तपाईं काठमाडौंमा पहिलो पटक माइक्रोबस चढ्दै हुनुहुन्छ? चढ्दै हुनुहुन्छ भने मुटु दह्रो बनाउनुस्। र, पहिला लामो श्वास फेरेर साहस बटुल्नुस् अनि मात्रै माइक्रो चढ्नुस्।
माइक्रो चढ्नुअघि साहस चाहिँ केके कुराको बटुल्ने त? तपाईंको मनमा यो प्रश्न पनि उब्जिन सक्छ।
पहिलो सबै खाले गन्ध–दुर्गन्ध लिँदा पनि सहज हुनसक्ने धैर्य बटुल्नुस्। त्यसपछि भिडमै अटेसमटेस हुनसक्ने, सिट नपाए पनि झुन्डिएर यात्रा गर्नसक्ने, टर्रो व्यवहार पनि सहन सक्ने साहस काठमाडौंको माइक्रोबस यात्राका लागि जरुरी छ। उसो त नेपालको सार्वजनिक यातायात सेवाको सवारीमा झेल्नुपर्ने यी आम समस्या हुन्। तर, काठमाडौंका माइक्रोमा यी साहस अनिवार्य चाहिन्छ। काठमाडौंको माइक्रो चढ्नु, केवल यात्रा मात्र हुन्न। धैर्य र सहनशीलताको चरम परीक्षा पनि हुन्छ। यो परीक्षा दिनहुँ दिइरहन बाध्य एक पात्र म पनि हुँ।
काठमाडौंमा माइक्रोबस चढ्नु सस्तो विकल्प हो। गरिब वा मध्यम वर्गका लागि माइक्रोबस यात्राको विकल्प छैन। ट्याक्सी महँगो पर्छ, आफ्नै सवारी किन्न बर्कतले भ्याउँदैन्। अनि एक मात्र उपाय हुन्छ–माक्रोबस।
माइक्रोबसको यात्रामाथि भनेजस्तो सजिलो भने छैन। दैनिकजसो यात्रा गर्दा यात्रुको बाक्लो भिड, ट्राफिक जाम, धुवाँधुलो र दुर्व्यवहारजस्ता तिता अनुभवको सामना गर्दै यात्रा गर्नुपर्ने बाध्यता हुन्छ।
व्यस्त समयमा नयाँ बसपार्कदेखि रत्नपार्कसम्म सामान्यतया २० मिनेटमा पार हुने दुरी छिचोल्न एक घण्टाभन्दा बढी लाग्न सक्छ। घण्टौंको सडक जाममा पट्यारलाग्दो समय व्यतीत गर्नुपर्दा धैर्यको कठिन परीक्षा दिनुपर्ने हुन सक्छ। त्यसैमाथि सिटभन्दा दोब्बर यात्रुसँगै अटेसमटेस भएर उभिनुपर्ने अवस्था सामान्य नै हो। कहिलेकाहीं त ढोकामै लट्किनुपर्ने अवस्था पनि हुन्छ।
माइक्रोबस चढ्दा सिट भेटाउने आशा गर्नु दसैंतिहारमा हवाई टिकट किन्नुजस्तै सास्ती छ। दसैंतिहारमा हवाई टिकट पाइहाले सहज यात्रा त हुन्छ तर माइक्रो बसको यात्रा भने निकै कठिन हुन्छ।
चालक–सहचालक आउनूस् आउनूस् भनेर यात्रुलाई डाकिरहेका हुन्छन्। चढेका यात्रुको गुनासो हुन्छ, ‘हत्तेरी ! सिट छैन, ढोकामै अड्किनुपर्छ। गाडी ढिलो, तैपनि ओभरलोड।’
यस्तो दिग्दारीमा चालक तथा सहचालकबाट आउने प्रतिक्रिया अशिष्ट र अमर्यादित पनि हुन सक्छ। ट्राफिक नियम उलङ्घनको प्रतिस्पर्धा गरिरहने चालक–सहचालकसँग व्यावसायिक व्यवहारको अपेक्षा गर्नु सामान्यतयाः मूर्खता हुन्छ।
त्यसमाथि सडकको अवस्था झन् बेहाल। अस्तव्यस्त सडकमा ट्राफिक जाम काठमाडौंको सडकको पर्यायजस्तै हो। कहिलेकाहीं लाग्छ– सार्वजनिक यातायात नागरिकका लागि अधिकारप्राप्ति होइन, सजाय हो।
सास्ती नै सास्ती
गर्मी र बर्सातको मौसम चलिरहेको छ, यात्रा गर्नैपर्छ। अहिलेको माइक्रोबसको यात्राको सास्ती शब्दमा बयान गर्न सकिन्न। बाक्लो जाममा घण्टौं घाममा तातिएर हिँडिरहेको गाडीभित्र न एसी हुन्छ, न पंखा। गर्मीले उकुसमुकुस हुन्छ। एकैचोटि शरीरबाट खलखली पसिना आउँछ। अटेसमटेस भएर बसेका यात्रुहरूको शरीरबाट पसिना र त्यसपछि आउने गन्धले नाकमुख थुनिनसक्नु हुन्छ। झन् छेउमा बस्ने यात्रु ननुहाउने परेको खण्डमा हालत सहिनसक्नु हुन्छ। अर्को अर्थमा भन्दा माइक्रोबस चढ्नुअघि ‘नाकले भयानक युद्ध’का लागि तमतयार भएर बस्नुपर्छ। यहाँ तपाईंका लागि लाजघिन पनि बर्जित हुन जान्छ।
गर्मीमा पसिना आउनु स्वाभाविक छ तर गन्ध फैलिन नदिन उचित व्यवस्थापन र चेतनाको जरुरी हुन्छ। यो कुरा सार्वजनिक यातायात व्यवसायीलाई कसले बुझाइदेओस्?
अनि व्यक्तिगत सरसफाइलाई पनि ख्याल राख्नुपर्छ भन्ने कुरा सचेत नेपालीलाई कसले बुझाइदिने? हामी त वर्षमा दुई पटक नुहाउनलाई पनि पर्व ठानिदिन्छौं। ‘गरिब भए पनि सफा हुन पाइन्छ’ भन्ने हेक्का फेसबुकमा अरूलाई बेलगाम ज्ञान बाँड्न सक्ने हामी नेपालीलाई कहाँबाट होस्?
एकैछिनमा पानी पर्छ। माइक्रोका झ्याल न बन्द हुन्छन्, न छत सद्दे। पूरै पानी भित्र पसेर गाडीभित्रै यात्रुलाई निथ्रुक्क भिजाउँछ। यस्तोमा गाडी चालक–सहचालकका मुखबाट छुट्ने आवाज र व्यवहारले हरकोहीको कन्सिरी तातिरहेको हुन्छ। यात्रामा यस्तो लाग्छ– काठमाडौंमा गर्मी तथा बर्खायाममा माइक्रोबस चढ्नु भनेको नर्कको ‘प्रि–भिजिट’ हो।
सार्वजनिक ‘सास्ती सवारी’
काठमाडौंका माइक्रोबसलाई सार्वजनिक यातायात सेवा मान्न सकिन्न। यी त ‘सार्वजनिक सास्ती सवारी’ बनेका छन्। यिनका लागि दोब्बरभन्दा बढी यात्रु बोक्न पाउनु ‘हक’ हो। १६ सिटे गाडीमा ४० जना पुग्दा पनि सहचालक चिच्याइरहेको हुन्छ–पछाडि सर्नुहोस्, पछाडि सर्नुहोस्।
उसले भन्ने त्यो पछाडि कता हो? जवाफ यात्रुसँग हुन्न। अर्कोलाई पेलेरै सर्नुपर्दा यात्रु यात्रुबिच हुने द्वन्द्वको जोखिम जहिल्यै रहन्छ।
लैंगिक दुर्व्यवहार– भो आँखा चिम्लिनुस्
दुनियाभरका जागरुक महिला यो युगमा आफूमाथि हुने लैंगिक दुव्र्यवहारविरुद्ध लडिरहेका छन्। नेपालका महिला पनि के कम, राज्य र समाजसँग लडिरहेकै छन्। तर त्यो लडाइँ राजधानी उपत्यकाका माइक्रोबसमा भने थला परिसक्यो। अथवा, घुँडा टेक्न बाध्य हुनुपर्यो।
यहाँ माइक्रोको ठेलमठेलमा उपद्रवी र पापी नियतका मान्छे पनि हुन्छन्। जसबाट बचेर यात्रा गर्नु महिलाका लागि कम्ती सकसपूर्ण छैन। महिलाका लागि अरू सबै कुरा सँगसँगै अपराधिक मानसिकताग्रस्त नजर र हातहरूले पोलिरहेका हुन्छन्। दिनहुँ यात्रा गर्ने महिलाका लागि यस्ता तिता दुव्र्यवहार हरेक दिन हुने गर्छन्।
चालक र सहचालकबाटै पनि बोली, वचन र व्यवहारले महिलामाथि हुने दुव्र्यवहार हुन्छ। यस्ता दृश्य देख्न काठमाडौंका माइक्रो यात्रा गर्ने हरेक आँखा विवश छन्।
शिक्षित महिला बढी बस्ने राजधानीमा दुव्र्यवहार सहनेमै समस्या छ। दुव्र्यवहार सहनुभन्दा ट्राफिक एप, प्रहरी वा सामाजिक सञ्जालमार्फत उजुरी गर्न उनीहरू नै तयार छैनन्।
साँझ छुट छैन
सरकारले विद्यार्थी, ज्येष्ठ नागरिक, अपांग तथा अशक्त नागरिकका लागि सार्वजनिक सवारीमा ४५ प्रतिशत छुटको व्यवस्था गरेको छ। तर, साँझ पर्नै लाग्दा अगाडि नै घोषणा हुन्छ– छुट छैन है राति। उनीहरूको भनाइबाट बुझिन्छ– लुट सुरु हुन्छ है अब राति।
सभ्य विद्यार्थी र नागरिक चालक–सहचालकसँग प्रतिवादमा उत्रिन डराउँछ। बरु खुरुखुरु पाँच/दश बढी तिर्न लाचार बनिदिन्छ। जो प्रतिवादमा उत्रिन्छ, उसले अनाहकमा अर्को लफडा निम्त्याउनुपर्छ।
सरकारले कुनै निश्चित समयका लागि यो व्यवस्था निर्धारण गरेको होइन। तर, यातायात व्यवसायीले गर्ने आफूखुसीले नागरिकले सास्ती भोगिरहेकै छन्।
व्यस्त राजधानीका विद्यालय, क्याम्पस, शैक्षिक प्रतिष्ठान, कोचिङ क्लास, लाइब्रेरी साँझ अबेरसम्म चल्छन्। कतिपय नागरिकलाई साँझ अनिवार्य यात्रामा निस्किनुपर्ने हुन्छ। तर, त्यो यथार्थ यातायात व्यवसायीलाई ‘बाल मतलब !’
सानो पैसा, ठुलो झमेला
अक्सर माइक्रोबसमा गाडीभाडाको मूल्यसूची टाँसिएको हुन्छ। मानौं सूचीमा लेखिएको छ– १९ रूपैयाँ। यात्रुले तिर्नुपर्छ २० रूपैयाँ। लाग्न सक्छ– ठिकै छ, एक रूपैयाँ मात्रै यात्रुले बढी तिर्नुपर्यो। एक रूपैयाँ खुद्रा नहोला, दिएन।
अनि २६ रूपैयाँ छ भने के हुन्छ? यस्तोमा सहचालकले २५ रूपैयाँमा चित्त बुझाउँदैन्, ३० रूपैयाँ लिइछाड्छ तर चानचुन पैसा फिर्ता गर्दैन। भनिदिन्छ– खुद्रा छैन दाइ !
अब के गर्नु? माग्न कर गरे झमेला हुन्छ, झगडा हुन्छ। नमागौं– यसैगरी सयौं यात्रु दिनहुँ ठगिइरहेकै छन्।
फिर्ता नदिइएको चार रूपैयाँ एक जनाका लागि नगन्य होला, तर दिनमा एक सय यात्रुबाट त्यस्तो भयो भने त्यो चार सय रूपैयाँ हुन्छ। एक दिनमा एक गाडीमा मात्रै त्यस्तो हुन्छ भने राजधानीमा चल्ने हजारौं माइक्रोबसमा कति ठुलो ठगी भइरहेको छ? यो सार्वजनिक लुट हो कि होइन?
बालेन–बालेन ! खोई बालेन?
अहिले नेपालीमा एउटा ट्रेन्ड छ– काठमाडौं पुग्दा ‘बालेन सहरमा’ भनेर फेसबुकमा पोस्ट्याउने। काठमाडौं महानगरसम्म त ठिकै छ, भक्तपुर अथवा राजधानी उपत्यकाको जुनसुकै सहरमा टेके पनि ‘बालेन सहर’ भनिदिन्छन्।
जेसुकै भए पनि राजधानी उपत्यकाको मुख्य सहर नै बालेन्द्र साहनेतृत्वको काठमाडौं महानगर क्षेत्र नै हो। उपत्यकामा सयर गर्ने माइक्रोबस जहाँ पुगे पनि एक पटक महानगरको भूगोल छिर्नैपर्छ।
उपत्यकाको सार्वजनिक सवारी सास्तीमा मेयर बालेन बेखबर छन्। बालेन मात्र होइन, सार्वजनिक यातायात सुधार गर्न संघीय सरकार, प्रदेश सरकार र उपत्यकाका सबैजसो स्थानीय तह बेखबर छन्।
बालेनले त चुनावी नारामा महानगर क्षेत्रमा ‘स्मार्ट बस सञ्चालन’को योजना ल्याएका थिए। तर त्यो भनेको के हो? अहिले कसैले सोध्दैनन्। अन्धभक्तले सोध्ने त सवालै भएन, माइक्रोबसको यात्रा गर्दा सास्ती भोग्नेले समेत बिर्सिसके। त्यो योजना ‘कागजी योजना’मा सीमित भइसक्यो। बरु निजी क्षेत्रका माक्रोबसहरू निर्धक्क पैसा बटुलिरहेका छन्। गाडीमा बालेनकै फोटो टाँसेर उनको ‘दिल खुस’ पार्दै जनतालाई सास्ती दिँदै लुट मच्चाइरहेका छन्। टर्रो शब्दमा भन्दा बालेनको लौरो सार्वजनिक सवारीमाथि नभई यात्रुमाथि बर्सिरहेको छ।
ट्राफिक प्रहरी पनि छ र?
सार्वजनिक सवारीको यो सास्तीमा ट्राफिक प्रहरी मूकदर्शक मात्रै छन्। उनीहरूको काम सडकको किनारमा उभिएर टुलुटुलु हेर्नु सिवाय केही देखिन्न।
सार्वजनिक यातायात व्यवसायीसँग ट्राफिक प्रहरी र गृहप्रशासनले हप्ता असुली गर्ने गरेका किस्सा बहसको मसला बनिसकेकै छ। यसर्थ सार्वजनिक सवारीमा हुने नजरअन्दाज त्यसैको उपज पनि हुन सक्छ भन्दा सत्य नजिक पुग्न सक्छ।
बरु निजी सवारी साधनमा भने ट्राफिक प्रहरीका आँखा तेजतर्रार देखिन्छन्। लुकेर बस्ने, ट्रयापमा पार्ने। अनि सके खुद्रा झार्ने, नभए चिट काट्ने प्रवृत्ति ट्राफिक प्रहरीमा मौलाएको निजी सवारी चढ्ने राजधानीवासीको आम गुनासो बनेको छ।
