रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’


रुपन्देहीको तिलोत्तमा-५ नयाँमिलमा रहेको एक घरबाट चार दिनको अन्तरालमा २३ वटा कमन कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरिएको छ।

घरधनीलाई सर्पले टोकेपछि उद्धारका लागि पुगेका सर्प उद्धारकर्ताको टोलीले एकपछि अर्को गर्दै यति ठूलो संख्यामा सर्पका बच्चा फेला पारेका हुन्।

असार २२ गते दिउँसो करिब साढे ४ देखि ५ बजेतिर घरधनी दिलराम अर्याल भान्सामा चिया पकाउँदै गर्दा उनलाई कोब्राको बच्चाले टोक्यो। सर्पको टोकाइबाट घाइते भएका उनलाई छिमेकी र श्रीमती सरस्वती अर्यालले तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए।

यता, घरमा सर्प देखिएको खबर छिमेकीमार्फत बेलुका ७ बजे सर्प उद्धारकर्ता विशाल पाण्डेसम्म पुग्यो। खबर पाएलगत्तै घटनास्थल पुगेका पाण्डेले सुरुमै घरको ढोको अगाडि नै एक कोब्राको बच्चा फेला पारे।

‘म त्यहाँ पुग्दा घरधनीलाई अस्पताल लगिसकिएको रै’छ। घरभित्र छिर्न लाग्दा मूल ढोकाको पेटीमै एउटा बच्चा भेट्टाएँ। घरभित्र पसेर हेर्दा गल्लीमा तीनवटा सलबलाइरहेको देखियो,’ उनले भने।

आफू एक्लैलाई यति धेरै सर्पको उद्धार गर्न नसकिने लागेपछि उनले आफ्नो बुबा र भाइलाई पनि बोलाए। उनका बुबा र भाइ पनि सर्प उद्धारकर्ता हुन्। ‘त्यसपछि थप एउटा किचनमा भेटियो। यसरी पहिलो दिन म, बुबा र भाइ मिलेर पाँच वटा बेबी कोब्राको उद्धार गर्‍यौँ,’ उनले थप सुनाए।

पहिलो दिन पाँच वटा बच्चाको उद्धारपछि उनलाई भान्साको र्‍याकभित्रै सर्पको गुँड हुनसक्ने आशंका भयो। तर, घरधनी अस्पतालमा भएकाले र्‍याक भत्काउने अनुमति थिएन। ‘मलाई किचनको र्‍याकमा नै शंका थियो तर, घरबेटी नभई भत्काउने कुरा भएन,’ पाण्डेले भने।

भोलिपल्ट बिहान दिलराम अस्पतालबाट घर फर्किए। तर, पनि अर्याल परिवार ढुक्क हुने अवस्था थिएन। उनीहरूमा अझै सर्प हुन सक्ने आशंका थियो। उनीहरूले विशाललाई फोन गरेर फेरि हेरिदिन आग्रह गरे।

विशाल पेसाले जापानी भाषाको शिक्षक पनि हुन्। फोन आएपछि पढाउन छाडेर उनी हतार-हतार सोही घरमा पुगे। केही समय खोजी भयो। केही भेटिएन। उनलाई भान्साको र्‍याकमै गुँड हुने शंका भने थियो नै। उनले मिस्त्री बोलाएर भान्साको र्‍याक भत्काउन घरबेटीलाई सुझाए। र, दिउँसो २ बजे फेरि आउने बाचासहित घर फर्किए।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

उनी गएको केही बेरमै उनले शंका गरेको र्‍याकबाट कोब्राका केही बच्चा निस्किए। घरधनी अत्तालिँदै तुरुन्तै उनलाई सम्पर्क गरे। उनी पनि हतार-हतार पुगे। मिस्त्री आउन समय लाग्ने भएपछि घरधनीको अनुमतिमा उनी आफैँले भान्साको र्‍याक भत्काउन सुरु गरे। घर पुरानो शैलीमा बनेको थियो। कमजोर थियो। घरको भान्सामा काठको र्‍याकमुनि बनाइएको तह भत्काउने क्रममा उनले माउ कोब्रालाई देखे।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

माउ देख्न साथ उनी अत्तालिए। र, आफ्नो बुबा सर्पविज्ञ भएकाले उनले बुवा खिमलाल पाण्डे र भाइ विश्वास पाण्डेसहित आफैँले प्रशिक्षण दिएका अन्य सर्प उद्धारकर्ता भाइहरूलाई फोन गरे। टोलीका अन्य सदस्यहरू सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी पनि उद्धारमा खटिए।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

त्यसपछि सुरु भयो, माउलाई बाहिर निकाल्ने प्रयास। मिस्त्री आइपुगेपछि उनको सहयोगमा घरको तोडफोड सुरु भयो। घर पुरानो अनि भुइँ कमजोर भएकाले बिस्तारै भासिन थाल्यो। त्यसपछि थप तोडफोड सम्भव भएन।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

उनीहरुले फिनेल पानी हालेर निकाल्ने प्रयास गरे। तर, केही सीप लागेन। फिनेल पानीको घोल हालेर सर्पलाई बाहिर निस्कन बाध्य बनाउने प्रयास पनि असफल भयो। माउ सर्प भुइँमुनिको जटिल सुरुङ प्रणालीमा हराइरह्यो।

पाण्डेले भने, ‘घर पुरानो भएकाले जमिन भासिँदै गएको थियो। माउलाई समात्न सकिएन। तर, त्यहाँबाट हामीले करिब ५/६ घण्टाको अन्तरालमा त्यहाँबाट थप १२ वटा बच्चाको उद्धार गर्‍यौँ।’

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

त्यसपछि थप सतर्कताका लागि उनी आफैँले सो कोठा सिल गरे। तर, घरपरिवारले कामका लागि सिल हटाएपछि फेरि एउटा सर्प देखियो। र उनी फेरि पुगेर एउटाको उद्धार गरे। पुनः सिल गरे र फर्किए।

तेस्रो दिन पनि बिहान ८ बजे उनी त्यहाँ पुगे। सोही ठाउँमा जुगाहरु जस्तै सर्पहरू देखिए। उनीहरुले थप पाँच वटा उद्धार गरे। यससँगै तीन दिनमा उक्त घरबाट उद्धार गरिएका कोब्राका बच्चाहरूको संख्या २३ पुग्यो। माउ निस्किन्छ कि भन्ने आसमा तेस्रो दिन सो कोठा निगरानीमै राख्ने निर्णय भयो।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’

त्यसपछि, चाैथाै दिन बच्चा देखिन र भेटिएन। माउ निकाल्ने तीन दिनको असफल प्रयासपछि, विशाल एक निर्णयमा पुगे। ढलान गर्ने। घरधनीको सहमतिमा मिस्त्री बोलाएर ढलान भयो। ‘हाम्रो लागि त्यो धर्म-सङ्कटको क्षण थियो,’ विशालले भावुक हुँदै सुनाए, ‘एकातिर एउटा जीव बचाउनु हाम्रो धर्म थियो, अर्कोतिर त्यो घर र परिवारको सुरक्षा थियो। भुइँ भासिँदै थियो, घर नै जोखिममा थियो। हाम्रो लागि अर्को कुनै विकल्प बाँकी रहेन। हामीले ढलान गर्ने निर्णय गर्‍यौँ।’

यति ठूलो संख्यामा सर्पका बच्चा एउटै घरमा कसरी भेटिए भन्ने प्रश्नमा विशालले आफ्नो अनुमान सुनाए। उनका अनुसार माउ कोब्रा आहाराको खोजीमा घरभित्र पसेको हुनसक्छ। ‘पोथी कोब्राले फुल पार्न सुरक्षित र न्यानो ठाउँ खोज्छ। यो घरको भान्सामा रहेको पुरानो काठको संरचनामुनि उसले सुरक्षित ठानेर फुल पारेको हुनुपर्छ,’ पाण्डेले भने, कोब्राले एक पटकमा ४० देखि ५० ओटा सम्म अन्डा पार्न सक्छ। हामीले त्यहाँ सर्पले काँचुली फेरेको पनि भेट्टायौँ, फुल पारेपछि र बच्चा कोरलिएपछि उसको आकार बढ्यो र जुन सानो प्वालबाट पसेको थियो, त्यहाँबाट निस्किन सकेन। निस्किने अवस्था नै देखिएन।’

१३ वर्षअघिको एउटा संयोग

यो घटना विशाल परिवारको एउटा दुर्लभ संयोगसँग पनि जोडिएको छ। विशालका अनुसार १३ वर्षअघि उनका बुबा खिमलाल पाण्डेले पनि सोही घरबाट ११ वटा कोब्राका बच्चाको उद्धार गरेका थिए। ‘यो घरमा १३ वर्षअघि पनि बुबाले ११ वटा बच्चा निकाल्नुभएको रहेछ। यो हाम्रो लागि पनि अनौठो अनुभव थियो,’ उनले भने।

यता घरधनी दिलराम अर्यालको स्वास्थ्य अवस्था अहिले सामान्य छ। एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्पका बच्चा भेटिनुलाई दुर्लभ मानिन्छ। पाण्डे परिवारका तीनै बाबुछोरा सर्प उद्धारमा सक्रिय छन्।

रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’
सर्प उद्धारकर्ता विशाल पाण्डे।

विशाल भन्छन्, ‘जुन सर्पले डस्छ भनेर डराउँछौँ, त्यही सर्पलाई बचाऊँ भन्ने चेतना आयो भने मात्रै हामी मानव भन्नलायक हुन्छौँ। जीवन जस्तोसुकै रूपको होस्, जोगाउनु महान् कर्म हो।’

किन बढ्दैछन् सर्पसँगको जम्काभेट ?

पछिल्लो समय तराईदेखि पहाडी क्षेत्रसम्म मानव बस्तीमा सर्प देखिने क्रम बढेको छ। 

विज्ञहरूका अनुसार, बढ्दो सहरीकरण र वनजंगल विनाशका कारण सर्पको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ। आफ्नो बासस्थान र आहाराको खोजीमा सर्पहरू मानव बस्तीतर्फ आकर्षित भइरहेका छन्।

विशेषगरी गर्मी र वर्षायाममा सर्पहरू बढी सक्रिय हुन्छन्। पानीले दुलो पुरिँदा ओभानो र न्यानो ठाउँ खोज्दै घरभित्र पस्ने जोखिम उच्च हुन्छ। यो समय सर्पको प्रजनन र बच्चा कोरल्ने समय पनि भएकाले सर्पका बच्चाहरू धेरै देखिने गर्छन्।

सर्पबाट बच्न के गर्ने ?

घरवरिपरि सफा राख्ने: घरको वरिपरि झाडी, दाउराको थुप्रो, परालको टौवा वा फोहोरमैला जम्मा हुन नदिने। यस्ता ठाउँ सर्प लुक्ने प्रमुख स्थान हुन्।

प्वालहरू टाल्ने: घरको भित्ता, गाह्रो वा ढल निकासका प्वालहरू राम्रोसँग टाल्ने। सर्प सानो छिद्रबाट पनि भित्र पस्न सक्छ।

सावधानी अपनाउने: रातिको समयमा घर बाहिर निस्किँदा टर्चलाइट बाल्ने। खेतबारी वा झाडीमा जाँदा बुट लगाउने।

सर्पलाई नजिस्काउने: यदि सर्प देखिहालेमा त्यसलाई जिस्काउने वा मार्ने प्रयास नगर्ने। सर्पले आत्मरक्षाका लागि मात्र टोक्ने गर्छ। सुरक्षित दूरी कायम गर्ने र सर्प उद्धारकर्तालाई खबर गर्ने।

खाटमा सुत्ने र झुलको प्रयोग गर्ने: भुइँमा नसुत्ने र राति सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्ने।

प्रकाशित: ३१ असार २०८२ २१:०४ मंगलबार





Source link

Leave a Comment