पर्यटकीय सिजनमा भरिभराउ गन्तव्य, प्रतिकूल मौसमले थप्यो चुनौती


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मनाङ र मुस्ताङमा भारी वर्षा र हिमपातले ७५० पर्यटक उद्धार गरिएको छ र अन्नपूर्ण पदयात्रामा पूर्णरूपमा रोक लगाइएको छ।
  • नेपाल पर्यटन बोर्डले पर्वतारोहण र पदयात्रामा रहेका पर्यटकलाई सतर्क रहन र मौसम सुधार नभएसम्म आश्रमस्थलमै बस्न ट्राभल एडभाइजरी जारी गरेको छ।
  • मौसम विज्ञान विभागले १० देखि १२ कात्तिकसम्म वर्षा र हिमपात हुने सम्भावना जनाएको छ र १३ कात्तिकदेखि बंगालको खाडीको चक्रवातले मौसम प्रतिकूल हुने अनुमान गरेको छ।

११ कात्तिक, काठमाडौं । नेपालमा आन्तरिक तथा वाह्य पर्यटकका लागि घुमफिरको मुख्य सिजन जारी छ । पर्वतारोहणका लागि कीर्तिमानी संख्यामा आरोहीले अनुमति लिएका छन् । सोहीकारण मुलुकका सबैजसो व्यस्त पर्यटकीय गन्तव्यमा पर्यटकको घुइँचो छ ।

यसै अवस्थामा मौसममा आएको परिवर्तनले भने देशैभरि पर्यटकीय गतिविधिमा चुनौति थपेको छ । यसले गन्तव्य जाने योजना बनाइरहेकाको यात्रामात्र रोकेको छैन, विभिन्न गन्तव्यमा पुगेका पर्यटकले सास्तीसमेत भोग्नुपरेको छ ।

मंगलबार मनाङ र मुस्ताङमा पर्यटकले अधिक समस्या भोग्नु पर्‍यो । अन्नपूर्ण पदयात्रा र सगरमाथा आधार शिविर पदयात्रामा यतिबेला हजारौं स्वदेशी तथा विदेशी पर्यटक पुगेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनाङ र मुस्ताङमा भारी वर्षा भयो । पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

वर्षासँगै हिमपातका कारण त्यस भेगमा पुगेका हजारौं पर्यटकले सास्ती भोग्नु परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले अन्नपूर्ण पदयात्रा शिविरतर्फको पदयात्रामा पूर्णरूपमा रोक लगाएको छ ।

आज सुरक्षाबलले मनाङ र मुस्ताङमा हिमपातले अवरुद्ध सडक खुलाउनेदेखि लेक लागेर बेहोस बनेका पर्यटकको उद्धारलाई समेत प्राथमिकता दिए ।

हिमाली जिल्लामा हिमपातमा फसेका ७ सय ५० पर्यटकको मंगलबारै उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकको उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७ सय ५० पर्यटक उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का अध्यक्ष प्रवेश गुरुङका अनुसार आज मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भयो । जसले गर्दा त्यस भेगमा पुगेका यात्रु र उनीहरूका सवारीसाधन झर्न सक्ने अवस्था छैन । सोही अनुसार स्थानीय प्रशासनले यात्रा नगर्न सचेत गराएको समेत उनले जानकारी दिए ।

आज नेपालको बढी व्यस्त रहने सगरमाथा क्षेत्रमा समेत हिमपात र वर्षाले पर्यटकलाई सास्ती भयो । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङबोचे भन्दा माथिल्लो क्षेत्रमा आज हिमपात भयो । नाम्चेबजार र तल्लो क्षेत्रमा भने वर्षा भइरह्यो ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार आज सबै पर्यटक जुन स्थानमा थिए, सोही स्थानको होटलमै बसे, बाहिर निस्कन सक्ने अवस्था रहेन । त्यस भेगमा करिब ३ हजार बढी विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । सोमबार मात्र ८ सय विदेशी पर्यटक काठमाडौंबाट लुक्ला आएको समितिको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पर्यटकलाई मौसम अनुकूल नभएसम्म यात्रामा ननिस्कन सचेत गराएको छ ।

बोर्डले जारी गर्‍यो एडभाइजरी

हजारौं पर्यटक यात्रामै रहेका बेला मौसम प्रतिकूल बनेसँगै पछिल्लो अवस्थाबारे जानकारी गराउँदै नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गरेको छ ।

बोर्डले उच्च हिमाली र पहाडी क्षेत्रमा पर्वतारोहण, पदयात्रा र घुमफिरमा रहेका पर्यटकलाई सतर्क रहने भनेको छ । बोर्डले स्थानीय प्रशासन र गाइडसँग समन्वय गरी सुरक्षालाई प्राथमिकता दिनसमेत भनेको छ ।

पर्यटकीय सिजनमा भरिभराउ गन्तव्य, प्रतिकूल मौसमले थप्यो चुनौती

मौसम सुधार नभएसम्म सुरक्षित रूपमा आश्रमस्थलमै रहन र कुनै कठिनाइ भए स्थानीय प्रशासन र पर्यटक प्रहरीलाई खबर गर्न नम्बर समेत सार्वजनिक गरेको छ ।

बोर्डले आतिथ्य सेवा दिइरहेकालाई सहुलियत मूल्यमा सेवा दिन समेत अनुरोध गरेको छ । मौसम विज्ञान विभागको आधिकाारिक सूचनाबाट नियमित सूचना दिन समेत भनेको छ ।

मौसमको सूचना लिएरमात्र पदयात्रामा निस्कन पर्यटन विभाग र एनएमएको आह्वान

पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए) ले समेत जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनाका आधारमा मात्र पदयात्रामा निस्कन पर्यटकलाई सूचित गरेका छन् ।

मौसम विज्ञान विभागले १० देखि १२ कात्तिकसम्म नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको सूचना निकालेको थियो । विभागले पर्वतारोहण र पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटक, पदयात्री र पर्वतारोहीलाई उच्च सतर्कता अपनाउन भनेको छ । त्यस्तै सुरक्षित स्थानमा रहन समेत सूचित गरिएको छ ।

पर्यटकीय सिजनमा भरिभराउ गन्तव्य, प्रतिकूल मौसमले थप्यो चुनौती

पर्यटकलाई कुनै सहयोग र सहजीकरण आवश्यक परे स्थानीय सरकार, स्थानीय प्रशासन, पर्यटन विभाग र पर्यटक प्रहरीसँग सम्पर्क गर्नसमेत भनिएको छ । अनुकूल मौसमको सुनिश्चितता भएपछि मात्र पदयात्रा र पर्वतारोहण गर्नसमेत सूचित गरिएको छ ।

विभागले विशिष्ट परिस्थितिमा सहुलियतपूर्ण मूल्यमा गुणस्तरीय सेवा र आतिथ्य दिएर सहयोग गर्नसमेत आह्वान गरिएको छ ।

प्रतिकूल मौसम अझै लम्बिने संकेत

अरब सागरमा विकसित मौसमी प्रणालीले गएरातिदेखि भइरहेको वर्षा/हिमपात बुधबारदेखि रोकिने र बिहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुन: मौसम खराब हुने मौसमविद्‍ले जनाएका छन् ।

यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पुर्‍याएको इलाम सहित जिल्ला उच्च जोखिममा रहेको देखिएको छ । अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व लगायत जिल्लाका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यका समेत बादल लागेर धुम्म भएको छ ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार हाल बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात प्रभावले बिहीबार साँझदेखि बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । यसको प्रभाव गण्डकीको पूर्वी भागमा समेत पर्ने प्रक्षेपण छ ।

पर्यटकीय सिजनमा भरिभराउ गन्तव्य, प्रतिकूल मौसमले थप्यो चुनौती

‘मोन्था नामक चक्रवात आँधी १३ गते (बिहीबार) साँझ सोझै पर्सा, बारा, रौतहट, सर्लाहीको बाटो हुँदै नेपाल प्रवेश गर्ने देखिन्छ जसले तराईका यी जिल्लासहित बागमतीमा पनि धेरै वर्षा गराउने छ,’ उपाध्यायले भने, ‘उत्तरमा त्रिशूली र दक्षिणमा नारायणी नदीको पूर्व भाग बिहीबारको प्रणालीको इपिसेन्टर हो ।’

यसको असर पूर्वमा बढी र पश्चिममा कम पर्ने देखिन्छ । बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला उच्च जोखिममा पर्ने अनुमान छ । रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा पनि बिहीबार र शुक्रबारसम्म पदयात्रा स्थगित गर्न ठिक हुने सुझाव पनि मौसमविद्ले दिएका छन् ।

पहिरो गइरहने राजमार्ग क्षेत्रमा पनि सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविद्को छ । बिहीबार मध्याह्नदेखि बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्दा राम्रो हुने उपाध्यायको सुझाव छ ।

यस्तो छ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एडभाइजरी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले थप एडभाइजरी जारी गरेको छ । १३ कात्तिक बिहीबारदेखि १५ कात्तिक शनिबारसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रतिकूल हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

पर्यटकीय सिजनमा भरिभराउ गन्तव्य, प्रतिकूल मौसमले थप्यो चुनौती

यो अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न सूचित गरिएको छ । डुबान हुन सक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान भनिएको छ ।

नदी किनारका बासिन्दा सतर्क रहन र जोखिम देखिए सुरक्षित स्थानमा रहने समेत सूचित गरिएको छ । धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन भनिएको छ ।





Source link

Leave a Comment