शर्मालाई छेक्न चन्दलाई फकाउने दाहाल नीति


नेकपा माओवादी केन्द्रको यही साउन १६ देखि १९ गतेसम्म सम्पन्न स्थायी समिति बैठकको निर्णय नम्बर ४ मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरण गर्ने उल्लेख छ। माओवादीबाट विभाजित नेकपासँग एकीकरण गर्ने चर्चा लामै समयदेखि हुँदै आए पनि स्थायी समितिबाट निर्णय नै गरिएको भने यो पहिलो पटक हो।

‘हालै समाजवादी मोर्चा नेपालको बैठक बसी मोर्चालाई थप सुदृढ र विस्तार गर्ने एवं सातै प्रदेशमा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय सही रहेको निष्कर्ष निकालियो। बैठकले विप्लव (नेत्रविक्रम चन्द) नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने, त्यसका लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय पनि सर्वसम्मत रूपले गरेको छ। साथै समाजवादी मोर्चामा आबद्ध अन्य पार्टीहरूलगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य अघि बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरिएको छ,’ स्थायी समितिद्वारा जारी परिपत्रमा उल्लेख छ। माओवादी केन्द्रको परिपत्र मात्र होइन, निर्णय नै बाहिर आएपछि चन्द नेतृत्वको नेकपाले भने अहिले पार्टी एकीकरण हुन नसक्ने जनाएको छ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले माओवादीका सबै घटकसँग एकता गरी सबै कम्युनिस्टबिच एकता जरुरी भए पनि अहिले नै माओवादी केन्द्रसँग एकता भइहाल्ने गरी कुनै छलफल अघि नबढेको स्पष्ट पारेका छन्। ‘माओवादी केन्द्र संसदवादी दल हो। एकताभन्दा अघि उसले संसदवादबाट माथि उठ्छ वा उठ्दैन भन्ने प्रमुख सवाल छ। माओवादी केन्द्रले पार्टी एकता गर्ने निर्णय गरेको रहेछ। त्यो उनीहरूको कुरा भयो। हामीकहाँ यो विषय छलफलमा छैन,’ विश्वकर्माले भने। उनले नेकपासँग माओवादीले कुनै छलफल नगरेको समेत दाबी गरे।

माओवादी केन्द्रको यो निर्णयपछि नेकपाका अध्यक्ष चन्दलाई फकाउने प्रयास भएको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र चन्दबिच साउन २१ गते बुधबार भेटघाट भएको छ। हात्तीवनस्थित निवासमा भएको भेटघाटमा पार्टी एकीकरणकै विषयमा छलफल भएको श्रेष्ठनिकट एक नेताले बताए। श्रेष्ठले विप्लवलाई पार्टी एकताबारे माओवादी केन्द्रले गरेको निर्णय के हो भन्नेबारे जानकारी गराउँदै मूलघरमा आउन आग्रह गरेको बताइएको छ। यो विषयमा दुवै नेताहरूले आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन्। पार्टी एकीकरणबारे श्रेष्ठको प्रस्तावमा चन्दले औपचारिक जवाफ नदिएको स्रोतको दाबी छ।

माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालले समेत पार्टीभित्र कमजोरी गरेका कारण आत्मालोचना गर्नुपर्छ भनेका थिए। ‘चार दिन चलेको स्थायी समिति बैठकमा पार्टीको आन्तरिक जीवनमाथि छलफल चन्दै गर्दा नयाँ पुस्ताको मागलाई शर्माले उठाएका कारण त्यसको बढी नै चर्चा भयो। पार्टी उपमहासचिवको हैसियतले शर्माले उठाएका विषयले अध्यक्ष दाहाल अप्ठेरोमा परेको देखिन्छ। यसैकारण माओवादी केन्द्रले चन्दले नेतृत्व गरेको नेकपासँग एकीकरण गर्ने निर्णय गरेको हो। ‘उहाँ (चन्द) लाई पार्टीमा ल्याउँदा नयाँ समीकरण बन्ने र पुरानो भत्किने भएकाले पनि एकीकरणको निर्णय गराइएको हो,’ शर्मानिकट एक स्थायी समिति सदस्यले भने।

ती नेताका अनुसार पार्टीभित्रको संकट मोचन गर्न चन्दलाई पार्टीमा ल्याएर महासचिव बनाउने दाहाल रणनीति छ। दाहालको योजनाबारे चन्द जानकारी भएकाले तत्कालै पार्टी एकीकरण भइहाल्नेमा शंका छ। माओवादी केन्द्रमा शर्मालाई छेकबार लगाउन चन्दलाई भित्र्याउने रणनीति दाहालको रहेको ती नेताले बताए। यस्तै योजनाको जगमा उभिएर पार्टीभित्र परिपत्र गरिएको शर्मा पक्षको बुझाइ छ।

‘स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भयो। छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहनेजस्ता कार्यहरू पार्टी नीतिविपरीत भएको ठहरसहित स्थायी समिति सदस्यहरूबाट शर्मालाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो। अध्यक्षले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसात् गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो। तर शर्माले माइन्युटमा हस्ताक्षर नगरेकोबाहेक अन्य विषयमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो,’ परिपत्रमा उल्लेख छ, ‘अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वविरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै शर्मालाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ।’

परिपत्रमा यस्तो विषय उल्लेख गरेर पार्टीभित्र शर्मा पक्षलाई कारबाहीको डन्डा चलाउन सक्ने गरी आधारसमेत तयार पारिएको उनी पक्षको बुझाइ छ।

एकताको असफल प्रयास

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले माओवादी केन्द्रसँग एकताको सम्भावना टरेको निष्कर्ष २०८१ पुसमै निकालेको थियो। पुस १ र २ गते कपिलवस्तुको शिवगढीमा दुई दिनसम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै एकताविरोधी भएको भन्दै अब एकताको पहल नगर्ने निर्णय गरेको थियो। त्यसयता चन्दले नेतृत्व गरेको नेकपाले माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावमाथि छलफलसमेत गरेको छैन।

 पुसअगाडि बसेको चन्द नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने र अरू वामपन्थी शक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको थियो। सोहीअनुरूप नेकपाका महासचिव चन्दले दाहालसँग छलफल चलाएका थिए। माओवादी केन्द्रमा विप्लवलाई महासचिव नै बनाएर ल्याउने विषयमा छलफलसमेत चलेको थियो।

त्यतिबेला दाहालले आफ्ना पार्टीका नेताहरू भन्दा बरु चन्दले नै माओवादीलाई सहयोग गर्दै आएकोसमेत बताएर महासचिव बनाउन तयार भएका थिए। यसको सुइँको पाएका माओवादी केन्द्रका नेताहरूले चन्दलाई पार्टीमा ल्याउन चाहेका थिएनन्। अहिले पनि नचाहँदा नचाहँदै शर्मालाई कमजोर बनाउन परिपत्रमै चन्द नेतृत्वको नेकपासँग पार्टी एकीकरण गर्ने उल्लेख गरिएको हो।

२०८१ मंसिर २८ गते बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी एकतामा आएकाहरू पुराना पार्टीको जिम्मेवारीअनुसार नै जिम्मेवारी दिने निर्णय पनि गरेको थियो। सोहीबमोजिम तल्ला कमिटीहरूमा पनि परिपत्र पठाइएको थियो। ‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासाहरूलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत रहेका थिए, सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णयअनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’ त्यतिबेला पठाइएको परिपत्रमा उल्लेख छ।

२०७० सालमा माओवादी पार्टी फुट्नुअघि चन्द सो पार्टीका पोलिटब्युरो सदस्य थिए। माओवादीको यो निर्णयअनुसार पार्टी एकता भए पनि चन्दले सचिव मात्रै पाउने सम्भावना हुन्थ्यो। तर चन्दले सचिवमा चित्त बुझाउने अवस्था थिएन, त्यसकारण उनले पार्टी एकीकरण नै नगर्ने निर्णय गराएका थिए।

प्रकाशित: २५ श्रावण २०८२ ०६:२४ आइतबार





Source link

Leave a Comment