३७ अमेरिकी अधिकारीको सुरक्षा अनुमति खारेज, सुविधाको दुरुपयोग र राजनीतिकरण गरेको आरोप



प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार

राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्ड ।
तस्वीर स्रोत : विकिपिडिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ३७ जना पूर्व र हालका उच्च अधिकारीहरूको सुरक्षा अनुमति (सेक्युरिटी क्लियरेन्स) खारेज गरेको छ। यी अधिकारीहरूलाई संवेदनशील सरकारी सूचनाको दुरुपयोग गर्दै त्यसलाई व्यक्तिगत तथा दलगत स्वार्थका लागि प्रयोग गरेको आरोप लगाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक मेमोमार्फत राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले अमेरिकी राष्ट्रिय सुरक्षा निकायका प्रमुखहरूलाई तत्काल प्रभावले उनीहरूको अनुमति खारेज गर्न निर्देशन दिएकी हुन्। उनले यो कदम राष्ट्रपति ट्रम्पकै प्रत्यक्ष आदेशमा लिइएको उल्लेख गरेकी छिन्।

खारेज गरिएका ३७ जनामध्ये कतिपय पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामा प्रशासन अन्तर्गत सेवामा रहेका राष्ट्रिय सुरक्षा कर्मचारीहरू पनि परेका छन्। तर, मेमोमा उल्लेख गरिएका आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन।

सुरक्षा अनुमतिप्राप्त अधिकारीहरूलाई अमेरिकी सरकारका संवेदनशील सूचना, दस्तावेज र रणनीतिक विवरणमा पहुँच हुन्छ। कतिपय पूर्व अधिकारीहरूले उत्तराधिकारीलाई सल्लाह दिन या निजी क्षेत्रमा (जस्तै रक्षा, सुरक्षा वा एयरोस्पेस उद्योगमा) काम गर्नका लागि पनि सुरक्षा अनुमति कायम राख्ने गरेका हुन्छन्।

तर, अहिले सार्वजनिक गरिएको सूचिमा रहेका सबै ३७ जना अधिकारीहरूले अझै सक्रिय अनुमति राखेका थिए वा थिएनन् भन्ने विषय भने अस्पष्ट छ।

गब्बार्डले आफ्नो मेमोमा लेखेकी छिन् – “यी अधिकारीहरूले जनताको विश्वास तोड्दै सुविधाको राजनीतिकरण गरे, अवैध रूपमा गोप्य सूचना चुहाएर सुरक्षा मापदण्डहरूको गम्भीर उल्लंघन गरे। त्यसैले राष्ट्रपति ट्रम्पले उनीहरूको अनुमति खारेज गर्न आदेश दिएका हुन्।”

सामाजिक सञ्जाल एक्समा उनले थप लेखेकी छिन् – “सुरक्षा अनुमति पाउनु अधिकार होइन, विशेषाधिकार हो। अमेरिकी संविधानप्रति शपथ खाएर जनताको हितभन्दा व्यक्तिगत स्वार्थलाई अगाडि राख्नेहरूले पाएको विश्वास गुमाउँछन्।”

तर, मेमोमा कुनै व्यक्तिको विरुद्धमा ठोस अभियोग वा विशेष आरोप भने प्रस्टसँग उल्लेख गरिएको छैन।

३७ अमेरिकी अधिकारीको सुरक्षा अनुमति खारेज, सुविधाको दुरुपयोग र राजनीतिकरण गरेको आरोप

ट्रम्प प्रशासनले यसरी सुरक्षा अनुमति खारेज गरेको यो पहिलोपटक भने होइन् । यसअघि पनि प्रशासनले पूर्व राष्ट्रपति जो बाइडेन, पूर्व उपराष्ट्रपति कमला ह्यारिस र ६ जनवरी क्यापिटल दङ्गासम्बन्धी छानबिन गर्ने केही पूर्व सांसदहरूको अनुमति खारेज गरेको थियो।

हालैका हप्तामा गब्बार्डले विशेषगरी ओबामा प्रशासनका ती अधिकारीहरूलाई लक्षित गर्दै आलोचना गर्दै आएकी छिन्, जसले २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको नतिजा निकालेका थिए।

ट्रम्प र गब्बार्डले सो निष्कर्षलाई “राष्ट्रघाती षड्यन्त्र” भन्दै, यसलाई ट्रम्पको निर्वाचन जितलाई कमजोर पार्ने प्रयास भएको दाबी गरेका छन्।

तर, विपक्षी डेमोक्र्याटहरूले भने यो कदमलाई राजनीतिक हतियार मात्र भएको भन्दै अस्वीकार गरेका छन्। उनीहरूले ह्वाइट हाउसलाई अलोकप्रिय नीतिहरू र ट्रम्पको दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धबाट ध्यान मोड्ने प्रयास गरेको आरोप लगाएका छन्।

पूर्व राष्ट्रपति बराक ओबामाका प्रवक्ताले गत महिना प्रतिक्रिया दिँदै भनेका थिए – “यी अचम्मका आरोपहरू हास्यास्पद छन् र ध्यान भटकाउने कमजोर प्रयास मात्र हुन्।”





Source link

Leave a Comment