कसैले देखाओस् त !
महाधिवेशनबारे तीनथरी प्रस्ताव रहेछन्, मिलनविन्दु अर्थात् निकासको बाटो के देख्नुहुन्छ ?
निकास निस्किन्छ । नेपाली कांग्रेस चुनावमा सर्वसम्मत रूपले भाग लिन्छ। चुनावको तयारी गर्छर चुनाव पनि लड्छ। जीत पनि हासिल गर्छ । संविधान बचाउँछ र व्यवस्थालाई पनि सुरक्षित गर्छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संसद् पुनर्स्थापनाको कुरा पनि उठिरहेको रहेछ । यसमा तपाईंको धारणा के छ?
मेरो धारणा भन्दा पनि यो सर्वोच्चमा गइसकेको विषय हो । सर्वोच्चले जे फैसला गर्छ त्यही हुन्छ । अदालतमा नगएको भए मेरो व्यक्तिगत धारणा हुन्थ्यो होला । अब न्यायाधीशहरूको न्यायिक धारणा के हुन्छ, कानुनले के भन्छ भन्ने हुन्छ । हामी त्यतातिर लागेका छैनौँ ।
