अमेरिकाद्वारा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द



प्रकाशित मिति : भाद्र १, २०८२ सोमबार


अमेरिकी विदेश मन्त्रालयले ६,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ।

अमेरिकी कानुन उल्लंघन गरेको र भिसाको म्याद नाघिसकेकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरिएको मन्त्रालयले जनाएको छ।

तीमध्ये धेरैजसो उल्लंघनहरूमा आक्रमण, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी र “आतंकवादलाई समर्थन” जस्ता गतिविधि थिए।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कडा निगरानीमा राख्ने नीतिको क्रममा उठाइएको हो।

विदेश मन्त्रालयले “आतंकवादलाई समर्थन” भन्नाले के भन्न खोजेको हो भन्ने कुरा स्पष्ट पारेको छैन।

तर, ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरेका केही विद्यार्थीहरूलाई लक्षित गरेको र उनीहरूको गतिविधि यहूदीविरोधी रहेको दाबी गरेको छ।

विदेश मन्त्रालयका अनुसार रद्द गरिएका ६ हजार विद्यार्थी भिसामध्ये करिब ४ हजार भिसा अमेरिकी कानुन उल्लंघनका कारण रद्द गरिएको हो।

साथै, करिब २००-३०० भिसा आतंकवादसम्बन्धी गतिविधि गरेको आरोपमा खारेज गरिएको छ।

अमेरिकाद्वारा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

यो कानुनी धाराअनुसार आतंकवादी गतिविधिलाई व्यापक रूपमा “मानव जीवनलाई खतरा पुर्याउने वा अमेरिकी कानुन उल्लंघन गर्ने कार्य” भनेर परिभाषित गरिएको छ।

यस वर्षको सुरुवातमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा अन्तर्वार्ता अस्थायी रूपमा रोकेको थियो।

जुन महिनामा प्रक्रिया पुनः सुरु गर्दा सबै विद्यार्थीलाई आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक गर्नुपर्ने घोषणा गरिएको थियो।

सामाजिक सञ्जालमार्फत “अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्थाहरू वा मूल सिद्धान्तहरूप्रति शत्रुतापूर्ण धारणा” देखाइएका कुनै संकेत छन् कि छैनन् भनेर जाँच्ने भनिएको छ।

विदेश मन्त्रालयका अधिकारीहरूलाई “आतंकवादी संगठनलाई समर्थन गर्ने, सहयोग गर्ने वा वकालत गर्ने, राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने वा गैरकानुनी यहूदीविरोधी उत्पीडन वा हिंसामा संलग्न हुने” विद्यार्थीहरूलाई पनि पहिचान गर्न निर्देशन दिइएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत मे महिनामा सांसदहरूसँगको छलफलमा जनवरीदेखि “हजारौँ विद्यार्थी भिसा खारेज गरिएको” बताएका थिए।

डेमोक्र्याट सांसदहरूले भने विद्यार्थी भिसा खारेज गर्ने कदमको आलोचना गर्दै यसलाई “न्यायिक प्रक्रियामाथिको आक्रमण” भनेका छन्।

सन् २०२३-२४ शैक्षिक सत्रमा २१० भन्दा बढी देशका ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत थिए।





Source link

Leave a Comment