संस्कृति, परम्परा र समाज एक अर्काका परिपूरक हुन्। समाजको रीतिथिति त्यस समाजका बासिन्दाले अपनाएको संस्कृति र परम्परामै आधारित हुन्छ। एकै धर्मका अनुयायी भए पनि विभिन्न समुदायमा बस्ने मानिसको परम्परा र संस्कार आफ्नै ढंगका हुन्छन्।
केही दशक अघिसम्म काठमाडौं उपत्यकामा नेवार समुदाय र खस आर्यको संस्कृति बढी प्रचलित थियो। उपत्यकाका बासिन्दा पढाइ र कामको सिलसिलामा विदेश जान थालेपछि र नेपालमा ब्रिटिस शासन नभए पनि ब्रिटिस साम्राज्यवादको प्रभावका कारण क्रिसमस र रोमन क्यालेन्डरअनुसारको नयाँ वर्ष जनवरी १ मा मनाउने चलन पनि समावेश हुन पुग्यो। तर उपत्यका र पहाडी क्षेत्रहरूमा मधेस केन्द्रित छठ, मगर समुदायको ल्होसारजस्ता विविध नेपाली समुदायले मनाउने अन्य परम्परा र संस्कृतिको भने त्यति प्रभाव थिएन । धेरैलाई त ती पर्वबारे ज्ञान पनि थिएन। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि भने बिस्तारै परिवर्तन आउन थालेको छ।
पछिल्ला केही वर्षयता काठमाडौंमा छठ पर्व जसरी मनाइँदै आएको छ, विशेषगरी यस वर्ष देखिएको श्रद्धा र उत्साहले यसलाई थप अर्थपूर्ण बनाएको छ। यसले निःसन्देह देखाउँछ कि नेपालमा संघीयताले देशभरका विविध संस्कृति, धर्म र परम्पराको मेलमिलाप गराउँदै एकअर्काप्रति सम्मान गर्न प्रेरित गरेको छ।
काठमाडौं उपत्यकाको पुरानो परम्परा अनुसार यहाँ सधैं हिन्दु र बौद्ध दर्शनको संगमस्थल रहँदै आएको छ। नेपाल संसारकै एक मात्र हिन्दु राज्य भएको बेला पनि उपत्यकाका बासिन्दा धर्मनिष्ठका रूपमा परिचित थिए। यहाँका हिन्दु र बौद्ध संस्कृतिहरू मुख्यतया पहाडी र हिमाली क्षेत्रका बासिन्दा तथा नेवार समुदायको अभ्यासमा आधारित थिए तर नेपाल सधैं त्यस्तो देशका रूपमा चिनिन्छ, जहाँ हिन्दु र बौद्ध बहुसंख्यक भए पनि इसाई, मुस्लिम, जैन लगायत अन्य धर्मका अनुयायीलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ। समय बित्दै जाँदा हामी उपत्यकावासीले संस्कार र परम्परामा क्रमिक परिवर्तन महसुस गर्न थालेका छौं।
विभिन्न धर्म, समुदाय र देशका बासिन्दाबाट सिकिएका र उनीहरूले ल्याएका चलनचल्ती पनि हाम्रो संस्कृतिमा मिसिन थालेका छन्। यही सांस्कृतिक आदानप्रदानले नेपाली समाजलाई अझ खुला र सहिष्णु बनाएको छ। देशभित्रको मात्र नभएर छिमेकी देशहरूको रीतिरिवाज, भोजन, पोसाक वा उत्सवको प्रभावले हामीलाई फरक तरिकाले जोडेको छ। यही मिश्रणले नेपाललाई बहुरंगी बगैंचाजस्तै बनाएको छ, जहाँ प्रत्येक फूलको आफ्नै सुगन्ध छ। समग्रमा सबैले मिलेर सुगन्ध फैलाएका छन्।
संघीयता लागु भएपछि तराई क्षेत्रका संस्कृति र परम्पराले उपत्यकामा सकारात्मक प्रभाव पारेका छन्। यसले पहाड र हिमालका बासिन्दालाई त्यस्ता संस्कृतिसँग परिचित गराएको छ, जुन पहिले त्यति व्यापक रूपमा परिचित थिएनन्।
छठ त्यस्तै एक महत्त्वपूर्ण पर्व हो, जसलाई मधेसका मानिसले आफ्ना पुर्खाले तय गरेका परम्परा अनुसार अत्यन्त श्रद्धा र आस्थासाथ मनाउँछन्। अहिले त राजधानीमा मात्रै होइन, देशका धेरै सहर र गाउँमा पनि छठको तयारी देख्न सकिन्छ। यसले हामीबिचको दुरी घटाएको छ र सबै नेपालीलाई सांस्कृतिक रूपमा नजिक ल्याएको छ।
केही दशकअघि काठमाडौंमा हुर्कंदा दसैं र तिहारपछि छठ भन्ने पर्व छ भन्ने कुरा धेरैलाई थाहा नै थिएन। तराईसँग पारिवारिक सम्बन्ध भएका केही घरपरिवार मात्र यस पर्वबारे जानकार थिए तर उपत्यकामा यसलाई मनाइँदैनथ्यो। रोचक कुरा के छ भने उपत्यकाका मानिस दशौं दशकदेखि क्रिसमस र रोमन नयाँ वर्ष उत्साहका साथ मनाइरहेका छन् तर छठ र ल्होसारजस्ता नेपाली पर्व त्यति व्यापक रूपमा परिचित थिएनन्।
संघीयता स्थापनापछि सरकारले छठ, ल्होसार, इद, क्रिसमसजस्ता पर्वमा सार्वजनिक बिदा दिन थालेको छ। मिडियाले पनि यी पर्वहरू कसरी र कहाँ मनाइन्छ भन्ने विषयमा समाचार र प्रसारण गर्न थालेपछि पहाड र हिमालका बासिन्दा पनि मधेसलगायत अन्य समुदायको पर्वबारे जानकार हुन थालेका छन्। त्यससँगै तराईका बासिन्दाले पनि पहाडी परम्पराबारे ज्ञान प्राप्त गरेका छन्। यसले परस्पर संस्कृतिको सम्मान र अध्ययन गर्न सहयोग पुगेको छ।
अब मिडियाको जिम्मेवारी अझ बढेको छ– यी विविध संस्कृतिको प्रस्तुतिलाई सन्तुलित रूपमा देखाउँदै सबै समुदायका मूल्य र परम्परालाई समान ठाउँ दिनु अत्यावश्यक छ। यसरी मात्र संघीय नेपाल साँचो अर्थमा ‘संस्कृतिको बगैंचा’ बन्न सक्छ।
छठ पूजा मुख्यतः मधेसमा अत्यन्त श्रद्धा र भक्ति भावसाथ मनाइन्छ। यो सूर्यदेव र षष्ठी मातालाई समर्पित पर्व हो। वैदिक धर्म र हिन्दु परम्परामा सूर्यदेवताको विशेष स्थान छ। छठ पर्व चार दिनसम्म मनाइन्छ र यस अवधिमा व्रत, स्नान, भजन र सूर्यदेव तथा षष्ठी मातालाई पूजा र प्रसाद अर्पणजस्ता विधिहरू गरिन्छ।
परिवार र छरछिमेकीबिच एकता र सद्भाव बढाउने यस पर्वमा विशेष गरी सन्तानको दीर्घायु र स्वास्थ्यको कामना गरिन्छ। मधेसका मानिस विश्वास गर्छन् कि छठ पर्व श्रद्धापूर्वक गरेमा सन्तानको कल्याण हुन्छ र जसका सन्तान छैनन्, उनीहरूलाई पनि परिवार विस्तारको आशीर्वाद प्राप्त हुन्छ। यसले पूरै समाजमा धार्मिक र आध्यात्मिक चेतना फैलाउँछ।
नेपालको छिमेकी मुलुक भारतमा पनि छठ पर्व अत्यन्त धुमधामसाथ मनाइन्छ । विशेषगरी नेपालसँग सिमाना जोडिएका विहार, उत्तर प्रदेश, झारखण्ड राज्यमा यसको विशेष प्रभाव देखिन्छ। यद्यपि अन्य राज्यमा पनि यो पर्व मनाइन्छ।
छठका चार दिनमा नहाय–खाय, खरना, सन्ध्या अघ्र्य र उषा अघ्र्यजस्ता विधिहरू गरिन्छ। दसैंमा नवदुर्गा पूजा मुख्यतया पुरुषहरूले गर्ने भए पनि छठ पूजामा महिलाहरूको भूमिका प्रमुख हुन्छ। उनीहरूले परिवारको सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै सबै विधि अत्यन्त निष्ठा र कठिन साधनासहित पालना गर्छन्। छठ मधेस प्रदेशको मुख्य पर्वका रूपमा जनकपुरमा विशेष रूपमा मनाइन्छ, जहाँ सीतासँग सम्बन्धित कथाहरू छन्। साथै वीरगन्जमा पनि यसले विशेष महत्त्व पाएको छ।
अब छठ पर्वबारे ज्ञान र स्वीकार्य नेपालभर फैलिएको छ। उपत्यकामा पनि कमलपोखरी, गहना लुकाउने पोखरी र बागमती नदी किनारमा विशेष व्यवस्थासहित छठ पूजा गरिन्छ। व्रत गर्नेहरूका लागि पूजा गर्न सहज वातावरण बनाइएको हुन्छ र दर्शन गर्न चाहनेहरूका लागि पनि सुविधा मिलाइएको हुन्छ। यसरी पर्वहरूको साझा अभ्यासले नेपाली समाजलाई नयाँ एकताको अनुभूति दिलाइरहेको छ।
संघीयता खारेज गर्नुपर्ने बहस चलिरहेको समयमा यस्ता पक्ष गम्भीर रूपमा विचार गर्नुपर्ने हुन्छ । जेनजी आन्दोलनपछि पटकपटक संघीय गणतन्त्र प्रणाली हटाउने कुरा उठ्ने गरेको छ, तर यो हाम्रो संविधानले सुनिश्चित गरेको व्यवस्था हो, जुन दशकौंको जनआन्दोलनको उपलब्धि हो। यसले नेपालभरका विभिन्न समुदायलाई नजिक्याएको छ। नजिकिनु भनेको एकता हुनु हो, जसले देश विकासको कार्यमा सहजता ल्याउँछ।
नेपालमा संघीय लोकतान्त्रिक प्रणाली संस्थागत हुन सकेको छैन। यसको कारण अहिलेसम्म कुनै पनि सरकार स्थायी हुन नसक्नु हो। सात प्रदेश त बने तर तिनको शासनमा केन्द्रीय सरकार र प्रमुख राजनीतिक दलहरूको हस्तक्षेप बढेको गुनासो छ। अब संघीयताको राम्रा पक्षहरू, जसको परिकल्पना हाम्रो संविधानमा गरिएको छ, जोगाएर अगाडि बढ्नु जरुरी छ।
संस्कृति र परम्पराको एकीकरणले देशभित्र सामञ्जस्य र सहअस्तित्व बढाउँछ। विभिन्न समुदायका परम्परा, विश्वास र चलन मिलेर बनेको सांस्कृतिक मेलले सहिष्णुता र स्वीकार्य बढाउँछ। आगामी निर्वाचन नजिकिँदै गर्दा वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले संविधानअनुसार निर्वाचन सम्पन्न गर्न पाउनुपर्छ, ताकि देशमा स्थिरता स्थापना होस्।
नयाँ सरकार बनेपछि यस्ता सांस्कृतिक मेलमिलाप र सद्भावका पक्षहरूलाई पुनरावलोकन गरी सोचविचारपूर्वक निर्णय लिनु आवश्यक छ। संघीयता खारेज गर्नुभन्दा यसलाई सहज, कम खर्चिलो र प्रभावकारी बनाएर संस्थागत गर्नु जरुरी छ। यही बाटोले नेपालको एकता, विविधता र विकासको साँचो बाटो देखाउँछ।
प्रकाशित: १४ कार्तिक २०८२ ०८:११ शुक्रबार
