साउन १५ गतेको मध्यरात जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी ‘कन्ट्रोल रुम’को एउटा घण्टी बज्छ। ड्युटीले फोन उठाउँछ, फोनमार्फत ‘काठमाडौंको चक्रपथस्थित होटेल साम्बाला नजिकै एक समूहले घरेलु हातहतियार लिएर दादागिरी गरिरहेको’ सूचना प्राप्त हुन्छ। सूचनामा त्यो समूहले ‘होहल्ला गर्दै सर्वसाधारण नागरिकमा डर र धाक धम्की दिने कार्य गरिरहेको, सार्वजनिक बाटोमा सवारी साधन रोकेर आवतजावत अवरोध खडा गरेको’ खबर आएको थियो।
ड्युटीले उक्त सूचना परिसरका ‘कमान्डर’(प्रमुख) वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) विश्व अधिकारीलाई सुनाउँछ। लगत्तै एसएसपी अधिकारीले प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रह्लाद कार्कीको नेतृत्वको टोलीलाई मौखिक आदेश दिएर परिचालन गर्छन्।
डिएसपी कार्कीको टोली साउन १६ गते बिहान साढे एक बजेतिर साम्बाला होटेल पुग्छ। परिसरको टोलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि सघाउँछ।
त्यहाँ पुग्दा प्रहरी कन्ट्रोलमा प्राप्त हुन आएको सूचना सत्य हुन्छ। जहाँ कुनै समयमा कुख्यात गुण्डानाइके चक्रे मिलन(मिलन गुरुङ) को समूह होहल्ला गरिरहेको भेटिन्छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा चक्रे मिलनको त्यो समूहले ‘होटेलभित्र वरपरका मानिसहरूलाई दुःख हैरानी दिई ठुला ठुला आवाजमा चिच्याउने र अश्लील अपशब्द प्रयोग गरी कराउने’ गरेको उल्लेख छ।
प्रहरीले त्यो दिन चक्रे मिलनसहित उनको समूहका ४७ जनालाई पक्राउ गरेको थियो। जसमध्ये २८ जनालाई पछि छाडिएको थियो भने १९ जनाविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।
‘केही दिन अगाडि देखी नै विभिन्न स्थानहरूमा केक काटी जन्मदिन मनाइ सार्वजनिक स्थानहरूमा होहल्ला गरी धारिलो तथा जोखिमी घरेलु हतियार समेतको प्रदर्शन गरी भिडियो बनाइ सामाजिक सञ्जालमा राखी अझ आम जनमानसमा डर पैदा गरी शान्ति भंग गर्ने लगायतका कार्य गरिरहेको अवस्थामा फेला पारी सो समूहमा रहेका प्रत्येक व्यक्तिलाई त्यसो नगर्नु भनी सम्झाई बुझाइ गर्दा–गराउँदा उक्त समूहले हामी प्रतिवेदक प्रहरी कर्मचारीहरू समेतलाई उल्टै तथानाम गालीगलौज गर्नुका साथ साथै हातपात जोर जुलुमसमेत’ गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। ‘प्रहरी कर्मचारीको कामकारबाहीमा समेत वाधा अवरोध खडा गरी अभद्र व्यवहार गरेको..,’ प्रहरी प्रतिवेदनमा भनिएको छ।
यस्तै प्रहरीले चक्रे मिलनको समूहसँग खुकुरी दुई थान, फलामे रड दुई थान, सेल्फ डिफेन्समा प्रयोग हुने ‘स्प्रे’को बट्टा एक थान बरामद गरेको जनाएको छ।
प्रहरीले त्यो दिन चक्रे मिलनसहित उनको समूहका ४७ जनालाई पक्राउ गरेको थियो। जसमध्ये २८ जनालाई पछि छाडिएको थियो भने १९ जनाविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।
मंगलबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दाको थुनछेक बहस बुधबार न्यायाधीश खिलानन्द भुसालको बेन्चमा परेको थियो। थुनछेक इजलासले चक्रे मिलनको समूहलाई धरौटीमा छाड्न आदेश दिएको छ। चक्रे मिलनलाई ३० हजार र उनका समूहका अन्य सदस्यलाई २० हजार र १० हजार धरौटी मागिएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशले चक्रेलाई धरौटीमा छाड्न आदेश दिए पनि प्रहरीले बुधवारै छाड्ने भने देखिएको छैन। उनीमाथि भक्तपुर प्रहरीले पनि अनुसन्धान गरिरहेकाले उता लैजाने भनिएको छ।
भड्किलो ‘बर्थडे’ले हिरासत पुर्यायो
चक्रे मिलनको समूह उनकै जन्मदिन(बर्थ डे) भड्किलो शैलीमा मनाउँदा प्रहरी खोरमा पुगेको थियो। त्यो दिन लावालस्करसहित पुगेको समूहले होटेल साम्बालामा चक्रेको ‘बर्थडे’ पार्टी मनाइरहेको थियो।
उसो त प्रहरीले चक्रेको समूहमाथि त्यसअघि देखि नै निगरानी बढाइरहेको थियो। चक्रेको ‘बर्थ डे’ भन्दै उनको समूहले साउनको पहिलो सातादेखि नै काठमाडौंमा तडकभडक गरिरहेको थियो। उनको बर्थ डे भन्दै गुन्डाहरूको समूहले काठमाडौंमा गाडीको मार्च गर्नेदेखि टिकटकमा हातहतियार प्रदर्शन गर्जनेसम्मका काम गरिरहेको थियो। जसमाथि प्रहरी अधिकारीहरूले सूक्ष्म निगरानी गरिरहेका थिए।
दीपक मनाङे र चक्रे मिलन एक समय काठमाडौंमा चलेका ‘गुन्डाराज’का प्रमुख दुस्मन हुन्। २०६१ सालमा चक्रे मिलनमाथि भएको सांघातिक हमलाकै घटनाका कारण यतिबेला मनाङे जेलमा पुगेका हुन्।
साउन १५ गते बिहानदेखि नै चक्रेको समूहले पशुपतिमा पैसा बाँड्नेदेखि दर्जनौँ केक काट्नेसम्मका काम गरेर सामाजिक सञ्जाल रङ्गाइरहेका थिए। चक्रे मिलन समूहको बढेको त्यो तडकभडक हेर्दा प्रहरी अधिकारीहरूमा अर्को चिन्ता पनि रहेको स्रोत बताउँछ। त्यो चिन्ता भनेको डिल्लीबजार जेलमा रहेका अर्का पूर्व गुण्डानाइके, गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को सुषुप्त रहेको समूहसँग सम्भावित भिडन्तको जोखिम पनि एक थियो।
दीपक मनाङे र चक्रे मिलन एक समय काठमाडौंमा चलेका ‘गुन्डाराज’का प्रमुख दुस्मन हुन्। २०६१ सालमा चक्रे मिलनमाथि भएको सांघातिक हमलाकै घटनाका कारण यतिबेला मनाङे जेलमा पुगेका हुन्।
चक्रे मिलनको समूह साउन १६ गते बिहान(उज्यालो नहुँदै) मनाङेको पुरानो आधार क्षेत्र ठमेल जाने सम्भावना देखेपछि प्रहरी नियन्त्रणमा झन् आक्रामक बनेको स्रोत बताउँछ।
आधा महिना बर्थडे
चक्रे मिलनकै अनुसार उनको वास्तविक जन्मदिनको मिति उनी पक्राउ परेको दिन थिएन। उनले आफ्नो वास्तविक जन्मदिन(चिनाअनुसार) २०२९ साउन १४ गते रहेको प्रहरीसँगको बयानमा बताएका छन्। यद्यपि नागरिकतामा भने सोही वर्षको साउन १९ उल्लेख गरेको पनि भनेका छन्।
तर आफू एमालेको सदस्य र सामाजिक क्षेत्रमा काम गरिरहेकाले मन पराउने व्यक्तिहरूले साउन महिनाको सुरुवात देखि नै शुभकामना दिएर, केक काटेर जन्मदिन मनाइदिने गरेको बयान दिएका छन्।
यही कारण आफूलाई सहयोग गर्ने र मन पराउने सबै साथीभाइको मन राख्न साउन महिनाको सुरुदेखि नै काठमाडौं, पोखरा, बुटवल र अन्य स्थानमा पुगेर बर्थ मनाएको उनले बयानमा भनेका छन्। त्यही क्रममा साउन १५ गते राति पनि त्यसै गरी होटेल साम्बालामा बर्थडे मनाउन बोलाएको उनले बताएका छन्।
‘विगत केही वर्ष अगाडिदेखि सक्रिय रूपमा सामाजिक सेवा र राजनीतिक पार्टीमा आबद्ध भई समाजसेवी कार्यहरू गर्दै आउने क्रममा मेरो प्रस्तुत मुद्दामा म सँगै पक्राउ परी आएका साथीभाइहरूसँग चिनजान हुन पुगेको हो,’ प्रहरीसँगको बयानमा चक्रे मिलनले भनेका छन्। यस्तै आफूसँगै पक्राउ परेकाहरू आफ्नो नाम र गरेको सामाजिक काम मन पराएर जन्मदिन मनाउन आफै उपस्थित भएको उनको दाबी छ।
‘मेरोे जन्म श्रावण महिनामा पर्ने हुँदा कतिपय मलाई पार्टीगत हिसाबले सहयोग र साथ दिएका व्यक्तिहरूले मलाई श्रावण महिनाको सुरु हप्तादेखि नै विभिन्न स्थानहरूमा बोलाइ निजहरू आफैँले केक काटी मलाई शुभकामना दिने गरेको’ भनेर उनले बयानमा भनेका छन्।
यही कारण आफूलाई सहयोग गर्ने र मन पराउने सबै साथीभाइको मन राख्न साउन महिनाको सुरुदेखि नै काठमाडौं, पोखरा, बुटवल र अन्य स्थानमा पुगेर बर्थ मनाएको उनले बयानमा भनेका छन्। त्यही क्रममा साउन १५ गते राति पनि त्यसै गरी होटेल साम्बालामा बर्थडे मनाउन बोलाएको उनले बताएका छन्।
त्यही क्रममा रमाइलो गरिरहँदा रातिको समयमा ड्युटीमा रहेका प्रहरीले सम्झाउन बुझाउन खोज्दा ‘केही भाइहरूको प्रहरीसँग सामान्य भनाभन मात्र हुन पुगेको’ चक्रे मिलनले बयानमा भनेका छन्। तर आफूहरूबाट कुनै अभद्र व्यवहार नभएको उनको दाबी थियो।
प्रकाशित: २८ श्रावण २०८२ १९:२० बुधबार
