किन हुँदैन ए डिभिजन लिग ? दोषी को ?


लिग नहुँदा सबैभन्दा मारमा खेलाडी पर्ने गरेका छन् । लिग नभएपछि एन्फालाई हाइसन्चो भएको छ । क्लबहरूलाई लिग नखेल्दा खेलाडीका लागि धेरै पैसा पनि खर्च गर्नुपरेन । एकाध गोल्डकप खेल्दा खेलाडी अनुबन्ध गरेर क्लबले खेलाउने गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालमा पछिल्लो दुई सिजनदेखि शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन सकेको छैन र यसले खेलाडीहरूको भविष्यमा नकारात्मक प्रभाव पारेको छ।
  • एन्फा र क्लबहरूबीच राष्ट्रिय लिग आयोजना गर्ने सहमति भए पनि ए डिभिजन लिग यो वर्ष नहुने निर्णय भएको छ र राष्ट्रिय लिग पुस ९ देखि सुरु हुने छ।
  • खेलाडी संघले ए डिभिजन लिग अर्को वर्ष सार्नु अन्याय भएको भन्दै एन्फाको कदमविरुद्ध सामाजिक सञ्जाल र सडक संघर्षमा उत्रन बाध्य भएको जनाएको छ।

१९ कात्तिक, काठमाडौं । नेपालमा विभिन्न खेलका खेल संघहरू छन् । हरेक संघले वार्षिक रुपमा राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने, लेखा परिक्षण गर्नुपर्ने, खेलाडीलाई प्रशिक्षण गराउने, अन्तर्राष्ट्रिय सहभागिता जनाउनुपर्ने सामान्य नियम हुन् ।

यही कामकै लागि खेल संघहरू स्थापना हुने र खेल सञ्चालन हुने हो । फुटबल, क्रिकेट, भलिबल जस्ता चर्चित खेल संघहरू हुन् । उनीहरले गर्ने प्रतियोगिताहरू, सहभागिता जनाउने अन्तर्राष्ट्रिय खेलहरू पनि चर्चामा हुन्छन् । ‘मास गेम’ भएकोले पनि यी खेलहरूको चर्चा बढी हुन्छ ।

तर नेपालकै सबैभन्दा धेरै बजेट भएको र सबैभन्दा धेरै आर्थिक सहयोग विदेशबाट पाउने, धेरै कर्मचारी भएको, तलब खाने धेरै कर्मचारी भएको, सम्भवत पूर्वाधार र खेलाडी पनि धेरै भएको खेल संघ फुटबलकै अखिल नेपाल फुटबल संघ (एन्फा) हो ।

फुटबल युनिभर्सल खेल (विश्वव्यापी खेल) भएकोले यसको चर्चा विश्वका जुन राष्ट्रमा पनि उत्तिकै छ । तर नेपालमा यही खेलको नियमित रुपमा घरेलु लिग र प्रतियोगिताहरू हुँदैन भन्दा अचम्म नै लाग्छ । अचम्म नलागोस पनि किन पछिल्लो दुई सिजन नेपालको शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन सकेको छैन ।

पछिल्लो पटक २०७९-८० मा ए डिभिजन लिग आयोजना भएको थियो ।

अन्य खेलको राष्ट्रिय प्रतियोगिता भने जस्तै नेपाली घरेलु फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिता ए डिभिजन लिग नै हो । विश्वमै यही प्रणालीमा लिगहरू आयोजना भइरहेका छन् ।

तर अहिले नेपालमा भने लिग हुँदैन । लिग नयाँ प्रतिभावान् खेलाडीका लागि आफ्नो क्षमता देखाउने अवसर हो र राष्ट्रिय टिम छनोटको आधार पनि हो । तर लिग नियमित नहुँदा पछिल्लो समय राष्ट्रिय टिमका लागि यसै खेलाडी छनोट गरिन्छ ।

अनि लिग नभएपछि खेलाडीहरू आफ्नो रोजीरोटी र भविष्यका लागि विदेश पलायन भइरहेका छन् । यो उनीहरूको बाध्यता हो ।

लिग नहुँदा सबैभन्दा मारमा खेलाडी पर्ने गरेका छन् । लिग नभएपछि एन्फालाई हाइसन्चो भएको छ । क्लबहरूलाई लिग नखेल्दा खेलाडीका लागि धेरै पैसा पनि खर्च गर्नुपरेन । एकाध गोल्डकप खेल्दा खेलाडी अनुबन्ध गरेर क्लबले खेलाउने गरेको छ ।

किन हुँदैन ए डिभिजन लिग ?

ए डिभिजन लिग किन भएन ? ए डिभिजन लिग कहिले हुन्छ ? लिग नहुनुमा जिम्मेवार को ? लिग नहुँदा दोषी को ? नेपाली फुटबलमा अहिले उठ्ने गरेको सबैभन्दा ठूलो प्रश्न यिनै हुन् ।

यी प्रश्नहरूको स्पष्ट जवाफ न त एन्फाले दिएको छ न क्लबहरूले नै दिन सकेको छ । सबैले टालटुले जवाफ दिएरै टार्ने गरेका छन् ।

‘एन्फाको अहिलेको नेतृत्वलाई लिगको कुनै मतलव छैन । उनीहरूलाई फुटबल गर्नु नै छैन’ फुटबल समर्थकहरूको भनाइ यही छ । एन्फालाई नजिकबाट नियाल्नेहरू पनि यही भन्न थालेका छन् ।

एन्फा नेतृत्वले फुटबल गतिविध भइरहेको फुटबल चलायमान भइरहेको मात्र देख्छ भने प्रतिपक्षहरूले फुटबल गर्न नसकेको भनेर आरोप लगाउने गरिरहन्छन् । यो सामान्य नियम जस्तै बनिरहेको छ । एकले अर्कालाई आरोप लगाईरहँदा नेपाली फुटबलको गति उल्टोतिर गइरहेको छ ।

एन्फा र क्लबहरूले भर्खरै यस वर्ष राष्ट्रिय लिग आयोजना गर्ने विषयमा सहमति बनेको छ । तर कोही पनि यसबाट खुसी छैनन् । यो सहमतिका लागि मात्र गरिएको सहमति जस्तो मात्र देखिएको छ ।

राष्ट्रिय लिग हुनुको अर्थ यस वर्ष ए डिभिजन लिग नहुनु नै हो ।

ए डिभिजन लिग यो सिजन पनि किन हुन सकेन ? के कारणले यस वर्ष हुँदैन ? भनेर एन्फा महासचिव किरण राईलाई प्रश्न गर्दा उनले लिग नभएको भन्दा पनि केही समय पछि सरेको भन्ने दाबी गरे ।

किन हुँदैन ए डिभिजन लिग ? दोषी को ?

‘एन्फा र क्लबहरूको बीचमा राष्ट्रिय लिग गर्नेमा सर्वसम्मत सहमति भएको छ । त्यो सार्वजनिक पनि भइसकेको छ । त्यही अनुरुप हुन्छ’ राईले अनलाइनखबरसँग भने, ‘ए डिभिजन लिग पनि हुँदैछ । यो सिजनको अलिकति पर सर्‍यो । सी क्वालिफाइङ, सी डिभिजन हुँदै जिल्ला हुँदै सबै सकियो । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय लिग पनि सकिन्छ । हामी बाटोमै छौं । अनि त्यसपछि फेरि ए डिभिजन लिग सुरु हुन्छ।’

महासचिव राईले ए डिभिजन लिग आयोजनाको बाटोमै रहेको र अब होम एण्ड अवे प्रणालीमा ए डिभिजन लिग हुने बताए । ‘होम एण्ड अवेको रुपमा नेपाली फुटबल ऐतिहासिक रुपमा जाँदैछ । नेपाली फुटबल अब आधुनिकिरण बन्दैछ । व्यावसायिकतर्फ लैजानका लागि होम एण्ड अवे प्रणालीमा लिग गर्ने तयारीमा छौं’ उनले भने ।

तर एन्फाले भनेजस्तै लिग गर्नेमा भने ए डिभिजनका क्लबहरू, फुटबल खेलाडीहरूकै शंका छ ।

एन्फाले केही समयअघि होम एण्ड अवेको आधारमा ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको थियो । तर क्लबहरूले छोटो समयमा होम एण्ड अवेमा लिग खेल्न तयारी नपुग्ने र यसका लागि समय चाहिने भन्दै एन्फालाई सुझाव दिएको थियो ।

एन्फाले पनि तत्काल पत्रकार सम्मेलन गरेर क्लबहरूको सुझाव अनुसार होम एण्ड अवेका आधारमा लिग गर्न समय चाहिने भएकोले यो वर्ष नहुने घोषणा गर्दे यस वर्ष कुनै न कुनै फर्म्याटमा लिग गर्ने बताएको थियो ।

पछिल्लो समय एन्फा र क्लबहरू नै राष्ट्रिय लिग खेल्ने सहमतिमा पुगेपछि लिग नहुनुमा दोषी को ? किन लिग भएन भनेर प्रष्ट बुझ्न सकिन्छ ।

एन्फाले क्लबले तयारीका लागि समय माग गरेकोले ए डिभिजन लिगका लागि तयारीसहित पछि गर्ने बताइरहेको छ । तर के क्लबहरू नै ए डिभिजन लिग खेल्न तयार छन् त ? केही क्लबहरूलाई रेलिगेसनमा पर्ने डरकै कारण ए डिभिजन लिग खेल्ने पक्षमा छैनन् । ‘लिग खेल्दा २ करोड हाराहारीको खर्च लाग्छ । अनी केही क्लबलाई रेलिगेसनमा पर्ने डर पनि छ । उनीहरू त्यो जोखिम लिन चाँहैदैनन्’ एन्फा स्रोतले भन्यो, ‘एन्फा पनि आफ्नो भोटरहरू गुमाउन चाहँदैन । लिग नहुँदा पनि आफ्नो भोट सुरक्षित हुँदा एन्फालाई हाइसन्चो छ । क्लबहरू लिग नखेल्ने तर निर्वाचनमा मत हालेर त्यसबापत फाइदा लिने पक्षमा छन् ।’

किन हुँदैन ए डिभिजन लिग ? दोषी को ?

नयाँ मन्त्री आएपछि चर्चामा फुटबल

जेनजी आन्दोपछि बनेको नयाँ सरकारमा केही समयअघि मात्रै युवा तथा खेलकुद मन्त्रीको रुपमा आएका छन् जेनजी मन्त्री बब्लु गुप्ता ।

१० कात्तिकमा उनी खेलकुद मन्त्री बनेर आएपछि पछिल्लो एक साता नेपाली फुटबल चर्चामा रह्यो । यो चर्चाको कारण भने मैदानभित्र फुटबल भएर होइन । मैदानमा किन फुटबल भएन? मैदान बाहिर किन गफ मात्र भए? भन्ने गुनासोका कारण फुटबल चर्चामा रहेको हो ।

यो समयमा युवा तथा खेलकुद मन्त्री गुप्ताले नेपालको फुटबल र ए डिभिजन लिगकै विषयमा तीन फरक टिमसँग भेटघाट र छलफल गरे ।

यस्तै एन्फामा पनि बैठक भयो । यसो हेर्दा फुटबल चालयमान हुन्छ कि, भयो कि जस्तो देखियो । तर वास्तविकतामा भने जहिँको तही छ । मैदानमा केही भएको छैन ।

खेलकुदमन्त्रीले १३ कात्तिकमा एन्फा पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेट गरे । जहाँ एन्फा पदाधिकारीले सरकारले बजेट नदिएकोले लिग नभएको बताए । क्लबले एन्फाले लिग गर्नका लागि आवश्यक तयारी नगरेको बताए ।

एन्फा र क्लबहरूबीचको बैठकमा मन्त्री गुप्ताले लिग गर्नुपर्ने भनेपछि सेन्ट्रल भेन्युमै भएपनि ५० दिनभित्र लिग सञ्चालन गर्न निष्कर्ष निकाल्दै बैठक सकिएको थियो ।

मन्त्रालयको छलफलपछि ए डिभिजन लिग हुन्छ कि भन्ने झिनो आशा बढेको थियो ।

बैठकको मुख्य प्वाइन्ट नै लिग सुरु गर्नुपर्छ भन्ने थियो । लिग लगायत नेपाली फुटबल सुधारका लागि एन्फा सिइओ इन्द्रमान तुलाधरको संयोजकत्वमा ७ सदस्यीय कार्यदल पनि गठन भयो । त्यसपछि खेलाडीसँगसँग मन्त्रीले छलफल गर्दा कार्यदलमा दुई जना खेलाडी पनि सदस्य थप्न निर्देशन दिने भनेका थिए ।

तर मन्त्रालयमा भएको छलफलको निष्कर्ष अहिले लत्याइएको छ ।

१७ कात्तिकमा एन्फा र क्लबहरूबीच एन्फा कम्प्लेक्समा भएको छुट्टै छलफलमा भने ए डिभिजन लिग यो वर्ष नहुने निर्णय भयो ।

ए डिभिजन लिग होम एण्ड अवेका आधारमा अर्को वर्ष २०८३ पुसमा गर्ने गरी यो वर्ष राष्ट्रिय लिग गर्ने सहमति भयो ।

राष्ट्रिय लिगको नाटक

एन्फाको विधानै हरेक वर्ष शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने भनेर प्रष्ट लेखिएको छ । अनि नेपालमा हरेक वर्ष ए बी र सी अनि सी क्वालिफायरसहितको लिग साइकल हुन्छ । हरेक वर्ष बढुवा घटुवाको शैलीमा फुटबल लिगहरू आयोजना हुने गर्छ ।

तर पछिल्लो नियमित रुपमा लिग हुँदैन र लिग साइकल पूरा हुन पनि एन्फा कार्यमसितिको एक कार्यकाल नै लाग्ने जस्तो देखिएको छ ।

२०७९ साल असारमा आएको वर्तमान एन्फा नेतृत्वले अहिलेसम्म जम्मा एक पटक मात्र लिग आयोजना गरेको छ । जबकी अहिले चौथो पटक लिग आयोजाका लागि तयारी गर्नुपर्ने थियो । पछिल्लो दुई सिजन लिग नै हुन सकेन । अहिले यो सिजन पनि नहुने भएपछि लगातार तेस्रो सिजन ए डिभिजन लिग नहुने पक्का भएको छ ।

अनि ए डिभिजन लिगको विकल्पको रुपमा यस वर्ष राष्ट्रिय लिगलाई अघि सारिएको छ ।

राष्ट्रिय लिग २०८२ पुष ९ गतेदेखि सुरु गर्ने सहमति भएको एन्फाले जनाएको छ । जसमा पछिल्लो पटक (२०७९-८०) भएको ए डिभिजन लिगको शीर्ष ६ मा रहने क्लब र २०८२ कात्तिक १९ देखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल पुग्ने ४ क्लब गरी १० क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय लिग पनि नियमित रूपमा हुन सकेको छैन । पछिल्लो पटक एक दशकअघि २०७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो । जसमा थ्रीस्टार च्याम्पियन बनेको थियो । त्यसपछि राष्ट्रिय लिग हुन सकेको छैन । २०७९ सालमा पंकज विक्रम नेम्वाङ नेतृत्वमा नयाँ कार्यसमिति आएपछि नेम्वाङले पनि आफ्नो योजनामा राष्ट्रिय लिग सुरु गर्ने बताएका थिए । तर पछिल्लो तीन वर्षमा उनको भनाइ कार्यान्वयन भएन ।

एन्फा महासचिव किरण राई र एन्फा सिइओ इन्द्रमान तुलाधरसहित ए डिभिजनका १४ क्लबका प्रतिनिधिहरूसहित बसेको बैठकले फेरि राष्ट्रिय लिग आयोजना गर्ने सहमति गरेको छ ।

यस वर्ष ए डिभिजन लिग आयोजना गर्न सम्भव नहुने भएपछि एन्फाले क्लबहरूसँग राष्ट्रिय लिग आयोजना गर्ने प्रस्ताव गरेको थियो । त्यसमा क्लबहरूले सहमति जनाएका छन् ।

ए डिभिजनका ६ क्लबले राष्ट्रिय लिग खेल्ने भएपनि बाँकी ८ क्लबहरू भने त्यतिकै बस्नुपर्नेछ । उनीहरूले ए डिभिजन लिग खेल्न अर्को एक वर्ष भन्दा बढी समय कुर्नुपर्ने भएको छ ।

राष्ट्रिय लिगका लागि एन्फा र सबै क्लबहरूबीच सहमति हुनुले पनि भित्र केही पाक्दैछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । ‘राष्ट्रिय लिग आयोजना गर्नु भनेको निर्वाचन लक्षित खेल पनि हो । एन्फाले भोटको राजनीति गरिरहेको छ’ एक क्लबका पदाधिकारीले भने ।

आसन्न एन्फा निर्वाचनमा मतदातालाई प्रभावित गर्ने गरी अहिले एन्फा प्रेसिडेन्ट लिगमा १० टिम खेलाउने, केन्द्रमा महत्वपूर्ण विषयमा छलफल हुँदा एन्फा अध्यक्ष लगायत जिल्ला भ्रमणमा निस्कने, ए डिभिजन लिगको सट्टा राष्ट्रिय लिग गरेर झारा टार्न प्रयास गर्ने जस्ता कामहरू हुनुले पनिले पनि धेरै कुरा प्रष्ट पारिरहेको छ ।

किन हुँदैन ए डिभिजन लिग ? दोषी को ?

राष्ट्रिय लिग विजेताले एएफसी च्यालेन्ज लिग खेल्न पाउँछ ?

एन्फा र क्लबहरूबीच भएको सहमति अनुसार पुस ९ देखि हुने राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिग खेल्ने उल्लेख छ ।

तर एएफसीको प्रतियोगिता खेल्नका लागि क्लब लाइसेन्सदेखि धेरै कुराहरू आवश्यक पर्छ । यसअघिको प्रावधान अनुसार ए डिभिजन लिग विजेताले च्यालेन्ज लिग खेल्ने हो । त्यसमा पनि लिग विजेता क्लबसँग एएफसी क्लब लाइसेन्स अनिवार्य हुनुपर्छ ।

तर यहाँ त न लिग हुन्छ न क्लबहरूसँग क्लब लाइसेन्स छ । कुनै निश्चित नहुँदा एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिग खेल्न पाउने जनाएको छ ।

यसअघि नेपालमा लिग नहुँदा नेपाली क्लबहरूले एएफसी च्यालेन्ज लिगको पछिल्लो संस्करणमा सहभागिता जनाउनै पाएन । लिग नहुँदा क्लब लाइसेन्स पनि नहुने भएकोले नेपाली क्लबले मौका गुमायो ।

पछिल्लो पटक लिग विजेता चर्च ब्वायजले खेलेको थियो । दशरथ रंगशालम भुटानको पारोसँग २-१ ले पहिलो चरणमै पराजित भयो ।

एन्फा सिइओ इन्द्रमान तुलाधरले राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिग खेल्न पाउने दावी गरे । ‘राष्ट्रिय लिग विजेताले एएफसी च्यालेन्ज लिग खेल्न मिल्छ । हामीले त्यही कुरा एएफसीलाई पठाएको छ । हामीले राष्ट्रिय लिगमा एएफसी क्लब लाइसेन्सिङ लागु गर्छौँ भनेर भनेका छौँ । उनीहरूले क्राइटेरिया पठाएको छ । त्यो पुरा गर्‍यो भने खेल्न पायो ।’

तुलाधरले लिग बाहेक अन्य प्रतियोगिताको विजेताहरूले पनि एएपसी च्यालेन्ज लिग खेल्न पाउने प्रावधान रहेको दावी गरे । ‘राष्ट्रिय लिग, नकआउट च्याम्पियन, कप च्याम्पियन, एफए कप च्याम्पियनहरूले पनि पाउँछ ।’

राष्ट्रिय लिग खेल्ने क्लबहरूको आफ्नै घरेलु मैदान पनि छैन । राष्ट्रिय लिग जितेपनि नेपाली क्लबहरूले एएफसीको प्रतियोगिता खेल्न धेरै मापदण्ड पूरा गर्नुपर्छ । त्यसमा घरेलु मैदान पनि पर्छ । तर नेपालमा भने जुन क्लबको पनि दशरथ रंगशालालाई नै घरेलु मैदान मानिँदै आएको छ ।

‘नेपालमा जुन क्लबले राष्ट्रिय लिग जितेपनि दशरथ रंगशाला ने देखाउने हो । अब क्लब लाइसेन्सिङको पाटो क्लबहरूले पुरा गर्नुपर्‍यो । एन्फाले सहभागिताको लागि सहजीकरण मात्र गर्छ ।’ तुलाधरले भने ।

राष्ट्रिय लिग विजेता भएपनि क्लबले एएफसी क्लब लाइसेन्स पाउने सम्भावना कम छ ।

अहिलेकै अवस्थामा नेपाली क्लबसँग क्लब लाइसेन्सिङको सबै प्रक्रिया पूरा गर्ने स्रोत साधान छैन । होम ग्राउण्डदेखि धेरै कूरा पालना गर्नुपर्छ । विगतमा नेपालका क्लबले झुटा कागजात बनाएर क्लब लाइसेन्स लिँदा जरिवानामा परेका उदाहरण पनि छन् ।

खेलाडीको भविष्य अनिश्चित

नियमित लिग नहुँदा फुटबल खेल नहुँदा यसको सिधार मार खेलाडीलाई नै पर्छ । खेलाडीले काम नै नियमित खेल्न हो । त्यसैका लागि उनीहरूले आफ्नो जीवन दिएका हुन्छन् । प्रशिक्षण गरिरहेका हुन्छन् । तर फुटबलको मेरुदण्ड मानिने लिग नै खेल्न नपाउँदा खेलाडीहरू निराश मात्र छैनन् अन्योल भविष्य लिएर कोही विदेश पलायन भइरहेका छन् त कोही फुटबलबाट नै टाढिदैँ छन् ।

एन्फा अन्तर्गत नै रहेका पुटबल खेलाडी संघले ए डिभजन लिग नगरी राष्ट्रिय लिग गर्ने एन्फा र क्लबहरूको सहमितले खेलाडीमाथि अन्याय भएको बताएको छ ।

खेलाडी संघले सोमबार विज्ञप्ती जारी गर्दै खेलकुद मन्त्री र एन्फम क्लबहरूबीच मन्त्रालयमा भएको छलफललाई नै वेवास्ता गर्दै लिग अर्को वर्ष सार्नु अन्याय भएको जनाएको छ ।

किन हुँदैन ए डिभिजन लिग ? दोषी को ?

‘ति सबै छलफललाई वेवास्ता गर्दै ए डिभिजन लिग अझै अर्को वर्ष पुषमा सुरु गर्ने निर्णय गर्नु व्यावसायिक फुटबल खेलाडीहरू माथि ठुलो अन्याय भएको हाम्रो बुझाई छ ।’ खेलाडी संघका अध्यक्ष विक्रम लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ए डिभिजन लिग नहुँदा हजारौं खेलाडीहरू ए डिभिजनसहित अन्य लिग खेल्न वञ्चित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै खेलाडी संघले अब संघर्षमा उत्रन बाध्य भएको महसुस समेत गरेको छ । ‘खेलाडीको मर्म र भावनामाथि खेलवाड नै गर्ने यस निर्णयले खेलाडी संघ घोर भर्त्सना गर्दै एन्फाको यो कदमविरुद्ध मौखिक, लिखित र सामाजिक सञ्जालबाट उठेर अब सडक संघर्षमै उत्रन बाध्य भएको महसुस गराएको छ । यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा हुनेछ ।’

फुटबल गराउने एन्फा नेतृत्व नै निर्वाचन केन्द्रित हुँदै गतिविधि बढाउन थालेपछि खेलाडीहरू भने प्रत्यक्ष मारमा परिरहेका छन् ।





Source link

Leave a Comment