प्रकाशित मिति : भाद्र २१, २०८२ आईतबार

फोटो : जेमी टेलर / अनस्प्ल्यास
अमेरिकाको फ्लोरिडा राज्यले आफ्नो दोस्रो आप्रवासन हिरासत केन्द्र सञ्चालनमा ल्याएको छ। यस केन्द्रलाई ‘एलीगेटर अलकाट्राज’ भनिने विवादास्पद कानुनी लडाइँबीच खोलिएको हो।
यो नयाँ केन्द्र बेकर करेक्शनल इन्स्टिच्युट नामक पुरानो राज्य कारागारमा स्थापना गरिएको छ, जुन अहिले अस्थायी रूपमा बन्द थियो ।
हाल यस केन्द्रमा १ सय १७ जना बन्दी राखिएका छन्। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसको कार्यालयले यसको क्षमता १ हजार ५ सय जनासम्म रहेको जानकारी दिएको छ।
यो नयाँ सुविधा ज्याक्सनभिलबाट करिब ४५ माइल पश्चिम, ओस्सिओला नेशनल फरेस्ट नजिकै रहेको छ। संघीय अपिल अदालतले न्यायाधीशको आदेशलाई अस्थायी रूपमा रोकेकै दिन यो ‘डिपोर्टेशन सेन्टर’ खोलिएको हो।
न्यायाधीशको सो आदेशले एभरग्लेड्सको दलदली क्षेत्रमा रहेको ‘एलीगेटर अलकाट्राज’ बन्द गर्न राज्य र संघीय सरकारलाई बाध्य बनाउने तयारी गरेको थियो।
नयाँ केन्द्रमा अग्ला तारबारले घेरिएका एकतले भवनहरू छन्। ट्रम्प प्रशासनले आप्रवासन हिरासत केन्द्रहरूमा “सीमित क्षमता” रहेको भन्दै थप सुविधा आवश्यक भएको बताएको छ।
फ्लोरिडाका गभर्नर डिसान्टिसले अन्य दुई नयाँ स्थल खोल्ने घोषणा पनि गरेका छन्। यी दुई स्थलहरू ‘पानह्यान्डल पोकी’ फ्लोरिडा पानह्यान्डलमा र अर्को क्याम्प ब्ल्यान्डिङ नामक नेशनल गार्ड प्रशिक्षण केन्द्रमा खोल्न लागिएको हो।
नयाँ हिरासत केन्द्रहरू घोषणा भइरहेका बेला ह्वाइट हाउसले दैनिक कम्तीमा ३ हजार आप्रवासन सम्बन्धी व्यक्तिहरूलाई पक्राउ गर्ने लक्ष्य लिएको छ। हालसम्म धेरै बन्दीहरूलाई ग्वान्तानामो बे पठाइएको वा एल साल्भाडोरको ‘मेगा जेल’ मा डिपोर्ट गरिएको छ।
फ्लोरिडामा गत अगस्टमा ‘डिपोर्टेशन सेन्टर’ सार्वजनिक गरिएको थियो। केही समयपछि एक संघीय न्यायाधीशले ‘एलीगेटर अलकाट्राज’ बन्द गर्न प्रारम्भिक आदेश जारी गरेका थिए। तर, अपिल अदालतले सो आदेशलाई स्थगन गरेपछि राज्यले त्यहाँबाट बन्दीहरू सार्ने काम जारी राख्ने जनाएको छ।
यो निर्णयले पर्यावरण समूहहरूलाई ठूलो धक्का पुगेको छ। उनीहरूले संघीय अदालतमा मुद्दा दायर गर्दै एभरग्लेड्स क्षेत्रमा रहेका आप्रवासन केन्द्रहरूको सञ्चालन र निर्माण तत्काल रोक्न माग गरेका थिए।
‘एलीगेटर अलकाट्राज’ मा बन्दीहरूलाई उच्च तापक्रम, किराको समस्या, र कमजोर खानपान जस्ता समस्या रहेको भन्दै तीव्र आलोचना भएको छ।
यो फ्लोरिडाको एभरग्लेड्स नामक दलदली क्षेत्रमा बनाइएको विवादास्पद आप्रवासन हिरासत केन्द्र हो। यसलाई नामैबाट प्रसिद्ध अलकाट्राज जेलसँग तुलना गरिएको छ । तर यो केन्द्रमा भने आप्रवासीहरूलाई पक्राउ गरेर हिरासतमा राखिन्छ ।

