प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

न्युयोर्क सिटी मतदानस्थलमा देखिएको चिन्ह । फोटो : राजन काफ्ले
नयाँ मेयर छान्नका लागि न्युयोर्क सिटीमा भइरहेको मतदानमा अहिलेसम्म साढे १४ लाभन्दा बढीले मतदानका लागि चेकइन गरिसकेको न्युयोर्क सिटी बोर्ड अफ इलेक्सनले जानकारी दिएको छ । दिउसो ३ बजेसम्म १४ लाख ५१ हजार ९४२ जनाले मतदानका लागि चेकइन गरेका हुन् । जसमध्ये क्वीन्समा ३ लाख ४२ हजार ८ सय ८२, म्यानहटनमा ३ लाख ८३ हजार ४ सय ६७, ब्रोंक्समा १ लाख ४५ हजार ५९१ र ब्रुकलिनमा ४ लाख ७८ हजार ९०९ जनाले मतदानका लागि चेकइन गरेका छन् । स्टेटन आइल्याण्डमा १ लाख १ हजार ९३ जनाले चेकइन गरेका छन् । यो अग्रिम मतदान चेकइनसहितको नम्बर हो ।
यसपटकको न्युयोर्क सिटीको मेयरको चुनावमा ऐतिहासिक रुपमा उच्च मतदाताले मतदान गरेका छन् । सन् २००१ मा १४ लाख ८० हजार, २००५ मा १२ लाख ८९ हजार, २००९ मा ११ लाख ५४ हजार, २०१३ मा १० लाख ८७ हजार, २०१७ मा ११ लाख ६६ हजार, २०२१ मा ११ लाख २५ हजारले मतदान गरेका थिए । सन् २००५ देखिको रेकर्ड मंगलबार अपरान्हपछि नै तोडिएको थियो ।
न्युयोर्क सिटीका बासिन्दाहरुले आज चुनावको मुख्य दिन विहानैदेखि मतदान गरिरहेका छन् । आज नेपाली अमेरिकनहरु पनि उत्साहका साथमा मदानमा सहभागी भइरहेका छन् । मेयरका मुख्य उम्मेदवारहरू जोहरान मामदानी, एन्ड्रयू कुमो र कर्टिस स्लिवा रहेका छन् । त्यो बाहेक न्युयोर्कवासीहरूले सिटी काउन्सिल, पब्लिक एड्भोकेट र म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी लगायत अन्य दौडहरूमा पनि आफ्नो मत जाहेर गर्ने अवसर पाउनेछन् । मतदानका लागि विभिन्न मतपत्रका प्रस्तावहरू समेत रहेका छन् ।

आजविहान ६ बजेदेखि मतदानस्थल खुला भइसकेका छन् भने बेलुका ९ बजेसम्म मतदान गर्न सकिनेछ । मतदान गर्ने समयको चार्टका लागि बोर्ड अफ इलेक्शन्सको वेबसाइटमा यो पृष्ठ पनि हेर्न सक्नुहुन्छ। मतदानका लागि जानुअघि मतदान स्थल जाँच गर्नु उत्तम हुन्छ।
आफ्नो मतदान गर्ने ठाउँ पत्ता लगाउन तपाईंले बोर्ड अफ इलेक्शन्सको वेबसाइटमा तपाईंले दर्ता गरेको ठेगाना प्रविष्ट गर्नुहोस्। यसले तपाईंको तोकिएको मतदान केन्द्र बताउनेछ। तपाईंले आफ्नो मतपत्रको पूर्वावलोकन पनि पाउनुहुनेछ।
न्युयोर्क सिटीको आजको मतदानमा हजारौं नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । न्युयोर्कको अस्टोरियामा बस्दै आएका नेपाली अमेरिकन बासु फुलाराले आज बिहानै न्यूयोर्क शहरको मेयरको चुनावमा मतदान गरेको बताउदै यो शहरको भविष्यमा योगदान पुर्याउने एक सरल तर अर्थपूर्ण तरिका भएको बताएका छन् । फुलारा न्युयोर्कका कानुन व्यवसायी समेत हुन् भने लामो समयदेखि न्युयोर्कको क्वीन्समा बस्दै आएका छन् ।
मेरिल्याण्डका नेपाली मूलका राज्य सांसद ह्यारी भण्डारीले भर्जिनिया, न्युजर्सी र न्युयोर्कमा बसोबास गर्ने नेपाली अमेरिकन र समुदायहरूलाई आज चुनावको दिन भएको स्मरण गराउँदै बाहिर निस्केर मतदान गर्दै लोकतन्त्रको उत्सव मनाउन प्रेरित गरेका छन् । उनले भनेका छन् – “तपाईंको मत साँच्चै महत्त्वपूर्ण छ । यसलाई गणना गरौं र हाम्रो लोकतान्त्रिक भावनालाई बलियो बनाइराखौं ।”

