दशैं शब्द आफैंमा गर्विलो, रमाइलो र आनन्द दिलाउने पर्वको नाम हो। समयक्रम र मानवीय संकुचित धारणाको मारमा परेर यसको अपकर्ष भइरहेको छ भने हुने कुरा निरन्तर चलेको छ। तथापि आगोलाई खरानीले छोपे पनि धुवाँ नछोपिए जस्तो सबैलाई यस पर्वले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारेको छ।
दशैंलाई पहिले नेपालीको महान पर्व भनेर सम्बोधन गरिन्थ्यो तापनि पछिल्लो समयमा आएर यसलाई धर्मसँग जोडेर हिन्दूहरूको मात्र पर्व भनी नव परिभाषामा बाँध्ने काम गरियो। संस्कार, संस्कृति राज्यका अनमोल सम्पति हुन् तथापि “जान्नेलाई श्रीखण्ड” भनेझैं दशैंको विषयमा डेढ अक्कली दर्शन जन्माएर दुनो भर्ने काममा लाग्नेको लर्को ठूलो छ। कसैले जातसँग, कसैले धर्मसँग र कसैले राजनीतिसँग यो अनमोल पर्वलाई सौदाबाजी गरेका छन्। तर विडम्बना दशैं बिदा र दशैं पेश्की लिन्न यो मेरो पर्व होइन भन्ने कोही भेटिएका छैनन् भने दशैं आयो के गर्ने भनेर अग्रीम योजना बनाउने, नाना र खानाको बन्दोबस्ती गर्ने हतारोको सबैमा उत्तिकै दौडधूप चलेको देखिन्छ।
सबैले खानपान र लत्ताकपडा जोहो गर्ने तर दशैं मनिँदैन भन्ने कुरामा तालमेल पाइँदैन, तथ्य आधार भेटिंदैन। बाहिर दशैंको खिलाफ गरे पनि अरू सरह व्यवस्थापन गरेकै भेटिन्छ र अर्को नयाँ दर्शन झिकिएको छ, खानापान गरे पनि टिका नलगाउने भन्ने। यसबाट देखिन्छ कि टिकाटालो गर्न खर्चिलो होला भनेर तर त्यो सत्य नहुन सक्छ। रातो टिकाको विषयमा आधारहीन मनगढन्ते अक्कल निकालिएको छ, हाम्रा पुर्खामाथि चढाई गरी निर्मम हत्या गरेर उनीहरूकै रगतमा मुछिएको रातो टीका भनेर।
किंवदन्तीलाई सापटी लिने हो भने दानव वा राक्षसमाथिको विजय भनेको पाइन्छ, अब प्रश्न उठ्छ, दशैं बहिष्कार गर्ने जति राक्षसका सन्तान हुन त? अर्को जटिल प्रश्न छ, टिका मात्र रातो नलगाउने हो वा पहिरान पनि रातो नलगाउने? यो तर्कले रातो कपडा वा पहिरान‚ रातो रङको फूलको माला पहिरन पनि नहुने देखिन्छ। रातो जति बहिष्कार गर्ने हो त? जसरी जिससका चेलाले रातो रगत नखाएझैं रातो मासु पनि परित्याग गर्नुपर्ने हुन्छ। संस्कृतिविद् जगमान गुरुङको भनाइ मान्ने हो भने कुनै बलिपूजा गरी रगतमा मुछेको चामल निधारमा लगाउन हुने तर सिम्रिकको रङ रगतको प्रतीक हुन सक्दैन भन्ने उठान गरेका छन्। तर्क जे भए पनि संस्कारगत रूपले यो पर्व सबैको होइन भन्न पाइन्छ तर प्रत्युत्पादक तर्क गर्नु जायज हुँदैन, जसले सामाजिक सहिष्णुताको जगमा खिया बसाउँछ । दशैं मनाउने चलन रामरमाइलोका लागि मात्र नभएर कुनै वैज्ञानिक आधारमा चलेको अनुमान गर्न माथापच्चिसी गर्नु पर्दैन। जुन विज्ञानसम्मत विषयले आज पनि समाजलाई मर्यादित र अनुशासनको बाटोमा हिँडाउने छ।
दशैं मनाउन पर्ने पहिलो आधार मानवीय सम्बन्ध सूत्र कायम गर्ने र आदर सत्कारको संस्कारलाई निरन्तरता दिनु रहेको देखिन्छ। एकै रक्त सम्बन्धमा यौनिक समागम नहोस्, एक अर्काको पुस्तान्तर र रक्त सम्बन्धको ज्ञान होस् भन्ने उद्देश्यले यो पर्वको थालनी भएको अनुमान गर्न सकिन्छ। आफ्ना आफन्त नातागोतासँग भेटघाट र सम्बन्ध नवीकरणको माध्यमको रूपमा दशैं पर्वलाई लिन सकिन्छ।
बाहिरबाट दशैं कुनै वाद दर्शनसँग जोडिएको भए पनि आन्तरिक रूपमा यसले गहिरो अर्थ बोकेको छ। मानव विकासको चरणमा एउटै रक्त सम्बन्ध पर्न गए बाधा पुग्ने कुरा विज्ञानले प्रमाणित गरिदियो र नश्ल सुधारमा जोड दियो। शारीरिक तनदुरुस्ती, मानसिक अब्बलता, चेतनाको उच्च विकास, दीर्घायु र विवेकी मानव विकासका लागि रक्त सम्बन्धमा ध्यान पुर्याउन आवश्यक थियो।
अदिम कालमा विज्ञान थिएन। कुनै धर्म वा संस्कारको माध्यमबाट मानिसलाई नैतिक बन्धनमा राखेर समाज सञ्चालन गर्न पर्दथ्यो होला। यसै कारण वर्षमा एकपटक निकट रक्त सम्बन्धका मानिसहरू भेटेर जान पहिचान गराउन पनि यो पर्वको थालनी भएको हुन सक्छ। संसारको कुनाकुनामा पुगेका एकै परिवार वा वंशका मानिसको विचमा भेटघाट र चिनजान नहुने हो भने विहावारी हुनसक्छ र कतिपय अवस्थामा यो घटना तपाईं हाम्रो समाजमा भेटिएका छन्। एकै वंशका दाजुभाइका छोराछोरीविच विहावारी भएको तथ्य हाम्रा सामु छन्। यो भेटघाट र जानपहिचानको अभावले निम्त्याएको दुर्भाग्य हो। वर्षमा एकपटक मात्र भेटघाट हुँदा पनि यस्ता घटना घट्नबाट जोगिने सम्भावना रहन्छ। यो अवसर दशैंले जुटाइ दिएको छ।
दशैको अर्को महत्त्वपूर्ण पक्ष भनेको मान्यजनको आशिर्वाद लिनु हो। आफूभन्दा ठुलाको हातबाट टिका जमरा ग्रहण गरी आशिर्वाद लिने चलनले वृद्धवृद्धाहरूको सम्मान र संरक्षण गर्ने नैतिक दवाब सिर्जना गर्दछ। आज हामी बढी क्रान्तिकारी र आधुनिक बन्ने अभ्यासले अज्ञात रुपमा गलत बाटो समाउन पुगेका छौं। जन्मदाता, कर्मदाता आमाबाबुलाई सडकमा पछार्छौ र वृद्धाआश्रममा हुत्याउँछौं अनि कुकुरलाई दैनिक नुहाइधुवाइ गरी विस्तारामा सुताउँछौं। यो नास्तिकताको पराकाष्ठ हो। यो नास्तिकतालाई कम गरी नैतिकताको ज्ञान दिन दशैंले सहयोग गर्दछ, कारण आशिर्वाद लिनका लागि भएपनि सन्तान वृद्ध आश्रम पुग्छ वा पितृमातृ भाव बुझेर आमाबाबुको संरक्षण गर्दछ।हिजो आज धेरै आमाबाबुको अरण्य रोदन सुनिन्छ, सन्तानले त्यागेको, यी सबै घटनाको कारक नास्तिकता हो।
दशैं पर्वको तेस्रो मननीय पाटो व्याहारिक परामर्श रहेको छ। यसले नैतिकता र अनुशासनमा जोड दिएको छ। मान्यजनको मर्यादा राख्नुपर्ने नियमसँगै कर्तव्यको बोध र इमान्दारिताको पाठ पनि अप्रत्यक्ष रूपमा सिकाएको छ। विभिन्न पौराणिक किंवदन्तीको सहारामा व्यावहरिक ज्ञानको परामर्श दिनु यो पर्वको मुख्य विशेषता हो। धर्म, संस्कृतिको स्खलनले समाजमा अराजकताको वीजारोपण भएको परिप्रेक्ष्यमा आफ्ना सन्ततीलाई संस्कार सिकाउन आवश्यक भएको छ। यसको सहज पूर्ति दशैं पर्वले गरेको छ।
विशेष गरी तीन दिनसम्म औकात अनुसार मनाईने दशैंको दसौं दिन अर्थयुक्त र प्रभावकारी मानिन्छ। उक्त दिन देश विदेशमा रहेका आफन्तजन, नातगोता, भाइबन्धु, इष्टमित्रहरू आफूभन्दा ठुला मान्यजनको हातबाट प्रसादको रूपमा टिका ग्रहण गर्न आउने परम्पराले गम्भिर महत्व राखेको छ।
उक्त दिन भेला हुने परम्पराले कम्तिमा तीन पुस्तासम्मका नातागोतासँग सान्निध्य गर्न पाउने अवसर प्राप्त हुन्छ। यसले मानव नश्लमा निकट रक्त सम्बन्धबाट उत्पन्न हुने समस्याको निराकरणमा मद्दत गर्दछ वा भनौं हाडनातमा हुनसक्ने यौनिक सम्बन्धलाई केही हदसम्म घटाउन सहयोग गर्दछ। यस दिनमा मान्यजनले रसिलो र मिठो लयमा दिने आशिर्वाद पनि अझ गतिलो सम्पतिको रुपमा लिन सकिन्छ।
खास गरी शास्त्रीय छन्दमा कुनै कालखण्डमा निर्माण गरिएको श्लोकले मानव जगतका समग्रतालाई समेटेको छ। यिनै श्लोकको आधारमा आशिर्वादको रूपमा व्यावहारिक परामर्श सिकाइन्छ। देश‚समाज‚नैतिकता र कर्तव्य बोधको ज्ञान दिइन्छ। मावता र परोपकारको शिक्षा दिइन्छ। यी कुरा मानव समाजका लागि अत्यावश्यक र अपरिहार्य छन्। यसका केही कुरा मात्र मनन गरी व्यवहारमा उतार्न सकियो भने हाम्रो समाज र हामी साँच्चै रामराज्यका बसिन्दा हुन सक्छौं तर यी कुरालाई आधुनिकताको कृत्रिम आवरणले निस्तेज बनाईएको छ। सभ्य बनिने काइदामा अन्धविश्वासको श्रीपेच ओढाएका छौं संस्कारलाई।
सधैँ सजग, सचेत, सहासी, ज्ञानी, ध्यानी, कर्तव्यनिष्ठ, अजातशत्रु, दीर्घायु हुन दिइने आशिर्वादमा तीन युगका महान व्यक्तिको व्यक्तित्वलाई दृष्टान्तको रुपमा वाचन गरिन्छ। आयुद्रोणसुते, श्रेयस्चदशरथे शत्रुक्षयराघवे।। ऐश्वर्यनहुषे, गतिश्चःपवने, मानश्चः दुर्योधने‚ दानंसूर्यसुते, हलंबलधरे, सत्यं च कुन्तिसुते।। विद्वान विदुर भवति भवते कृतिश्चः नारायणः।यो सर्वप्रिय र सामान्यीकरण गरिएको र सबैको मुखमा मुदजात आउने सर्वस्वीकार्य मन्त्र हो।
एक मानवले प्राप्त गर्नुपर्ने महत्ताहरू यिनै चार हरफमा समेटिएका छन्। आयु, सुख‚ कृति, शत्रुनाशक, अधिपत्य वा प्रभुत्ववान, वेगवान, मानसम्मान प्राप्ति, दानी, सत्यवान, विद्वान र कृतिवान हुन सुझाइन्छ। समष्टिमा थोरै भए पनि गहिरिएर हेर्दा यहाँ जीवन जगत समेटिएको छ भने दैविक, सामाजिक र व्यावहारिक जीवनका समग्रालाई इङ्गित गरिएको छ। यी मन्त्रमा भनिएमध्ये कुनै गुणको विकास र अनुशरण गर्न सके मानिस मानवताभन्दा माथि उठेको हुन्छ अनि कसैका आमाबाबुले मन्दिरमा बसेर भिख माग्न वा वृद्धा आश्रममा बसेर सन्तानको खिलाफ गर्ने दिन आउँदैन। तडकभडक र आयातित संस्कार विपरित दशैं पर्वलाई जिवन्त र मौलिकतामा ढालेर व्यावहारिक रुपमा मनाउन सके वृद्धवृद्धामाथि भएको अपमान स्वतः समाप्त हुने तथ्य नकार्न सकिदैन। यसर्थ दशैंको मौलिक पाटो केलाउन आवश्यक छ।
अझ मार्मिक र तथ्यपरक आधार यस पर्वमा जोडिएको छ, स्वस्थ, पौष्टिक आहार र खुशीको क्षण। यी दुवै मानव स्वास्थ्यसँग जोडिएका छन्। हुन सक्छ त्यो बेला स्वास्थको कुरा सबैलाई थाह थिएन होला। स्वस्थ रहन खुशीपन चाहिन्छ भन्ने विषय खोज भइनसकेको होला तथापि आज विज्ञानको नजरमा पनि सत्य सावित हुने स्वाथ्यका कुरा दशैं पर्वसँग जोडिएको पाइन्छ। जतिबेला मानव विकासको चरणमा थियो उसको जीवन अभावमा बाँचेको थियो। न्याय शक्तिको आडमा (आज पनि अवशेष छ) चलेको थियो। सधैंभरि मिठोचोखो खान पाउने अवस्था थिएन। रुखोसुखा खाएर कठिन श्रम गर्न विवश थिए मानिसहरू। पेटभर मिठोचोखो खान र आराम गर्न कुनै उत्सव वा पर्व नै पर्खनु पर्ने अवस्था थियो होला, अझ पनि छ।
वर्ष दिनमा सबैले पौष्टिक खाना खान पाउन् आराम गर्न र खुशियाली साटासाट गर्न पाउन् भनेर पनि यो पर्वको थालनी भएको हुन सक्छ किनभने आज पनि हुँदाखाने र हुनेखानेको फरक जीवनशैली छ। हुनेखानेहरूभन्दा दशैंको चटारो हुँदा खानेका लागि बढी छ। उसले लत्ता कपडादेखि मरमसलासम्मको जोहो गर्छ दशैंमा। हुँदाखानेका भुराभुरी हुनेखानेकाभन्दा बढी खुशी देखिन्छन नाना, चिची खान पाइन्छ भनेर। जुन उत्साह र खुशी हुनेखानेको परिवारमा देखिदैन कारण उसको भान्सा हरेक दिन गरिबको दशैंको भन्दा कम हुदैन। यसबाट पनि गरिब निमुखाहरूले पनि खोजीमेली मठिोमसिनो र सन्तुलित आहार खाऊन् र थारै भए पनि स्वस्थ रहून् भन्ने मान्यताले थालिएको अनुमान गर्न सकिन्छ।
दशैंले समेटेको अर्को पक्ष खुशी वा आनन्द हो। सामन्तवाद र पुरातनवादी नेपाली समाजमा मानिसलाई विभिन्न सम्प्रदायले अनेक प्रथाको नाम दिएर अघोषि दास बनाएका थिए र अझै त्यो प्रथा कायम छ। लोकतन्त्रको नाकमाथि बसेर गरिबको नाममा नक्कली तमसुक बनाउने श्याम प्रदेशी जस्ता द्रव्यपिशाचले त्यो बेला दास, करिया, हलिया, चरुवा (जुन प्रथा उदयपुरको कटारी न.पा क्षेत्रमा छ भन्ने सुनिन्छ), कमलरी जस्ता मानव दासका अनेक रूपमा सताइएका मानिसले हरघडी मालिकको खप्कीमा बाँच्नपर्ने, खुशी, आनन्द, आराम र उमंग कहिल्यै नआउने अवस्थाबाट केही समय मुक्ति पाउन पनि दशैं पर्खिनुपर्दथ्यो। एकदुई दिन भए पनि मन खोलेर हाँस्न,आराम गर्न र रमाउन पाउने हुँदा मनको उकुसमुकुस शान्त भई मन हलुको हुन्थ्यो। केही समय भए पनि आराम गर्न र रमाउने अवसर मिल्थ्यो।
यसबाहेक आधुनिक बन्न खोजेर शहरका छिँडीमा छिपेर शहरिया देखिन चाहनेहरू पनि वृद्ध बाआमा भेट्न दशैं कुर्ने गरेका छौं। विवशताले विदेशिनेहरूले आघौंको दशैं जीवनको मैझारो नभएसँगै मनाउँला भनेर भाका राख्छौं। आमाबासँग मनमुटाव भएर पर बसेका छोराछोरीहरू पनि मन नपरी भए पनि एक दिन निधारमा हात राखी माग्न बाआमाको कटेरोमा बथानै छिर्न कर लाग्छ।
दाइजो नपुगेर च्याँठिएका ज्वाईं, अंश नमिलेर बटारिएका छोरा, बुहार्तनले सताएकी बुहारी सबैसबैलाई दशैंले एकै थलोमा भेला गर्छ। यसरी मानिसको कुँढिएको मनमा धार लगाउने, टाढिएको तनलाई घिसारेर जोड्ने, दुःख भुलाउने, खुशी चुल्याउने पर्व दशैले मानसिक रूपमा मानिसलाई स्वस्फूर्त बनाउने हुँदा दशै महान पर्व मात्र होइन सम्बन्ध सूत्रको मनोविज्ञान हो भन्न सकिन्छ।
औकातका हिसाबले कसैका लागि दसा पनि बनेको छ दशैं तर मनोवैज्ञानिक रूपमा मैले औकात अनुसार मनाउनुपर्छ भन्ने सोच सबैमा रहेको हुन्छ भने अति व्यस्त जीवनबाट फुर्सद निकाल्ने र आमाबाबु वा अग्रज भेट्न जाने मानसिक तयारी गरिन्छ। एक दिन भए पनि खाना र नानामा परिवर्तन गरी जीवनमा नयाँपनको आभाष प्राप्त हुन्छ। यसर्थ दशैं मनोविज्ञान, स्वास्थ्य विज्ञान र सम्बन्ध सूत्रको कडी हो। नरौसी नहौसी आफ्नो औकात र हैंसियतमा रहेर समयको माग अनुसार यस पर्वलाई जीवन्तता दिएर मानवीय सम्बन्धमा नयाँ अयाम थपौ।
प्रकाशित: १६ आश्विन २०८२ ०६:५६ बिहीबार
