सनातन धरोहर शम्भुनाथ मन्दिर


सप्तरीको सदरमुकाम राजविराजबाट १० किलोमिटर उत्तर आएर पाँच किलोमिटर पश्चिम मोडिएपछि पूर्वपश्चिम राजमार्गको दक्षिणमा छ शम्भुनाथ मन्दिर। यो मन्दिर शम्भुनाथ नगरपालिका–३ मा अवस्थित छ। लहान बजारबाट २५ किलोमिटर पूर्व आएपछि राजमार्गबाट एक किलोमिटर दक्षिणतर्फ लागेपछि यो मन्दिर पुगिन्छ।

राजमार्गबाटै मन्दिरको भव्यता झल्किन्छ। राजमार्ग छाडेर मन्दिरको बाटो समाउनासाथ एक आकर्षक द्वारले श्रद्धालुलाई स्वागत गर्छ। रूपनी र कठौनाको मध्यभागमा अवस्थित शम्भुनाथ मन्दिर लगभग तीन बिघा क्षेत्रफलमा फैलिएको छ।

मन्दिर परिसरमा प्रवेश गर्ने द्वारहरू पश्चिम र दक्षिण दिशामा राखिएका छन्। मन्दिरलाई पोखरीको इशान–पूर्व कोणमा निर्माण गरिएका कारणले यसो हुन पुगेको हो। मन्दिरको खुला क्षेत्र दक्षिणतर्फ र पोखरी पश्चिमतर्फ भएका कारण ती दुवै दिशामा द्वार निर्माण गरिएको हो।

ऐतिहासिक पक्ष

शम्भुनाथ मन्दिर १६औं शताब्दीमा निर्माण गरिएको लोक भनाइ छ। मन्दिरमा एक अष्टकोणाकार पाषाण स्तम्भलाई शिवलिंगका रूपमा पूजाअर्चना गरिन्छ। यसको उचाइ पाँच फिट पाँच इन्च रहेको छ। यस शिवलिंगको लम्बाइ बढ्दै गएको जनविश्वास पनि व्यापक छ। मन्दिरमाथि उक्लिने सिँढीसँगै प्रस्तरका केही भग्न कलाकृति, मन्दिरका खम्बा, छाना, तोरण, देवीदेवताको मूर्तिहरूको शेष अंश राखिएका छन्।

यस क्षेत्रमा १५ औं शताब्दीमा चन्द्रकेतु नामका राजा भएको विश्वास छ। यिनै राजाले वर्तमान सप्तरी जिल्लाको उत्तरपूर्व अर्थात् चुरे पर्वतमाथि आफ्नी कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेका थिए भनिन्छ।

यस मन्दिरमा रहेको शिवलिंगलाई चन्द्रभागा मन्दिरबाट ल्याएर स्थापित गरिएको भनिन्छ। चन्द्रभागा र कान्छाखोरिया गढी नजिकै पर्छन्। चन्द्रभागा र कान्छा खोरियाबाट विभिन्न प्रत्थरकला यहाँ ल्याएको मानिन्छ। कनकपट्टीदेखि चार किलोमिटरमाथि चुरेको चन्द्रभागामा भगवती मन्दिर र कान्छा खोरियाको गढीको भग्नावशेष अझै छ।

शिवलिंग स्तम्भ भने यहाँ नजिकै रहेको खाँडो खोलाबाट बयलगाडामा स्थानीयले ल्याएका थिए। उक्त स्तम्भ वर्षाको भेलसँगै खाँडोमा बगेर आएको लोक भनाइ छ।

मन्दिरको वर्तमान स्वरूप १९९० सालमा कचनदाहा निवासी बुछमान गोइतले निर्माण आरम्भ गरेका थिए, तर उनको प्रयासले पूर्णता पाउन भने सकेन। त्यसको केही समयपछि अर्का स्थानीय दसन साहले मन्दिरको निर्माण कार्य सम्पन्न गराएका थिए।

यो मन्दिर गुम्बज शैलीमा निर्माण गरिएको छ। मन्दिरको ठिक अगाडि प्राचीन पोखरी छ। यस मन्दिरको प्राङ्गणमा चुरे पर्वतीय क्षेत्रमा अवस्थित चन्द्रभागा क्षेत्रबाट ल्याइएका कलात्मक ढुंगा तथा शिलालेख छन्। यो मन्दिर रहेको ठाउँबाट दक्षिण दिशामा पर्ने चुरे पहाडको माथिल्लो डाँडामा सेनवंशी राजाहरूले आफ्नो शीतकालीन राजधानी बनाएका थिए।

शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध धाममध्ये एक हो। यस मन्दिरमा शिव प्रमुख देवताका रूपमा रहेका छन्। भारत तथा नेपालका भक्तजनहरूको आस्थाको केन्द्रका रूपमा यो मन्दिर रहेको छ। यहाँ प्रत्येक वर्ष वैशाखमा महिना दिने लामो मेला लाग्छ।

हिन्दु धर्मावलम्बीको पवित्र धार्मिक स्थलका रूपमा रहेको यो मन्दिरमा दर्शन गर्न सीमावर्ती देश भारत तथा पूर्वी तथा मध्य नेपालका मोरङ, सुनसरी, सिरहा, धनुषा, महोत्तरीसम्मका श्रद्धालुहरू आउने गरेका छन्। यहाँ लाग्ने वैशाखे मेला युवा पुस्तामाझ एकदमै लोकप्रिय छ।

शम्भु अर्थात् शिवको महिमा

शम्भुनाथ बाबाको नामबाट यस मन्दिरमा भगवान् शिवको आराधना गरिन्छ। मन्दिरमा पार्वती, गणेशलगायत विभिन्न देवीदेवताको वास रहेको छ।

प्रज्ञा प्रतिष्ठानको शब्दकोशले शम्भुको अर्थ ‘शिवजी, महादेव, सिद्ध पुरुष’ भन्ने दिएको छ। यस्तै नाथको अर्थ ‘मालिक, स्वामी, पति, ईश्वर’ दिइएको छ।

सनातन धर्ममा शिवलाई आदि स्वरूप मानिन्छ। शिव पुराणमा भगवान् शिवको महिमा र भक्तिको विस्तृत वर्णन गरिएको छ। शिव पुराणमा शिवलाई महेश्वर भनिएको छ । अर्थात् हरेक वस्तु र विषयबाट पर। शिव सर्वज्ञ, प्रकृतिका गुणहरूदेखि सर्वोपरि र परम सर्वोच्च ब्रह्म भनेर वर्णन गरिएको छ।

शिवलाई आफ्नो प्रजाका रक्षक र देवताका पनि देवता अर्थात् देवाधिदेव भनिन्छ। शिव पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणाको प्रतिमूर्ति बताइएको छ। जसलाई सहज प्रसन्न हुने र मनोवाञ्छित फल प्रदान गर्ने मानिन्छ।

शिव पुराणका अनुसार शिव सर्वव्यापी, सर्वज्ञ र सर्वशक्तिमान छन्। ऋग्वेदमा शिवलाई रुद्र भनी सम्बोधन गरिएको छ।

अथर्ववेदको स्तोत्रमा अनादि र अनन्त स्तम्भको विवरण दिइएको छ। शिवलाई साक्षात् ब्रह्म पनि भनिन्छ। यहाँ ब्रह्म भनेर भगवान् ब्रह्माको होइन, सिंगै ब्रह्माण्डको कुरा गरिएको छ। सम्भवतः यहींबाट शिवलिंगको पूजा परम्पराको प्रारम्भ भएको मान्यता छ।

सनातन धर्मका अनुसार ईश्वरका तीन चरित्र स्रष्टा, संरक्षक र संहारकमध्ये शिवलाई तेस्रो चरित्र अर्थात् विनाशकर्ताका रूपले चिनिन्छ।

सनातन धर्मका विभिन्न सम्प्रदायमध्ये शैव सम्प्रदायका अनुयायी शिवलाई आफ्नो प्रमुख देवता मान्छन्। शिवलाई महादेव आदि नामले सम्बोधन गरिन्छ। शिवलाई प्रायःजसो शिवलिंगका रूपमा पूजा गर्ने गरिन्छ। शिव परमेश्वर र आदि स्वरूप हुन्।

शिव नै सृष्टिको कारण भएकाले शिवको प्रतीक अर्थात् शिवलिंगको आकृति सृष्टिको मूल कारण ‘अणु’कै आकृति हो। ऋग्वेदमा शिवलाई रुद्र भनिएको छ। हावा वा आँधी, वायु, औषधी र सिकारसँग सम्बन्धित ऋग्वैदिक देवता हुन् रुद्र शिव। संस्कृत ग्रन्थ ‘शिव पुराण’ अठार पुराणमध्ये प्रमुख पुराण हो। शैव साहित्यको मूल भाग हो। यसले मुख्यतया शिव र पार्वतीको वर्णन गर्नुका साथै सबै देवताहरूको सन्दर्भ जोडेर सम्मान गर्छ।

शिवलिंग भगवान् शिवको प्रतीक हो। सनातन धर्मका चार प्रमुख सम्प्रदाय छन्– वैष्णव, शैव, शाक्त र स्मार्त।

वैष्णव सम्प्रदायले भगवान् विष्णुलाई सर्वोच्च मान्छ। यसका अनुयायीलाई वैष्णव भनिन्छ। वैष्णव सम्प्रदायका कृष्णवाद र रामवादजस्ता दश उपसम्प्रदाय छन्, जसले कृष्ण र रामलाई क्रमशः सर्वोच्च प्राणी मान्छन्।

शैव सम्प्रदायका आराध्य शिव हुन्। शिवका अरू पनि अनेक नाम प्रचलित छन्– महादेव, भोला, शंकर, महेश आदि।

भगवान् शिव निराकार, शाश्वत र असीम हुन्। पराशक्ति पूर्णतामा भगवान् शिव सर्वव्यापी, शुद्ध चेतना, शक्ति र मौलिक पदार्थको रूपमा अवस्थित छ। पराशक्ति पूर्णतामा भगवान् शिवको साकार तर परशिवता पूर्णतामा उनी निराकार हुन्। शिव सनातन धर्मका प्रमुख देवताहरूमध्ये एक हुन्।

सामान्यतः पत्थर, धातु वा चिम्ट्याइलो माटोले बनेको स्तम्भाकार वा अण्डाकार शिवलिंग नै भगवान् शिवको निराकार सर्वव्यापी स्वरूप हो। भगवान् शिवको प्रतीक शिवलिंग सर्वशक्तिमान निराकार विम्ब हो।

प्रकाशित: २२ कार्तिक २०८२ ११:०६ शनिबार





Source link

Leave a Comment