अनाथालयबाट अमेरिका लगिएका विदेशी बालबालिकालाई डिपोर्टको चिन्ता



प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार

अनाथालयबाट अमेरिका लगिएका विदेशी बालबालिकालाई डिपोर्टको चिन्ता

सन् १९६६ मा सिर्ली चुङ मात्र एक वर्षकी थिइन्, जब उनलाई दक्षिण कोरियाबाट अमेरिकाको एउटा परिवारले दत्तक लियो।

कसैको आफ्नै सन्तान नभएर वा सामाजिक, कानुनी कारणले अरूको बच्चालाई आफ्नै सन्तानझैँ पाल्ने र कानुनी रूपमा जिम्मेवारी लिने प्रक्रिया वा व्यक्तिलाई दत्तक भनिन्छ। बालदत्तक प्रक्रिया कानुनी रूपमा अदालतको स्वीकृतिबाट पूरा हुन्छ।

उनका जन्म पिता अमेरिकी सैनिक थिए। उनी चुङको जन्मपछि तत्काल अमेरिका फर्किएका थिए। पछि आमाले उनलाई स्याहार गर्न नसकेपछि सोलस्थित एउटा अनाथालयमा राखियो। अहिले उनी ६१ वर्षकी छिन्।

अनाथालयबाट अमेरिका लगिएका विदेशी बालबालिकालाई डिपोर्टको चिन्ता

अनाथालयबाट अमेरिका लगिएका विदेशी बालबालिकालाई डिपोर्टको चिन्ता

एक वर्षपछि उनलाई टेक्सासका दम्पतीले दत्तक लिएर अमेरिका लगे।

सिर्लीले अमेरिकाकै अन्य युवाहरूझैँ सामान्य जीवन बिताइन्। विद्यालय गइन्, गाडी चलाउने अनुमति पाइन्, बारमा काम पनि गरिन्।

“म पनि ८० को दशककी अमेरिकी किशोरीजस्तै हुर्किएँ — रमाएँ, गल्ती गरें, र जीवन बाँचें,” उनी भन्छिन्।

विवाहपछि उनले सन्तान जन्माइन्, पियानो शिक्षिका बनिन्, र दशकौँसम्म आफ्नो अमेरिकी पहिचानमाथि कुनै शंका राखिनन्। तर सन् २०१२ मा उनको जीवन नै उल्टियो।

सोसल सेक्युरिटी कार्ड हराएपछि नयाँ कार्ड बनाउन गएकी सिर्लीलाई कार्यालयले आफ्नो नागरिकता प्रमाणित गर्न भन्यो। त्यसपछि मात्रै उनलाई आफू अमेरिकी नागरिक नभएको थाहा भयो।

अनाथालयबाट अमेरिका लगिएका विदेशी बालबालिकालाई डिपोर्टको चिन्ता

“त्यो थाहा पाएपछि म मानसिक रूपमा भाँचिएँ,” उनी सम्झिन्छिन्।

सिर्ली मात्र होइनन्। १८ हजारदेखि ७५ हजारसम्म अमेरिकी दत्तक सन्तानहरू नागरिकताविहीन रहेका अनुमान गरिएको छ। तीमध्ये धेरैलाई त आफू नागरिक नभएको थाहा नै छैन।

कसैकसैलाई त जन्म देशमा नै फर्काइदिएको छ। दक्षिण कोरियाबाट दत्तक लिइएका एक अमेरिकी नागरिकताविहीन व्यक्तिले २०१७ मा निर्वासनपछि आत्महत्यासमेत गरेका थिए।

सिर्लीले आफ्नो अवस्थाका लागि अभिभावक, विद्यालय र सरकारलाई दोष दिन्छिन्।

“सबै वयस्कहरूले मलाई ‘अब अमेरिका आइपुगिन्, ठीक हुन्छे’ भने। तर के म ठीक छु?” उनी प्रश्न गर्छिन्।

१९७३ मा इरानबाट दुई वर्षको उमेरमा अमेरिकामा दत्तक लिइएकी अर्की महिलाले आफ्नो नाम नखुलाउन अनुरोध गर्दै भनिन्, “म सधैँ आफू अमेरिकी नागरिक हो भन्ने विश्वासमा हुर्किएँ।”

तर ३८ वर्षको उमेरमा पासपोर्ट लिन खोज्दा उनले अमेरिकी नागरिक नभएको थाहा पाइन्। उनको नागरिकता प्रमाणित गर्ने कागजात हराइसकेका रहेछन्।

“मलाई कहिल्यै लागेन कि म आप्रवासी हुँ। म यहाँ भाषा सिक्दै, संस्कृतिसँग संघर्ष गर्दै आएको होइन, मेरो पहिचान नै मेटाइयो,” उनी भन्छिन्।

दशकौँसम्म अदालत र सरकारद्वारा स्वीकृत अन्तरदेशीय दत्तकहरू स्वतः अमेरिकी नागरिक बन्दै आएका थिएनन्। धेरै अभिभावकहरूले कागजात पूरा गर्न वा प्राकृतिक नागरिकता लिन चुकेका देखिएको छ।

सन् २००० को ‘चाइल्ड सिटिजनसिप एक्ट’ ले केही सुधार गरेको थियो। तर यो कानुन फेब्रुअरी १९८३ पछि जन्मिएका वा त्यसपछि दत्तक लिइएका बालबालिकामा मात्र लागू भयो। त्यसअघि आएका हजारौँ बालबालिका अझै नागरिकताविहीन नै रहेका छन्।

कङ्ग्रेसमा यो उमेर सीमा हटाउन पटक–पटक प्रस्ताव गए पनि पास हुन भने सकेको छैन।

डेबी प्रिन्सिपे नामकी महिलाले भने आफ्ना दुई दत्तक सन्तानका लागि दशकौँदेखि नागरिकता पाउन लडिरहेकी छिन्। उनले १९९० को दशकमा रोमानियाको अनाथालयबाट दुई बालबालिका दत्तक लिएकी थिइन्।

गत मे महिनामा नागरिकता आवेदन पुनः अस्वीकृत भयो। त्यसपछि होमल्यान्ड सेक्युरिटीमा छोरी बुझाउनुपर्ने चेतावनीसमेत आएको उनले बताइन्।

मानवअधिकारकी वकिल एमिली हाउ भन्छिन् “यो त राजनीतिक इच्छाशक्ति मात्रैको कुरा हो। दत्तक सन्तानहरूलाई जैविक सन्तानसरह अधिकार दिनु त सीधा र न्यायसंगत समाधान हो।”

“यी सबै मानिसहरू आफ्नै गल्तीका कारण होइन, दुई–तीन वर्षको उमेरमा अमेरिकाको नीतिअनुसार ल्याइएका बालबालिका हुन्,” उनले भनिन्।

सिर्ली चुङ अहिले ६० को दशकमा पुगेकी छिन्। उनी अमेरिकी राष्ट्रपतिलाई आग्रह गर्छिन् “हामी अवैध होइनौँ। हामीलाई सानो उमेरमा जहाजमा राखेर यहाँ ल्याइयो। कृपया हाम्रो कथा सुन्नुहोस् र अमेरिकाले ती बच्चाहरूलाई दिएको नागरिकताको वाचा पूरा गरिदिनुहोस्।”

डोनाल्ड ट्रम्प दोस्रोपटक ह्वाइट हाउस फर्किएपछि निर्वासन नीतिमा कडाइ भएको छ। उनले “संघीय कानुन उल्लङ्घन गर्ने सबै विदेशीहरूलाई तुरुन्त हटाइनेछ” भनेर घोषणा गरेका छन्।

ट्रम्प प्रशासनका अनुसार २५० दिनभित्र २० लाख ‘अवैध आप्रवासी’ ले देश छोडेका छन्। जसमा १.६ मिलियनले स्वेच्छाले र ४ लाखभन्दा बढीलाई जबरजस्ती निर्वासन गरिएको छ।





Source link

Leave a Comment