राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले ‘अविरल जनसाहित्य यात्रा’ को १०३ औं शृङ्खलामा प्रगतिवादी सशक्त कवि भवानी खतिवडाका एक दर्जन कविता सुनिएकाे छ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को १०३ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी उदयपुरकी सशक्त प्रगतिवादी स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता सुनिएकाे हाे।
राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालकाे अध्यक्षता र नेपाली छन्द कविताका कुशल अभियन्ता प्राडा देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
उक्त विशेष समारोहमा महासङ्घकी अध्यक्ष भूमिका सुब्बा विशिष्ट अतिथिका रूपमा आमन्त्रित थिइन् भने महासङ्घका महासचिव आर.सी.न्यौपाने र वरिष्ठ साहित्यकार एवं पूर्वमन्त्री शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।
सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सङ्घका सल्लाहकार वासुदेव अधिकारी, डा. सिर्जना शर्मा, युद्धप्रसाद स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाई, खेमराज निरौला, नारायण निरासी, प्रभाती किरण, त्रिलोचन आचार्य, सोमनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो।
संस्थाकाे विज्ञप्तिमा लेखिएकाे छ, अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गरेकी थिइन् र समारोहमा विशिष्ट अतिथि, विशेष अतिथि, कविनायक, अध्यक्ष महिला रहेका कारण विगतको भन्दा फरक देखिएकाे थियाे। हरेक महिना दोस्रो शनिबार हुने गरेकोमा तिहार परेका कारण तेस्रो शनिबार सारिएको र यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो।
वर्तमान स्थिति प्रतिकूल भएको भए पनि हामी स्रष्टाको काम निरन्तर गरि नै रहन्छौ। २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा. मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’ को १०३ औँ विशेष शृङ्खला भएकाे छ।
देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षा समेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेष रहेकाे विज्ञप्तिमा उल्लेख छ।
नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, साहित्यिक सङ्घसंसथामा क्रियाशीलता देखाइरहेकी, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा भवानी खतिवडालाई प्रस्तुत गरिएको हो।
यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामा गरिने समीक्षालाई समीक्षकसँग लिखित रूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो।
हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यता आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यता आत्मसात गर्ने अहिलेको समयका कुशल यिनै स्रष्टाका एक दर्जन कविता र ती कविताको समीक्षा प्रस्तुत गरिएकाे थियाे।
कविनायक भवानी खतिवडाले कविता सिर्जनाको रचनागर्भबारे जानकारी गराउँदै यति लामो समयदेखि सञ्चालन भइरहेको यो सोद्देश्यमूलक अविरल जनसाहित्य यात्राको १०३ औँ शृङ्खलामा मात्र आफू जोडिन आइपुगेको र विगतमा निकै छुटाइरहेको महसुस भएको र आजका दिनमा गर्वधोध पनि भएको बताइन्।
उनले भनिन्, नेपाली छन्द कविता अभियानका शिखर व्यक्तित्व प्राडा देवी नेपाल आज मेरा कविताका समीक्षकका रूपमा उपस्थित भइदिएको पक्ष पनि अत्यन्त सुखद रहेको छ। म आफू पनि छन्द साधनाकी साधक भए पनि प्राकृतिक सम्पदाले भव्य रहेको यो मुलुककी नागरिक पनि भएकीले वर्तमान म आफू नियात्रा लेखनमा अलि बढी सक्रिय रहेकी छु।
मेरो लेखनको उद्देश्य राष्ट्रवन्दना, समाजका कुरूप सामाजिक विसङ्गति प्रहार, निजामती सेवाका सबै भ्रष्ट र बेइमान छैनन्, ९० प्रतिशत इमानदार छन् तर उनीहरूको स्वाभिमानको अपमान भएको महसुस भएपछि आफूले कविता सिर्जना गरेको, जापानले तीन हजार मिटरभनदा केही बढी उचाइ भएको पहाडलाई हिमाल भनेर प्रचार गरेको तर हाम्रो मुलुकमा त ५,१७६ मिटरमा त बस्ती बसेको छ र हाम्रो देशले ५,८०० मिटरभन्दा बढी उचाइका शिखरलाई मात्र हिमाल भनेर परिभाषित गरेको छ अनि संसारका दश सर्वाेच्च शिखरमध्ये ८ ओटा त हाम्रै मुलुकमा रहेकाे बताइन्।
हामीकहाँ १,७९२ ओटा हिमाल रहेका छन्। मलाई हाम्रो यो प्राकृतिक भव्यता गर्वलायक लागेपछि हिमाल विषयमा कविता लेखेको, हाम्रो आस्था वा विचार बिरामी हुँदा, आदर्श स्खलित भइरहेको देख्दा मन दुखेपछि कविता लेखेको; कवि बन्नसक्दिन कि भन्ने लागेर पनि कविता लेखेको, देशलाई देशजस्तो बनाउन पाए हुन्थ्यो भन्ने लागेर पनि कविता लेखेको, नागरिक पलायन हुने र आधुनिकताका नाममा विकृति मौलाएको पीडा पनि कवितामा अभिव्यक्त गरेको रचनागर्भबारे जानकारीसहित उनले मन्दाक्रान्ता छन्दको ‘देश यो जुर्मुराओस्’ शीर्षकको, शार्दूलविक्रीडित छन्दको ‘राष्ट्रवन्दना’ शीर्षकको, अनुष्टुप् छन्दको ‘चेतनापुञ्ज’ शीर्षकको र मन्दाक्रान्ता छन्दको ‘देवकोटाको सम्झनामा’ शीर्षकको अत्यन्त सुन्दर, सशक्त र वैचारिक कविता वाचेका थिए।
त्यसैगरी सहयोगी कविहरू गणेश खतिवडाले इन्द्रबज्रा छन्दको ‘छचल्किएँ म’, दिनेश पाण्डेले अनुष्टुप् छन्दको ‘प्रश्नपुञ्ज’ र उपजाती छन्दको ‘भेडो’ , डा. सिर्जना शर्माले मुक्त लयको ‘अन्तिम कथा’ , राधा कँडेलले उपेन्द्रबज्रा छन्दको ‘स्वाभिमानी अभाव’ , शान्ति पौडेलले उपजाती छन्दको ‘छाउगोठ’ र दिक्पाल छन्दको ‘आमा’ को र प्रभाती किरणले उपजाती छन्दको ‘हिमाल’ कविता त्यत्तिकै सुन्दर, सशक्त र रूपान्तरणको सन्देश बोकेका कविता वाचेका थिए।
वाचित एक दर्जन कवितामाथि टिप्पणीसमेत गर्दै प्रमुख अतिथि प्राडा देवी नेपालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०३ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको पनि देखिएको छ बताए।
२०३० असार १२ मा उदयपुर जिल्लाको नेपालटारमा माता अम्बिकादेवी खतिवडा र पिता डिल्लीप्रसाद खतिवडाकी जन्तरी सुपुत्रीका रूपमा जन्मिएकी भवानी खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट कृषि डिप्लोमा, बी.एड., कानुनमा एलएलबी र ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गरी हाल नेपाल सरकारको सेवामा रहेका छन्। हाल तीनकुने, काठमाडाैंमा बसोवास गरिरहेकी खतिवडाका ‘घामभन्दा पहिले’ नियात्रा २०७८, ‘चारखोलाको आँगनीमा’ पद्यनियात्रा २०७९, ‘आकाश ओढेको डोल्पो’ नियात्रा २०८०, ‘प्रणाम सगरमाथा’ नियात्रा २०८१ जस्ता नियात्राका कृति प्रकाशित भएका छन्।
‘छन्द सारथी’, ‘हिमाल हेर्ने पाइलाहरू’, ‘नेपाली प्रतिनिधि नियात्रा’जस्ता कृतिको सम्पादनसमेत उनले गरेका छन्। भवानी खतिवडा प्रकृतिको जीवन्त चित्रण गर्ने, सामाजिक बेथितिलाई शालीन ढङ्गले उजागर गर्ने र रूपान्तरणको ध्वन्यार्थ बडो सुन्दर तरिकाले सम्प्रेषण गर्ने, सुन्दर विम्ब प्रयोगका माध्यमबाट सिर्जनालाई अत्यन्त कलात्मक पार्ने स्रष्टा हुन्।
उनको व्यक्तित्व कर्मचारी, लेखक, सङ्गठकका रूपमा सक्रिय रहेको छ। आफू काम गर्ने र अरूलाई पनि गराउने, धाराप्रवाह अभिव्यक्ति दिन सक्ने, कविको कवितावाचनसँगै कवितामै तत्कालै त्यही छन्दमा समीक्षा लेख्नसक्ने, देखेको कुरा मात्र लेख्ने, कवितामा पनि साहसी, ‘चारखोलाको आँगनीमा’ शीर्षकको पद्य नियात्रा लेखेकी, देखेको कुरालाई दृश्यात्मक रूपमा लेख्नसक्ने अनि युवालाई उत्प्रेरणा प्रदान गर्ने स्रष्टा हुन्।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले राष्ट्रसेवा, सिर्जना, साहित्यिक सङ्घसंस्थामा सक्रियता, सङ्गठन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय स्रष्टा भवानी खतिवडालाई आज हामीले सुन्यौँ।
कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ, युवापलायनका, विकृतिका, भ्रष्टाचारका, भागबण्डाका प्रवृत्ति नेपाली राजनीतिले भित्र्याएको प्रति चिन्ताभाव अभिव्यक्त भएको छ, कविका कविताले प्रौढोक्तिबोध गरेका छन्।
सत्ता जनजीविकासँग नजोडिएको, अपेक्षाअनुसार समाज रूपान्तरण नभएको, विकृत परम्परा समाजमा विद्यमान रहेका पीडा कवितामा व्यक्त भएको छ। सुन्दर, सरल र सपाट कविता सुन्दा कविको चेतना सशक्त रहेको देखिन्छ।
प्रकाशित: १६ कार्तिक २०८२ १०:१८ आइतबार
