सबै उमेरका आवेदकका लागि अन्तरवार्ता अनिवार्यको नियम लागु गर्ने तयारीमा अमेरिकी दूतावास



प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार

सबै उमेरका आवेदकका लागि अन्तरवार्ता अनिवार्यको नियम लागु गर्ने तयारीमा अमेरिकी दूतावास

अमेरिकी दूतावासहरुहरुले १२ महिनाभित्र भिजिटर भिसा नविकरणबाहेक सबै गैर आप्रवासी भिसाका लागि अन्तरवार्ताको नियम लागु गर्ने तयारी गरिरहेका छन् । सेप्टेम्बर २ देखि लागु हुनेगरी अमेरिकी दूतावासहरुले जुनसुकै उमेरका व्यक्तिका लागि पनि भिसा अन्तरवार्ता आवश्यक पर्ने नियम लागु गर्न लागेका हुन् । यस अगाडि ७९ बर्षभन्दा माथिका र १४ बर्षभन्दा कम उमेरका आवेदकका लागि भिजिटर भिसाका लागि अन्तरवार्ता छुटको व्यवस्था गरिदै आएको थियो ।

बिहिबार अमेरिकी दूतावास ब्रसेल्सले एक सूचना जारी गर्दै भनेको छ सेप्टेम्बर २, २०२५ देखि जुनसुकै उमेरका सबै गैरआप्रवासी भिसा आवेदकहरूले सामान्यतया कन्सुलर अधिकारीसँग व्यक्तिगत अन्तर्वार्ता लिन आवश्यक पर्नेछ। एक मात्र अपवाद भनेको पूर्ण बैधता भएको अघिल्लो भिसाको म्याद सकिएको १२ महिना भित्र भिजिटर भिसा नवीकरण गर्ने आवेदकहरूको लागि हो, जो अघिल्लो भिसा जारी गर्दा कम्तिमा १८ वर्षका थिए।

यस्तै सूचना अमेरिकी दूतावास हेगले पनि बिहिबार जारी गरेको छ । अमेरिकी दूतावास फिलिपिन्सले केही दिन अगाडि यस्तै सूचना जारी गर्दै आवेदकलाई सचेत गराएको थियो । अमेरिकी दूतावास ब्राजिलले गत साता यसबारे सूचना जारी गरेको थियो । फिजीमा रहेको अमेरिकी दूतावासले शुक्रबार यसबारे सूचना जारी गरेको छ ।

भिजिटर भिसा नविकरण गर्ने आवेदक छूटका लागि योग्य हुन आवेदकहरूले आफ्नो राष्ट्रियता वा बसोबासको देशबाट आवेदन दिनुपर्छ भने पहिले भिसा अस्वीकृत नभएको हुनुपर्छ । साथै कुनै स्पष्ट वा सम्भावित अयोग्यता नभएको हुनुपर्छ । कन्सुलर अधिकारीहरूले प्रत्येक आवेदनको आधारमा व्यक्तिगत अन्तर्वार्ताको आवश्यकता निर्धारण गर्न स्वविवेक कायम राख्नेछन् । आवेदक छूट मापदण्ड पूरा गरेको देखिए पनि आवेदकलाई अन्तरवार्तामा बोलाउन सक्नेछन् ।

केही दूतावासहरुले यसबारे आफ्ना वेवसाइटहरु अझै अपडेट गरिसकेका छैनन् भने केहीले गर्ने प्रकृयामा रहेका छन् । गत जुलाई २५ मा अमेरिकी विदेश मन्त्रालयले गैर आप्रवासी भिसा अन्तर्वार्ता छूट नीतिहरूमा महत्त्वपूर्ण परिवर्तनको घोषणा गर्दै अधिकांश भिसा आवेदकहरूका लागि व्यक्तिगत अन्तर्वार्ता अनिवार्य गर्ने उल्लेख गरेको थियो । यस नीतिको मुख्य परिवर्तनमध्ये हाल लागू रहेका उमेरमा आधारित छूटहरू खारेज हुनु हो। हाल १४ वर्षभन्दा कम र ७९ वर्षभन्दा माथिका आवेदकहरूलाई व्यक्तिगत अन्तर्वार्ताबाट छूट दिइँदै आएको थियो।

तर, नयाँ नीतिअनुसार उमेरको परवाह नगरी सबै गैरआप्रवासी भिसा आवेदकहरूले सामान्यतया कन्सुलर अधिकारीसँग व्यक्तिगत अन्तर्वार्ता दिनुपर्नेछ। यो परिवर्तनले अमेरिकी भिसा खोज्ने धेरै परिवार र वृद्धवृद्धालाई प्रभावित पार्नेछ। कूटनीतिक र अफिसियल भिसाका लागि आवेदन दिनेहरू अन्तर्वार्ता छूटका लागि योग्य हुनेछन्। तर मान्यताप्राप्त अधिकारीहरूका सहयोगी वा व्यक्तिगत कर्मचारीहरूलाई भने यो छूट लागू हुनेछैन।

विद्यार्थी र अस्थायी कामदारहरूलाई अन्तरवार्ता छूट नीतिहरूबाट फाइदा पुग्ने गरेकोमा सेप्टेम्बर २ पछि उनीहरुले अन्तर्वार्ता दिनुपर्नेछ। अन्तर्वार्ताको प्रतीक्षा समय लामो हुने भएकाले आवेदकहरूले आफ्नो भिसा आवेदनको लागि धेरै अगाडि योजना बनाउनुपर्नेछ।





Source link

Leave a Comment